समाचार

कुरा: खस्रा मिठा

भारत र पाकिस्तानको गनगनले सार्कअगाडि बढेन, अब कहिल्यै बढ्दैन (भिडियोसहित)

हामीलाई बिम्सटेक र बिबिआइएनबाट फाइदा छ, सार्कबाट भएन

मङ्गलबार, १२ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

भारत र पाकिस्तानको गनगनले सार्कअगाडि बढेन, अब कहिल्यै बढ्दैन (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक एवं लेखक अरुणकुमार सुवेदीले नेपालमा सुरु भएको बिम्स्टेक सम्मेलनका बारेमा आफ्नो विश्लेषण एवं मूल्यांकन गरेका छन् ।

 

नेपाल आजको नियमित भिडियो स्तम्भ ‘कुरा खस्रा मीठा’ मा यसपटक उनले दुई आणविक शक्ति सम्पन्न मुलुक भारत र पाकिस्तानको गनगन र कचकचका कारण सार्क संगठन निष्क्रिय हुन पुगेको बताए । राजधानी काठमाडौंमा सुरु भएको बिम्स्टेक सम्मेलनबाट नेपालले फाइदा लिन नसक्ने उनको ठम्याइ छ । सुवेदीले बिम्स्टेकका सम्बन्धमा व्यक्त गरेका धारणाको मुख्य अंशहरू निम्नानुसार छन् :


‘भारत र पाकिस्तानको रणनीतिक र सामरिक स्वार्थ बाझिँदा सार्क कमजोर भएको छ । दुवै मुलुकलाई मिलाउन सक्ने वा मध्यस्थता गर्ने औकात सार्कका अरू मुलुकमा देखिएन । जसका कारण अहिले बिम्स्टेक अगाडि आयो । यो सम्मेलन जल र ऊर्जासँग सम्बन्धित छ । जल र ऊर्जाको विषयमा पाकिस्तानसँग हामी जोडिदैनौं । पाकिस्तानलाई ऊर्जा बेच्न पनि भारतबाटै जानु पर्ने हुन्छ ।

 


पाकिस्तानले नेपालसँग भावनात्मक र नकारात्मक सम्बन्ध राख्ने गर्छ । नेपाललाई भारतसँग रिस उठ्छ, अनि भारतलाई पाकिस्तानले दुःख दिन्छ भनेर नेपालले भावनात्मक आनन्द लिने गर्छ । त्यो भन्दा केही रहेन । 


नाकाबन्दीको बेला पाकिस्तानीले ‘नेपालीको साथमा छौं’ भन्दा हामी खुसी हुनु हाम्रो मूर्खता हो । 


कुनै देशलाई अति उत्तेजित बनाइन्छ । ताकि त्यो देशले युद्ध घोषणा गरोस् भनेर । जसरी अहिले इरानलाई पनि उत्तेजित गराइरहेका छन् । आफू उत्तेजित भएर अगाडि बढ्ने कि नबढ्ने भन्ने त्यो देशका नागरिकले बुझ्ने कुरा हो । 


बिम्स्टेकमा रणनीतिक सामरिक स्वार्थ भएका मुलुक यहाँ छैनन् । शक्तिशालीको योजनामात्रै अगाडि आउने अवस्था छैन । भारतमा कांग्रेसको सत्ता हुँदा बिम्स्टेकलाई महत्व दिएन । अहिले मोदीले दिए । 


बिम्स्टेकमा हामीले आफ्नो आर्थिक उन्नतिका लागि ऊर्जाको विकासमा हामीले ध्यान दिनुपर्छ । इनर्जी र कनेक्टिभिटी आवश्यक छ । सरकारले तयारी गरेर प्रस्तुत गर्ला कि भन्ने आशा थियो । सरकारको गति र मति हेर्दा त्यस्तो लाग्दैन । 


सार्कलाई दुई उपक्षेत्रीय  संगठन बनाएर अगाडि बढेको भए केही सान्दर्भिक हुन्थ्यो होला । किनभने दुई उपसंगठन बनाउँदा दुई खाले पानीढलोका मुुलुक छुट्टिन्थे । जहिले पनि पाकिस्तान र भारतको गनगनमा हामी फसेर किन समय बर्बाद गर्ने ? हामीले उनीहरूलाई मिलाउन सक्ने पनि केही रहेन । 


सार्कमा कतिपय अवस्थामा सबैभन्दा बढी खर्च गर्ने भारत, अनि सार्कका राष्ट्रहरूले नै दुःख दिने अवस्था पनि आयो । 


सार्कबाट भारतलाई नेपाललाई र पाकिस्तानलाई पनि फाइदा भएन । बिम्स्टेक र बिबिआइएनबाट हामीलाई फाइदा हुन्छ । यी दुई संगठनमा शत्रुता भएका मुलुक छैनन् । 


मुलुक सानो हुँदैमा अन्तर्रा्ष्ट्रिय मञ्चमा प्रभाव कम हुने होइन । उदाहरणका लागि इजरायल र भ्याटिकनलाई हेरौं । हामीले हाम्रो अन्तर्रा्ष्ट्रिय प्रभाव कायम राख्न सकेका छैनौं । 


अन्तर्रा्ष्ट्रिय प्रभाव हुनका लागि पैसा वा ‘पावर अफ सिभिलाइजेसन’ चाहिन्छ । हामीसँग पैसा छैन । क्रान्तिकारी हुने नाममा हाम्रा सभ्यताहरू समाप्त पारिहाल्यौं । 


नेपाल, भारत, बंगलादेश र भुटानको पानीढलो मिल्छ । कोसी उच्च बाँध बनाएर चारै मुलुकले फाइदा उठाउनु पर्छ । 
भारत, बंगलादेशलाई चाहिने पिक आवरमा बिजुली हामीले बेच्नुपर्छ । नेपालमा जलाशय बनाएर बिजुली निकाल्नु पर्छ । त्यसका लागि कोसीमा उच्च बाँध बाँध्नु पर्छ ।


जलाशयबिनाको रन अफ रिभरमा आधारित बिजुली महँगा हुन्छ । रन अफ रिभरमा आधारित बिजुलीले माग र आपूर्तिबीच तालमेल हुँदैन । 


नेपालको आवश्यकता रेल र रोड होइन समुद्रसम्मको पहुँच हो । त्यसका लागि कोसीमा उच्च बाँध बनाउन आवश्यक हुन्छ । 


भारतले बिजुली नलिने कुरा सत्य होइन । भारतले डेडिकेटेड फिडरको मात्रै बिजुली नेपाल वा भारतको बहुमत सेयर भएको कम्पनीबाट लिने भनेको हो । बाँकी नेपाल विद्युत् प्राधिकरणबाट भारतले जति पनि किन्छ । नकिन्ने भनेको होइन । दुई मुलुकबीच पावर ट्रेड सम्झौता भएको छ ।’