बिचार

अभूतवपूर्व हुने प्रतिस्पर्धामा भूतपूर्वहरु 

– संकेत कोइराला

बिहिबार, २४ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

अभूतवपूर्व हुने प्रतिस्पर्धामा भूतपूर्वहरु 

आकासको रंगको विषयलाई लिएर जंगलमा चितुवा र गधाको विवाद परेछ । चितुवा भन्दो रहेछ– आकास निलो छ । गधाको दलील रहेछ– हैन आकास त सेतो छ नि । विवाद चुलिएपछि उनीहरु निक्र्योल गर्न जंगलको राजा सिंह कहाँ जाने निधो गरेछन् । सिंहले दुवै पक्षको तर्क सुनेपछि चितुवालाई कोर्रासहित जेल हाल्ने फैसला  सुनाएछ । फैसला प्रति आपत्ति जनाउँदै सत्य बोल्दा दण्डित हुनु न्यायोचित नभएको गुनासो चितुवाले गर्दा सिंहले भनेछ– ‘गधा भन्ने जान्दाजान्दै उसँंग तर्क वितर्कमा उत्रिनु तिम्रो कमजोरी हो । बाजी जिते हारेको भन्दा पनि गधासँंग बौद्धिकताको प्रतिस्पर्धा गरेको कसुरमा तिमीलाई मैले यो दण्ड सजाय सुनाएको हुँ ।’ 

 


फेसबुके नेता, फेसबुके प्रशासक, फेसबुके जनताको भाइरसले देशका तमाम अंगहरु निष्कृय छन् । असल र भलो चिताउनेको हालत त्यही निर्दोष चितुवाको जस्तो छ । नूनको सोझो चिताउनभन्दा फेसबुकको लाइकमा रमाउने उन्मादले सवैलाई उत्ताउलो बनाउँदै लगेको छ । भोलि पाउने मजूरभन्दा आज पाउने परेवाको प्राप्तिमा सब दंगदास छन् । सामाजिक सञ्जालमा देखिएका, लेखिएका वाक्य हेर्दा यो देशमा लक्ष्मीप्रसाद देवकोटाको वौद्धिकता, बीपी कोइराला, मदन भण्डारी, मनमोहन, गणेशमानसिंहका राजनीतिक निष्ठा रंगहीन प्रमाणित हुन्छन् । मानौं अष्टबक्रजस्तै जन्मिनुअघि नै सबलाई सवै कुराको ज्ञान छ ।

 


राष्ट्रियताको चकमके झिल्को यसरी प्रकट हुन्छ कि त्यो बेगले मार्क जुकरबर्गको कमाइ खाने फेसबुके भाँडोलाई नै केही समयमा जलाएर खाग बनाइदिनेछ । विवेकको बट्टामा विर्को लगाएर दास मानसिकता असरल्ल छरिएका छन् । शिकार गर्ने ताकत सकिएपछि झिंगेदाउमा लागेको बाघ झै  अर्ती र बुद्धिका भकारी भएर बाँचेका नेता र प्रशासकका कुण्ठाले फेसबुकमा राम्रै जागिर पाएको छ । आफ्नो समयमा परिवर्तनका नाममा वास्तुशास्त्रीले दिएको एक मात्र सल्लाह हुबहु मानेर कुर्सी र टेबलको दिशा फेरेको बाहेक अरु काम नगरेका यस्ता भूतपूर्वहरुले नमागिएको सल्लाह दिएर अभूतपूर्व हुने जाँगर देखाउनु घोडाअघि बग्गीको प्रवेशजस्तै हो । वास्तवमा सामाजिक सञ्जालका राम्रा नराम्रा आआफ्नै विश्लेषण होलान । तर यसले यो देशमा जनता नाममा झण्डे मात्र रहेको प्रमाणित गर्छ । 

 

 

