कभर स्टोरी

अन्तरवार्ता

भिडियो

बच्चाहरुमा मोबाइलको लत बसाल्ने बाबुआमा नै हुन् (भिडियाेसहित)

बच्चाहरूलाई मोबाइल दिनु कतिको घातक ?  ६ वर्षभन्दा मुनिका बालबालिकालाई यसरी हुर्काउनुहोस्

बुधबार, ०६ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

बच्चाहरुमा मोबाइलको लत बसाल्ने बाबुआमा नै हुन् (भिडियाेसहित)

काठमाडौं । कागेश्वरी मनहरा बस्दै आएकी रबिता केसी ३ वर्षीय छोराको हर्कतले वाक्क भएकी छन् । मोबाइल नभई खाना नखाने, गृहकार्य नगर्ने र परिआए रातभरि मोबाइलमा भिडियो हेरेर बसिदिने । भर्खरै ३ वर्षको छोरालाई मोबाइलको त्यस्तो लत लागेपछि कुुन बावुआमालाई पीर नलाग्ला ? रबिता त यस्तो समस्याको प्रतिनिधि पात्रमात्र हुन् । अहिलेको समयमा औसत बावुआमाको हालत यस्तै छ । 

 

मूलतः बच्चाहरूको पहिलो विद्यालय घर हो र गुरु पनि बावुआमा हुन् । प्रविधिले छोपेकोे अहिलेको समयमा बच्चादेखि बुढा सबैलाई प्रविधिले दास बनाएको छ । ‘स्मार्टफोन’ को दुनियाँमा आफ्नै घरका सदस्यबीच कुराकानी हुन छोडिसकेको छ । औसत अभिभावक बच्चाहरूलाई भुुलाउन या आफ्नो काम गर्न उनीहरूलाई मोबाइल दिइहाल्छन् । यसले गर्दा बच्चालाई पनि सजिलो र अभिभावकलाई त गज्जब नै भयो । आफू पनि सामाजिक सञ्जालमा एकछिन भएपनि ‘एक्टिभ’ हुन पाइयो । तर, त्यतातिर ‘एक्टिभ’ हुँदा आफ्नो परिवारको अभिन्न सदस्य ‘प्यासिभ’ भएको सायदै कसैलाई हेक्का रहेला । 

विशेष गरेर ६ वर्षभन्दा मुनिका बालबालिकालाई भौतिक यन्त्रको दासी बनाउँदा कस्ता समस्या उत्पन्न हुन्छ भन्ने सन्दर्भमा मनोविद् पुष्पा अधिकारी भन्छिन्, ‘यसले बच्चाहरूमा शारिरीक र मानसिक दुवै असर हुन्छ । विशेषगरी घरमा अभिभावकले यस्ता कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ ।’ 

 

‘सुरुवाती दिनहरूमा आफैं मोबाइल  दिन बानी लगाउने र पछि बानी परेपछि बच्चालाई गाली गर्ने प्रवृत्ति छ । तर यसमा बच्चाको केही दोष हुँदैन’, उनले भनिन् । अधिकारीका अनुसार बच्चाले अभिभावकको बोलीबाट भन्दा पनि उनीहरूले दैनिक रूपमा गर्ने व्यवहारबाट चाँडै सिक्छन् । त्यसकारण अभिभावकले आफू कसको अगाडि के गर्दै छु भन्ने कुरामा विशेष विचार गर्नुपर्छ । उनले बताएअनुसार यस्ता गतिविधिले गर्दा बच्चाहरू रिसाउने, कराउने, हिंस्रक गतिविधि देखाउनेजस्ता क्रियाकलाप पनि गर्ने गर्छन् । 

 

अधिकारी आफैंले पनि त्यस्ता धेरै बालबालिकाको समस्या समाधान गरिसकेकी बताउँछन् । विशेषगरी अहिलेको बच्चाहरूमा, ‘लर्निङ डिस्याब्लिटी’, सामाजिक व्यवहार नहुुनु, मोटोपना, मस्तिष्क सुस्त हुने जस्ता समस्या प्रमुख रहेको उनले बताइन् ।  
मोबाइल र आइप्याडमा धेरै समय बिताउने बच्चाहरू एक्लै बस्न रुचाउने हुन्छन् । जसले गर्दा पछि डिप्रेसन हुन्छ । पढ्ने अभिभावकको बच्चा पढ्ने नै भएको पाइएको पनि उनले जिकिर गरिन् । उनले थपिन्, ‘अभिभावकले जतिबेला पनि मोबाइल चलाएको देख्छ भने बच्चाले पनि त्यही गरिरहेको हुन्छ । बिग्रेपछि मात्र कम्लेन गर्ने बानी छ, जुन एकदमै नराम्रोे हो ।’

 

एक अनुसन्धानले रेडिएसनले बच्चाहरूको मस्तिष्कलाई ६० प्रतिशतभन्दा बढीे प्रभाव पारेको पत्ता लगाएको छ । जुन वयस्कको तुलनामा पनि धेरै हो । मस्तिष्कको पातलो छालालाई चाँडै त्यसलाई असर गर्दा त्यसले खतरनाक विकिरणहरू उत्पन्न गर्न सक्छन् ।  

 

