अन्तरवार्ता

भिडियो

कभर स्टोरी

नेकपा (विप्लव) को चेतावनी : बन्दुकलाई कम्प्युटरमा जोडेर नयाँ युद्ध गर्ने (भिडियोसहित)

नेकपाको रणनीति: ‘मिलिट्री वार प्लस साइबर वार इजकल्टु युनिफाइड पिपुल्स वार’

सोमबार, २५ असार २०७५ गते प्रकाशित
- नेपाल आज

नेकपा (विप्लव) को चेतावनी : बन्दुकलाई कम्प्युटरमा जोडेर नयाँ युद्ध गर्ने (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले अहिलेको गणतन्त्र र संघीयता केपी ओली र प्रचण्डको दलाल पुँजीवादीको गणतन्त्र भएको विश्लेषण गरेका छन् । 

 

नेपाल आजसँग आइतबार समसामयिक राजनीतिक परिस्थितिका सम्बन्धमा विशेष संवाद गर्दै नेता ओलीले भने, ‘केपी ओली र प्रचण्डको गणतन्त्र आएपछि अहिले धेरै राजाहरू भएका छन् । यिनीहरू गणतन्त्रवादी होइनन्, यी चाहिँ दिमागमा राजतन्त्र भएका बाहिर चाहिँ मुखमा दुनियाँलाई झुक्याउन गणतन्त्रको कुरा गर्ने तर, कम्युनिस्ट भनेको त भौतिकवादी हुन्छन् । यी ओली र प्रचण्ड भौतिकवादी होइनन्, आध्यात्मवादी हुन् । त्यसैले प्रचण्डले अध्यात्मको कुरा गरेका हुन् ।’


उनले आफ्नो पार्टी वैज्ञानिक समाजवादका लागि लडिरहेको बताउँदै उनले पछिल्लो पटक आफ्नो पार्टीले बन्दुकलाई कम्प्युटरमा जोडेर मिलिट्री वार प्लस साइबर वार इजकल्टु युनिफाइड पिपुल्स वारको नीति अख्तियार गरेको जानकारी दिए । 

 

ओलीले आफ्नो पार्टीको नीति व्याख्या गर्दै भने, ‘पहिलेको साम्यवादी सिद्धान्तअन्तर्गत गाँस, बास र कपासमा शिक्षा, स्वास्थ्य, सञ्चार र रोजगार थपेर क्रान्तिमार्फत नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्य रहेको छ ।’

 

उनले सत्तामा दलाल पुँजीवादी नेतृत्व रहेको र राज्यसत्ताले तिनीहरूको संरक्षण गरिरहेकाले क्रान्तिमार्फत दलाल पुँजीपतिले लुटेर राखेका सम्पत्तिलाई राष्ट्रियकरण गरेर राष्ट्रिय पुँजी निर्माण गर्ने पनि बताए । 

 

नेता ओलीले अन्तर्वार्ताका क्रममा संसदीय व्यवस्थाको स्थापनापछि मित्रराष्ट्रहरूले बनाइदिएका उद्योग, कलकारखानाहरू धमाधम विदेशी दलालहरूले बेचेर खाएको उल्लेख गरे । 

 

उनले दलाल पुँजीवादविरुद्ध लड्न समानान्तरण सत्ता बनाउँदै लगेको र त्यस समानान्तरण सत्ताले कर उठाउने गरेको तर, दलाल पुँजीपतिसँग चन्दा भने कुनै हालतमा नलिएको स्पष्ट पारे ।

 

एक प्रश्नको जवाफमा ओलीले भने, ‘जनताको खुन, पसिनालाई शोषण गर्नेमाथि जनतालाई नै सचेत गराउँदै जनताको नै साथ लिएर जनकारबाही गर्छौं । जनताको कारबाहीमाथि दमन भयो भने हामी सोच्न वाध्य हुन्छौँ । बन्दुक लिएर आएपछि बन्दुकै उठाउनुपर्छ । हामीसित बन्दुक छ कि छैन भन्ने कुरा ठूलो भएन तर, हामीसित बन्दुक हुनुपर्छ ।’

