अपराध सुरक्षा

मुख्य समाचार

धनुषाको जमुनिवासमा लुटपाट, चितवनमा लाखौं चोरी 

शुक्रबार, २५ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

धनुषाको जमुनिवासमा लुटपाट, चितवनमा लाखौं चोरी 

जनकपुरधाम । अज्ञात समूहले मिथिला नगरपालिका– ८ जमुनिवासमा लाखौँको लुटपाट गरेको छ । 
लुटपाटको क्रममा एक लुटेराले चलाएको गोलीबाट एकजना गम्भीर घाइते भएका छन् । 

 

३८ वर्षीय पुष्पलाल श्रेष्ठ गोली लागेर गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राती डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनलाई गोली हानेको थियो । श्रेष्ठको तिघ्रामा गोली लागेको छ । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ । 

 

लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र एक लाभन्दा बढी नगद लुटपाट गरेको बताइएको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताए । प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ । 


यसैगरी चितवनमा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । विगत ६ महिनामा जिल्लाका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट ४९ लाख ३८ हजारबराबरको चोरी भएको छ । एउटा सहकारीबाट १० हजारदेखि ३५ लाखसम्म चोरी भएको छ । 

 

सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट ३५ लाख ८० हजार चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवारण कृषि सहकारी संस्थाबाट १० हजार, भरतपुरस्थित इन्द्रग्राम पुनर्मिलन सहकारीबाट  ५० हजार, माडीको सहनशील महिला सहकारीबाट एक लाख ११ हजार, बछ्यौलीको साना किसान कृषि सहकारीबाट ३६ हजार तथा बछ्यौलीकै वछ्यौली नारी चेतना सहकारीबाट एक लाख १५ हजार चोरी भएको छ । 

 

यस्तै रत्ननगरको एकीकृत कृषक बचत तथा ऋण सहकारीबाट एक लाख ९९ हजार, भरतपुरको अभ्युदय बहुउद्देश्यीय सहकारीबाट तीन लाख १७ हजार र भरतपुरकै प्रभा दिदी बहिनी सहकारीबाट ६ लाख ५३ हजार चोरी भएको जिल्ला प्रहरी कार्यालयको दर्ता उजुरीमा उल्लेख छ । चोरीमा सम्बन्धित कार्यालयकै कर्मचारी तथा सो विषयबारे जानकार व्यक्तिको संलग्नता रहेको पाइएको ढकालले बताए । घटनाको अनुसन्धान गर्न टोली गठन गरी परिचालन गरिएको छ ।

 

सहकारीमा चोरी गर्ने गिरोहले सिसी क्यामेरा नष्ट गरेर चोरी गर्ने गरेको पाइएको छ । शृङ्खलाबद्ध रूपमा सहकारी संस्थामा चोरी हुन थालेपछि सहकारीकर्मी चिन्तित बनेका छन् ।