बिचार

बिहान आएर ‘घरखर्च गर्न पाइन लौन हजुर’ भन्ने सांसदले दिउँसो समितिमा मेरोविरुद्ध विषवमन गर्थे 

आइतबार, २० साउन २०७५ गते प्रकाशित
- नेपाल आज

बिहान आएर ‘घरखर्च गर्न पाइन लौन हजुर’ भन्ने सांसदले दिउँसो समितिमा मेरोविरुद्ध विषवमन गर्थे 

‘अर्काको दोष र अर्काले के गर्यो के गरेन भनी हेर्नुभन्दा
आफ्नो दोष र आफूले के गरेँ गरिनँ भनी हेर्नु नै बेस हुन्छ ।’
                             –   गौतम बुद्ध


प्रजातन्त्र पुनस्र्थापनापछिका केहि वर्षसम्म नेपाली सञ्चारमाथि जनताको विश्वास अचम्मको थियो । सञ्चारका कुनै पनि माध्यमले प्रकाशन अनि प्रसारण गरेका सामग्रीप्रति आम पाठक–श्रोताले आँखा चिम्लिएर पत्याउने दिनहरु थिए । 

 

म आफैँ सम्झन्छु, पत्रपत्रिकामा छापिएका शब्द, वाक्य हेरेर आफ्नो भाषालाई शुद्ध गरेको । कैयौं पटक सञ्चारमाध्यमबाट प्रकाशित, प्रसारित सममग्री आधारमा मैले आफ्नो जीवनशैली परिवर्तन गर्ने प्रयास गरेको अनि कैयौँ विषय र घटनामा आफ्नो विचार बनाएको । अहिले ठीक उल्टो छ । सञ्चारमाध्यमबाट प्रकाशित, प्रसारित सामग्रीका आधारमा मैले आफ्नो जीवनशैली परिवर्तन गर्ने प्रयास गरेको अनि कैर्यौ विषय र घटनामा आफ्नो विचार बनाएको । अहिले टीक उल्टो छ । सञ्चारमाध्यमहरु विश्वासनीय छैनन् र अराजक छ तिनले प्रयोग गर्ने भाषा ।

 

मैले जस्तै धेरै पाठक–श्रोताले सञ्चारमाध्यमका सामाग्रीलाई मानक बनाएर बसेका हुन्छन् त्यसैले विश्वसनीय हुनुपर्छ सञ्चारजगत् । म सम्झन्छु– बहुदल आएपछि ‘घटना र विचार’ मा पुरुषोत्तम दाहालको आवाज वेदमन्त्रजस्तै मानिन्थ्यो सञ्चारजगत्मा । राणा हुँदै पञ्चायतकालमा नेपाली सञ्चारले अनेकौँ कष्ट सह्यो ।

 

कष्टका बीचबाट पनि स्वतन्त्रता र समानताका लागि आशाको दीप मात्र प्रज्वलित गरेन कि मैदानमै उत्रिएर सङ्घर्ष गर्‍यो । यसैले पनि २०४६ पछि सञ्चारलाई राज्य र समाजबाट निकै ठूलो सम्मान प्राप्त भयो । दुर्भाग्य भन्नुपर्छ समयक्रसँगै नेपाली सञ्चारले आफ्ना् न साख जोगाउन सक्यो न त व्यावसायिक धर्म नै । राजनीतिक दलैपिच्छेका सञ्चारगृह र पत्रकार भएपछि र मूल्य एवम् मान्यताको पत्रकारिता नभएपछि अनि पत्रकारितामा पीतपत्रकारिता घुसेपछि स्वस्खलित भए मूल्य र मान्यता पनि । 

जसले आफ्नो अनुहारमा कालो पोतेर हिँड्छ, उसले अरुको अनुहारको कालो देखाउनु कति सान्दर्भिक हुन्छ ?

 

अहिलेको सञ्चारको अवस्था लगभग यस्तै छ । सञ्चार आफैँमा एउटा सिङ्गो सूर्य हो । उसका प्रकाशहरु समाजका अनेक साँघुरा गल्लीसम्म प्रवेश गरेका हुन्छन् । सञ्चारको शक्ति कम आँकलन गर्नु पनि अर्को मूर्खता हुन्छ । तर शक्तिशाली मानिएको सम्झिएको पहलवान नशामा लट्ठिएर दीनहीन भएपछि के हुन्छ । नेपाली सञ्चार क्षेत्र पनि कतै यस्तै त भएको छैन् ?


