बिचार

कुरा मिले हीरा, नमिले किरा       

बुधबार, १३ भदौ २०७५ गते प्रकाशित
- संकेत कोइराला

कुरा मिले हीरा, नमिले किरा       

जब बनारसका राजाले प्रजासँग नयाँ कर लगाउन चाहे, तब उनका चार मन्त्रीले विरोध गरे । यसबाट क्रुद्ध बनेका राजाले तिनीहरूलाई देश निकाला गरिदिए । बाटोमा हिँड्दै जाँदा तिनीहरूले जमिनमा ऊँटको पाइला देखे ।

 

आपसमा त्यसबारे कुरा गर्न थाले । त्यसैबेला ऊँटको मालिक आत्तिँदै आइपुग्यो, र सोध्यो– ‘के तपाईंहरूले मेरो ऊँट यहाँबाट गएको देख्नु भो ?’ एक मन्त्रीले भन्यो– ‘के तिम्रो ऊँटले एउटा खुट्टा खोच्याउँछ ?’ ऊँटको मालिकले भन्यो– ‘तपाईंले ठीक भन्नुभयो ।’ अर्को मन्त्रीले थप्यो– ‘कतै तिम्रो ऊँट कानो त थिएन ?’ जवाफ आयो– ‘हो, हो त्यो कानो पनि छ ।’ अब पालो थियो तेस्रो मन्त्रीको । उसले आफ्नो सार निकाल्दै भन्यो– ‘के ऊँटको पेटमा कुनै खराबी थियो ?’ ऊँट मालिक झन् हौसिएर भन्दै थियो– ‘ठीक भन्नु भो, तर अब कृपा गरेर बताइदिनुस् त, मेरो ऊँट कहाँ छ ?’


चारैजना मन्त्री एकमुख लागेर जवाफ दिए– ‘तिम्रो ऊँट हैन, ऊँटको खुट्टाका पाइला देखेर हामीले यस्तो निष्कर्ष निकालेका हौं ।’ यस्तो कुरा सुनेपछि ऊँट मालिक जंगिदै भन्न थाल्यो– ‘तपाईंहरू झूटो बोल्दै हुनुहुन्छ । मेरो ऊँटबारे तपाईंहरू सवैलाई थाहा छ । त्यो ऊँट तपाईंहरूले नै चोरेको हुनुपर्छ । म यो कुरा राजासँग उजुरी गर्छु भन्दै चारै मन्त्रीलाई समातेर राजासमक्ष पुर्‍यायो ।’ पुछ्ताछपछि पहिलो मन्त्रीले भने– ‘महाराज, ऊँटको तीनैवटा खुट्टाको निशाना गहिरो थियो । तर चौथो भने हल्का, त्यसैले मैले विचार गरेँ कि त्यो ऊँट खुट्टा खोच्याएर हिँडेको हुनुपर्छ ।’

 

दोस्रो मन्त्रीले भन्यो– ‘महाराज, बाटामा दायाँतर्फका रूखका पातहरू चुँडालेको देखिन्थ्यो । तर बायाँतर्फसँग रगतका थोपा पनि देखिन्थे । त्यसबाट मैले विचार गरेँ कि ऊँटलाई किराहरूले टोकिरहेका थिए । तर पुच्छर छोटो भएका हुनाले उसले किरा धपाउन पाएन होला ।’ चौथोले आफ्नो अन्तिम निष्कर्ष निकाल्दै भन्यो– ‘ऊँटको पाइला हेर्दा पछिल्लो र दायाँपट्टिको खुट्टा जमिनमा हल्का बसेको देखिन्थ्यो । यसबाट यो स्पष्ट हुन्छ कि ऊँटको पेटमा अवश्य पनि गडबडी थियो होला । यही कारण उसले आफ्नो चौथो खुट्टा पूरा बलले राख्न सकेन् । 