 

उनले नेपालको आर्थिक अवस्थाको चित्रण गर्दै भने, ‘अहिले मुलुकको अर्थतन्त्र दलाल पुँजीपतिको हातमा छ । दलाल पुँजीपति भनेको विनोद चौधरी, अजय सुमार्गी, मीन गुरुङ, शेष घले र उपेन्द्र यादवलगायत हुन् । यिनका कर्पोरेसनले नेताहरूलाई किनेका छन् । प्रचण्ड, ओली र देउवा यिनका दलाल हुन् । यिनी सबै बिकी सके । हामी यस्ता दलाल पुँजीपति दलाल नेताहरूका विरुद्ध क्रान्तिको प्रक्रियामा छौँ र रिहर्सल गर्दैछौँ ।’

 

 

उनले स्वदेशी पुँजीद्वारा सञ्चालित उद्योगहरू त्यहाँ कार्यरत अधिकारीहरूले पैसा खाएर धराशायी बनाउँदै विदेशी कम्पनीलाई बढावा दिने काम भइरहेको बताउँदै उनले भने, ‘नेपाल टेलिकमले एनसेललाई चलाइरहेका छन् । टेलिकमका अधिकारीले पैसा खाएर एनसेलले फाइदा पुर्याइरहेको हामीले सुनेका छौँ । त्यहाँ नयाँ सामन्तहरू छन् । हामी अनुसन्धान गर्छौं र कारबाही पनि गर्छौं ।’

 

उनले भने, ‘सरकार नै भ्रष्टाचारको अखडा भएको भन्दै प्रचण्ड, ओली र देउवाको हातमा अरर्बौं रुपैयाँ हुने । काठमाडौंका सडकको हालत हेर्नुस् त बिजोग छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पैसा खाएर चीनबाट रेल ल्याउन रोक्न खोजिरहेका छन् । त्यसकारण पनि हाम्रो क्रान्तिको सान्दर्भिकता बढेको छ ।’

 

नेता ओलीले अन्तर्वार्ताका क्रममा श्रीपेज नभएका राजाभन्दा श्रीपेच लागाएका राजालाई नै पुनस्र्थापना गर्दा हुँदैन र ? भन्ने प्रश्नको जवाफमा भने, ‘हाम्रो पार्टीले राजतन्त्र मान्दैन । किनभने कम्युनिस्टले राजतन्त्र मान्नै सक्तैन् । ज्ञानेन्द्रसँग एकता गर्नुपर्छ भनेर हामीले कहिल्यै भनेका छैनौँ । हो कम्बोडियाका कम्युनिस्टले नरोदम सिँहानुकलाई राजा बनाए । तर, त्यो परिस्थिति नेपालमा छैन । होला देशका लागि देश बचाउन कोही पनि संयुक्त मोर्चामा आयो वा आउन चाहेमा हामी दिलदेखि स्वागत गर्छौं ।’

 

उनले वर्तमान सामाजिक दलाल पुजीपतिको सरकारले आफ्नो पार्टीका कार्यकर्ता र नेतालाई संविधानले दिएको अधिकारसमेत उपभोग गर्न नदिएको गुनासो गर्दै भने, ‘सरकारले हामीलाई फासिष्ट शैलीले दमन गरिरहेको छ । संकटकाल बिर्साउने गरी घर, डेरा खानतलाश गरेर आतंकित बनाएका छन् । हुन त बिग्रिएका कम्युनिस्टले नै सबभन्दा फासिष्ट तरीका अपनाउँछ ।’

 

अन्तर्वार्ताको अन्त्यमा नेता ओलीले गृहमन्त्री रामबहादुर थापाले पुराना दुःख कष्ट बिर्संदै गएकाले उनी दमनतर्फ लागेको आरोप लगाए । 
उनले गृहमन्त्री थापालाई चेतावनी दिँदै भने, ‘फासिष्ट तरीकाले सोच्छन भने त्यसको जवाफ नयाँ तरीकाले आउँछ, बुद्धिविवेक पुर्याउनुपर्छ ।’