राजनीति

ओली–नेपाल खटपट

बुधबार, १३ भदौ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

ओली–नेपाल खटपट

काठमाडौं । तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ ।

 

जिल्ला कमिटीहरूमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ । पार्टीभित्र आफूहरूलाई पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी छ।

 

जिल्ला तहमा नेतृत्व चयन गर्दा ओली पक्षले पेलेको र स्थान नदिएको गुनासो लिएर नेपालनिकट नेताहरु काठमाडाैं आउन थालेका छन् । नेतृत्व चयन गर्दा बदनीयत राखेर अन्याय गरिएको भन्दै अर्घाखाँची जिल्लाका पुराना नेता रामबहादुर चौहान काठमाडौं आएका छन् ।

 

तत्कालीन एमाले जिल्ला सचिव रहेका चौहान अध्यक्ष चेतनारायण आचार्य प्रदेशसभा सदस्य र उपाध्यक्ष जीवनारायण कोइराला पार्टीको प्रदेश समिति सदस्य भएकाले वरियताक्रमअनुसार अध्यक्ष आफू हुनुपर्ने दाबी गर्छन्।

 

तर जिल्लास्थित कार्यदलले भने चौहानलाई जानकारीसमेत नगराई २०६९ को अधिवेशनमा उनैसँग जिल्ला सचिवमा पराजित पिताम्बर आचार्यलाई अध्यक्षमा सिफारिस गरेर अनुमोदनका लागि प्रदेश समितिमा पठाएको छ ।

 

आफूलाई जानकारीसमेत नगराई जुनियरलाई अध्यक्षमा रिफारिस गरिएपछि उनी असन्तुष्ट भएका हुन् । चौहान जबरजस्ती नेतृत्व चयन गर्ने कार्यदललाई कारबाही गर्नुपर्ने बताउँछन्।