देशको स्थिति र सञ्चारको स्थिति उस्तैउस्तै देख्छु म । जतासुकै भताभुङ्ग मात्र । नेपालीको राजनीति, समाज र कतिपय व्यवसायलाई पत्रकारिताले सिकार बनाएको छ । कतिपय विसङ्गति, विकृतिलाई नेपाली पत्रकारीताको पखेटाले छोपिदिएको छ । जसले गर्दा सञ्चारको विश्वासमाथि प्रश्न ठडिन थालेको छ । मुलुकको कुनै एउटा क्षेत्र स्वार्थको र्‍यालीमा डुब्नु समाजका लागि पक्कै पनि राम्रो होइन ।

 

भनिन्छ, पत्रकारिता समाजको ऐना हो । यो पनि भनिन्छ, चर्किएको ऐनाले अनुहार राम्रो देखाउन सक्दैन । हेर्नु पनि शुभ होइन । सत्य, तथ्य अनि निष्पक्ष समाचार सञ्चारको मूल मन्त्र हो । मैले थोरै पत्रकारसँग माफी माग्दै भन्नुपर्छ– सत्य, तथ्य र निष्पक्ष भन्ने आदर्शलाई नेपाली सञ्चारकर्मीले आफ्नो स्वार्थको सिकार बनाइसके । 


राज्यको चौथो अङ्ग विकृत हुनु भनेको राज्य विकृत हुनु हो र विरूप हुनु हो राज्यसंयन्त्र पनि । सञ्चारजगत्मा भाइरस पसेपछि कुहिन्छ राज्यको मुटु, पक्षघात हुन्छ राज्यको मस्तिष्क र लङ्गडा हुनछन् राज्यका अङ्ग अवयवहरु । 

 

पीडा भोग्छ मान्छेले, समस्यासँग जुध्नुपर्छ मान्छेले, आपत्ति आइपर्छन् मान्छेलाई विपत्तिको सामना गर्नुपर्छ मान्छेले र अन्याय तथा अपमान पनि सहनुपर्छ मान्छेले नै । साझा प्रकाशनमा गएपछि यस्तै र यिनै स्थितिहरुसँग जुध्नुपर्‍यो मैले । साझा प्रकाशनमा जानु मेरो लागि समस्यासँग जुध्नुको सिकाइ मात्रै हुँदै थियो । हरेस नखाई संस्थालाई अगाडि बढाउन सम्बन्धित निकायलाई हारगुहार गर्दै थिएँ । जसका लागि मैले चिनजानका सञ्चारकर्मी मित्रहरुलाई गुहार्दै थिएँ । साझाका घटनाहरु नेपाली सञ्चारका खबर बन्दै पनि थिए । युद्ध जितिएला जितिएला जस्तो अवस्थाको सिपाहीझैँ मैले आफूलाई देखिरहेको थिएँ । आशाका किरणहरू देखिँदै थिए कतै दूरक्षितिजमा ।

 

२०७४ साउन ५ मा ‘नागरिक दैनिक’को नाम बोकेर दुई युवक साझा प्रकाशनको मेरो कार्यकक्षमा आए । आफ्नो चर्चाभन्दा पनि साझाको चर्चामा लोभिएको म ती युवाहरूलाई साझाका सबै कागजात उपलब्ध गराउँदै साझाका समस्याबारे बताउँदै थिएँ । उनीहरू मेरा कुरालाई बेवास्ता गर्दै मेरो शैक्षिा योग्यताको कुरा गर्न थाले । ‘नबिराउनू नडराउनू’ भनेझै ती विष्णु अर्याल र वसन्त खड्का नामधारी कथित पत्रकारसँग आवश्यक जबाफ फर्काएँ ।

 

उनीहरू बार्गेनिङ गर्ने अवस्थामा देखेपछि म अझ रूखो बन्न थालेँ । उनीहरूले मलाई दुई दिनको समयसीमा थमाउँदै सोच्न चेतावनीसहितको आग्रह गरे उनीहरूको भावना बुझेर मैले उनीहरुलाई भेट्ने प्रबन्ध मिलाउनु आवश्यक ठानिनँ । पत्रकारिताको लालची भाइरसको एउटा सामान्य नमुना थियो त्यो । अपरिपकव, सञ्चारकर्मीको नियतपूर्ण स्वार्थप्रेरित कार्य कस्तो हुन्छ भन्ने उदाहरण बन्दै २०७४ साउन ८ गते ती दुई जनाले साझामा मैले भ्रष्टाचार गरेको भन्ने समाचार प्रकाशन गरे । त्यस समाचारले उनीहरूलाई जति मनोरञ्जन दिलायो, त्यसको हजार गुणा बढी क्ष्ति साझाले बेहोर्‍यो ।

