कला साहित्य

साहित्य आज

कथा: दंश

दिनमान गुर्मछान

शनिबार, २६ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

कथा: दंश

   बखतबहादुर खत्री चलमलायो । 
   दिनको ठीक बाह्र बजेको थियो । टेबुलमाथिको मोबाइलले उसको ध्यान बिथोलेको थियोे । हातको फाइलबाट नजर हटाउँदै उसले मोबाइलतिर हेर्यो‍ । फोन घरबाट आएको रहेछ । मन नलागी नलागी मोबाइल उठायो ।  अनि अल्छी मान्दै बोल्यो, “हेलो !”
   “तपाईं अफिसमै हो ?”, उताबाट विनाभूमिका श्रीमतीको ठाडो प्रश्न तेर्सियो थियो ।
   “हो, किन र?”, उसले झिँजो मान्दै भन्यो ।
   “मलाई माइत पुर्‍याइदिन पर्‍यो । आमा बिरामी हुनुहुन्छ रे ! बरु भरे नै फर्किन्छु ।” 

 

कुरा सुनेर बखतबहादुर अलि चिढिएझैं भयो । उसको निधार केही खुम्चियो । मोबाइल अर्काे हातले समात्दै अलिक ठूलो स्वरमा भन्यो, “ड्युटीमा भएको मान्छेले कसरी तिमीलाई पुर्‍याउने ? आफैं जाऊ । भ्याएँ भने बरुभरे लिन आउँला ।”   फोन काटिदिएर उसले आवाज आउने गरी मोबाइल टेबुलमा राख्यो ।   फाइल टेबलमा पछारिसकेको थियो । अब त्यो फाइल हेर्ने मन पनि  भएन । टिपेर दराजमा हुल्यो । एकदम पुरानो काठको दराज । फाइल धमिराले खाएका अरु फाइलहरुको चाङमा राखिदियो । ढोका झन् कमजोर थियो ।

 

एक लात हान्ने हो भने फक्लक्कै बाहिर आउला जस्तो । धन्न अहिलेसम्म टिकिराखेको छ ।   कुर्सीमा गएर थचक्क बस्यो । बाहिर दुईजना कुरा गरिरहेका थिए । उसले देखिहाल्यो । आफूभन्दा मुनिका जवान मस्त गफिएका देखेर उसलाई रिस उठ्यो । गएर चड्काइदिऊझैं लागेर आयो । तर, उसले सोच्यो, यिनीहरु त ठूलै सोर्स लाएर जागिर खाएका पो हुन् । माथिबाटै उनीहरुको संरक्षण गर्नेहरुको लाइनै छ । केही अह्राउन त गाह्रो छ ! आफ्नो रिस आफैंले शान्त पार्‍यो । 

 

   चौबीस घन्टे ड्युटी थियो । आजकाल सहरमा अशान्ति फैलिएकोले सुरक्षा कडा पार्ने भन्ने माथिको निर्देशन छ । त्यहीबमोजिम दिनरात खटिनु परेको छ । हिजो रातिको निद्रा पुगेकै छैन । रातभरि गाडीमै गस्ती गरेको  थियो । बेलाबेला झुप्पझुप्प निद्राले छोपे पनि सुत्न भने सकेको थिएन । बिहान आधा घण्टामात्र निदाएको थियो । त्यसपछि फेरि ड्युटी सम्हाल्नु पर्‍यो । आफ्नो जागिर देखेर ऊ बेलाबेला क्रोधित हुने गथ्र्याे र आमाचकारी गाली फलाक्थ्यो । 

 

  “सर, नयाँबस्तीमा लुटपाट भयो रे ! खबर आएको छ ।”, प्रहरी जवान उसको अघिल्तिर आएर बोल्यो । 
   “केटाहरुलाई तयार हुन भन् ।”, उसले आदेश दियो । 
   पुलिस भ्यान लिएर बखतबहादुर हुइँकियो ।
                  ०    

 

बखतबहादुर हवल्दारबाट असई भएको धेरै भा’छैन । तर उसले हवल्दार हुँदा नै राम्रो सम्पत्ति जोडिसकेको थियो । जागिर खानुअघि ऊसँग के नै थियो र ! दुर्गम पहाडबाट सहर पस्दा ऊसँग एकजोर लुगाफाटाबाहेक साथमा केही थिएन । त्यसैमा उसले लामो समय गुजारा गरेको थियो । प्रहरीमा जागिर खान उसले ठूलै कसरत गर्नु परेको थियो । जागिर पाएपछि भने खान लाउन धौ भएन, गुजारा राम्रै चलिरहेको थियो । 


