अन्तरवार्ता

कला साहित्य

भिडियो

कभर स्टोरी

गजलकार कादम्बिनी भन्छिन्ः नेपालमा गजल चरम बिन्दुमा पुग्यो

"सोझो नारालाई गजलभन्न मिल्दैन"

शनिबार, २३ असार २०७५ गते प्रकाशित
- नेपाल आज

गजलकार कादम्बिनी भन्छिन्ः नेपालमा गजल चरम बिन्दुमा पुग्यो


काठमाडाैं । पछिल्लो समय नेपालमा गजल लेख्नेहरूको जमात बाक्लो छ । सङ्ख्यात्मक रुपमा धेरै भए पनि गजलको मर्मलाई अंगीकार गरेर लेख्नेहरू कमै भएको समालोचकहरूको विश्लेषण छ । उसो त बहरमा नलेख्नाले नै गजलको स्वरुप विग्रिएको केही गजलकारकाे आरोप छ । लेखनमा विवाद र आलोचना बढिरहेको समयमा केही गजलकारको भूमिका भने हस्तक्षेपकारी छ ।

 

गजल लेखन र गायनमा आफूलाई फरक ढंगबाट प्रस्तुत गरिरहेकी शीतल कादम्बिनी शसक्त गजलकार मध्येकी एक हुन् । ‘कहाँ थियौ तिमी’, ‘झुम्कावाली’, धेरै चोटी मरेँ म त’ जस्ता लोकप्रिय गीतहरूको सर्जक उनी चर्चित गीतकारको रुपमा पनि परिचित छिन् । बहर र गैर बहर दुबैमा गजल लेख्ने कादम्बिनी अनावश्यक विवादमा फसेर आफू समय खेर नफाल्ने बताउँछिन् । नेपालआजका लागि समर्पण श्रीले गजलकार कादम्बिनीसँग गरेकाे अन्तर्वार्ता उनको लेखन र जीवन भोगाईमाथि केन्द्रित छ । 



कवितामा जम्न सकिन


लेखनको सुरुवात गीत र कविताबाट गरेकी उनले कवितामा आफू जम्न नसकेको बताउँछिन् । ‘कविताको ट्रेन देखेर सार्वजनिक गर्न सकिन । त्यसपछि गजल लेख्न थालेँ । ’ गजल लेखनको प्रारम्भिक समयलाई सम्झदैँ उनी भन्छिन्‘ सुरुमा त रेडियो कार्यक्रम सुनेर गजल लेख्न थालेँ । लेख्न बस्दा गजलको नियमबारे थाहा थिएन । विस्तारै लेखनको अभ्यासले सिकायो ।’

 

गजल लेखेर रेडियो कार्यक्रममा पहिलो पटक पठाउँदाको नमिठो अनुभव पनि उनीसँग छ । उनी सुनाउँछिन्‘ एकपल्ट गजल लेखेर रेडियो कार्यक्रममा पठाएँ । तर प्रस्तोताले गजललाई शीतलको गीतल भनेर वाचन गरि दिनु भयाे  ।’ त्यतिवेला उनलाईे साह्रै नरमाइला लाग्यो । पछि थाहा भयो कि गजलमा लेखनको संरचना नै मिलेको रहेनछ । 

 

गजल चरम विन्दुमा पुग्यो

अहिले गजल लेख्नेहरू धेरै छन् । तर लेखनमै जम्नेहरू भने पाउन मुस्किल छ । उसो त गजल बहर मै लेखिनुपर्छ भन्ने परम्परागत मान्यता छ । तर शीतल भने गजल बहर मै लेखिनुपर्छ भन्ने कुरामा असहमत छिन् । उनी भन्छिन्‘सबैलाई गजल लेख्न त मन लाग्छ । तर गजल छन्दमा लेख्न गाह्रो कुरा हो । सबैलाई छन्द आउँछ भन्ने छैन । छन्द नआउँदैमा गजल लेख्नु हुन्न् भन्ने होइन ।’

गजल लेखन अनावश्यक विवादमा तानिएको उनको भनाइ छ । तर उनी भने विवादबाट टाढा रहन चाहन्छिन् । सशक्त सिर्जना गर्नु नै उनको उदेश्य हो । नेपालमा गजल लेखनको सुरुवातभएको नै एक शताब्दी नाघिसकेको छ । पछिल्लो समय गजलमा देखा परेको विवादका कारण गजलमाथी उठ्न नसकेको भन्ने केही पक्षको आरोपलाई आलोचना गर्दै उनी भन्छिन्‘नेपालमा गजल चरम विन्दुमा पुगिसकेको छ । यो त केबल आरोपमात्र हो ।’