 

साझा प्रकाशन सिध्याउने शकुनि पासा यसरी पल्टियो पत्रकारितामा । कागले कान लग्यो भन्दैमा कानै नछामी कागको पछाडि दौडिनु भन्दा कान छाम्नु बुद्धिमानी सम्झिएर मैले समाचारको खण्डन गर्नतर्फ लागिनँ । 

 

मेरो मौनतालाई ‘नागरिक’ले कमजोरी ठानेर एकपछि अर्का भ्रामक समाचारहरू प्रकाशन गर्न थाल्यो । साझा प्रकाशन सुधारको बाटोलाई चौडा बनाउँदै म निरन्तर अघि बढिरहेँ । साझामाथिको ‘नागरिक’ को शृङ्खलाबद्ध प्रहारको सङ्गीतमा केही कपीपेस्ट अनलाइन पत्रिका नाङ्गै नाच्न थाले । लज्जास्पद थियो त्यो दृश्य । 

 

साझा बुझेकाहरू एउटा दैनिक पत्रिकाको हर्कत देखेर ‘नागरिक’ माथि दयाभावका टिप्पणी गर्दै मलाई सान्त्वना दिनेगर्थे । यस घटनाले सम्भवतः सिङ्गो नेपाली सञ्चारमाध्यममाथि पनि अनेकौँ प्रश्न उठे होलान् ।

 

जसले जे गरे पनि हुने र भीडले ताली बजाएर पनि असत्य पनि सत्य साबित हुने परिस्थितिमा ‘नागरिक’को हर्कतप्रति कसले औंला ठड्याउने ?
नेपाली पत्रकारिता कति सत्यहीन, तथयहीन र निष्पक्षहीन अवस्थामा रहेछ भन्ने सानो उदाहरण र नमुना थियो त्यो । यस्तो पत्रकारिताका पछाडि समाजका केही बुज्रुक कसरी दौडिँदा रहेछन्, मैले चलचित्रको अभिनयजस्तो गरी हेरिरहेँ । 

 

असत्यको खेती गरेर पत्रकारिताको ढोल पिटेकामा सम्पादक गुणराज लुइँटेललाई फोन गरेर भेटेर साझाका सम्पूर्ण कागजातका प्रतिलिपि दिएँ तर उनलाई सत्यतथ्य समाचार भएको भए पो मेरो कागजात महत्वपूर्ण हुने थिए । उनी मादल बजाइरहे घृणित नौटङ्की नाचमा । 

 

आर्थिक रूपमा टाट पल्टिएर बाईस महिनादेखि तलबविहीन कर्मचारी पालेको साझाजस्तो संस्थामा भ्रष्टचार भयो भन्दै महत्वपूर्ण स्थान दिएर निरन्तर अतिरञ्जित समाचार प्रकाशन गर्नुले नेपाली सञ्चारजगत् कति हल्का र सतही रहेछ भन्ने प्रमाणित गर्दै थियो । 
मैले उनीहरूलाई भेटी चढाएर प्रसन्न पार्न नसक्नुको परिणति थियो त्यो । 

 

‘नागरिक दैनिक’को समाचारले म व्यक्तिगत रूपमा जति विचलित थिएँ, त्यसका निरन्तरका समाचारले त्योभन्दा बढी म बलियो बन्दै गएको थिएँ । समाज कस्तो रहेछ र नेपाली समाजलाई ध्वस्त पार्न सञ्चारको हात कति महत्वपूर्ण हुँदो रहेछ भन्ने बुझ्दै पनि थिएँ म ।

 

 

नागरिक दैनिकको त्यो काम जति साझालाई हानी पुर्‍यायो त्यसको धेरै गुणा हानी ‘नागरिक’लाई नै भएको छ । समाजमा हावा जता बहन्छ, उतै बहने मानिस मात्रै छन्, भन्न पनि छैन । द्रौपदीको चीरहरण भएझैँ साझाको चीरहरणमा दुर्योधन र दुशाासन बनिरह्यो नागरिक पत्रिका । 

 

 