   “पुलिसमा भर्ती भएरमात्र गाउँ फर्केस् ।”, गाउँ छाड्नेबेला उसका बाबुले भनेका थिए । उसले पुलिसमा जागिर त खायो तर बाबुले भनेझैं गाउँचाहिँ कहिल्यै फर्केन । 

 

  उसले जागिर पाए लगत्तै माओवादी द्वन्द्व चर्कियो । यो अवस्थामा गाउँ जाने कुरा पनि भएन । बरु कहिलेकाहीँ घरमा पैसा पठाइदिन्थ्यो । आफैं मर्ने न बाँच्नेको अवस्था भएको बेला घर किन जानू ? तर, पुलिस भएको छोरोलाई प्रत्यक्ष देख्न नपाइकनै बाबुआमा बिते । किरियाकर्म पनि उसले सहरमै गर्‍यो । त्यसपछि त गाउँ जाने कुनै बाहना नै भएन । लोभलाग्ने खालको सम्पत्ति पनि केही थिएन । सम्पत्तिको नाममा पनि एकहल पाखो बारी र एउटा पुरानो घरमात्रै थियो । त्यसैले गाउँलाई सम्झिनुपर्ने कुनै कारण नै देखेको थिएन उसले ।


   द्वन्द्व सकियो । देशमा शान्ति छायो । निक्कै परिवर्तनहरू भए । देशको परिवर्तनसँगै बखतबहादुरको जीवनमा पनि ठूलै परिवर्तन भयो । राजनीतिक संक्रमणको फाइदा, दुई हातले कमाई भएझैं उसको प्रगति हुँदै गयो । 
                              ०

 

   भ्यान हुइँकिएको केहीबेरमै नयाँबस्ती पुग्यो । चोकमा धुलो उडाउँदै विश्राम लियो । प्रहरी जवानले ढोका खोलिदियो । ढोका खुल्नासाथ बखतबहादुर बाहिरियो । बडो शानकासाथ सिंघम पारामा ऊ बाहिरिएको थियो । कुनै फिल्मी नायकझैं देखिने गरी । फरक यति थियो, उसमा पहिलेभन्दा चमक अलिक कम थियो । तर पनि रवाफिलो ढङ्गमा ओर्लिएको थियो । 
   “कतातिर हो ?”, आफू वरिपरि उभेका जवानहरुलाई सोध्यो । 
   “यतैतिर हो सर !” 

 

उनीहरु साँघुरो गल्लीभित्र छिरे । भर्खरै मुसलधारे पानी परेर थामिएको थियो । बाटोका खाल्डाखुल्डीमा ससाना पोखरी नै बनेर जमेका थिए । बुटको सामूहिक आवाजसँगै घरिघरि पानीको छचल्किएको आवाज पनि मिसिन्थ्यो । बाटोछेउ उभिएकाहरु पुलिस आएको देखेर एकोहोरो हेर्न थाले । यसरी आफूलाई एकोहोरो हेरेको देख्दा उसलाई औधी रिस उठ्थ्यो । गर्नचाहिँ केही गर्दैनथ्योे । लोकतन्त्र आएपछि पुलिसको रवाफ घटेको ऊ आफैंले महसुस गर्दै आइरहेको थियो । त्यसैले ऊ आफूहरुलाई हेरिरहेकाहरुतिर नहेरेझैं गरी चुपचाप अघि बढ्न थाल्यो । 
   ठीक दस मिनेटमा लुटिएको दोकानमा सबै पुगे । 
   “साहुजी को हुनुहुन्छ ?”, सोध्न आफैं अघि सर्‍यो । 

 

   एउटा ठूलै भुँडी भएको मान्छे उसको अघिल्तिर आयो र उसलाई नमस्कार गर्‍यो । उसको अनुहार बडो उदास देखिन्थ्यो । उसलाई भने त्यसको अँध्यारो, होश हराएको अनुहार देख्दै मन परेको थिएन । तर ऊ त पीडित थियो, पीडक थिएन । त्यसैले बुझ्नुपर्ने कुरा उसले सोध्न थाल्यो । 
   सोधुन्जेल प्रहरी जवानले लुटिएको पसलको वस्तुस्थिति बुझ्न  थाल्यो । वारदात स्थलको अवलोकन गर्‍यो । सामान त केही भएको थिएन । न कसैमाथि हातपात भए झैं देखिन्थ्यो । लाग्थ्यो, सजिलै लुटिएको हो । हुन पनि त्यही भएको रहेछ । पसलको साहू भन्दै थियो, “पेस्तोल देखाएरै पैसा मागे ।”   पेस्तोल जिन्दगीमा कहिल्यै नदेखेको पसले डराएछ । डरको अगाडि के लाग्थ्यो र ! चूपचाप उनीहरुले भनेअनुसार आफूसँग भएको एक लाख बुझाएछ । 

 

