कभर स्टोरी

अन्तरवार्ता

भिडियो

‘सगरमाथामा पाइला टेक्दा जिउँदै स्वर्ग पुगेजस्तो भयो’ (भिडियोसहित)

शुक्रबार, २५ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

‘सगरमाथामा पाइला टेक्दा जिउँदै स्वर्ग पुगेजस्तो भयो’ (भिडियोसहित)

काठमाडौं । सोलुखुम्बुको खरिखोला माध्यमिक  विद्यालयमा ‘एडन्मड हिलारी’ (पहिलो सगरमाथा आरोही) आएका बेलामा पासाङ उत्साहित थिइन् । हिलारीको स्वागतमा उनी पनि विद्यालयमा अन्य विद्यार्थी झैं प्रफुल्लित भएर फूल लिई स्वागतमा सामेल भइन् । सोलुखुम्बुमा जन्मिएको र शेर्पाकी छोरी भएको नाताले पनि उनमा हिमाल चढ्नुपर्छ भन्ने छाप पहिल्यैदेखि थियो । तर, एडमन्ड हिलारी विद्यालयमा आएदेखि उनको त्यो चाहनामा थप इँटा थपियो । उनी थप उत्साहित देखिन् । 


उनी थिइन् सोलुखुम्बु खरिखोलाकी पासाङ  ह्लामु शेर्पा ‘फिनासा’ ।


३७ वर्षको उमेरमा उनले सगरमाथाको सुरक्षित आरोहण गरिन् । सानोमा देखेको सपना अहिले आएर पूरा हुँदा उनी भन्छिन्, ‘विश्वकै अग्लो शिखरमा पुग्ने सपना कसलाई पो हुँदैन र ? सपना देख्नुपर्छ । इच्छा राख्नुपर्छ तर त्यसमा आँट भर्नु भनेको पक्कै पनि साहसी काम हो ।’


हरेक कामको सुरुवात सपनाको मुहानबाटै सुरु हुन्छ । तर, त्यसको पूर्ति निरन्तरता र सपनाप्रतिको लगावले नै गर्छ । त्यसैले त पासाङले आफ्नो सपनालाई निरन्तर पछ्याइरहिन् । हामीेले हिमाल चढ्ने होइन, वास्तवमा हिमालले हामीलाई स्वीकार्ने हो ।’ यस सन्दर्भमा पासाङ आफूलाई भाग्यमानी ठान्छिन् । 


उनी भन्छिन्, ‘आँट र साहसमात्र भएर पनि हुँदैन । त्यसका लागि शारीरिक रूपमा ठीक हुनुपर्‍यो । यसका साथै प्रकृतिले पनि साथ दिनुप-यो । तर मेरो सन्दर्भमा त्यस्तो केही भएन र सोलुखुम्बुमा जन्मेका कारण उचाइको पनि मलाई केही समस्या भएन । मलाई सगरमाथा चढ्दा टाउकोसमेत दुखेको थिएन ।’


एउटा भनाइ नै छ, मान्छे मरेपछि कि स्वर्ग जान्छ कि नर्क । सगरमाथाको चुचुरोमा पुग्दा पासाङलाई जिउँदै स्वर्ग पुगेको जस्तै अनुभव भयो । सगरमाथाको चुचुरोमा उनी ४५ मिनेटसम्म बसिन् । त्यो क्षण शब्दमा वर्णन गर्न नसकिए पनि उनलाई संसार नै जितेजस्तो भयो त्यतिबेला । 


उनले एक नेपालीले एक पटक सगरमाथा आरोहण गर्न कम्तीमा पनि ३० देखि ३५ लाखसम्म खर्च व्यहोर्नपर्ने बताइन् ।


