बिचार

कुराको खेती, देशलाई क्षति              

शुक्रबार, १८ साउन २०७५ गते प्रकाशित
- संकेत कोइराला

कुराको खेती, देशलाई क्षति              

गृहस्थ जीवनबाट वाक्क एक वृद्ध फगत दुईवटा कछाड लिएर बनबास गएछन् । नजिकैको नदीमा दैनिक नुहाउने ती बृद्ध एउटा कछाड सुकाउने, अर्को फेर्ने गर्दा रहेछन् ।

 

यसैक्रममा कछाड उठाउन जाँदा एकदिन देख्छन त मुसाले कुटुकुटु कपडा दुलो पारिरहेको रहेछ । उनले सोचे– ‘सम्पत्तिको नाममा रहेको टालो जोगाउन एउटा बिरालो नपाली भएन ।’

 

नजिकैको गाउँबाट बिरालो ल्याएर पाल्न थाले । बिरालोलाई ख्वाउने दूधका लागि दैनिक गाउँ धाउँथे । उनलाई दिक्क लाग्यो । सोचे– ‘सधैं मागेर कति निर्वाह गर्नु ? अब गाई पाल्छु ।’ बिरालो पाल्ने निहुँमा गाई पालन शुरु भयो ।

 

अन्नपानीको शरीर सधैं एकनास किन हुन्थ्यो ? बुढा विरामी परे । गाईलाई दानापानीको तह गर्न सकेनन । खानपानको अभावमा गौहत्याको पाप लाग्ने ठानेर गाउँलेले एउटी एकल महिलालाई गाई र बृद्धको सेवा गर्न खटाइदिए ।

 

कालान्तरमा बृद्धको घरबार भयो । सन्तान जन्मिए । जुन मुक्तिका लागि बृद्ध बनबास गएका थिए, प्रारब्धले झन् कठिन चक्रव्यूहमा फसे । बृद्ध जीवनको अन्तिम घडीमा रहेका वृद्धको सत्य सन्देश सुन्न गाउँले आतुर थिए ।

 

उनीहरुले सोधे– ‘यत्रो त्याग तपस्याबाट तपाईंले पाएको अन्तिम सन्देश के हो ?’ उनले गाउँलेको कानमा खुसुक्क भने– ‘मैले जस्तो बिरालो पाल्ने रहर झुक्किएर पनि नगरेस् । यही गल्तीले मेरो जीवन बर्बाद भयो । यही सन्देश सबैलाई सुनाइदिनु ।’ 

 

जीवनको उत्तराद्र्धमा प्रधानमन्त्री केपी ओलीको आत्मबृतान्तको निष्कर्ष हुनेछ– डा. गोविन्द केसीजस्ता घामट कसैले झेल्न नपरोस् । संसारबाट मुक्ति चाहेका बुढाको रहरमाथि बिरालो पालनले मुसिको भवः बनाइदिए जस्तै  दुई तिहाईको ओली बेलुनलाई गोविन्द केसी नामको सियोले छ्वास्सै पारिदिएको छ ।

 

सिक्काको अर्को पाटो विश्लेषण गर्दा एउटा यस्तो दिन आउने छ– नेकपाका अर्का बोइङ चालक प्रचण्डले माओवादीलाई एमालेमा विलय गराउनु आफ्नो राजनीतिक जीवनको गम्भीर भूल भएको सार निकाल्ने छन् । यो यस्तो एकता हो– जहाँ कोदो र तोरी सराबरी मिलाएर पेलिएको छ । कोदो पिँधे पिठो हुन्छ । तोरी पेले तेलको धारा बग्छ ।

 

कोदो र तोरी गिजोल्दा नाम नखुलेको पदार्थ बन्छ । त्यो कसैका लागि ग्रहणयोग्य हुँदैन । पार्टी सुँप बनाउन खोजेपनि सलाद बनेर उत्रिएको छ । सलादभित्रका मुला, काँक्रो, गाँजर, रायो, खुर्सानी आआफ्नो दम्भसाथ फुलेर बसेका छन् ।