 ‘साला ! जाबो एक लाख लुटिँदा पनि हामीलाई दुःख दिन्छ ।’ बखतबहादुरले मनमनै भन्यो, ‘कमाउने बेला अकुत सम्पत्ति कमायो होला ! कर लुकाएर कमाएको लुटियो नि !’ उसले पसलवरिपरि फेरि एक नजर घुमायो । बत्तीको चर्काे उज्यालोमा आँखा तिर्मिराए । हेरिरहन सकेन ।  
   अब उसलाई त्यहाँबाट कुन बेला निस्कूँ भयो । यस्ता झिनामसिना काम गर्नै नपरे हुन्थ्यो भन्ने उसलाई लाग्थ्यो ।  तर अपराध त आखिर अपराध नै हो, त्यसका विरुद्ध लागिपर्नु नै उसको जागिर थियो । त्यसैले देखाउनकै लागि भए पनि गइदिन्थ्यो र वस्तुस्थिति अवलोकन गरेर मुचुल्का तयार गरी फाइल बनाई दराजमा थन्काइदिन्थ्यो । यहाँ पनि उसले त्यही सोचेको थियो । त्यसैले बोल्यो, “केटा हो । मुचुल्का छिटो तयार पार् ।”
   उनीहरुले काम सके । हिँड्ने बेला राम्रै विश्वास दिएर हिँडे । भ्यानमा पुग्नासाथ ढोकामा एकलात बजार्‍यो । अनिमात्र ढोका खोलेर भित्र  छिर्‍यो । 
   “हैन ए केटा हो ! हाम्रो त केही कामै छैनजस्तो छ । सालाहरू सजिलै लुटिन्छन् । हामीलाई दुःख । तेसका बाउलाई किन सजिलै पैसा दिनू !”, गालाको मसिनो दाह्री चलाउँदै भन्यो । 

 

 सबैले होमा हो मिलाए । एक लहर हाँसो गुञ्जियो । 
   चौकी पुग्दा एक हूल मान्छे बाहिर देखिए । सबै एकअर्कासँग हतारमा बोलिरहेका देखिन्थे । जसले गर्दा कोकोहोलो मच्चिएको थियो । कसले के बोलिरहेको छ भन्ने भेउ पाउन पनि मुस्किल थियो । त्यो भीड छिचोलेर कसरी जाने ? ऊ अल्मलियो । भ्यानबाट ओर्लूं कि न ओर्लूंको दोधारमा पुग्यो । भीड उसै कम हुनेवाला थिएन ।    हतास मन लिएर भ्यानबाट ओर्लियो । भित्र जाऊँ कि नजाऊँको दोधारमा ऊ एकछिन उभियो । प्रहरी जवान भीड पन्छाउन लागे । त्यसपछि ऊ भित्र लाग्यो । ऊ भीडलाई राम्रोसँग नहेरिकनै सरासर आफ्नो कोठामा पुग्यो । कुर्सीमा थचक्क बस्यो । बडो लामो सास फेर्‍यो । अब बल्ल बाँचियो भनेझैं अन्दाजमा सास फेरेको थियो ।  

 

   “के भएको रहेछ बुझ् ।”, हवल्दारलाई अह्रायो ।
   “कुटपिट केस रहेछ सर ।”, बाहिरिएको हवल्दार केही बेरपछि आयो र भएको नालीबेली सविस्तार भन्न थाल्यो, “छिमेकी आफूआफू नै झगडा            गरेका रहेछन् । हात हालाहाल नै भएको रहेछ ।”
   “गर्नुपर्ने सबै काम गर है ! मलाई अलि सन्चो छैन ।”, उसले हवल्दारलाई अलि चिप्लो घस्यो । हवल्दार मक्ख परेर बाहिरियो । हवल्दारलाई थाहा थियो, बखतबहादुर रातभर निदाएको थिएन । आराम गर्नुपर्ने थियो । त्यसैले बुझेझैं गरेर पालो दिने विचार बनाएर बाहिरियो । आफैंले केस सम्हाल्नुपर्ने झन्झट त छँदैथियो । तर यो सजिलै नभए पनि साधारण थियो । जसलाई मिलाउन ऊ जान्दथ्यो । 

 