राजा आफूले नै निकालेका मन्त्रीको कुरा सुनेर खुसी हुँदै भन्न थाले– ‘तिमीहरू जस्तो बुद्धिमान मन्त्रीहरूलाई निकालेर मैले ठूलो भूल गरेँछु । आजदेखि फेरि तिमीहरू मेरो दरबारमा बस्नेछौ । मैले लगाएको नयाँ कर पनि आजैदेखि फिर्ता गर्दछु ।’ 
पञ्चायती व्यवस्थाको नर्सरीमा हुर्किएका पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ उपचारको अभावमा यस धर्तीबाट बिदा भए ।  तर तिनै मरिचमान हुर्किएको ‘निरंकुश’ व्यवस्थाले बिपीलाई उपचार गर्न सरकारी खर्चमा अमेरिका पठाएको थियो ।

 

गिरिजाप्रसाद कोइरालाकी पत्नी सुष्मा कोइराला स्टोभबाट शरीरमा सल्किएको आगोले घाइते हुँदा पञ्चायतका जल्दाबल्दा प्रधानमन्त्री सूर्यबहादुर थापाले अबगाल खपेरै भएपनि हेलिकोप्टरबाट विराटनगर ओखती पठाएका थिए । छोराले सालीसँग ‘इलु इलु’ गरेको सुइँको पाएपछि महेन्द्रलाई युवराजबाटै बर्खास्त गर्ने निधोमा पुगेका राजा त्रिभुवनलाई बिपीले यसरी फकाए– साँप पनि म¥यो, लौरो पनि भाँचिएन ।

 

बिपीसँग मनमुटाव भएपछि आफूलाई खुसी पार्न प्रज्ञा प्रतिष्ठानमा साहित्यकारको लहरबाट बिपीको फोटो लुकाउने आफ्नै चण्डमुण्डहरूको उल्टो हुर्मत लिएका राजा महेन्द्रले यथास्थानमा फोटो राख्न लगाएर राजनीतिक उच्चताको परिचय दिए । राणालाई मिल्काएपछि दलहरूमा एक किसिमको महत्वाकांक्षा देखियो ।

 

अरूको अस्तित्व स्वीकार नगर्ने परिपाटी त्यसबेला देखा पर्‍यो । यो दृश्य देखेपछि मोहनशम्शेरले बिपीलाई सम्झाउँदै भनेका थिए– ‘दरबारमा रहेको सेनाको बिजुली गारत पल्टन राख्नु तपाईंहरूको राजनीतिक भूल हुनेछ । देश विदेश पढेर आएपनि राजनीतिक दाउपेचको अनुभव तपाईंलाई भन्दा हामीलाई छ । त्यसैले दरबारमा रहेको सेनाको पल्टन जसरी भएपनि झिक्नुस् ।’

 

मोहनशम्शेरको बचन नटेर्दा राजनीतिक कोर्स नै अर्कातिर गयो । एउटै पार्टीका बिपी–सुवर्णशम्शेर बाँचुन्जेल धेरै विषयमा मत मतान्तर राख्थे तर निर्णायक घडीमा त्याग गर्न उनीहरूको हानथाप चल्थ्यो । प्रजातन्त्रका लागि प्रवास जाने बिपीको निर्णयलाई आफ्नै धर्ती नछोडेर किसुनजीले अवज्ञा गरे । तर जीवनको उत्तराद्र्धमा तिनै असहमत कृष्णप्रसादलाई नै बिपीले पार्टीको साँचो सुम्पिए ।

 

बिपीप्रति अगाध स्नेह राख्ने गणेशमानका लागि प्रधानमन्त्रीको इतिहासभन्दा कृष्णप्रसादप्रतिको विश्वास भरपर्दो भएर नै त प्रधानमन्त्री पद लोभैबिना हस्तान्तरण गरिदिए । बिपीलाई क्यान्सर लाग्दा अमेरिका पठाउने निर्णय गर्ने निरंकुश पञ्चायती सरकार र मरिचमानलाई त्यही क्यान्सर लाग्दा क्यान्सरको ओखतीमा व्यभिचारी लोकतान्त्रिक सरकारबीचको अन्तर नै बुझिनसक्नु पहेली हो ।

 

