बिचार

फेरिएको सरकार, नफेरिएको संस्कार 

शनिबार, २३ असार २०७५ गते प्रकाशित
- संकेत कोइराला

फेरिएको सरकार, नफेरिएको संस्कार 

गुरु द्रोणाचार्यले महाभारत युद्धमा शहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी सुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकुहरु थिए । उनीहरूले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा शूरवीर, धैर्यवान् र परेका बखत तत्काल निर्णय दिनसक्ने क्षमता भएको व्यक्ति भावी सेनापति हुनुपर्ने राय दिए । यसैबीच अश्वत्थामाले महावीर कर्णलाई सेनापति बनाउनुपर्ने प्रस्ताव गरे । प्रस्ताव एकमतले पारित भयो । यो निर्णयबाट सबैभन्दा दुर्योधन दंग जस्तो देखिन्थे । सवै बिदावारी भएपछि कर्णलाई अंगालो हाल्दै एकान्तमा लगेर दुर्योधनले भने– ‘मित्र, वास्तवमा मलाई पितामह र गुरु द्रोणाचार्य कसैको विश्वास थिएन ।

 

उहाँहरू पाण्डवलाई बढी माया गर्नुहुन्थ्यो । त्यसैले हामी क्षमता भएर पनि सफल हुन सकेनौं । म त तिमै्र भरमा थिएँ । सेनापति बन्ने योग्यता तिमीबाहेक कसैमा छैन । अब हामी सफल हुन्छौं ।’ दुर्योधनको प्रशंसाबाट हौसिएका कर्ण भन्छन्– ‘अब म पाण्डवहरूलाई युद्धमा टिक्नै दिन्न । भोलि नै अर्जुनलाई खत्तम गरेर सवै पाण्डवलाई म आफ्नो शिविरमा ल्याएर थुन्छु । यो मेरो प्रतिज्ञा हो ।’ कर्णको संकल्पले दुर्योधनलाई हुनसम्मको ढाडस दियो । यी पात्र बाहिरबाट अत्यन्तै मिलेको जस्तो देखिएपनि शंकाको लाभ लिन चुक्दैनथे । उनीहरू सहयोगीका नाममा एकले अर्कालाई राम्रैसँग ठग्दथे । यिनीहरूको सम्बन्ध नङ मासुजस्तो त थियो तर नङ काटिँदा मासुले कुनै प्रतिवाद गर्दैनथ्यो । 

 


रूपान्तरित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र  पुष्पकमल दाहाललाई प्रारब्धले दुर्योधन र कर्णको ठाउँमा ल्याइदिएको छ । महाभारत त्यस्तो शृंखला हो, जसका पात्रहरूले राज्य जितेर पनि कीर्तिमानी हुने सुअवसर पाएका थिएनन् । राज्यभोगको साइत अन्ततः श्राप र आँशुको दुर्दान्त रुझानमा लपक्कै भिजेको छ ।

 

युद्धका नायक श्रीकृष्ण व्याधाको प्रहारबाट नासिएका छन् । राज्यभोग गर्नुपर्ने पाण्डवहरू एक एक गर्दै सुमेरु पर्वतमा बिलाएका छन् । कूटनीतिज्ञ विदुरलाई वैराग्यले छोएको छ । जिन्दगीभर शत्रु ठानेर युद्ध गरिएका कर्ण आफ्नो दाजु भएको खुलासा आमा कुन्तीले गरेपछि पाण्डवहरू यति व्यथित भए कि जीवनको उत्तराद्र्ध उनीहरूका लागि ननिको सुरुङ यात्रा सावित भयो । युद्धका वीरहरू किंकर्तव्यविमूढ बने । 
महाभारतका पात्रजस्तै यतिबेला खाँटी राजनीतिक कार्यकर्ताहरूमा उत्कर्षको वैराग्य छाएको छ ।

 

बाबुराम भट्टराई अर्को गुठी खोलेर आफू कुनै समय माओवादी दलको शीर्ष नेता भएको स्मरणसम्म गर्न चाहँदैनन् । नारायणकाजीलाई पार्टी नखाउँ दिनभरिको सिकार, खाउँ कान्छाबाउको अनुहार जस्तै भएको छ । मोहन वैद्य, मोहनविक्रम सिंह, सीपी गजुरेल, राधाकृष्ण मैनालीहरूको विगत आफ्नै रागले चाउरिएको मरिच जस्तै छ । राजनीतिमा चित पोट जता पल्टिएपनि फाइदामा चल्दै आएका कमल थापा हिङ नभएपनि टालो सुम्सुम्याएर बस्न वाध्य छन् । एकथरि माओवादी काठमाडौंको सभ्रान्त परिवारमा रूपान्तरण भइसकेका छन् । उनीहरू आफ्नो विगत ‘नराम्रो सपना’ भन्ने अवस्थामा पुगेका छन् । ढिँडो रोटीबाट लन्च, डिनरको सभ्यतामा पुगेका उनीहरू रुकुम, रोल्पा, प्यूठान हराउँदा पनि पुग्दैनन् ।  

 

अर्काथरि अरबका डोरीलाउरे र बाँकी रहेकाहरू युरोप अमेरिकामा ‘तोरीलाउरे’ बनेका छन् । यी खाले बुज्रुकहरू उल्टो माओवादी पीडितको कागज बनाएर विदेशी बन्ने क्रममा अदालती बयान दिइरहेका छन् । विशुद्ध माओवादी भएर रहनुमा स्वयं प्रचण्डलाई त विश्वास भएन भने अरूका विषयमा बहस गर्नु नै निरर्थक छ । पहिला पहिला कम्युनिस्ट र कांग्रेस अलग दल हुन्थ्यो । दलका शीर्ष नेता हुन्थे । नेताले भनेको माथिदेखि तलसम्म अक्षरशः पालना हुन्थ्यो ।

