भिडियो

कर्पोरेट

घुसको कोड ल्याङग्वेज : ‘एक पटक भेटौँ, एक कप चिया खाउँ र लन्च खाऔं’(भिडियोसहित)

कुुरियर व्यवसायी बञ्जारा भन्छन्, ‘भन्सारमा पाइलापिच्छे घुस’

सोमबार, २५ असार २०७५ गते प्रकाशित
- नेपाल आज

घुसको कोड ल्याङग्वेज : ‘एक पटक भेटौँ, एक कप चिया खाउँ र लन्च खाऔं’(भिडियोसहित)


काठमाडौं । नेपालमा कुरियर सेवा सञ्चालनका लागि स्पष्ट नीति बन्न सकेको छैन । अहिले कुरियर सेवा प्रदायक कम्पनीहरू हुलाक ऐन २०१९ अनुसार सञ्चालन भइरहेको कुरियर व्यवसायी राजन बञ्जरा बताउँछन् । सरकारले कुरियर व्यवसायका लागि स्पष्ट नीति ल्याउन नसक्दा लगानी प्रभावित भएको उनले बताए । 


नेपाल आजसँग कुराकानी गर्दै व्यवसायी बञ्जराले कुरियर सेवाका लागि आवश्यक नीतिको अभावमा व्यवसाय व्यवस्थित हुन नसकेको प्रष्ट पारेका छन् । 


यो व्यवसाय मर्यादित बनाउने काममा सरकार मौन रहेको गुनासो गर्दै उनले  प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्नका लागि कुरियर व्यवसायमा सरकारी चासो पनि उत्तिकै आवश्यकता रहेको बताए । आम जनतालाई यो व्यवसायका बारेमा सचेतना जगाउन जरुरी रहेको बताउँदै उनले सचेतना अभावका कारण पनि कतिपय उपभोक्ताले समस्या खेप्दै आएको बताए ।  

 


द्वन्द्वको प्रभावले खुम्चिएको कुरियर व्यवसाय शान्ति स्थापनापछि पुनः फैलिन थालेको उनी बताउँछन् । लामो समय कठिन ढङ्गमा चलेको कुरियर व्यवसायमा पछिल्ला वर्षमा १० देखि १५ प्रतिशतसम्मले कारोबार बढेको कुरियर व्यवसायी बञ्जरा बताउँछन् ।  




अहिलेसम्म कुरियर  व्यवसायमा करिब १ अर्ब रुपैयाँको लगानी भइसकेको उनको अनुमान छ । अहिले नयाँ लगानीकर्ताहरू समेत यस व्यवसायमा आकर्षित भएको उनले बताए । 
कुरियर व्यवसायमा बिचौलिया हावी 


कुरियर व्यवसायमा पनि पछिल्लो समय बिचौलिया हावी भएको उनी बताउँछन् । बिचौलिया हावीका कारण व्यवसायीभन्दा पनि उपभोक्ताहरू मर्कामा परेको उनले बताए । 
कुरियर व्यवसायमा सरकारले उचित मूल्यसूची समेत तोक्न चासो नदिएको कारण उपभोक्ताले व्यवसायीपिच्छे मनोमानी रकम तिर्न बाध्य हुँदै आएका छन् । यसको रोकथाम र निश्चित मूल्य निर्धारणका लागि सरकारले अनुगमन तथा निगरानी गर्नुपर्ने बताए । अहिलेसम्म सरकारी तवरबाट यो व्यवसायमा अनुगमन समेत हुन नसकेको उनले खुलासा गरेका छन् ।   


सरकारी नीतिको अभावले गर्दा व्यवसायी समेत समस्यामा पर्ने गरेको उनी बताउँछन् । अहिले सामान्यस्तरको कुरियर व्यवसाय सञ्चालन गर्न न्यूनतम दुई लाख रुपैयाँसम्मको लगानी आवश्यक छ । नेपालमा ५ करोड रुपैयाँसम्म लगानी भएका कुरियर सेवा प्रदायक कम्पनी पनि सञ्चालनमा रहेको उनी बताउँछन् । 


नेपालमा सरकारी र निजी दुवै स्तरबाट कुरियर सेवा सञ्चालन हुँदै आएको उनले बताए । सरकारीस्तरमा एक्सप्रेस मेल सर्भिस (इएमएस) का नाममा कुरियर सेवा सञ्चालन भइरहेको उनी बताउँछन् । कुरियर व्यवसाय विश्वको चौथो ठूलो सेवामूलक उद्योगमा पर्ने उनले बताए । 


कुरियर देशबाट निर्यात हुने वस्तुमा निर्भर रहने व्यवसाय हो । पछिल्लो समय निर्यातमा घटबढ भएकाले कुरियर व्यवसायमा पनि अस्थिरता बढ्दै गएको उनको बुझाइ छ । 


नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी करिब तीन सय कुरियर कम्पनी सञ्चालित छन् । यसमध्ये ९० प्रतिशत कुरियर कम्पनी राजधानी केन्द्रित भएको व्यवसायीहरू बताउँछन् । 


नेपालमा कुरियर सेवा ०३६ सालबाट सुरु भएको उनले जानकारी दिए । पहिले हुलाकबाट चिठीपत्र तथा पार्सल आदानप्रदान हुने गरे पनि हुलाकको सेवा छिटो छरितो र प्रभावकारी नभएपछि कुरियर सेवा सञ्चालन गर्न थालिएको व्यवसायी बञ्जराले बताए । 


