बिचार

मेरो छिमेकको कर्णाली

शनिबार, ०९ भदौ २०७५ गते प्रकाशित
- प्रताव ओली

मेरो छिमेकको कर्णाली

‘कर्णाली’ ।   यो शब्दबाटै आम मानिसले ‘दुःख र विकट’ बुझ्छन् । धेरैले ‘अशिक्षा, भोक, रोग र अभावको पर्याय कर्णाली हो’ भन्छन् ।

च्याङ्ग्राबाट बाेकेर कर्णालीमा पुर्‍याइएकाे ढिके नुन
 

हो, कर्णालीमा यातायातको सुविधा राम्रो छैन । विद्यालय–अस्पताल नाम मात्रैका छन् । नागरिकको आय कमजोर छ, जसका कारण व्यापार कम छ । रोजगारीका लागि कर्णालीबासी कि भारत कि काठमाडौं पस्छन् । त्यो रोजगारी भनेको लगभग मजदुरी हो ।

 

हुम्ला, कालीकोट, डोल्पा, मुगु, जुम्लालगायत जिल्लाको मानव विकास सूचकांकले पनि कर्णाली भयावह स्थितिमा छ भन्ने देखाउँछ । अहिले पनि हुम्ला र डोल्पा सडक यातयातले जोडिएका छैनन् । मुलुकको औसत प्रतिव्यक्ति आय ५२ हजार रुपियाँ हुँदा यी पाँच जिल्लाका मानिसको औसत प्रतिव्यक्ति आय ३८ हजार रुपियाँ मात्रै छ । मुलुकको साक्षरता प्रतिशत करिब ६६ प्रतिशत रहँदा कर्णालीको ५३ प्रतिशत छ । अरु नेपाली औसतमा ६९ वर्ष बाँच्दा कर्णालीबासी ६४ मै दम तोडिदिन्छन् ।

गधालाई भारी बोकाएर आफ्नो दैनिक उपभोग्य सामान सदरमुकामबाट गाउँसम्म पुर्याउँदै हुम्लाबासी

कर्णालीले मुलुकको १५ प्रतिशत भाग ओगटछ् । अर्थात तराई भन्दा २ प्रतिशतले मात्रै सानो छ । यति ठूलो क्षेत्रको कुल गार्हस्थ उत्पादनमा १ प्रतिशत मात्रै योगदान छ । कर्णालीलाई वनले ढाक्ने गरी वृक्षारोपण गर्ने हो भने पनि यो क्षेत्र स्वतः समृद्ध बन्न सक्थ्यो । किनभने यहाँको जनसंख्या ३ लाख भन्दा अलिकति मात्रै बढी छ । (पहिलेको कर्णाली अन्चलमा तीनलाख बढी, अहिलेको कर्णाली प्रदेशको जनसंख्या ११ लाख) जबकी लगभग यति नै भूगोल भएको तराईमा पचास प्रतिशत जनसंख्याको आवादी छ ।   

 

कर्णालीको दुःखको वर्णन सजिलै गर्न सकिदैन । छाउपडी गोठमा मात्रै होइन गर्भवती महिलाहरुले कडा काम गर्दा रक्तश्राव भएर पनि कतिको ज्यान गएको छ । जीवन जल नपाउँदा ज्यान गुमाउनु पर्ने पनि कर्णालीबासी नै हुन् । कर्णालीबासीले अहिले पनि पेट भर्नकै लागि संघर्ष गर्नु पर्छ । शिक्षा लिनका लागि डाँडा काटेर स्कुल पुग्नु पर्छ । अहिलेको कर्णाली प्रदेशमा १० जिल्ला छन् । जसमा पश्चिम रुकुम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत छन् ।

सिमिकोट, हुम्ला

कर्णाली प्रदेशमा जुम्लीहरुको जनजीवन विशेष रोचक छ । उनीहरु आफ्नै रहनसहनमा रमाउँछन् । जुम्ला बस्ने भएकाले उनीहरुलाई जुम्ली भन्ने गरिन्छ । जुम्लीहरु पहिले भेडाबाख्रा पाल्ने, वनजङ्गल घुम्ने, ऊनबाट राडीपाखी बुनेर पश्चिमका जिल्लाहरुमा व्यापारका लागि हिड्ने गर्दथे। उनीहरु घरमा कम र बाहिर बढी बस्ने गर्दथे। तर अहिले यस्तो नै अवस्था भने छैन ।

मालिका बोता, जुम्ला

जुम्लीहरु कमाएको पैसालाई लगाएकै कपडामा अर्को कपडाको टुक्राले सिएर राख्थे । लगाएको कपडामा धेरैवटा कपडाका टुक्राहरु टालेको छ भने बुझ्नु पर्छ त्यो कपडामा रुपैयाँ राखिएको छ ।

जुम्लाका पुराना गाेठालाहरु 

ननुहाउने, कपडा नधुने भएकोले पहिले पहिले काठमाडौंमा जुम्लीहरुलाई डेरामा पनि घरबेटीले राख्दैनन् थिए । जुम्लीका खसहरु अन्य क्षेत्रका खसभन्दा विकासमा धेरै पछाडि परे । जुम्लीहरुको अवस्था अहिले पनि धेरै सुध्रेको छैन । 

 

जुम्लीहरुको रहनसहनमा अझैं परिवर्तन हुन सकेको छैन । कतिपय जुम्लीहरु अहिले पनि कालो, फोहोर र तमाखुको गन्ध आउने लुगा लगाउने गर्दछन् । सरसफाईमा खास ध्यान दिँदैनन् । उनीहरु जडीबुटी, तमाखु, खानेकुरा, सियो, धागो, हतियार लगायतका आफूलाई आवश्यक पर्ने चिजवस्तुसहितको ठूलो भारी बोकेर टाढा–टाढा पुगिरहेका हुन्छन् । जङ्गलमा रहँदा उनीहरु जङ्गली जनावरको सिकार गर्ने गर्दछन् ।