   बाहिर जम्मा भएकाहरुको कुरा राम्ररी सुन्यो र अन्तमा मिलापत्र गर्नु नै बेस हो भन्ने सल्लाह पनि दियो । यो सल्लाहमा सबैको चित्त बुझ्यो । चित्त नबुझोेस्पनि कसरी ! अदालती झमेला बताइदिएपछि अदालतमा पुगेर समय र पैसाको नाश गर्नुभन्दा मिल्नु नै दुवै पक्षले उचित ठाने । 
    प्रफुल्ल मुद्रामा हवल्दार भित्र पुग्दा बखतबहादुर कुर्सीमा घुरिरहेको थियो । उसको घुराइमा कुनै आनन्द थिएन, मात्र अनिँदोपनको प्रमाण थियो । आफूले काम सकेको जानकारी दिऊँ कि नदिऊँको द्विविधामा हवल्दार अल्झिरह्यो । अल्मलिरह्यो । एकछिनमा ऊ आफ्नो कुर्सीमा गएर थचक्कै बस्यो । थकाइ त उसलाई पनि लागेको थियो । तर, हिजो राति चाहिँ उसले निदाउन पाएको थियो । राति निदाउन पाएकोमै एकछिन मक्ख प¥यो र  बखतबहादुरलाई हेर्न थाल्यो । ऊ अझै पनि घुरिरहेको थियो । 

 

 सधैंका साँझमाझैं चिया लिएर चिया पसलको केटो भित्र छिर्यो‍ । उसले चिया पहिले बखतबहादुरको टेबलमा राख्यो र घुरिरहेको बखतबहादुरतिर एक नजर लगायो । उसले चिया ल्याउदा साँझमा प्रायः  यस्तै हुन्थ्यो । अघिपछिजस्तै उसले चिया राखिदियोमात्रै, बोलाएन ।
   त्यसपछि ऊ हवल्दारतिर लाग्यो । हवल्दार कुर्सीमा बसेर आफ्नो असईलाई हेरिरहेको थियो । जब केटाले चिया उसको टेबलमा पनि राखिदियो तबमात्र उसले उता हेर्न छाड्यो । हत्त न पत्त गिलास  उठाएर एक चुस्की स्वादिलो पारामा लियो मानौँ ऊ अघिदेखि चियाकै लागि पर्खिरहेको थियो ।
    हवल्दारको सन्तुष्ट अनुहारमा मुस्कान फ्याँकेर केटो बाहिरिसकेको थियो । उसले असईलाई उठाउनु जरुरी ठान्यो । नत्र चिया सेलाउँथ्यो । सेलाएको चिया असई बखतबहादुर मन पराउँदैन । आफूले पिउँदै गरेको चिया टेबलमै छाडेर ऊ उठ्यो र असईलाई उठायो ।

 

आँखा मिच्दै बखतबहादुरले पहिले टेबलमा भएको चियालाई हेर्‍यो । चियाबाट बाफ उडिरहेको थियो । चिया तातै छ भन्ने उसले अनुमान लगायो । चियाको पारखी भएकोले ऊ चिया पिउन तम्सियो । होइन भने ऊ निदाएको बेला उठाउने कसको हिम्मत ? तातो चिया पिउन थाल्यो । पहिलो चुस्कीमै आनन्द लियो । शरीरको थकान मेटिएझैं भयो ।
    “अघिको केस सल्टियो ? म त भुसुक्कै निदाएछु !”, उसले हवल्दारतिर फर्किएर सोध्यो । 
     हवल्दार चिया पिइरहेको थियो । 
   “हजुर सर ! बल्लतल्ल मिलापत्र गराएर पठाइदिएँ । अदालती झन्झट देखाइदिएपछि तिनीहरुको सातो गइगयो नि ! नमिलेर सुक्ख !”, हवल्दार चिया पिउन छोडेर हाँस्यो । उसको चतुर्‍याइँ देखेर बखतबहादुर दङ्ग पर्‍यो । एक फेर दुवै मज्जैले हाँसे । कोठाभरि हाँसो गुञ्जियो । 
    “जय नेपाल साब् !”, एउटा जवान भित्र पस्यो । भर्खरैको हाँसो बन्द भयो । दुवैले उसलाई एकैपटक हेरे । जवानले अररोगरी जिउ तन्काएको थियोे ।

 

   “पाकेटमार समाएर ल्याएको छ साब् !”, उसले खुट्टा बजार्दै भन्यो । बुट मजैले बज्यो । 
    “साला, पाकेटमार !”, उसलाई सुन्दै घिन लागेर आयो । जुरुक्क उठेर बाहिरियो । बेगले पाकेटमार भए ठाउँ पुग्यो । किन हो ऊ एक्कासि आवेगमा आयो र पाकेटमारको गालामा एक चड्कन लाइदियो । त्यसपछि भने उसले हात उठाएन । न त त्यसलाई गालीगलौज नै  गर्‍यो । निक्कै बेर त्यसको सुकेको ज्यानलाई हेरिरह्यो । 

 