यहाँ मानिस मर्दैनन्, पार्टीका कार्यकर्ता मर्छन् । शान्ति सुरक्षाको जिम्मा लिएर बसेका सीडीओहरु समाज गठन गरेर राजनीति गर्छन् । उनीहरुलाई आफ्नो हैन, प्रचण्ड, ओली, देउवा हेडक्वार्टरको चिन्ता हुन्छ । न्यायाधीशहरु संघ बनाएर पानी  अाफै प्यासले तड्पिएको छनक दिन्छन् । न्यायालयमा पन्पिएको राजनीतिक बीउ अब अलि वर्षपछि यसरी झाँगिने छ कि त्यतिबेला कम्युनिष्ट, काँग्रेस, मधेशवादीको छुट्टाछुट्टै बेन्च हुनेछ । 

 

 

एउटाले गरेको फैसला  अर्कोलाई चित्त बुझ्ने छैन् । त्यसपछि पूर्ण इजलासको माग हुनेछ । त्यसमा पनि सत्ता सन्तुलनको आधारमा न्यायाधीशको राय बाझिनेछ । त्यसबेला स्वतन्त्र न्यायालयको विरुप दृश्य कस्तो देखिएला, संझदा पनि काँडा उम्रन्छ । त्यसैले राष्ट्रियताको जग मजबुत पार्ने जिम्मेवारी कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र प्रेस जगतले नभएर सिमेन्ट र डन्डीले लिने गरेका छन् । 

 


देशका कार्यकारी निकाय गुठी बन्दै जाने अनि डन्डी र सिमेन्टका विज्ञापन देशको मेरुदण्ड र नेपालीलाई जोड्ने सेतूका रुपमा यत्र, तत्र, सर्वत्र प्रकट हुन थालेपछि हात्ती र हात्तीछाप चप्पलबीचको अन्तर खुटिन छाडेको छ । प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव, चार सचिव, आधा दर्जन सहसचिव सहित पाँचसय कर्मचारी कार्यरत छन् । तिनीहरुको एउटै ध्येय भनेको प्रधानमन्त्रीलाई सफल बनाउनु हो । तर प्रधानमन्त्री बालुवाटारमा पार्टीको एउटा स्वार्थी गुठी लिएर मुलुक हाँकेको भ्रममा मस्त हुन्छन् ।

 


 मन्त्रिपरिषद् कार्यालयको सयौं जनशक्तिलाई प्रधानमन्त्रीको गुठीले साधक हैन बाधक ठान्छ । प्रधाानमन्त्रीको दाहिने हात मानिने मुख्यसचिव र प्रधानमन्त्री सहयात्रा सुखद रहेको समाचार विरलै आउँछ । अधिकांश प्रधानमन्त्रीले प्रधानमन्त्री निवासलाई सम्पर्क कार्यालय बनाए तर नेपालीको हित सोच्ने धाम बनाउन सकेनन् । नेपालको सन्दर्भमा मुलुकको कार्यकारी पद जिम्मेवारी नभएर चटकेको आसन बन्दै गयो । मूढ बुद्धि भएकाहरु पनि त्यहाँ पुगेपछि परमार्थी पुरुष बन्ने अभिनयमा मस्तराम भए । 

 

सिक्न, सल्लाह लिनुनपर्ने तर अाफूले  बोलेका हरेक वाक्य ब्रम्हवाक्य भन्ने भ्रम पाल्नुपर्ने अनौठो मनोविज्ञानबाट उनीहरु हौसिंदै गए । प्रधानमन्त्रीलाई अनुकूल हुने एजेण्डा लिएर जाने हुक्के, बैठकेहरुको भीडले ठूला मानिसहरु छोपिँदै गए । राम्रो लाउने र मिठो खानेमा सीमित ती एजेण्डाले व्यक्तिको अनुहार त फेरियो तर देश गर्तमा जाकिने प्रस्थान विन्दु कोरियो । जमिनविनाको त्यो अभिनय पदबाट खुस्केका भोलिबाट सियोले घोचिएको बेलुनको हावामा अनुवाद भयो । सिंहदरबार देशको त्यस्तो खतरनाक ७८ औं जिल्ला हो, त्यहाँ पुगेपछि अपवाद बाहेक सवै दाँत फुक्लेको बाघ भएर फर्किएका छन् । अरु त अरु मिथकको पात्रबाट नेपाली राजनीतिमा अवतरित प्रचण्डलाई समेत सिंहदरवारले बाघबाट मुसोमा झारेर छोडिदियो । सिंहदरबार पस्दा पृथ्वी नै सम्याउने अहं प्रदर्शन गर्ने फर्कंदा आफ्नो कामको बाटो नै पहिचान गर्न नसक्ने गोलचक्करबाट आजसम्म सयौं राजनीतिज्ञहरु पीडित बनेका छन् । 