 

दुई तिहाई माओको रेडबुकजस्तो भएको छ, जुन पुस्तक गोजीबाट निकालेर ढोग्नासाथ मरेको मान्छे पनि ब्यूँतिन्छ भन्ने माओ राजमा चलाइएको भूत अहिले पुनरावृत्ति गरिएको छ । अनसन प्रकरणले दुई तिहाईको यो विशाल हात्ती सुँढमा केसी कमिला छिर्नासाथ तिलमिलाएर आत्मसमर्पण गरेको देखियो । यसले यो पुष्टि गर्छ कि उसंग नारा छ, कार्यक्रम छैन ।  

 

ती दलका नेता, कार्यकर्ता र अन्य व्यवसायमा संलग्न झोले, झण्डेको थामिनसक्नु भीड भएपनि ती ठेउकाहरुलाई के थाहा छैन भने यो देशमा कम्युनिष्ट र काँग्रेसबाहेक धेरै शक्तिशाली, जाने बुझेका घागडान मानिस छन् ।

 

जसलाई देशका नेता दल नामक प्राइभेट लिमिटेडका म्यानेजर हुन भन्ने राम्रो हेक्का छ । घरमा एक सिलिण्डर ग्यासको प्रबन्ध गर्न नसकेका तर हुँकारमा नेपाल आयल निगम ठेक्का लिने ती झोले, झण्डेहरु भुसका भँगेरा हुन भन्ने तथ्य कोहीबाट छिपेको छैन । 

 


संघीयता अभ्यासमा गएका वर्ष तराईमा किलोको पाँच रुपियाँका दरले मालदह आँप विकेन । नबिकेका आँपको दुर्गन्धले एक र दुई नम्बर प्रदेशको मुख्य राजमार्ग दुषित भयो । एक ट्रक आँपको कोसेली बोकेर सुदूर, कर्णाली र पाँच नम्बर प्रदेश पुगौं भनेर प्रदेश एक र दुईका कुनै मुख्यमन्त्रीको घैंटोमा घाम लागेन ।

 

गोलभेँडा नबिकेर सडकमा पोखिएको समाचार आउँदा त्यो टमाटरको पहुँच जुम्ला, हुम्ला, कालिकोटमा पुर्‍याउने बुद्धि कसैमा पलाएन । जबकी चितवनको गैंडा तामझामकासाथ चीनलाई हस्तान्तरण गर्दा राज्यका सबै अंग चलायमान देखिए ।

 

युरोपमा बनेको एयरबस आउँदा दशैं आएजस्तो गरियो । यदि त्यो तराईको आँपले हिमाल र पहाड चढ्ने मौका पाएको थियो भने कर्णालीमा गाईबस्तुले खाँदा पनि नसकिने स्याउ बोकेर आउँदो हिउँदमा त्यहाँका जनप्रतिनिधि तराई पस्दा हुन् ।

 

ठूला गफ गरेर सानो कर्तव्यमा चुक्दा गफ नै ओढ्ने, ओछ्याउने र खाने वस्तु बनेको छ । चाउचाउ, विस्कुट, मदिरा, ग्यास सिलिण्डर चौबीसै घण्टा देशका कुनै पनि ठाउँमा पुग्दा लहानको मालदह आँप कर्णाली पुग्न के ले रोकेको हो ?

 

नेता महाशय जेल बस्नु भो, कोरा किताब पढ्नु भो, फन्टुस गफमा पोख्त हुनु भो, आत्मरतिमा रमाउनु भो, सत्तासीन हुनुलाई लोकतन्त्र, प्रतिपक्ष हुुनुलाई अधिनायकवाद भनेर बुझ्नु भो । प्रतिपक्ष हुँदा चाकरी बिझायो, सत्तारुढ हुँदा त्यसले आनन्द दिने रोगबाट मुक्त हुनुभएन ।

 

