कला साहित्य

साहित्य आज

विष्णु सन्न्यासका ३ कविता

शनिबार, २६ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

विष्णु सन्न्यासका ३ कविता

१. सिसा
लगेर माटोको भित्तामा टाँस 
या मार्वलको चिल्लो छातिमा
सिसा सिसा न हो एकदिन फुटिजान्छ

 

 निधारमा सँसारको 
सबैभन्दा महङ्गो फूलको स्टिकर टाँसिदेऊ 
या छेउमै झुन्ड्याइदेऊ सुरक्षाको एक धारिलो तरवार
सिसा सिसा न हो एकदिन आफैँ फुटिजान्छ 

 

हत्केलामा थम्याईदेऊ
कुनै कालजयी गीतको एक टुक्रा पङ्क्ति
या राखिदेऊ सिरानीमै 
भगवानहरूले तथास्तु भन्दै गरेको तस्बीर
सिसा सिसा न हो एकदिन त्यो फुटिजान्छ 

 

सिसा
जो बाँचुन्जेल पर्खिबस्छ
प्रत्येक विहान उदाएर फेरि साँझमा 
अस्ताईजाने  घामको अनुहार

 

सिसा 
जो बाँचुन्जेल हेरिबस्छ 
आकाशको छातिबाट मृत्युको गीत गाउँदै
बगरमा खसिरहने दुस्मन असिनाको नृत्य

 

सिसा 
जो बाँचुन्जेल कोरिबस्छ 
साँझको हरेक पन्नामा 
आफ्नै आयुको असुरक्षित दैनिकी

 

श्रद्वा गरेर कुनै सुनको दराजमा टाँसिदेऊ
या राखिदेउ प्रेमपुर्वक मन्दिरको कुनै शान्त झ्यालमा 
सिसा सिसा न हो जति सजाए पनि आखिर त्यो  फुटिजान्छ !

 

सिसाको यो कथा लेखिरहँदा
अचेल यो समयले 
मेरो नाम नै सिसा राखिदिएको छ ।

 


२. प्रेम

आफ्नै आँखाबाट
खस्दै गरेको आँसुको उदास छाया छ 
यो गुलाफको अनुहारमा

 

तिमीले छाडेर गएको
यो स्मृतिको देश 
जहाँ केवल घाउहरूको सगरमाथा मात्र छ 
सपनाहरू कहिल्यै उक्लिन नसकेको

 

विथोलेर सम्झनाको गीत
जव थिच्छन् अाैँलाहरूले दुःखकाे पियानो
मन भायोलिनका तारहरूमा रित्तिन्छ
र बग्छ छाती चिरेर मौनताको एक विरानो खोल्सो

 

ओठबाट हराएपछि आफ्नै हाँसोको लय
विउँझिन्छ हृदयबाट पीडाको समुन्द्र
र कोरिन्छ रिक्तताहरूले बगरका दुङ्गाहरूमा 
विछोडका उदेक लाग्दा अन्तिम कथाहरू

 

र अन्तिममा
छुतिगएको तिम्रा सम्झनाहरुमा अल्झिएर
मृत्यु पर्खि बसेको यो विरही साँझको अन्तिम क्षण
फेरि कसैले एउटा नयाँ ठेगाना छाडेर गएको छ 
मेरा आँखा अघि.....प्रेमको ।

 


३. समय

  फर्केर यो समय 
फेरि ठिक त्यही ठाउँमा आईपुगेको छ
जहाँवाट हिँडेथ्यो ऊ कुनै दिन
आफ्नै आयुको प्रथम वसन्त वोकेर

 

हिँड्दा
कति पटक पुग्यो होला ऊ
खोलाहरूको मृत्यु उत्सव मनाईरहेको समुन्द्रछेउ
र कति पल्ट हेर्याे होला फर्किँदा 
आफ्नैं मृत्युको अनुहार जस्तो लाग्ने 
त्यो समुन्द्रको अन्तिम किनारमा
डुब्दै गरेको बुढो घाम

 

बोकेर आफ्नै रहरको ठेगाना
कति पटक चड्यो होला 
कहिल्यै नपुगिने त्यो स्वर्गको उकालो 
कोचेर आफैँले आफैँलाई आफ्नै आयुको झोलामा 
कति पल्ट पुग्यो होला आँखाको बाँकी संसार टेक्न 
भगवानहरूले छोडिगएको मन्दिरकोे रित्तो आँगन 

 

तर इतिहासले आत्महत्या गरेको 
कुनै पुरानो दरवार छेउमा उभिएर कहिल्यै लेखेन
यो समयले आफ्नो जीवनको कथा  
छेवैको आँगनमा खसेका गुलाफका पातहरू छोएर
कहिल्यै सोधेन मृत्युको कुरा
मध्यरातमा जूनको समय चोरेर कहिले सुनाएन
यो समयले आफ्नो दिवंगत प्रेमको गीत 

 

र पनि 
को हो त्यो,  जसले यो समयको मृत्युको घोषणा
मलाई सपनामा सुनाएर जाने....?