भ्रम र असत्यको खेतीपातीका बारेमा धेरैले बुझ्नुपर्दैन । थोरै केहि मानिसले बुझे पनि पुग्छ । ‘नागरिक’को हर्कत नेपाली बौद्धिक समाज र साझाका असल चिन्तकहरुले पक्कै थाहा पाएका छन् । साझामाथि निगरानी  गर्नु हुँदैन भन्ने मेरो कुनै तर्क छ्रैन । संस्था अधोगतितर्फ लाग्नुका कारण पत्ता लगाएर विगत र वर्तमानमा भएका भ्रष्टचारलाई आफैँ सार्वजनिक गराउनमा म लागिपरिरहेको थिएँ । त्यही कारणको नेपथ्यमा रहेको शकुनि र दुर्योधनहरु अत्तालिएर विद्याकी देवी सरस्वतीको गरिरहे चीरहरण । 

 

 

करिब तीन महिना ‘नागरिक’ ले मेरो नितान्त निजी कुरालाई जोड्दै साझाका अति सामान्य कुराहरूलाई समाचार बनाएर छाप्दैगयो । शिक्षामन्त्रीमा भर्खर नियुक्त भएका गोपालमान श्रेष्ठका पुराना मुद्दाहरू उठान गरेर मैले प्रभावमा पारेका हेडलाइनहरू बनाउन थाल्यो । मैले मन्त्रीलाई ‘नागरिक’ एक दिन उदाङ्गिन्छ, मन्त्रीज्यू तपाईले चिन्ता गर्नुपर्दैन भन्ने आँट दिन थालेँ । मन्त्री अत्तालिए ।

 

 

उनले मलाई बचाउने निहुँमा पैसा माग्न खोजेजस्तो लाग्यो । मैले साझाबाट एक पैसा खाएको भए पो पैसा खुवाईखुवाई साझामा रहनु ? 
साझा जस्तो ऋृण तिर्न नसकेर पटक पटक बैङ्कले लिलामी सूचना प्रकाशन गरेको संस्थाबाट डोलेन्द्रले भ्रष्टचार गर्‍यो भनेर एउटा दैनिकले निरन्तर खेदिरहने र तालुकदार मन्त्रीले हावाका भरमा निष्कासन रोकन पैसाको आशा गर्ने अचम्मको स्थिति देखेर चकित परिरहेको थिएँ म । यो घटना नघटुन्जेल देश बन्छ भन्ने कुरामा म ढुक्क थिएँ । यसपछि मैले देश कुनै हालतमा बन्दैन भन्ने ठोकुवा गरेँ । आखिर साझाजस्तै तरिकाले नै चल्दै थियो त देश पनि । 

 

बिहान मसँग आएर घरखर्च गर्न पाइन लौन हजुर भन्ने सांसदले दिउँसो समितिमा गएर मेरो विरुद्ध विषवमन गर्ने गरेका घटनाले म झन स्तब्घ भएँ । 

नागरिक दैनिकले भनेका सब कुरामा थोरै प्रतिशत मात्र मिलेको भए पनि म डराउँथे अथवा सन्तोष लिने प्रयास गर्थे ।

 

भूतले जस्तो काम गरेको थिएँ । सब दलका विशिष्ट नेता, प्रधानमन्त्री या सरकारसाग पहुँच राख्ने कोसँग साझा बचाउन हार गुहार गरिनँ ? जब ‘नागरिक’ले साझा नाम जोडेर ममाथि खनिन थाल्यो, मैले काम गर्न सकिनँ । मन्त्रीले बर्खास्त गरेपछि मैले काम गर्ने कुरा पनि भएन । यही बीचमा साझा झन ध्वस्त भयो । कर्मचारीले फेरी तलब पाउन छोडे । काम ठप्प भयो । यदि राम्रो संस्था भएको भए संस्था नेतृत्वविहीन बन्नसाथ कामै नहुने किन हुन्थ्यो ?