 

उनीहरुलाई आफ्नै पनि मतलब छैन । देशको त कुरै छाडौं ।  उनीहरु स्वतन्त्र तरिकाले जिउन चाहन्छन् । छोराछोरी पढाउने, लेखाउने भन्ने खास महत्वको होइन उनीहरुका लागि । पढ्न लेख्न भन्दा गाईवस्तुको गोठालो लाग्न जानु धेरै जुम्लीहरुको अहिले पनि प्रवृत्ति हो ।

कर्णालीबासीका भेडा च्याङ्ग्रा

दुःखको कारण भूगोल भन्दा पनि आफ्नै शैली रहेछ भन्ने बुझ्न गाह्रो भएन । अहिले पनि कर्णालीकै धेरै बालबालिकाहरु विद्यालय पुग्दैनन् । विद्यालय भर्ना भएका विद्यार्थीहरुमा पनि ड्रप आउटको दर उच्च छ ।

 

जुम्लामा पाईने जुम्ली धान पनि प्रसिद्ध छ । पश्चिम नेपालमा यसलाई जुम्ली मार्सो भन्ने गर्दछन् । यसको भात रातो हुन्छ । यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । मार्सी चामलले त यसपटक नेपाली राजनीति नै तरंगीत पार्यो ।


भुगोललाई दोष नदिउँ


हुन त कर्णालीको भूगोललाई दोष दिने कुरा पुरानो भइसक्यो । असहज भूगोल र गरिबीलाई कारण ठान्नु नै सोचको दरिद्रताको मात्र हो । विकट भूगोलले कर्णाली विकास भएन भनेर मान्ने हो भने मधेस चाहिँ किन विकास भएन त ? त्यहाँ त समथर छ । काठमाडौंबाट टाढा भएर विकास भएन भन्ने हो भने सिन्धुपाल्चोकका तामाङहरुको हालत किन त्यस्तो छ ? जबकी सिन्धुपाल्चोक त काठमाडौंबाट नजिक छ ।

 

भूगोललाई दोष दिएर पन्छाउने काम गर्नु हुँदैन । ६८ प्रतिशत पहाडी र १५ प्रतिशत हिमालले ढाकेको यो मुलुकमा भौगोलिक विकटतालाई दोष दिन मिल्दैन । यसरी दोष दिएर उम्किने हो भने त कतै पनि पूर्वाधार विकास नगरे भइहाल्यो नी ।

 

कर्णालीको  विगत र अहिलेको प्राकृतिक स्रोत, हावापानी र अवस्थितिले यो क्षेत्र अविकासको अवस्थामा रहनुपर्ने बाध्यता देखाउँदैन ।  करिब दुुई सय वर्ष अघिसम्म कर्णाली क्षेत्रको विकास र वैभव बेग्लै थियो ।  वि.सं. १४५५ मा सिँजा राज्यको स्थापनापछिको करिब चार सय वर्षको अवधिमा कर्णाली क्षेत्र (सिँजा राज्य)मा सिँजा सभ्यताको विकास भएको थियो ।  यो खस भाषा र खस सभ्यताको उद्गम थलो पनि हो ।

कालिकाेटकाे मान्मा बजार

मध्यकालमा निर्माण भएका ढुङ्गे देवल, मुुग्राहा, वीरखम्बा, कीर्तिखम्बाले सिँजा सभ्यताको झलक दिन्छन् ।  यी ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्कि महत्वका सम्पदा र प्राकृतिक सौन्दर्यका आधारमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्नसक्ने सम्भावना धेरै छ ।

डाेल्पाकाे त्रिपुरा सुन्दरी

 पाण्डवगुफा, विराटदरबार, कनकासुन्दरीजस्ता धार्मिक स्थल, भाषाको उद्गम स्थल, प्राकृतिक, भाषिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्रले पर्यटन क्षेत्रबाट निकै लाभ लिनसक्छ । 

 

यहाँको प्राकृतिक स्रोतको महत्व नबुुझ्दा र कुशासनले गर्दा कर्णाली क्षेत्र अहिले अनुदानमा निर्भर रहनुपर्ने अवस्था आएको हो । कर्णालीमा मात्रै एक हजार चार सय प्रजातिका जडीबुटी पाइने अनुमान छ ।

भिरालाे जमिनमा स्याउ खेती

 अहिले पनि आम्दानीको एउटा मुख्य स्रोत बनेको जडीबुटीलाई व्यावसायिक खेती गरेर आयआर्जन बढाउन सकिन्छ ।  दक्षिण एसियाकै स्वादिष्ट स्याउ कर्णालीमै उत्पादन हुन्छ ।  कर्णाली नदी र यसका सहायक नदीको उपयोगबाट हजारौँ मेगावाट जलविद्युत उत्पादन गर्न सकिन्छ । 

 

नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले यस क्षेत्रको विकासमा ठूलो सहयोग पुर्‍याउन सक्छ ।  कर्णालीको विकासका लागि पर्यटन, जडीबुटी, खनिज र जलस्रोतको उपयोग गरेर विकासको बाटामा अगाडि बढाउन सकिन्छ ।  यस क्षेत्रको समग्र विकासका लागि यातायात महत्वपूर्ण छ ।  कर्णाली लोकमार्ग यस क्षेत्रको जीवन रेखा हो ।  यसको स्तर उन्नति भएमा विकास सहज हुनेछ  ।