  “कसले समाएर बुझा’को ?”, जवानतिर फर्केर सोध्यो । 
    “मैले हो साब् !”, एउटा जवान अघि सर्‍यो । 
“अरु कसैले बुझा’को होइन नि ?”
    “होइन साब् ! पाकेट मारेर फर्किंदै गर्दा शङ्का लागेर समातेको ।”
पाकेटमार निरीह देखियो । आफूले चोरी काम गरेकोमा पछुताइरहेझैं लाग्थ्यो । अझ अब हुनसक्ने कारबाहीको आशङ्काले पोल्न थाल्यो होला । उसका हातगोडा लुगलुग कामिरहेका थिए । अघि नै असईले धारे हात लाइसकेको थियो । फेरि पनि हात पर्नेमा ऊ विश्वस्त थियो । तर, बखतबहादुरलाई भने ऊप्रति दया लागेर आयो । 

 

   “छाड्दे यसलाई । बरु यसको माल जफत गरिदे ।”, बखतबहादुरले जङ्गी पारामा भन्यो, “अब आइन्दा यस्तो काम नगरेस् । काम गरेर खा, बुझिस् !” पाकेटमारलाई तिखा आँखाले हेर्दै उपदेश  दियो । मरनच्याँसे ज्यानको पाकेटमार बाहि“रिदा उसले हेरिरह्यो । दुब्लो ज्यानले उसलाई आफ्नो विगतको सम्झना दिलायो । काठमाडौं छिर्दा उसको पनि तज्यान यस्तै थियो । काठमाडौं छिरेको महिनौं दिनसम्म उसले कामका लागि भौंतारिनु पर्‍यो । भन्नेबित्तिक्कै काम कहाँ पाइन्थ्यो र ! धेरै दिन एक छाकमा गुजारा गरेको थियो । साथमा पैसा नहुँदा पेटमा कुदेको भोकको मुसाले पाकेट मार्न नभनेको होइन ! तर, उसले आँटचाहिँ गरेन ।  पाकेटमार ओझेल परिसकेको थियो । ऊ बाहिर सडकतिर हेर्दै थियो । अलिपर उसले बिहान अफिसमा गफिने आफ्नै जवानलार्ई देख्यो । उनीहरू अहिले पनि सडकपेटीमा उभिएर कसैसँग गफिइरहेका थिए । त्यो देखेर बखतबहादुरलाई रिस उठ्यो, “साला, जति बेला पनि गफ चुटेरै जागिर खाने भए । तेसका बाउले दिएको जागिर पो सम्झिन्छन् !”  मनमनै गाली गर्‍यो । प्रकटमा उसले केही भनेन ।

 

   झमक्कै साँझ पर्‍यो । साँझ परेपछि चौकीमा खासै चहलपहल  भएन । बाहिर ड्युटीमा तैनाथ दुई जवान थिए । भित्र कोही कुर्सीमा झोक्राइरहेका देखिन्थे । कोही रातीको ड्युटीका लागि तयारीमा जुटेका थिए । हुन त कोही प्रफुल्ल वा भनौं खुसी देखिँदैनथे । सबैको अनुहारमा आंैशी छाएको थियो । दिनहुँको ड्युटीले वाक्क भएकाहरुथिए । यो चौबीस घन्टे जागिर बित्थामा खाइएछ भन्नेहरु धेरै थिए । तर, सबै पेटका लागि जागिर गरिरहेका थिए । 

 

   “आजको नाइट ड्युटीमा कोको छ ?”, हवल्दारलाई सोध्यो । 
    “सोमनाथ, आइते, दुर्गा, रामविनय, टलक, तपार्इं र म ।”, हवल्दारले ड्युटी लिस्ट हेरेर भन्यो ।  सोमनाथ र दुर्गाको नाम सुनेर ऊ भित्रभित्रै मक्ख पर्‍यो । ती तिनै थिए जो बिहानबेलुका गफिएर बसेका थिए । उनीहरुको नाम सुनेपछि भन्यो, “सोमनाथ र दुर्गालाई पैदल गस्तीमा राखिदिनू ।”  उसको कुरा सुनेर हवल्दारले पहिले उसलाई हेर्‍यो । अनिमात्र पैदल गस्तीको लिस्टमा उनीहरुको नाम राखिदियो । नाम लेखिरहँदा भने उसको मनमा किन टिपाएको होला भन्ने लागिरह्यो । उनीहरु पहुँचवाला हो भन्ने उसलाई पनि थाहा थियो । तर सोच्यो, ड्युटी त सबैले गर्नैपर्छ नि ! अनि खुरुखुरु लेख्यो ।

 

सबैले खाना खाइसकेका थिए । बखतबहादुरले पनि होटलमा गएर खाएर आयो । उसलाई घर जान मनै लागेन । त्यसमाथि दिउँसै श्रीमतीलाई साँझ लिन आउँछु भनेको थियो । त्यो पनि भ्याएको होइन ! अल्छी लागेर आयो । त्यसैले घर जानुभन्दा होटलमै खानु मनासिब  ठान्यो । श्रीमती घर आइपुगी कि पुगिन ? उसले फोन गरेकी छैन । न त आफैंले फोन गरेर बुझ्ने कोशिस नै गर्‍यो । फुर्सद भएको भए पो !
“भ्यानमा तेल हालिस् त ?”, ड्युटीमा हि“ड्ने बेला सोध्यो । 
“हालें सर !”