आरोहीहरूको बढ्दो संख्यासँगै सगरमाथामा फोहोर पनि बढिरहेको धेरै गुनासो छन् । पासाङले देखेअनुसार, ‘क्याम्प १’ सम्म त्यत्ति फोहोर छैन । उनका अनुसार ‘क्याम्प १’ सम्मको फोहोर व्यवस्थापनको जिम्मा ‘एसपिसिसी’ ले लिएको छ । उनले थपिन्, ‘क्याम्प २ देखि माथि एकदमै धेरै फोहोर छ’ । त्यो मान्छेले प्रयोग गरेर फालेको फोेहोर हैन । मैले देखेको फोहोर भनेको क्याम्पमा बस्दा हालेको टेन्ट उडाएर लगेको फोहोर थियो । क्याम्प ४ मा मान्छेले फालेको फोहोर पनि देखँे ।’ 


पासाङ भन्छिन्, ‘त्यो फोहोर व्यवस्थापन पर्वतारोही आफैँले गर्न असम्भवजस्तै छ । यसका लागि कुनै एउटा फोहोरमैला टिम नै बनाएर लैजाने हो भने त्यसको राम्रो व्यवस्थापन हुन सक्ला ।’  


समय र परिस्थितिसँगै अहिले शारीरिक रूपमा अशक्त व्यक्तिहरूले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । यसमार्फत उनीहरूले आफूलाई सक्षम सावित गरिरहँदा बाहिर विभिन्न जिज्ञासा उठ्ने गरेका छन् । ‘हात खुट्टा नभएको मान्छेलाई बोकेर लैजाने होला’  भन्ने ठम्याई पनि आम मानिसहरूको रहेको छ । सुरुमा पासाङ पनि यस्तै सोच्थिन् । तर, आफूले देखेअनुसार, शेर्पाले बोकेरै लैजान्छन् भन्नु भ्रममात्र भएको उनले बताइन् । 


उनले थपिन्, ‘शेर्पाबिना हिमाल चढ्न सकिँदैन र यो कुरा नसोचेपनि हुन्छ । तर शारीरिक रूपमा अशक्त व्यक्तिलाई शेर्पाले बोकेरै लैजान सक्दैन । उनीहरूले केही हदसम्म सहयोग गर्ने हो, तर चढ्ने त आफैँले हो ।’ शेर्पाको योगदानलाई नेपाल सरकारले राम्ररी कदर नगरेकोमा पनि उनले गुनासो पोख्दै भनिन्, ‘नेपालको तुलनामा विदेशमा शेर्पालाई बढी इज्जत दिइन्छ । शेर्पाको महत्व नेपाल सरकारले अझै बुझ्न सकेको छैन ।’ 


हिमाल चढ्दा सहयोग गर्ने भरियालाई पासाङ ‘रियल हिरो अफ माउन्टेन’ भन्न रुचाउँछन् । पहाडमा गाइड नै भरिया र भरिया नै गाइड हुने उनको भनाइ छ । गत मे १६ (जेठ २) का दिन सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल  पासाङलाई सगरमाथा चढ्ने बाटामै शव पनि देखिन्छ भने सुनिन्छ के तपाईंले पनि देख्नुभयो भन्ने प्रश्नमा उनले भनिन्, ‘दिमागमा नराम्रो असर पर्न सक्छ या आत्मशक्ति घट्न सक्छ भनेर मैले त्यतातिर ध्यान दिइनँ् । त्यसैले मैले त्यस्तो कुनै पनि शव देखिन्ँ ।’ 


पासाङले सन् २०१३ बाट ‘ट्रेकिङ गाइड’ को काम सुरु गरेकी थिइन् । सन् २०१७ बाट ‘माउन्टेनेरिङ’ सुरु गरिन् । सगरमाथा चढ्नु पहिला उनले रोल्वालिङका दुईटा हिमाल र ६००० मिटर अग्लोे ‘आइसल्यान्ड पिक’ पनि चढिसकेकी थिइन् । आगामी दिनमा समयले साथ दियो भने अरू हिमाल पनि चढ्ने उनले बताइन् । आफूमात्र सक्रिय भएर नहुने भन्दै उनले आफूजस्तै अन्य महिलाहरूलाई पनि पर्यटनको क्षेत्रमा आउन आग्रह  गरिन्  ।