व्यापार

अर्थ

कर्पोरेट

मुख्य समाचार

समाज

प्रदेश १

सरकारी नीति व्यवसायीमैत्री नहुँदा नेपाली कपडा उद्योग संकटमा

सोमबार, २५ असार २०७५ गते प्रकाशित
- नेपाल आज

सुनसरी । सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएको गुनासो आएको छ । ९० प्रतिशत स्वदेशी कच्चा पदार्थमै सञ्चालित उद्योगहरु व्यवसायी मैत्री सरकारी नीतिको अभावमा संकटमा परेको कपडा उद्योगीको गुनासो छ ।

 

सुनसरीको इटहरीमा रहेको प्रगति टेक्स्टाईल,जयकमल होजियारी, रिलायन्स स्पिनिङ मिल्स लगायत कपडा एवम् धागो उद्योगहरुको स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उद्योगीहरुले यस्तो गुनासो गरेका हुन् ।

 

स्वदेशकै श्रमिक र स्वदेशी कच्चापदार्थको प्रयोगमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका कपडा उत्पादन गर्ने उद्योगबारे सरकारले दीर्घकालीन निर्णय लिन नसक्दा उद्योगहरु बन्द हुने खतरा बढेको भन्दै उनीहरुले यस्ता उद्योगलाई प्रोत्साहन दिने नीति ल्याउन आग्रह गरेका छन् ।

 

उद्योगीहरुले नयाँ आवको बजेटले २० वर्षदेखि पाउँदै आएको ७० प्रतिशत कर छुटको व्यवस्था हट्दा नेपाली कपडाको उत्पादन लागत १३ प्रतिशतसम्म बढ्न जाने भन्दै त्यसले छिमेकी देशबाट अवैधरुपमा आयात हुने कपडाहरुसँग प्रतिष्पर्धा गर्न नसक्ने बताए ।

 

धागोबाट १ सय प्रतिशत भ्यालु एड गरेर कपडाहरुको उत्पादन हुने गरेको नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जीतेन्द्र कुमार लोहियाले बताए । लोहियाले भने, ʽपरस्पर मन्त्रालयको सम्पर्कमा छौं, मन्त्रालयले आश्वासन दिएपनि अर्कै किसिमको बजेट आयो । चोरी पैठारी भइरहेको छ ।

 

यहाँ २ हजार किलोमिटरको खुल्ला सिमानाबाट साइकलबाटै सामान आउँछ । एकचोटीमा ५० हजारसम्मको सामान साईकलबाट आउँछ । सरकारले बुझिदिनुपर्यो । सबैभन्दा ठूलो चोरी पैठारी भएर आउने चिज कपडा नै हो ।ʼ

 

सरकारले बजार अनुगमन गरेर अबैधरुपमा भइरहेका ओसारपसार रोक्नुपर्ने उनको माग छ । उनले कर्मचारीतन्त्रले अनुगमन गरेर अवैध कारोबार गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । लोहिया भन्छन्, ʽअवैध कारोबार गर्ने मानिसलाई समातेर छोडिरहेका छन् । अनुगमन गरेर कडा कारबाही हुनुपर्यो । यदि त्यसो भएन भने यहाँ अवैध कारोबारको विकृति बढीरहन्छ ।’

 

सरकारी नीति राम्रो भएमा अहिले ३५ करोडसम्मको कारोबार गर्ने नेपाली उद्योगले ३ सय करोडको कारोबार गर्नेसक्ने उद्योगीहरुको भनाई छ । त्यस्तै अहिले भईरहेको रोजगारीलाई दोब्बर पार्न सक्ने पनि उद्योगीहरु बताउँछन् । इटहरीमा रहेको रिलायन्स स्पिनिङ मिल्स एकै उद्योगले अहिले करिब ४ हजारलाई रोजगारी प्रदान गरिरहेको छ । 

 

सरकारले व्यवसायमैत्री नीति ल्याएमा पचास प्रतिशत क्षमतामा चलेका उद्योगहरु दुई महिनामै शतप्रतिशत सञ्चालनमा ल्याउन सकिने उपाध्यक्ष लोहिया बताउँछन् । उनीहरुले स्वदेशी उद्योग र यहाँको उत्पादनलाई संरक्षण दिनुपर्ने माग गरेका छन् ।

 

स्वदेशी अर्थतन्त्रमा उल्लेख्य योगदान दिईरहेका उद्योगहरुमा लगानी अनुदान र सहुलियतका कार्यक्रम हुनुपर्ने उद्योगीहरुको माग छ । नेपाली कपडा गुणस्तरीय छ भन्ने कुरामा हामी सचेतना र जानकारी दिन पनि आवश्यक रहेको उद्योगीहरुले बताएका छन् ।

 

राजनीतिक अस्थिरता र नीतिको अभावमा सुनसरीमा मात्रैे २०४८ देखि खुलेका १४ मध्ये १३ टेक्स्टाईल उद्योग बन्द भइसकेका छन् ।नेपालमा कम्तिमा पनि ८० मिटर प्रतिव्यक्ति कपडा खपत छ । पहिरनमा ४० मिटर र अन्य प्रयोजनमा काम गर्छ । नेपालभर साना ठूला गरेर २०० वटा टेक्स्टाईल उद्योगहरु रहेको उद्योगीहरुले जानकारी दिएका छन् ।