मुख्य समाचार

राजनीति

सावित्रीले अर्धनग्न प्रदर्शनपछि कपाल खौरिन् 

मङ्गलबार, १२ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

सावित्रीले अर्धनग्न प्रदर्शनपछि कपाल खौरिन् 

काठमाडौं । बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै आएकी सामाजिक अभियन्ता सावित्री सुवेदीले विरोध स्वरूप आफ्नो कपाल खौरेकी छन् ।

 

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले जबसम्म बलात्कारीलाई फाँसी दिने कानुन बनाइन्न तबसम्म आफू र आफ्ना सहयोगीहरूले विरोधका नयाँ नयाँ कार्यक्रम लिएर प्रदर्शनमा उत्रने बताइन् । उनले बलात्कारविरुद्ध सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । 


पत्रकार सम्मेलनपछि उनीलगायत सहयोगीहरूले पत्रकारहरूको सामुन्ने कपाल खौरेका थिए । यसरी कपाल खौरनेहरूमा प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरी शेर्पा, किशोर बुढाथोकी र हरिप्रसाद दुलाल छन् ।


कपाल खौरिरहँदा सावित्रीले भनिन्, ‘आफ्नो यति राम्रो कपाल काट्ने रहर नभएको, कपाल महिलाको गहना हो । तर महिला हिंसा, बलात्कार अन्त्य गर्न र सरकारलाई झक्झक्याउन वा चेतावनी दिन पनि मैले कपाल खौरेकी हुँ । परिवर्तनका लागि सबैले अरूलाई उचाल्छन् तर, म आफैँलाई स्वयंले उचाल्छु ।’


उनले थपिन्, ‘साँच्चिकै परिवर्तन चाहने हो भने योगदान दिन जरुरी छ । ०६२ साल पहिलो पटक काठमाडौं आउँदा आन्दोलनमा परी लडेर टाउकोमा चोट लागेको अझै मलाई सम्झना छ । भोलि बाटोमा मान्छेहरूले मलाई तालुखुइले भनेर गिज्याउलान विभिन्न आरोप लगाउलान तर त्योसँग मलाई केही सरोकार छैन । सरकारलाई गलत सावित गर्न मुण्डनमात्र होइन बलात्कारविरुद्ध छातीमा गोली खान पनि तयार छुँ ।’ 


सुवेदीले जबसम्म बलात्कारीलाई फाँसी हुँदैन आफू ७७ वटै जिल्लामा गई रचनात्मक आन्दोलन गर्न तयार रहेको बताइन् ।