सत्तारुढ हुनु भनेको संसारको सर्वश्रेष्ठ चिन्तक, विद्वान र दार्शनिक हुनु हो भन्ने भ्रम पालेर जे पायो त्यही बोल्नु भयो । तपाईंका हनुमानहरुले अल्पबुद्धिलाई चालीसा भनेर पाठ गरे ।

 

यी सबै भ्रम रहेछ भनेर त्यतिबेला बुझ्नुभयो, जतिबेला तपाईंको उपयोगिता सकिसकेको थियो  । सामन्तवादको चुरो तपाईंको नारा, बुझाईमा नभएर राज्यको संयन्त्रमा छ ।

 

त्यो च्यात्ने साहस कसैबाट भएन । दुई तिहाईको संख्याले त्यो पर्खाल भत्काउन त के चोट लाउने सामथ्र्य समेत राख्न सकेन । सत्याग्रही बनेर सरकारलाई कर्तव्य सिकाउने गोविन्द केसी पनि सरकारी कर्मचारी, पत्नी र छोरालाई सुरक्षा गार्ड उपलब्ध गराउने शेरबहादुर देउवाको कानुन विपरीतको निर्णयमा सही धस्काउने पनि सरकारी कर्मचारी ।

 

विभेद यही हो । गोविन्द केसीको जीत सत्याग्रहको जीत हो । उनी लायक हैन कि अरु झन् नालायक भएर परिस्थिति यस्तो भएको हो । औकात नभएका दुर्गा प्रसाईं त मार्सी भातको प्रकरणले चर्चामा आए । तर मुलुक बनाउने बागडोर सम्हालेका दुई सर्वोत्कृष्ट मुखियाको संगत कुन कोटीका मानिससंग रहेछ, त्यो सत्यले धेरैको छाती पोल्यो ।

 

सरकारलाई प्रालि बनाउने देउवा रवैयाबाट वाक्क दिक्क भएकाहरु  कम्युनिष्ट राजमा प्रसाईं नाच शुरु भएपछि नौ नाडी गलाउन बाध्य भए । यी दृश्यले धेरै कमरेडहरुको अवस्था मुटुमाथि ढुँगा राखी हाँसेको अभिनयमा गुज्रिरहेको छ ।

 

बोलौं प्वाँख काटिने, नबोलौं छटपटीले औडाहा हुने । झुटको जमिनका सत्यको घर बनाउने मूर्खता गर्न खोज्दाको परिणामले राम्रो थपिनु त परै जाओस, भएको पनि खरानी हुने अवस्था छ । 

 


जात, क्षेत्र, भाषा, भूगोलका नाममा छरिएका सलाईका काँटी बाल्न जति रमाइलो थियो, अब त्यसको व्यवस्थापनको भाउँतोले नेताहरुको ओठ तालु सुकेको छ । अहिले देखाइएका समस्या खास समस्या नभएर त्यसप्रति नेताहरुले देखाउने गरेको प्रतिक्रिया चाहिँ समस्या बनेर उभिएका छन् ।

 

नेताहरुले के बुझ्न जरुरी छ भने सफलता त्यो जमिनमुनिको पानी हो, जुन सय ठाउँमा एक मिटर खन्नाले मिल्दैन, बरु एक ठाउँमा सय मिटर खन्नाले प्राप्त हुन्छ । प्रत्येक मानिस सम्भावनाको स्रोत हो ।  

 

यदि माछालाई उसको रुख चढ्न सक्ने क्षमतामार्फत मूल्यांकन गरियो भने उसले आफ्नो सम्पूर्ण जीवन आफूलाई मुर्ख ठानेर विताउनेछ । जनताको सामथ्र्यको कसी पनि त्यही नै हो । जसरी आकासले जति पानी बर्साए पनि पिउने तागत हुन्छ, त्यसरी नै नेताको चुरीफुरी पचाउने तागत जनतामा हुन्छ । लोकतन्त्रको मान्यता त्यसै स्थापित भएको होइन– जनता कहिल्यै गलत हुँदैन ।