 

 रातभरको ड्युटीको लागि फ्युल त चाहियो नै ! फ्युल भरेको खबरले ऊ ढुक्क भयो । ड्युटीका लागि भ्यानमा गएर बस्यो । आफू नबसुन्जेल कोही तयार हुने होइनन् ! त्यसैले ऊ पहिले आफू नै भ्यानमा पस्योे । त्यसको केहीबेरमै ड्युटीमा परेकाहरु सबै आइपुगे । भ्यान विस्तारै बाटो लाग्यो । चोकको बीचमा पुगेर भ्यान साइड लाग्यो ।   भ्यान रोकिनासाथ सोमनाथ र दुर्गा भ्यानबाट बाहिरिए । उनीहरुलाई  पैदल गस्तीमा पारिएको थियो । 
उनीहरुलाई त्यहीँ छाडेर भ्यान आफ्नो रफ्तारमा कुद्यो । अँध्यारो गल्लीमा पुगेको भ्यानको रफ्तार कम हुँदै गयो । बखतबहादुर भित्रैबाटनियालिरहेको थियो ।

 

हिजोआज यो गल्ली असुरक्षित मानिएको छ । धेरैजसो लुटपाट हुने ठाउँ हो । अहिले भने सुनसान देखियो । यस्तो सुनसान बाटोबाट हिँडेपछि लुटिँदैन त ! उसले मनमनै सोच्यो । हातको घडीमा एक नजर लायो । नौ बजिसकेछ । स्वास्नी घर आइपुगी कि पुगिन ? उसले झल्याँस्स सम्झियो । खल्तीमा हात छिरायो । मोबाइल झिकेर स्वास्नीको नम्बरमा फोन लायो । सम्पर्क हुन सकेन ! टेलिकम महिला बोलिरही । निकैबेर प्रयास गर्दा पनि नलागेपछि दिक्क मान्यो । मोबाइल मिल्काइदिऊँझैं रिस उठ्यो, “साला, नेटवर्क पनि कहिल्यै राम्रो हुँदैन । भन्या बेला फोन लाग्ने होइन !”

 

     उसलाई हेरेर सबै चुपचाप भए । कोही बोल्न सकेनन् । भ्यानमा जम्मा चारजना थिए ।सबै मुखामुख गर्न भ्याए । 
   उखरमाउलो गर्मी थियो । भ्यानभित्र गुम्सिएझैं लाग्थ्यो । यो गुम्साइमा कोही बोलेका थिएनन् । आँट नगरेका हुन सक्छन् । यो मौनतालाई चिर्दै बखतबहादुर आफैं बोल्यो, “एकै ठाउँ बसिरहन हुँदैन । गाडी घुमाउँदै गरौं ।”

 

  त्यसपछि भने सबै चलमलाए । कोही गुनगुनाउन थाले । कोही गफिन थाले । भ्यान आफ्नो रफ्तारमा घुम्न थाल्यो । यता बखतबहादुरलाई भने निद्राले पिरोल्न थाल्यो । हिजोको रात फिटिक्कै निदाएको थिएन । पूरै रात छर्लङ्ग काटेको थियो । दिउँसो एक झमट झप्कीले निद्रा के पुग्थ्यो ? अहिले ऊ घरिघरि झुप्पझुप्प निदाउन खोज्थ्यो । निद्राले चुर ऊ कुनै बेला भ्यानको झ्यालमा ठोकिन पुग्थ्यो ।   “ए... भ्यान रोक त ।” हवल्दारको यो आवाज निद्राले चूर भएको बखतबहादुरको कानमा पर्‍यो तर उसले वास्ता गरेन । “ऊ हेर त ...ती दुर्गा र सोमनाथ होइनन् ?”

