बिचार

राजनीति

विवेकशील साझा ‘करौंती’ हो कि वैकल्पिक प्रजातान्त्रिक पार्टी ?

सोमबार, २१ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

विवेकशील साझा ‘करौंती’ हो कि वैकल्पिक प्रजातान्त्रिक पार्टी ?

झपटसिंह रावल

काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो वार्षिकोत्सव भर्खरै मनाएका छन् । नेपालको राजनीतिको मूलधारमा उक्त पार्टी कुन स्थानमा रहेको छ भन्ने पनि वार्षिकोत्सव अवसरमा मूल्यांकन गरियो । मूल्यांकनमा पार्टीको दाबी त अब्बल दर्जाको नै थियो । तर वास्तवमा स्थिति त्यस्तो छैन  भन्ने कुरा दुई पार्टी एक भएपछि विकास भएको परिस्थितिलाई विश्लेषण गर्ने हो भने अझै साझा एकातिर विवेकशील अर्कोतिर छ । 

 

एकता पूर्वको अवस्थामा विवेकशील र साझा

 

बिबिसीको जागिरे हुँदाका बखतमा नेपाली राजनीतिज्ञहरूलाई पेचिलो र यथार्थपरक अन्तर्वार्ता र टीकाटिप्पणी गरेर चर्चा बटुलेका पत्रकार रवीन्द्र मिश्रको नेपाली राजनीतिक पर्यवेक्षणमा मौजुदा पार्टीले देशको विकास निर्माणमा उपलब्धिमूलक कारगर काम गर्न नसकेकाले नेपालमा वैकल्पिक प्रजातान्त्रिक पार्टीको खाँचो महुसस गर्दै थिए । उनको नजरमा आफैँ राजनीतिमा उत्रने हो कि ‘घोस्ट’ को भूमिका निर्वाह गर्ने भन्ने असमन्जस्य  रहेका मिश्र आखिरमा आकर्षक पाउन्डको जागिर छोडेर साझा नामक पार्टी खोलेर नेपाली राजनीतिमा प्रवेश गरे । राजनीतिमा प्रवेश गर्नुअघि उनी माओवादीबाट विरक्तिएका डा. बाबुराम भट्टराईसँग पनि वैकल्पिक प्रजातान्त्रिक पार्टी गठनका सम्बन्धमा छलफलमा संलग्न थिए । यसको अलावा मिश्रले सेलिब्रेटीहरू रमेश खरेल, शान्ता चौधरी, डा. सूर्यराज आचार्यलगायतसँग वैकल्पिक शक्तिका बारेमा थुपै छलफल गरेका थिए । तर मिश्रको बाबुरामसँग पनि ठ्याँक मिलेन र उनी भारतीय नाकाबन्दीपछि आफ्नै पार्टी गठनतिर लागे ।

 

उनले परम्परागत राजनीतिक पार्टीहरूसँग कसरी मुकाबिला गर्न सकिन्छ भन्ने रणनीति अख्तियार गर्दै जाँदा परम्परागत पार्टीलाई धुलो चटाउन आफ्नो प्रयास मात्रै पर्याप्त नहुने ठानेर उज्ज्वल थापा (जो आइटी पृष्ठभूमिका) ले राजधानीका केही बेरोजगार युवाहरूलाई आइटीसम्बन्धी तालिम दिई कसरी स्वरोजगार बन्न सकिन्छ भनेर सन्देश प्रवाह गरेर मुलुकको राजनीतिमा युवाहरू पनि होमिनु पर्दछ भन्ने मान्यता राखेर ‘विवेकशील’ नामक संगठन सञ्चालन गरेर बसिरहेका थिए । विवेकशीलले डा. गोविन्द केसीको आमरण अनशनमा साथ दिँदै युवाहरूलाई मैदानमा उतारेर ढिलोचाँडो प्रचारबाजी कमाइसकेको थियो । विवेकशीलले डा. केसीलाई तत्कालको सरकारले ‘पागल’ को संज्ञा दिएको थियो । त्यही पागल भन्ने शब्दलाई विवेकशीलले ‘पुँजी’ बनाई युवाहरूलाई परिचालन गरेर ‘हो हामी पनि पागल हौँ’ भन्ने नारा सिर्जना गरेर टाउको बेल्ट बाँध्न लगाई प्रदर्शनमा उतारेर प्रशस्त चर्चा बटुलेको थियो । त्यसैबेलादेखि थापाको उचाइ बढ्न गएको हो ।