हजारौं राजनीतिज्ञलाई तलवी कर्मचारी बनाएर आफ्नो मथिंगलको बोझ कम गरेको चलाखीलाई संघीय लोकतान्त्रिक समावेशी राजनीति प्रणाली नामकरण गर्ने यो हैजारूपी रोगले धेरैको राजनीतिक भविष्य धराप पार्ने पक्का छ । शरीरको एउटा सामान्य तन्तुको विषयमा विज्ञता हासिल गर्न एउटा डाक्टरको सम्पूर्ण ऊर्जाशील समय नष्ट भएको हुन्छ । तर भोटको नाममा एउटा कुर्सीमा पुगेका अमूक पात्रहरूको समृद्धि योजनाले भोट दिनेकै कान पाक्ने अवस्था छ ।

 

राज्यको जीवनमा एक रुपियाँको खर्च भनेको स्वतः ३ करोड हुन्छ । नीति भन्छ– ‘राज्यले कर माहुरीले पूmलबाट पराग लिए जसरी उठाउनु पर्छ ।’ तर अर्थमन्त्रीभन्दा वडा सदस्य करका व्याख्याता छन् । कर उठाउनुको औचित्यको आधिकारिक जवाफ कोहीसँग छैन । दुई चार लहडी मिलेर देशमाथि गरिएको यो अर्को निर्मम प्रयोग हो । राज्यले जनतासँग लिने करसँगै उसले जनतालाई दिने प्रत्याभूतिको प्रवेश एकसाथ हुनुपर्छ । आफ्नो दृष्टिकोण हीरा, अरूका सबै किराको संकीर्ण सोचले एक इन्च कोही उठ्न सकेको देखिँदैन । 


लोकतन्त्र र सुशासन एक अर्काका पर्यायवाची शब्द हुन् । साँचो लोकतन्त्रमा कसैको मान मर्दन हुँदैन र कसैबाट हुनु हुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो । हाम्रो समाजमा अब विकास त धेरै टाढा भयो, नागरिक शिक्षाको अभियान वाञ्छनीय बन्दै गएको छ । मान, मर्यादा, नैतिकता मान्छेका नभएर निर्धो र लाचारका आभूषण भएका छन् । धनीले सम्पत्ति त ओगटेको छ तर उसको चुल्होको खर्च उसकै कुकुरको दानापानीको खर्चले उछिनेको छ ।

 

गरिबलाई त धनीको मिसकल आउला तर धनीलाई आउने यमराजको मिसकलबाट जोगिन उसले गरेको भगीरथ प्रयास अब होशियारी नभएर जोकमा परिणत हुन थालिसकेको छ । शरीरमा रोगले राष्ट्रिय सहमति गरेपछि मर्निङ वाकका नाममा निस्कने अधिकांश धनीहरू सुपरमार्केटबाट आफूलाई भन्दा टमीहरूलाई महँगा खानेकुरा लैजान अभ्यस्त छन् । थुक निल्दै चिल्ला, गुलिया र मीठा खानेकुरा टमीलाई ख्वाउँछन् ।

 

त्यसपछि सुगर फ्रि नामको मैदाको पाप्रो आफू चपाएर ‘ब्रेकफास्ट’ को कोर्स पूरा गर्छन् । काखमा टमीलाई लिएर परदेशमा रहेका नातिनातिनासँग भिडियो च्याट गर्नु उनीहरूको दैनिकी बन्दै आएको छ । छोराछोरी, नातिनातिना त छन् तर खलै उठेर युरोप, अमेरिका भाँसिएका छन् । घरमा विपत्ति पर्‍यो भने परिवारका कसैको भर छैन् ।

 

हजुरबालाई आइसियुमा राखेको खबर विदेशमा रहेको नातिले पायो भने फेसबुकमा दुःख प्रकट गरेर आफ्नो कर्तव्य निभाउँछ । हो त्यसैले त फेसबुकको नातिभन्दा त्यस्ता धनीहरूलाई आफ्नै टमीहरूको भर हुन थालेको छ ।

 

कम्तिमा यसले स्वामी भक्ति त छोड्दैन् । गाउँको च्याँख्ला र ढिँडोबाट जोगिन सहर छिरेका यिनीहरूको दुःख सिंहदरबार जत्रो घर र सहरका खाल्डाखुल्डी पनि थाहा नहुने खालका विलाशी गाडीमा चढ्दा पनि दुःखको पहाड उन्नाईस नभएर एक्काईसमा उक्लेको छ । प्रारब्धले चुचे ढुंगो उही टुंगोमा पुर्‍याएको छ ।