 

 पल्लो गल्लीमा पुरानो मन्दिरको छेउमा मधुरो उज्यालोमा केही झल्याकझुलुक देखिन्थ्यो । त्यहाँ एउटी आइमाई र दुई पुरुष छायाँ देखियो । बखतबहादुर त निदाइरहेको थियो, तर अरुले चाहिँ आँखा च्यातेर हेरे ।
   “हो साप्... तिनीहरु नै हुन् ।” रामविनयले भन्यो ।
   “तर तिनीहरु त्यहाँ के गरिरहेछन् ?” हवल्दारले गम्दै भन्यो ।
   “तिनीहरुले के गर्छन् ? प्रस्टै छ नि साब ।” रामविनयले छिल्लिँदै भन्यो –“जङ्गलमे मङ्गल !”
   “नकरा तँ ।” हवल्दारले हकार्दै भन्यो । 

 

   एकैछिनमा आइमाई कुदेको र ती दुईले छेकटो हालेको देखियो । 
   “बजियाहरुले कुनै आइमाईलाई दुःख पो दिए कि क्या हो ?” हवल्दार बड्बडायो ।
   “यति अबेर सडकमा एक्लै हिँड्ने आइमाई पनि त उस्तै हुन्छन् नि । पक्कै धन्दावाली हुनुपर्छ साब् ।” भ्यान हाँक्ने आइतेले ठोकुवा गरेरै भन्यो । 
   “भनेर हुन्छ, आफ्नो ड्युटी पनि त पूरा गर्नुपर्‍यो नि ।” हवल्दारले आफूलाई जिम्मेवार बनाउन खोज्यो ।
   “जाऊँ साब् ? तिनीहरुलाई रोकूँ ?” दुई महिना अघिमात्रै भर्ना भएको प्रहरी जवान टलकले जोसिँदै भन्यो ।
   “के हो भाइ.. ...दुर्गममा सरुवा हुन मन छ कि क्या हो ? तिमीले तिनीहरुलाई आफूजस्तै जवान सोचेका हौला । तिन्ले त हाम्रा सरहरुलाई पनि हल्लाइदिन्छन् । तिनको पहुँच तिमीलाई थाहै छैन ।” आइतेको कुरामा कसैले पनि प्रतिक्रिया जनाउन चाहेन । टलक कालो अनुहार लगाएर बाहिर हेर्न थाल्यो ।

 

   “बजियाहरु त हातपात नै पो गर्न थाले ।” हवल्दार हड्बडायो –“जाऊँ भने पनि त्यो आइमाई धन्दावाल्नी रहिछे भने उसै फसिने डर । नजाऊँ भोलि केही कुरा बाहिर मिडियामा आइदियो भने ... ...। सोझाहरूले जागिर खाने जमाना गए केटा हो ।”
   “असई साब्लाई उठाऊँ साब् । उहाँले जे भन्नुहुन्छ त्यही गरुँला ।” रामविनयको कुराले हवल्दारलाई अलिकति सास आयो । उसले बखतबहादुरतिर हेर्‍यो ।

 

 बखतबहादुर यति मज्जाले निदाएको थियो कि मानौं ऊ घरकै ओछ्यानमा सुतिरहेको छ । सायद कुनै मीठो सपना पनि देखिरहेको पो थियो कि !
   हवल्दारले उसलाई घच्घच्यायो । केही धक्कापछि मात्रै बखतबहादुर चल्मलायो र निद्राले चूर भएका आफ्ना आँखा पिर्लित्त पल्टायो ।
   “सर.. मन्दिरको छेउमा दुर्गा र सोमे एउटी आइमाईलाई दुःख दिइरहेका छन् ।” 
   “ल... ल.. ठीक छ ।” बखतबहादुरले निद्राको तालमा के सुन्यो कुन्नि त्यति भनेर फेरि आँखा चिम्लियो ।
   हवल्दारले अलि ठूलो स्वर गरेर उही कुरा दोहोर्‍यायो । 

 

   “आ छोड्दे तिनीहरुको ताल सधैं त्यस्तै हो ।”, बखतबहादुर आँखा नखोलिकनै बरबराएझैँ गरी भन्यो –“पल्लो चोकतिर एक राउन्ड मारेर अब          सुत्नुपर्छ केटा हो ।” 
   “होइन सर, जबरजस्ती नै गर्न थालेका छन् । घिच्याउँदै लगे ।”, हवल्दार सम्झाउन खोज्दैथ्यो । तर, बखतबहादुर फेरि निदाइसकेको थियो ।
  “ओइ, हिँड जाऊँ ।” हवल्दारको आदेशसँगै आइतेले भ्यान स्टार्ट गर्‍यो । सबैले एकपटक फर्किएर मन्दिरतिर हेरे– त्यहाँ अब सुनसान थियो । 
। हवल्दार फत्फताउँदै थियो, “सालाहरुले नकाम गरे ! थाहा छैन भोलि के समाचार आउने हो ।”
   “हामीले रोक्नुपथ्र्याे साब् !”,  जवान अटलले डराइडराई बोल्यो ।
   “आ, हुन्दे । रातिराति हिँड्ने पनि त्यस्तै ! त्यहीमाथि दुर्गा र सोमे ! झन् तिनीहरु पावर भएकाहरू । कस्ले रोक्न सक्ने ?”, हवल्दारले   भन्यो । 
                        ੦
  

 