 

आफूलाई लगाइएका कपोलकल्पित आरोपभन्दा साझाको दुर्दशाबाट आहत थिएँ म ।

 

‘नागरिक’ले पीतपत्रकारिताको खेती नगरेको भए र निराधार कुराहरूमा पवित्र शब्दहरूलाई खर्च नगरेको भए साझा नमुना संस्थाका रूपमा स्थापित हुन क्रममा थियो । 

 

अवकाश पाएका कर्मचारीले आफ्नो पाउनुपर्ने पैसा पाएका थिएनन् । काममा रहेका कर्मचारीले तलब राम्रोसँग पाएका थिएनन् । बैङ्कले लिलामको सूचना निकालिरहेको थियो । त्यही संस्थामा भ्रष्टचार भयो भनेर समाचार लेखिरहँदा त्यसका सम्पादक र तथाकथित समाचारदातालाई लुतो कन्याइको आनन्द आयो । आखिर लुतो कन्याउँदा आफ्नै शरीरमा घाउ, रगत र पीप आउँछ भन्ने बुद्धि पलाएन तिनमा । 

 

साझा प्रवेश मेरो जीवनको उपलब्धिभन्दा पनि इगोको विषय बन्यो । डुबेको साझा उकास्न मैले सञ्चालन गर्दै गरेको छापाखाना सित्तैंमा फ्याँक्नुपर्‍यो । तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले ‘साझालाई समृद्ध गराउनु छ भने प्रेस छोड्नुस्’ भनेको एक घण्टामा सञ्चालनमा रहेको बैङ्कको ऋृण बोकेको प्रेस कौडीको मूल्यमा बेचेँ । सञ्चालनमा रहेको प्रकाशन छोडेँ ।

 

संस्था चलाउन चालू पूँजी थिएन । संस्था चलाउनु नै थियो । घडेरीदेखि आफ्नो जे पायो त्यही बेच्न थालेँ । यस्ता कामहरूप्रति आँखा चिम्लनु कुनचाहीँ पत्रकारिताको मर्यादाभित्र पर्छ ? 

 

त्यही नागरिक पत्रिका हो । जसले मैले प्रेस सञ्चालन गरेको समाचार प्रकाशन गर्‍यो । अझ दुःखको कुरा साझा प्रकाशन जानुअघि मेरो बैङ्कको ऋण ६ करोड थियो । ‘नागरिक’ले मैले साझा लुटेको खबर छापिरहँदा मेरो ऋण नौ करोड पुगिसकेको थियो । 
यसको कुनै जवाफ दिन आवश्यक ठानिनँ मैले ।   

 

मानिसले भ्रष्टचार गरेर पैसा कमाउनु पनि त आफ्नो सजिलोका लागि होला । साझामा लुटेको भए मेरो बैङ्क ऋण किन घटेन ? खोज पत्रकारिताले त मेरो सबै कुरा खोज्नुपर्ने थियो । 

 


भ्रष्टचारका एकोहोरो सतही कुरा मात्रै पैकाशन गरेर ‘नागरिक’ले मेरो जीवनमाथि निरन्तर खेलबाड गरिरहँदा राज्यको चौथो अङ्गमा रूपमा परिभाषित नेपाली पत्रकारिताको एउटा नाङ्गो नाच बडो निरीह बनेर हेर्न विवश भएँ । आफ्नो स्वर्थ पूरा नभएकामा साझाभित्रै केही जिउहरू श्मशानघाटमा थाल ठटाएर नाचिरहेका थिए । 

 

कुनै पनि मानिसको सामाजिक प्रतिष्ठा हुन्छ । जति सूचना प्रवाह गर्ने हक सञ्चारगृहलाई हुन्छ त्यति आफ्नो इज्जतसँग बाँच्ने हक कुनै पनि मानिसमा हुन्छ । नागरिकले निरन्तर झुट्टा खबर प्रवाह गरिरहँदा मेरी बूढी आमाको मन कस्तो बनेको थियो म मात्र जान्थेँ ।
दिनरात सँगै बस्ने पत्नीका आँखा आँसुको बाढी कसरी आएको थियो म मात्र साक्षी थिएँ त्यसको । 

 

कलिलो छोराको बालमनमा कस्ता कुरा खेल्दै थिए होलान् म मात्र आकलन गर्न सक्थेँ । यी नितान्त मेरा वैयक्तिक पारिवारिक कुरा भए पनि मानवअधिकार र सार्वजनिक चासोको विषय थियो । 

 

यस्तो अवस्थामा पनि म कतै भागेको थिइनँ । समाजमै थिएँ । म अहिले सम्झन्छु – एक जना मेरा पत्रकार मित्रले ‘तपाईं त झुन्डिने अवस्थामा पुग्नुभएको छ, तैपनि सामान्य जीवनमै हुनुहुन्छ’ भनेको । 

 