 

 थापासँग हातेमालो गर्न पाए राम्रो हुने मूल्यांकनका साथ मिश्रले अन्ततोगत्वा पार्टी एकताको प्रस्ताव राखे र सो प्रस्तावलाई मुलुकमा आफ्नो साख स्थापित भइसकेको महसुस गरिरहेको विवेकशीलले साझा गठनको प्रारम्भमा नै एकताको प्रस्ताव राख्नु आफ्नो अपमान हुने ठानेर सो प्रस्तावलाई अस्वीकार ग-यो । मुलुकमा स्थानीय निर्वाचनको वातावरण तातिँदै जाँदा त्यसैको मौका छोपी दुबै पार्टीले उल्लेख्य रूपमा साझाका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा किशोर थापा र विवेकशीलले रञ्जु दर्शनालाई उम्मेदवार बनायो । चुनावी परिणाम दुबै पार्टीका लागि दुःखदायी भयो । त्यतिमात्र नभई दुबै पार्टी परम्परागत पार्टी नेपाली कांग्रेसका लागि ‘करौंती’ साबित भयो । साझा र विवेकशीलका कारण विद्यासुन्दर शाक्य मेयर बन्न पुगे । स्थानीय चुनावको नतिजाले दुबै पार्टीको औकात जमिनमा छताछुल्ल देखिएकाले जागरुक कार्यकर्ता र मित्रशक्तिको सल्लाह र दबाबमा दुबै पार्टी फेरि पनि मिल्नैपर्ने आवश्यकता महसुस भयो ।   थापालाई पनि बिबिसीका पत्रकार त्यसमाथि राम्रै पृष्ठभूमि भएकाले मिश्रसँग मित्रता गाँस्दा राम्रो हुने ठानेर उनीहरू नजिकिँदै गए  र छिट्टै एकाकार हुने मनोविज्ञानले असर ग-यो । फलस्वरूप एकताको घोषणा भयो । चुनाव चिह्न ‘तराजु’ पनि तय भयो । पार्टीमा सन्तुलन मिलाउने नाममा दुई संयोजक राख्ने व्यवस्था पनि भयो ।
 
सिद्धान्ततः एक भए पनि व्यवहारमा अनेक
 
स्थानीय चुनावपछि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका क्रममा मिश्र वुद्धिजीवि उम्मेदवार छान्नेतर्फ लागे भने थापा युवाहरूको नेतृत्व हुनुपर्छ भन्ने मान्यतातर्फ अडिग रहे । यो पनि साझा र विवेकशीबीच एकता हुन नसकेको एक प्रमुख कडी हो । यतिमात्र नभएर निर्वाचनको सरगर्मी चढ्दै गर्दा दुबैजना संयोजक काठमाडौंबाटै लड्दा पनि ‘हिन्दुस्तान–पाकिस्तान’ जस्तो देखिन्थो, भनाइको मतलब न उज्ज्वलको प्रचारमा रवीन्द्र गए । न रवीन्द्रको प्रचारमा उज्ज्वल आए । स्थानीय निर्वाचनपछि वाहवाही कमाएका किशोर र रञ्जुलाई पनि दिउँसै टर्च बालेर खोज्नुपर्ने अवस्था आइलाग्यो । दुई संयोजकको त हालत त्यो थियो भने विवेकशील साझाका अन्य उम्मेदवारको स्थिति त ‘बालक बबुरो’ हुने नै भयो । साथै विवेकशील साझाप्रति प्रतिबद्ध नेत्री रञ्जु दर्शनाको सक्रियता देखिएन । पार्टीमा बेमेलपूर्ण अवस्था हुँदाहुँदै पनि रवीन्द्र मिश्रले चुनाव जित्ला कि भन्ने आशा पलाउँदै गएको थियो ।