 


विपक्षमा हुँदा ट्रेड युनियनलाई गोमन साँप बनाउने र अाफू  सत्तामा गएपछि त्यसले ठुँगेको रनाहाबाट विचलित भएर वरको सिन्को पर सार्न नसक्ने दलका नेताहरुको नियति अब त झन् स्थायी सपेरा हुनुको विकल्प छैन् । केही समय पर्खने सामथ्र्य राखियो भने अब न्यायालय, पुलिस र सेनाको नेतृत्वको छनोट खुुल्लम खुल्ला राजनीतिक हुनेछ । पार्टी कार्यालमा भएको निर्णयको तामेली निकायले सदर गर्ने छन् । यपछिका अरु सरकारले यो नजिरलाई सक्कल बम्मोजिम नक्कल गर्ने छन् । 

 

देशका हरेक निर्णय दारी र सारीका प्रभावबाट मुक्त छैनन । चिनेकोलाई किनेको पक्काले विस्थापित गर्दै लगेको छ । जर्नेलहरुले लेखेको आत्मबृत्तान्त आत्मरतिमा अनुवाद हुँदा सिनियर ‘गड’ र जुनियर ‘डग’को अवस्था राम्रैसँंग उदाङ्गिएको छ । सामाजिक मनोविज्ञान हेर्दा लाग्छ–  समयले बुढ्यौलीपनलाई विस्थापित गराइदिएको छ । रामनाम जप्नेहरु हराउँदै छन् । बरु रिटायर्डहरु नेभर टायर्ड भन्दै राज्यकै सुविधामा रमाउन कस्सिदैछन् । रिटायर्ड हुनुअघि नै पदको मेलोमेसो मिलाएर निस्कनेहरुको भीड पनि उत्तिक्कै हेर्नलायक  देखिन्छ । आपूmबाहेक संसारलाई उल्लू देख्नेहरुको रोचक भीडन्त घरघर र टोलटोलका भट्टीमा देख्न पाइन्छ ।  

 


राम्रो विचारले कालान्तरमा राम्रै कर्मको जन्म दिन्छ । त्यागको अभिमान धनको अभिमानभन्दा बढी खतरनाक हुन्छ । गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए । प्रत्येक मानिस बुद्ध हो । मात्र फरक भगवान गौतम बुद्ध उठेका बुद्ध हुन भने हामी सुतेका बुद्ध । हरेक मानिस जागृत हुने हो भने बुद्धत्व प्राप्त गर्न सक्छ । पुस्तकालयमा राखिएका गीता, कुरान र बाईबल अाफैं युद्ध गर्दैनन्, जो युद्ध गर्छन तिनीहरुले त्यसको रस लिएकै हुँदैनन् । गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि ।

 

भगवानको आराधना गरेर अाफूलाई भगवानमा लिन गरेकाहरु आफैं भगवान भए तर उनीहरुले भगवानको साक्षात दर्शन भने पाएनन् । मानिस र जनावरमा के फरक छ ? जनावर त्यही खान्छ प्रकृतिले उसका लागि जे बनाइदिएको छ । तर मानिस त्यो पनि खान्छ , जुन प्रकृतिले उसका लागि नबनाएको होस् । कन्जुसलाई दान दिने मन पर्दैन । लोभीलाई माग्नेसंँग घृणा हुन्छ । रुपवानलाई प्रौढता रुचि हुँदैन । गरिबलाई धनी मन पर्दैन । जसको मन शोकबाट ब्याकुल छ , उसलाई केही मन पर्दैन । 


 

ज्ञानीहरुले क्रोधलाई खुर्सानी, अहंकारलाई तेल, लोभलाई मिठाई, स्वार्थलाई घिउ, धोकालाई पापडसंग तुलना गरेका छन् । उच्च आसनमा बस्दैमा मानिस महान हुँदैन । उ महान त गुणबाट हुन्छ । महलको टुप्पोमा बस्दैमा काग गरुड कहिले पो हुनसकेको छ र ? 