हुलाक र कुरियर दुवै सेवा सञ्चालनको नियम एउटै भए पनि सरकारले निजी क्षेत्रप्रति विभेद गरेको व्यवसायीहरूको आरोप छ । यसका लागि सरकारसँग पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । 
पटकपटक आग्रह गर्दा पनि सरकारले निजी व्यवसायीका समस्या समाधानमा चासो नदिएको उनी बताउँछन् । कुरियरको मुख्य काम ग्राहकले दिएको सामान द्रुतगतिमा सम्बन्धित ठाउँमा पु¥याउनुका साथै छोटो समयमा नै सेवा उपलब्ध गराउने कुरियरले अहिले कार्गोको समेत काम गर्न थालेको उनी बताउँछन् । 


पछिल्लो समय कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा बढेको व्यवसायी बञ्जरा बताउँछन् । विशेषगरी यस व्यवसायको शुल्क निर्धारणमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको उनको बुझाइ छ । 


अस्वस्थ प्रतिस्पर्धाले ग्राहकलाई फाइदा पुगे पनि दीर्घकालमा व्यवसाय नै जोखिममा पर्न सक्ने भएकाले यस्तो प्रतिस्पर्धा हुन नहुने उनले बताए । 

 


गिफ्टका वस्तुमा पनि कर लगाइनुपर्ने 


विदेशबाट आफन्तलाई पठाइने वा ल्याइने गिफ्टमा पनि सरकारले कर लगाउनुपर्ने उनी बताउँछन् । अहिले सरकारले यस्ता सामानमा कर नलाएकै कारण गिफ्टका निहुँमा समान भित्रिने गरेका उनले बताए । 
उनका अनुसार यसरी गिफ्टका नाममा आउने सामान पनि गैरकानुनी हुन्छन् । किनकी यस्ता सामानको कर सरकारलाई बुझाइएको हुँदैन । 


राज्यको उदासीनताकै कारण कुरियर व्यवसायमा केही गलत प्रवृत्तिका व्यक्तिको चलखेल हुने गरेको उनी आफै स्वीकार्छन् । उनले यस्तो गलत प्रवृत्तिका व्यक्ति वा व्यवसायीलाई निरूसाहित गर्नका लागि सरकारले अनुगमन प्रभावकारी बनाउनुपर्ने उनी बताउँछन् । सरकारी सेवामा सुधार गर्दै नीजि व्यवसायलाई प्रोत्साहन गर्नु र कुरियर व्यवसायीलाई आबश्यकता अनुसारको सिप, तालिम दिन सकेको अवस्थामा यो व्यवसायबाटै राज्यलाई लाखौंको कर संकलन हुन सक्ने उनी बताउँछन् । 


जस्तो सुकै समान पनि बिशेषगरी भन्सारहरूमा बिचौलियाको मिलेमतोमा अन्डर टेबलको माध्यमबाट  सहज रूपमा आयात निर्यात गर्न सकिने उनी बताउँछन् । बिचौलियासँगै सरकारी निकायमा रहेका व्यक्तिबाट यसरी अन्डर टेबलको प्रयोग हुने गरेको उनको भनाइ छ । 


सामान नेपाल पठाउँदाका समस्या 


१) जाँचमा अनावश्यक कडाइ 
२) सुरक्षा प्रणाली प्रभावकारी छैन् । अवैध सामानको निर्यात हुनसक्ने सम्भावना 
३) महँगो शुल्क तिर्नुपर्ने वाध्यता 
४) सामान पठाउनेलाई कुरियरका बारेमा पूर्ण जानकारी अभाव 
५) बिचौलियाले ठग्ने समस्या 
६) अवैध रूपमा बसोबास गर्ने व्यक्तिका नाममा सामान पठाउँदा सम्बन्धित व्यक्तिले नपाउन सक्ने त्रास 
७) कस्टम क्लिरियन्सको प्रक्रिया झन्झटिलो
८) सरकारी अनुगमनको अभाव 
९) प्रत्येक देशको कानुनी झन्झटिलो समस्या  


 सामान ल्याउँदाका समस्याहरू के के  ? 


१) सामान ल्याइसकेपछि राज्यलाई तिर्नुपर्ने करका बारेमा जानकारी अभाव 
२) सामान ल्याउने प्रक्रिया वा तरिकाको अज्ञानता 
३) अनावश्यक जाँचले हैरानी 
४) अवैध वा कर नतिरेको सामानको प्रक्रियामा समस्या 
५) सामान जफ्त हुने सम्भावना 
६) ल्याइएको सामानमा पनि दलालको चलखेल  
७) सरकारको गैरजिम्मेवारीपन 


यसरी हुन्छ अन्डर टेबल र सामान पास  


विभिन्न भन्सारबाट सामान विदेश पठाउँदा पाइलैपिच्छे अन्डर टेबल हुने गरेको छ । भन्सारका कर्मचारीले उपभोक्तालाई ‘एक पटक भेटौँ, एक कप चिया खाउँ, लन्च खाऔं’ लगायत कुरा तेस्र्याउने गरेका छन् । 


भन्सार कर्मचारीको भाषामा एक पटक भेटौँ र एक कप चिया खाउँ भनेको एक कप र एक भेटको एक हजारका दरले हिसाब गरौं भन्ने हो । लन्चको कुरा गर्दा अलि ठूलो बार्गेनिंग भन्ने बुझनुपर्ने उनी बताउँछन् । तर, भन्सार कर्मचारी वा बिचौलियाले ठूलो कारोबार भने अर्कै हिसाबले हुने गरेको छ । 


भन्सार कर्मचारीले यसरी सेटिंग मिलाएपछि कतिपयले उपभोक्तालाई कार्यालयमै बोलाएर टेबलमुनिबाट घर्रा खोल्छन् भने कतिपयले बाहिरै हिसाब मिलाउने गरेको  भेटिन्छ । यसरी भन्सारका कर्मचारीले भनेअनुसार उपभोक्ताले घुस दिएको अवस्थामा सहजै रूपमा सामान पास हुने गरेको छ ।