  ब्युँझँदा बखतबहादुरले आफूलाई कुर्सीमै पायो । टेबुलको मोबाइल तान्यो, स्विच अफ भइसकेको रहेछ । भित्तातिर हेर्‍यो । भित्ताको घडीले साँढे छ भएको देखाइरहेको थियो ।   कुर्सीमै भएपनि निद्रा पुगेकाले होला उसका आँखा हिजोजस्तो बिझाएका थिएनन् । तर मुन्टोचाहिँ अलिकति असजिलो भइरहेको थियो । उसले कुर्सीमै बसेर जिउ तनक्क तन्कायो अनि फूर्तिसाथ उठ्यो र झ्यालबाट बाहिर हेर्न थाल्यो । पर सडकमा चहलपहल सुरु भइसकेको थियो ।    घरमा फोन गर्ने कुरा सम्झियो । फोन सेटनिर जाँदाजाँदै उसले अर्को कोठातिर हेर्दै हकारेर भन्यो– “ओइ को छ हँ त्यहाँ, एउटा चिया पठाइदे त ।” कसैको आवाज सुनिएन । उसले दोहोर्‍याएर भन्ने जाँगर लगाएन र श्रीमतीको मोबाइलमा डायल गर्‍यो । मोबाइल स्विच अफ थियो । घरको फोनमा गर्‍यो तर त्यो पनि उठेन । 

 

उसलाई चियाको असाध्यै तलतल लागिरहेको थियो । बानी कस्तो थियो भने विहान चिया नपिइकन ट्वाइलेट पनि लाग्दैनथ्यो । “होइन कहाँ मरे सबै ? को छ हँ त्यहाँ ?”
   “चिया भनेको छु साब्, ल्याउँदै होला ।” बाहिर कोठाबाट आवाज आयो ।
   “पत्रिका आयो ?”
   “लोकल पत्रिकाचाहिँ आयो साब् ।” 
   “खै ले त, त्यही भए पनि हेरुँ ।” बखतबहादुरले मोबाइल चार्जमा जोड्यो र फेरि कुर्सीमा गएर बस्यो । 

 

  हवल्दार हुर्रिएर भित्र पस्यो । ऊ एकदमै आत्तिएको थियो । डराएको झैं देखिन्थ्यो ।  बखतबहादुर उसको रङ उडेको अनुहार देखेर जिल्ल प¥यो ।  
   “साब्... हिजो राती ... ...।” बखतबहादुरले हेर्दाहेर्दै हवल्दारको अनुहार अँध्यारो भयो । ऊ केही बोल्न सकेन र टुलुटुलु उसलाई हेर्नथाल्यो । यो देखेर बखतबहादुरको मनमा चिसो पस्यो । कुर्सीबाट जुरुक्क उठ्यो र एकझमटमा सोध्यो, “के भयो ? किन आत्तिएको ?”
   “सर हिजो राती माथि गणेश मन्दिरमा ... ....। हामी गस्ती गएको बेला .... ...। हजुर निदाइरहनुभएको थियो । सोमे र दुर्गेले एउटी महिलालाई जिस्क्याइरहेथे । ...हामीले हजुरलाई उठाउन खोज्यौ“ । तिनीहरुलाई रोकूँ भनेर हजुरलाई सोध्यौँ ।... तर हजुरले पर्दैन मर्जी भयो .... ...।”
   “हो र ....साला मेरो सुताइ पनि कुम्भकर्णको छ । सारै थकाइ लागेर भात खाएपछि टुच्च अलिकति लगा’को पनि थिएँ ... ।” बखतबहादुरले थकथकी मान्दै भन्यो – “अनि के भयो त ?”
   “साब्...उहाँ त हजुरको म्याडम हुनुहुँदोरहेछ । माइतीबाट फर्किंदै .... ...।” हवल्दारले रुँला रुँलाझैं गरेर भन्यो– “हे भगवान्...कति ठूलो पाप भयो नि...।”

 

  “के भन्छ यो ?” बखतबहादुरले हवल्दारलाई हकार्न खोज्यो तर स्वर काँपेर रुन्चे आवाज सुनियो । उसका हातगोडा थरथरी कामे । उसलाई खलखली पसिना आयो । भाउन्न होलाजस्तो भयो । आफूले टेकेको धर्ती नै भासिएझैं भयो । ऊ थचक्क कुर्सीमा पसारियो । 
   “पापीहरुले गर्नु नगर्नु गरेछन् साब्... बिहान मन्दिर आउनेले उहाँलाई हातगोडा र मुख बाँधिएको बेहोश हालतमा भेटेर अस्पताल पुर्या‍एका छन् रे... ....।”
   हवल्दारले अरु के के भन्यो बखतबहादुरले सुनेन । ऊ बेहोश भइसकेको थियो ।