 

भेनेजुयलाको राष्ट्रपति ह्युगो चाभेज मर्दा कान्छाबाउ विते जसरी अनुहार विगार्ने नेताहरु चाभेजले जस्तो जनतालाई समृद्ध बनाउने काममा नौ नारी गलाएर बसेका छन् । आफ्ना जनतालाई ५० पैसा लिटर तेल उपलब्ध गराउने चाभेजको लोकप्रियता कति होला ? अनुमान मात्र गर्न सकिन्छ । जो मानिस एक्लो उभिन्छ, उही महान हो । चाभेजले बाचुन्जेल अमेरिकाजस्तो देशलाई च्यालेन्ज गरिरहे । अन्तिम अवस्थामा पनि छिमेकी देश ब्राजिलमा उपचार गरे तर युरोप, अमेरिका टेकेनन् ।

 

 

 श्रीलंकाबाट प्रेरित लिक्वानले सिंगापुरे जनतालाई यस्तो हिरा बनाइदिए जुन देशका नागरिकले विश्वका कुनै मुलुक टेक्दा पनि कुनै तगारो लाग्दैन् । उनले विदेशीको रेडिमेड माछा कहिल्यै स्वीकारेनन् । बरु बल्छी मागेर जनतालाई माछा मार्न सिकाए । पाउरोटीको साटो पाउरोटी बनाउने सीपको अभियान छेडे । हाम्रा नेताहरु भने आफ्ना युवाहरुलाई मलेशिया पठाउन नेताहरु हौसिए । तर त्यहाँका मोहम्मद महाथिरले देश बनाउन गरेको योगदान चटक्कै बिर्सिए । पाकिस्तानको नेतृत्व लिने सुरसारमा रहेका क्रिकेटर इमरान खानले घोषणा गरिदिए– ‘अब पाकिस्तानमा कुकुर पनि भोको भेटिने छैन । यदि भेटिए त्यसको जिम्मेवारी मेरो हुनेछ ।’ यो हो नि असल नेताको लक्षण । 

 

लाटो छोराले बाउ घुक्र्याएजस्तो छिमेकीलाई मनपरी भन्ने अनि आङ्मा सुके लुतो निस्कियो भने उसैले पठाइदिएको एयर एम्बुलेन्स चढेर राष्ट्रियताको पाखण्डी गीतामा शायदै अरु देशका नेता रमाउँछन् ।

 

गुलियो बचन बोल्ने त बोल्ने भइगो, कलबिख तीतो बोल्ने पनि अन्ततः प्रायोजित विज्ञापनको कलाकार रहेको भेद खुल्ने गरेको छ । मान्छे हैन, रोबर्ट मान्छे बोल्ने गरेको छ । 
 

 

शिक्षाको शुरुवात कितावबाट होइन, कोक्रोबाट हुनुपर्छ । ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ । कानमा लगाइएको सुनले अाफ्नाे  विज्ञापन गर्दैन । त्यसको सौन्दर्यको मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । 


 

क, ख, एबीसीडी बनाउनेहरु पक्कै पनि निरक्षरी थिए । तर तिनै अपठितहरुले बनाएको बा¥हखरी पढेर आपूmलाई स्वघोषित मूर्धन्य ठान्नेहरुले न ए अगाडि केही पत्ता लगाउने सके, न ज्ञ पछाडि केही खोज्न सके । 

 

हाम्रो समाजमा एकथरि मान्छे छन, जसलाई गंगा आए गंगै ठीक, जमुना आए जमुनै ठीक । अर्काथरि मान्छे जो यति अतिवादी छन कि समाधानभित्र पनि समस्या खोजिदिन्छन । तेस्रोथरिको त रोगै विचित्रको छ , उनीहरु संसारका भएजति सवै दुख बटुल्छन अनि खोज्छन– सुख । सद्दाम हुसेन र बिन लादेन पनि कुनैबेला अमेरिकाले सनकमा छरेका विषवृक्ष थिए । कालान्तरमा तिनैको शक्तिले अमेरिकाको टवीन टावरमा धावा बोल्यो । नेपालको ठुटे पेरिस डाँडा र धुम्बाराहीको त के कुरा ? 
[email protected]