 

गजल लेख्नेहरूको सङ्ख्या बढेकोमा उनी खुसी छिन् । तर गजलमा उत्श्रृङ्खलता र आक्रोस लेख्नेहरूले स्वरुप विगारेको उनको गुनासो छ । ‘गजल कोमल विद्या हो । सोझो नारालाई गजलभन्न मिल्दै । गजलमा त गाली पनि मिठो भाषाबाट गरिन्छ । ’ उनी भन्छिन्‘ केही लेखकहरूले गजलमा अश्लीलता भित्र्याएका छन् ।’

 

गीतकार छाँयामा पर्दैनन्


उनी एउटा चर्चित गीतकार । गीत लेखनले पनि आफूलार्इ उचाईमा पुग्न ठुलो सहयोग गरेको उनको विश्वास छ । गीतकारहरू सधैं छाँयामा पर्छन् भन्ने कुरामा उनी सहमत छैनन् । गीत लेखेर आफूभने छाँयामा नपरेको दाबी गर्दै भन्छिन्‘ म छाँयामा परेको छैन, राजेन्द्र थापाजस्ता गीतकार छाँयामा परेकाम छैनन् । ’उनीहरू पनि आफ्नो छुट्टै संसार रहेको उनी बताउँछिन्, ‘हामी पर्दा पछाडी बसेपनि हाम्रो छुट्टै संसार छ । महफिल र विभिन्न साँगीतिककार्यक्रमहरूमा व्यस्त त हुन्छौँ नै । हामी छाँयामा परेका छैनौँ ।यदिगीत राम्रो भयोभने स्रोतहरूले गीतको लेखक त खोजिहाल्छन् नि ।’


तर, पछिल्लो समय गीत संगीतको क्षेत्रमा आएको विकृतीका कारण उनी चिन्तित  छिन् । यसको प्रमुख कारण सिडी बिक्रीमा बन्द हुनु नै उनको ठहर छ । ‘ पहिला गायकहरूको कमाई हुने भनेको नै सिडीबाट थियो । सिडी को बिक्री बन्द भइसकेपछि कमाई हुने भनेको स्टेज कार्यक्रमबाट मात्र हो ।’गीतमा अश्लीलता कसरी भित्रियो भन्ने प्रसंगलाई जोड्दै उनी भन्छिन्‘ स्टेज कार्यक्रममा सस्तो लोकप्रियता खोजियो । त्यसैले अश्लीलता भित्रियो ।’


पहिलेको जस्तो सदाबहार गीतहरू पाउन मुस्किल भएको उनको अनुभव छ । तर त्यसको समय पनि फेरी फर्केर आउनेमा उनी आशावादी छिन् । ‘अहिले बजार तात्ने गीतको माहोला छ । बिस्तारै गम्भीर गीतको समय पनि फर्कनेछ । ’


प्रेम र सम्झना अनि जिन्दगी

प्रेमः उनको आफ्नो छुट्टै कथा छ । तर वियोगका कथा सुनाउन उनी चाहँदिननन् । प्रेममा परिपक्वता हुनु जरुरी छ , नत्र त्यो प्रेम फूल्दैन, ओइलाउँछ । प्रेमबारे उनीसँग यस्तै अनुभूती छ । 


सम्झनाः  ‘धेरै चोटी मरे म त धेरै चोटी बाँचे...’  यो गीत उनले रुँदारुँदै लेखेकी  हुन् । त्यति बेला उनलाई भित्रैबाट मरेको आभास भयो । कसैको सम्झनाले सताउँदा मरेको आभास हुनसक्छ सायद । ‘सायद मलाई कसैको याद आएको हुनसक्छ ।’ उनी त्यतिबेलाको क्षण हाँस्दै सुनाउँछिन् । 

 

जिन्दगीः ‘मलाई  जिन्दगीबारे लेख्न धेरै मनलाग्छ । वास्तवमा यो जिन्दगी कति सुन्दर छ । जिन्दगीमा खुसीहरू त खोज्न जान्नुपर्छ ।’जीवनबारे आफ्नै मौलिक धारणा उनी यसरी व्यक्त गर्छिन् ।  जीवनमा दुःखलाई पनि  अवसरको रुपमा लिने उनको स्वभाव छ । सायद यही स्वभावले गर्दा होला उनका अनुहारमा उत्साहका सदाबहार इन्द्रेणी चम्किरहेका हुन्छन् ।