 

मिश्रले काठमाडौं क्षेत्र नं. १ मा कुनैबेलाका कांग्रेसका सर्वमान्य नेतापुत्र एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई प्रचारमा ‘आच्छु, आच्छु’ पारिसकेको चर्चा सर्वत्र फैलिएको थियो । त्यसैले मिश्रले चुनाव जित्ने आँकलन केपी ओली र प्रचण्डको पनि थियो । तर रवीन्द्र मात्र हारेनन् उज्ज्वल थापा पनि नराम्ररी हारे । फेरि डा. केसीलाई विवेकशीलले अनशनताका ठूलो साथ दिए पनि चुनावमा डा. केसीले उज्ज्वल थापालाई साथ नदिएर कांग्रेसका गगन थापालाई खुलेरै समर्थन गरे । यसले पनि उज्ज्वललाई झट्का लाग्यो ।


चुनावी हारका कारण पार्टीमा गडबडी मच्चियो । विपक्षी दलको चुनावी रणनीति न मिश्रले बुझ्न सक्यो न उज्ज्वलले । 


विवेकशील साझा पार्टी रियालिस्टिक एप्रोचभन्दा फ्यान्टासीमा रमाए । पार्टीले चुनावमा विषयगत मुद्दा पनि सिर्जना गर्नै सकेन् । मिश्र र थापाले डा. केसीको मुद्दालाई सतही प्रयोग गर्न मात्र भ्यायो । चुनावको भित्रभित्रै मिश्र र थापाबीच वुद्धिजीवि र तन्नेरीबीच छनोटको मतभेद र असमझदारी प्रस्टै देखिन्थ्यो ।

 

पार्टीको संयोजक तोक्ने कार्यक्रममा बबन्डर
  
हुँदाहुदा पार्टीको प्रथम वार्षिकोत्सव समारोहमा संयोजक उज्ज्वल थापा अमेरिकातर्फ उडे भने रञ्जु दर्शनाको नामोनिशान थिएन । विवेकशील र साझाबीचको यो खाडल व्याख्या गर्न नसकिने पक्ष हो  । 
पार्टीले प्रदेश नं. ३ अन्तर्गतको जिल्ला संयोजक तोक्ने कार्यक्रममा जुन बबन्डर मच्यो त्यो स्पष्ट मिश्र र थापाबीचको मतभेदको द्योतक हो भन्ने स्पष्ट छ । त्यस्तो  तिक्तता त सत्ताधारी दलमा मात्र हुन्छ । विवेकशील साझामा किन ? 
प्रवक्ता डा. सूर्यराज आचार्यले बबन्डर वा भाँडभैलो मच्चाउने पार्टीका कार्यकर्ता होइनन् भन्ने विज्ञप्ति जारी गरेर लिपापोती गर्दैमा अवश्य पनि सन्तोष मान्न सकिन्न । 


अब विवेकशील साझामा यस्तै परिस्थिति रहने हो भने रवीन्द्र बिबिसीतर्फ, उज्ज्वल आइटीतर्फ,  गोविन्दनारायण काबिल शिक्षक बन्न र रञ्जु सेलरोटी बेच्न किन नजाने भन्ने विवेकशील कार्यकर्ताले प्रश्न उठाउन बेर लाग्दैन । रवीन्द्रले विवेकशील साझा एक वर्षभित्र पाँचौं अथवा राष्ट्रिय मूलधारको पार्टीको रूपमा स्थापित भएको जतिसुकै दाबी गरे तापनि दुई पार्टीबीचको एकता मनसा, वाचा र कर्मणामा पटक्कै मिलेको छैन धरातलीय यथार्थ (ग्राउन्ड रियालिटी यही नै हो सबैलाई चेतना भया !