म त्यसदिन घरमा आएर एक्लै रोएर मन हल्का बनाउने प्रयास गरिरहेको थिएँ । मैले मर्नैपर्ने अपराध गरेकै थिइनँ । दिनदिनै अपराधका खबर आइरहँदा मेरी आमा, पत्नी या आफन्तहरूलाई पनि समाचारको विश्वास बढ्न थाल्यो होला । 

 

तर मसँग साझामा सँगै रहेका कर्मचारी र साझा अनि मलाई चिनेका साथीहरु मेरो निर्दोष कर्म अपराधमा परिणत बनाईँदै गएको भयावह अवस्था हेर्दै मलाई जितको ढाडस दिँदैथिए । म उनीहरूप्रति कृतज्ञ थिएँ । मेरो निर्दोषतालाई राम्ररी बुझेका केही मित्रहरू, साझाका केही सञ्चालकहरू र साझाकै केही कर्मचारीहरू थिए तर अध्यक्ष र महाप्रबन्धकका नाताले कुरूप नियति भोगिरहेको एक्लो बृहस्पति थिएँ म ।

 

मित्रवरका सान्त्वना एक ठाउँमा थिए । यही बीचमा दसैं आयो । मैले आमाका हातबाट कसरी टीका थाप्नु ? मनमा अनेकन् कुराहरू हुरीजस्तै मडारिए । सासूआमाका हातबाट असल ज्वाइँ बनेर कसरी आशिष् लिनु ? टीका लगाइदिँदै आमाहरू रुन थाल्नुभयो भने मैले आफ्नो मनसँग हारिसकेको थिएँ । दसैमा दुबई गएर मन बहलाउने काम गरेँ । तर एउटा जिम्मेवार भएको सञ्चारगृहले दिएको पीडा जहाँ गए पनि शान्त हुने स्थिति थिएन । म बन्स सकिनन र तुरुन्तै फर्किएँ ।

 

समाजमा कसैले पनि अपराधी बन्नु हुँदैन र पत्रकारले पनि त अपराध गर्न हुँदैन होला । नागरिक दैनिकले म र मेरो परिवारमाथि अपराध गर्‍यो अदालतले मलाई निर्दोष ठहर्‍याएर मलाई राहत दिलाए पनि नागरिक दैनिकले म र मेरो परिवारमाथि गरेको खेलबाडको क्षतिपूर्ति कहाँ खोज्ने ? सञ्चारले नै हो समाजलाई बाटो देखाउने, राज्यलाई खबरदारी गर्ने, तर त्यही क्षेत्रले बाटो बिराउँदा नियमत गर्ने निकाय खोइ ?


एक दुई जना र एक दुई संस्थाका कारण सिङ्गो क्षेत्र बदनाम हुनु राम्रो होइन । आरोपै मात्र लगाउने र तयसलाई प्रमाणित गर्नुनपर्ने हो भने म गुणराज लुईँटेललाई हजार आरोप लगाउन सक्छु । विनोद ज्ञवालीलाई गन्नै नसक्ने आरोप लगाउन सक्छु । तर एक विवेकशील नागरिकका हैसियतले मलाई यस्तो हर्कत गर्न सुहाउँदैन ।

 

कुकुरले मान्छेलाई टोक्यो भनेर मान्छेले कुकुरलाई टोकन जाने प्रवृत्तितिर म लागिनँ; यसैमा आत्मसन्तोष छ मलाई ।  पछिल्लो समयमा मैले मिडियामा आउने तथ्यविनाका असत्य समाचारको पछि लाग्न छाडिदिएँ । आफूले गल्ती गरेको भए गलिन्थ्यो, कुहिन्थ्यो । गल्ती नगरेकाले एक–दुई फट्याङ्ग्राहरू उफ्रिँदै गर्छन् भन्ने सोचेर मौनमौन रहेँ म । 

 

यस मौनताभित्रको सत्य लुकेर रहनु हुँदैन, मौनताभित्रको तथ्य छोपिनु हुँदैन र सत्यलाई सुगन्ध लेपिएको कालो आवरणले ढाकेर राख्नु पनि हुँदैन भन्ने कुराबाट दीक्षित थिएँ म । यही दीक्षा आदर्श हो मेरो जीवनको । शिक्षा हो मेरो जीवनको र आगतका लागि पाठ हो मेरो जीवनरूपी पाठशालाको । यिनै शिक्षा, दीक्षा र पाठहरूबाट नदीको प्रवाहजस्तै बनेको छ जिन्दगीको यात्रा ।  

– साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माको हालै बिमोचित ‘बादलभित्रको घाम’ नामक पुस्तकबाट ।