 

पुँडे गोरुले चोकरमा नरुचाउने पिठोले पकाएको रोटी ‘अर्गानिक’ का नाममा फूर्ति लाउँदै निल्नु धेरै सुकिला मुकिला अनाम पात्रहरूका लागि आफैँलाई चित्त बुझाउने मेलो भएको छ । अरू त अरू करोडौं गर्भभित्रको राजा हुन पाउने अभूतपूर्व संयोग बोकेका राजा ज्ञानेन्द्र त सडकमा आए भने रङ पोतेर बाघको अभिनयमा बाँचेका बिरालाहरूको घमण्ड नटिक्ने पक्का छ ।

 

समाजको यो गम्भीर पाटो कसले विश्लेषण गरेको छ ? उनीहरूले बुझे हुन्छ– ‘बाघ नभए ठाउँमा वनबिरालाको चुरीफुरी त हुन्छ तर त्यो क्षणिक मात्र ।’ गफमा धनीले उछिने पनि खुवाईको चौका भने गरिबको भागमा पर्छ । साँचो जिब्रोको स्वाद उसले लिन्छ । त्यसैले त उ सधैं भुटेको र तारेको स्वादमा रमाउँछ । यसको मूल कारण हो– उसभित्रको भोकले भोजनमा अलौकिक स्वाद उत्पन्न गरिदिन्छ । खाए मकै नखाए भोकैको अवस्था अब गरिब हैन, धनीका पुर्पुरामा लेखिन थालेको छ ।

 

विडम्बना भन्नुपर्छ– टमीका मालिकहरूबाट निर्देशित सिंहदरबारले समाजको मनोविज्ञानलाई छाम्नै सकेको छैन । आकाशमा उडाउने गफ गर्ने तर चाहिएका बेला एक चिम्टी माटो सुरक्षित गर्न नसक्ने अकर्मण्यताबाट सिंहदरबार घाइते हुँदै आएको छ । सिंहदरबारले राम्रा र चिल्ला कागजमा पौडी खेल्न त सिकायो तर अभ्यासमा एक गिलास भरलाग्दो स्वस्थ पानी जनतालाई दिन सकेन् ।

 

बरु दूध बेच्दा पनि पाप लाग्छ भन्ने निष्कपट र निर्दोष समाजलाई प्लास्टिकका बोतलमा भरेको फोहोर पानी मिनरल नाम दिएर क्रिमनल नारासाथ बेच्न उक्सायो । झूटले सत्यलाई दुःख दिन त सक्छ तर परास्त गर्न सक्दैन । कर्म नराम्रो छ भने भाग्य पनि रुन्छ । अरू त अरू मान्छेका इन्द्रिय नै स्वार्थी छन् ।

 

अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिँदैन । दिन ढलेपछि छायाँले छोड्छ । जीवन एउटा वाक्य हो । जवानी डिक हो भने वृद्ध कमा, अनि मृत्यु फुलस्टप । हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ । जो कसैका कुरा सुन्दैन त्यो पनि असफल सवैका कुरा सुन्छ त्यो पनि असफल ।

 

भ्रष्टाचारले देश आक्रान्त भएपछि भारत स्वतन्त्र भए पछिका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु इन्जिनियरहरूको भेलामा डाको छोडेर रोएका थिए । उनको आग्रह थियो– ‘कमसेकम ५० प्रतिशत खाएरै भएपनि राम्रो काम गरिदिनुस् ।’ अब भ्रष्टाचार ओपन सेक्रेट भएको स्वीकार्ने हो भने हामीलाई पनि त्यसलाई वैधानिकता दिन के आपत्ति ?


भनिन्छ– मानिसका १८ किसिमका परीक्षा हुन्छन् । १७ वटा परीक्षामा सर्वोत्कृष्ट ठहरिएको मानिस १८ औं परीक्षामा चिप्लिन सक्छ । त्यो हो– द्रव्य मोह । अबको पेचिलो प्रश्न उही हो– अब हामी माडका लागि लड्ने कि जाँडका लागि ?