 

शास्त्रले खबरदारी गरेको छ– ‘जो राजर्षि बनी देशको सेवा गर्छ, उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आफूमा सुरक्षित राख्नु आवश्यक छ ।’ 

 


जिन्दगीमा जब ठूला ठूला बस्तुहरु मिल्छन तब सानालाई भुल्ने गल्ती किमार्थ नगर्नु किनकि जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन । चाल्र्स डिकेन्सले आफ्नो पुस्तक अल द इयर राउण्डमा लेखेका छन्– ‘कसैले बुद्धिमान कसलाई भन्ने सोधेमा जवाफ पाउने छन, जो सानो भन्दा सानो कुरामा ध्यान दिन्छ ।’

 

अबको युग अन्त्यहीन सीमा र अन्तरीक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो ।  जात, वर्ग, होचा, अग्लाजस्ता बेतुकको जामा लगाएको संविधानको धावा दिएर मानव कल्याणको शूत्र रट्नु असभ्यताको पराकाष्टा हो । धर्म, संस्कृति भनेको व्यक्तिभित्रको सन्तुलन हो ।

 

आत्मअनुशान हो । यो खैंजडी बनाउने विषय होइन । हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन् । तराईबासी हिमालय पर्वतमा विराजमान महादेवको पूजा आराधना गर्छन् । प्रकृतिले मिलाएको सन्तुलन विगार्न खोज्नेहरु आपैंm खरानी हुने निश्चित छ ।

 

शास्त्रले भनेको छ–‘भाग्यले निधारमा धेर थोर जे जति धन पाउँछ भनी कोरिदिएको छ, त्यति धन मरुभूमिमा गएपनि मनुष्यले अवश्य पाउँछ । त्योभन्दा बढी सुमेरु पर्वतमा गएपनि पाउँदैन । तसर्थ धैर्य गर, धनीहरु कहाँ गएर दयाको भीख नमाग । हेर, इनार र समुद्र जहाँ थापेपनि गाग्रीमा भरिने पानी उत्ति नै हो ।’ 


खरानीबाट आगोको झिल्को उधिनेर उन्नति गरेका चीन, जापान, कोरिया, भियतनाम, पोल्याण्डजस्ता मुलुक चह¥याएको घाउमा कसरी मल्हम लगाउन सफल भए भन्ने आत्मज्ञानप्रतिको आकर्षण अहिलेको यक्ष विषय हो । जसले  राजनीतिलाई शिखण्डी बनाएर देश चिराधरा बनाउन खोज्ने ठेकेदारहरुको बिचल्ली गराउन मद्दत गर्नेछ । 


अपराधीकरणको मन्द विषले तलदेखि माथिसम्म राज्यका सवै अवयव थङ्थिलो बनेको छ ।  चिनेको र किनेको तदर्थवाद राष्ट्रिय गहना बन्दै आएको छ ।

 

काठमाडौंलाई हजारवटा गाली गरेपछि अन्त्यमा चिरिच्याँट्ट परेको एउटा घर, पार्किङ, दुईचार वटा फूलका थुँगासहितको गार्डेनमा जीवनका सम्पूर्ण लीला आहुती दिने लाखौंका रहर अहिले पनि उत्तिक्कै सल्बलाई रहेको छ ।

 

सत्तासंग सम्झौता गरेपछि सर्वहारा एकाएक सर्वआहारा बनेका छन् । गरीबीको अन्त्य गर्ने कसम खाएकाहरु गरीबको घाँटी निमोठ्ने शिखण्डी बनेका छन् ।

 

जब एउटा विशुद्ध र तागतिलो मान्छे बाँच्छ, त्यसपछि मात्र राजनीति, धर्म, संस्कृति बाँच्ने हो । राज्यको कानुन विफल भएर केही फरक पर्दैन तर सामाजिक र नैतिक कानुनमा धमिरा लाग्यो भने त्यसले पुर्‍याउने क्षति सम्हाली साध्य हुन्न ।