कभर स्टोरी

‘स्याउ बाजे’  मदन राईको कस्तो गज्जबको बगैँचा (भिडियोसहित )

सोमबार, २५ असार २०७५ गते प्रकाशित
- नेपाल आज

‘स्याउ बाजे’  मदन राईको कस्तो गज्जबको बगैँचा  (भिडियोसहित )

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा कृषि वैज्ञानिक मदन राईको घर छ । राईको घरसँगै अढाई रोपनी जमिन पनि छ । यो जमिनलाई राईले कृषि र शिक्षा सँग जोडेर उपयोग गरिरहेका छन् । 

 

सामान्यतः काठमाडौं उपत्यकामा जमिन हुनेहरुले घर बनाएर भाडा कमाउन खोज्छन् । तर राईको सोच फरक छ । उनी घर बनाउन मिल्ने जमिनमा मकै रोप्छन् । मकै मात्रै होइन उनको जमिनमा अरुले कोसिस नै नगरेका फलफूल पनि छन् । 

 

भिडियोमा लटरम्म फलेको अंगुर हेर्नुहोस त । दुई वटा पलङ मात्रै अटाउने क्षेत्रफलमा राईले थांग्रा हालेर अंगुर रोपेका छन् । अंगुर अहिले अलि साना छन् । केही समय पछि आफैले खाने र बढी भएमा बेच्ने राई बताउँछन् । 

 

कृषिलाई आधुनिकीकरण गर्ने उपायबारे राईले संसारका धेरै देशका किसानहरुलाई पढाउने काम गरे । युनाइटेड नेसन्समा जागिरे छँदा विभिन्न देश गएर त्यहाँका किसानहरुलाई कृषिसम्बन्धी तालिम दिने गर्थे । 

 

सेवाबाट निवृत्त भएपछि उनले आफूले जानेको शिप आफ्नै बारीमा प्रयोग गरे । अहिले उनको बारीमा लटरम्म परेका अंगुर मात्रै होइन, नासपाति पनि छ । त्यो पनि राम्रो फस्टाएको अवस्थामा । 

 

मुस्ताङमा व्यवसायिक रुपमा स्याउका बिरुवा रोप्ने राई नै हुन् । उनलाई मुस्ताङमा ‘स्याउबाजे’ पनि भन्ने गरिन्छ । ललितपुरमा भने उनले विभिन्न किसिमका फूलहरु पनि उनले रोपेका छन् । यस्ता फूलहरु कहिलेकाहिँ बिक्री पनि गर्छन् । राईको यो कृषिमा प्रांगारिक मल मात्रै प्रयोग हुन्छ । स्याउलापातबाट प्रांगरिक मल बनाउँछन् । मानवमलमुत्रलाई पनि प्रागारिक मलका रुपमा प्रयोग गर्छन । 

 

राईले आफूलाई चाहिने सबैजसो तरकारी आफ्नै बारीमा फलाएका छन् । कृषिका विद्यार्थीहरुका लागि यो बारी प्रयोगशाला पनि हो ।  उनीकहाँ कृषि पढ्ने विद्यार्थीहरुले पनि यहाँ प्रयोगात्मक कक्षा लिन्छन् । 

 

राईले यो सबै गर्नुको अर्थ पैसा कमाउनु भने होइन । उमेरले ६९ टेकेका राईका अनुसार उनीसँग चाहिने जनि धन सम्पत्ति छ । यसकारण उनलाई अब पैसाप्रति मोह छैन । उनी त आफ्नो स्रोत साधनलाई मानवहितका लागि प्रयोग गर्ने सोचमा छन् । 
हरियालीयुक्त यो बारीको छेउमा उभिँदा पनि आनन्द आउने गरेको राई बताउँछन् । 

 

कृषि बैज्ञानिक राईले यो  बारीमा दुई घार मौरी पनि पालेका छन् । उनको  बारीमा भएका बोटविरुवामा फूल फूल्छन् । फूलमा भएको रस चुसेर मौरीले मह बनाउँछ । मौरीले वनस्पतिको परागसेचनमा पनि सहयोग पुर्याउँछ । दुई घार मौरीले आफ्नो आवश्यकता पूरा गरेको राईको भनाइ छ । 

 

अझै रोचक त के छ भने, राईको यो करेसाबारीमा एउटा कोठा भन्दा सानो क्षेत्रमा उनले कुखुरा पनि पालेका छन् । अण्डा उत्पादनका लागि पालिएका यी कुखुराहरु मध्ये १५–२० वटाले अण्डा दिन्छन् । कुखुराको यस्तो खोर बनाउन धेरै खर्च पनि लाग्दैन । राईले यो एक नमूनाको रुपमा कुखुरा पालन गरेका छन् । 

 

घर बसीबसी दुई चार हजार रुपैयाँ कमाउन रहर हुने महिलाहरुका लागि त यस्तो कुखुरापालन बरदान नै सावित हुन सक्छ । किनभने यसखाले कुखुरा पालन गर्दा धेरै समय दिन पर्दैन । धेरै खर्च पनि लाग्दैन र धेरै ठूलो जमिनको आवश्यकता पनि हुँदैन । 

 

जमिन पनि भएका र उद्यमी हुने जाँगर पनि भएकाहरुलाई मदन राईको यो करेसाबारी प्रेरणाको स्रोत नै हुन सक्छ ।