विशेषगरी ६ वर्षसम्मको उमेरलाई आधारभूत शारिरीक विकासको समय मानिन्छ । यो समयमा बच्चाहरूले आफ्नो जीवन निर्वाह गर्नका लागि चाहिने सीपहरू सिक्छन । यसबारेमा अर्का बाल मनोविद् गंगा पाठक भन्छिन्, ‘यो उमेरका बच्चा एकदम काँचो हुन्छन् । यसै समयमा बच्चाहरूको दिमागको चिपमा जे हाल्यो त्यही हुन्छ । बच्चाहरूलाई कुन तरिकामा विकास गराउने अभिभावकको हातमा भर पर्छ । यो उमेरमा सकेसम्म उनीहरूको शारिरीक अंगहरू जस्तै आँखा, कान र हातलाई एक्सरसाइज र मुभमेन्ट धेरै गराउनुपर्ने हुन्छ । त्यो गरायो भने बच्चा स्वस्थ हुन्छ ।’ 

 

उनले थपिन्, ‘सर्वप्रथम त टेक्नोलोजीलाई कस्तो प्राथमिकता दिने भन्न्ने कुराको चेतना हुनुपर्छ । खाँदा, सुत्दा, गफ गर्दा बच्च्चालाई मोबाइल दिएर औसत अभिभावकले भुलाउने गर्छन् । त्यसले अभिभावकलाई सहज बनाइदिएको छ । तर, सँगसँगै त्यसले बच्चाहरूमा खराब लत बढाउँछ । यदि उनीहरूलाई मोबाइल नदिने हो भने अभिभावकले बढी समय दिनुपर्छ । यस विषयमा अभिभावकहरू तयार नै छैनन् । धेरै अभिभावकहरूले त्यसले निम्त्याइरहेको समस्यालाई नबुझेको कारण त्यसो भइरहेको छ ।’ 

 

उनका अनुसार, धेरै समय मोबाइल या कम्प्युटरमा बिताउने बच्चामा मान्छेको जमघटमा बस्ने र खुल्ने प्रवृत्ति हुँदैन । उनीहरूको सोच्ने क्षमता पनि नाश हुन्छ । त्यस्ता बच्चाहरू एकदम रिसाउने, चिढचिढापन देखाउने जस्ता समस्याबाट ग्रसित हुन्छन् । 
उनले भनिन्, ‘औँलाले मोबाइल मात्र चलाउँदा मस्तिष्कमा सिर्जना हुने अरू आनन्दको कुरा दबिन्छ र त्यहीसँगमात्र झुलिरहेको हुन्छ । बच्चाले दौडिएर वा चलेर सिक्ने चिज हुँदैन । बच्चा सुस्त हुन्छ र बच्चामा स्फूर्ति हुँदैन ।’ 

 

विदेशमा बच्चा पाउनुअघि उनीहरूलाई कसरी हुर्काउने र उनीहरूको शारिरीक विकासमा कसरी ध्यान पु¥याउने भन्नेबारे तालिम वा ज्ञान आर्जन गरेपछि मात्र बच्चा जन्माइन्छ । जन्मिएको छोटो समयमै विद्यालय पठाउन नपाइने नियम पनि राज्य तोकिदिएको छ । तर, नेपालको सन्दर्भमा कति अभिभावकलाई बच्चा कसरी हुर्काउने भन्नेबारे वैज्ञानिक ज्ञान एकदम कम हुने डा. पाठक बताउँछन् । 

 

अहिलेको समयमा जन्मिएका बच्चा र पहिलाको बच्चा फरक हुन्छन् । त्यसकारण यही परिवेशमा रहेर बच्चाको हुर्काइ बढाइ गर्नुपर्नेमा उनले जोड दिइन् । मूलभूत रूपमा अहिले मिलिजुली परिवारिक संस्कृति पनि हराउँदै गएको अवस्था छ । जसकारण कतिपय बच्चाहरूले घरमा अन्तरसंवाद गर्ने वातावरण नै पाउँदैनन् । 

 

नेपालको परिवेशमा सानै उमेरमा हुर्काउने क्रममा नै अभिभावकहरूले गल्ती गर्ने गरेको डा. पाठकको बुझाइ छ । विशेषगरी ६ वर्षसम्मको अवधिमा अभिभावकले आफ्नो समय शत प्रतिशत दिएर लाग्नुपर्ने उनले बताइन् । तर यसबारे धेरै नेपाली अभिभावकको अनभिज्ञ रहेको पनि उनले बताइन् । दुःखित मुद्रामा उनले भनिन्, ‘कति वर्षमा पढाउने, अर्र्को बच्चा जन्मायो भने कसरी मिलाउने, कुन उमेरमा के सिकाउने भन्ने कुराको त ज्ञान नै छैन ।’ 

 

कुनै बच्चाहरू असाध्यै चकचके हुन्छन् । धेरै चकचके हुनुको पनि केही कारण छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘न्युरोलोजिकल डिसअर्डरले गर्दा कोही बच्चाहरू धेरै चकचके हुन्छन् । मस्तिष्कमा भएको नर्भ अस्थिर भएर यस्तो हुन्छ । यस्तो समस्यालाई अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर भनिन्छ । तर हाम्रोमा त्यही बच्चालाई अभिभावकले स्मार्ट भन्छन् ।’