 

अहिले त कम्युनिस्टभित्र कांग्रेस, कांग्रेसभित्र कम्युनिस्ट,कम्युनिस्ट–कांग्रेसभित्र राजावादी,भारतवादी,चीनवादी,अवसरवादीहरूको बहुमत छ । प्रधानमन्त्री भारत, चीन भ्रमणमा जाँदा फ्रन्ट डेस्कमा देखिएका अनुहार हेर्दा प्रष्ट हुन्छ– यहाँ बर्सेनि सरकार फेरिन्छ, संस्कार फेरिँदैन ।

 

कम्युनिस्ट, कांग्रेसभित्र लोकमानसिंह कार्कीका चेलाचपेटाको बिगबिगी छ । लोकमान त झारले छोपिएको पीपल जस्तै हुन् । जब झारपात घामको ताप र बर्खाको भेल थेग्न नसकेर पराल हुन्छ, त्यसपछि पीपलरूपी लोकमान लहलह भएर उदाउने छन् । फेरि जयजयकार सुरु हुनेछ । राजा ज्ञानेन्द्रको सत्ता पल्टिँदा सवैभन्दा घृणा गरिने पात्र कमल थापा फेरि म्यारिजको मालजस्तो भएर उदाउने छन् ।

 

जति नै दामी घडी  लगाएपनि समय किन्न सकिँदैन भन्ने भ्रमबाट मुक्त भइएन भने प्राप्त उपलब्धि सपनामा पत्करसरी टिपेको पैसाजस्तो हुन्छ । देशको सम्पूर्ण राजनीतिक नेतृत्व आर्थिक समृद्धिको यात्रामा छ । डा. गोविन्द केसीदेखि प्रधानमन्त्री ओलीसम्मका एजेन्डा जनताको भविष्यसँग जोडिएका छन् । आखिर यी एजन्डा विशुद्ध हुँदाहुँदै विमति चाहिँ के मा त ? उत्तर स्पष्ट छ– दृश्यमा देखिएका पात्रलाई एजेन्डा बोकाउने पात्र अदृश्य छ । उनीहरूले पाउने उपलब्धि फरक छ । नेताहरूको भिजन भूस हुँदा रुसजस्तो वैभवशाली मुलुक स्याहार नपुगेको हात्तीजस्तो हुनपुग्यो ।

 

नयाँ नेपालको अमूर्त सपनाले नेपाली समाजलाई न सलादजस्तो समान अस्तित्वको बनायो, न सुपजस्तै एकत्रित स्वादको नै । बरु विषादी प्रयोग गरेर जबर्जस्त पकाइएको कालिमाटीको फलफूलजस्तो बनाइयो राजनीतिक उपलब्धि । न खान मिल्ने, न फाल्न सकिने ।    केपी ओलीले चराको चुचोजस्तो रेल र चुलोचुलोमा ग्यास ल्याउने सपना देखाउँदा उनका कार्यकर्ताले राजनेताको पखेटा लगाएर फेसबुक भरेको दृश्य देखेको माओवादी नेतृत्व  अहिले त्यही एजेन्डाको तामो तुलसो लिएर बसेको छ ।

 

तिललाई पहाडमा अनुवाद गर्न सक्ने कम्युनिस्ट मनोविज्ञानबाट नेताहरू अझै ब्युँझिएका छैनन् । रेडियो टिभीमा बोल्ने रिपोर्टरभन्दा बढी सरकारका मुखियाहरू सक्रिय छन् । कुनै पूर्वाग्रह हैन, प्रधानमन्त्री रेल नल्याई नछोड्ने तर सरकारको यो एजेन्डा कार्यान्वयन गर्ने जिम्मेवारी पाएको रेल विभाग वर्षौंदेखि काम नपाएर बसेको छ । स्वास्थ्य रिसर्च भन्छ– बच्चाले पर्याप्त पानी खेल्न पाएन भने त्यसको प्रभाव उसको शारीरिक विकासमा पर्छ । जनताका लागि एक गिलास शुद्ध खानेपानी अधिकारको रूपमा स्थापित हुन सकेको छैन, तर मन्त्रीको एजेन्डा खाडीमा पानी ओसार्ने छ ।

 

पाँच वर्षपछि नेपालमा गरिब नहुने भए, नेपालीले विदेशीलाई काम लाएर साध्य नहुने भयो, पर्यटकले भरिएर देशको आयतन बढाउनुपर्ने अवस्था आउनेजस्ता भाउँतोले मन्त्रीहरू अहिले देखि नै पसिना पसिना हुन थालेका छन् । त्यो बेला नेपालीले आर्जन गर्ने पैसाको भार थेग्न अहिले नै स्वीस बैंकमा कतैबाट पत्राचार भएको खबर आयो भने कसैले अनौठो नमाने हुन्छ । नेता, प्रशासक मान्यजनहरूमा विनम्र आग्रह के हो भने तपाईंहरूले दिनरात गरेको बैठक त्यसपछि गरिएको टिप्पणी, सदरले आफ्ना घरका तीनपुस्तालाई कति छोएको त्यसबाट आफ्नो कामको मूल्यांकन गर्नुस् ।

 

तपाईंले आफ्ना सन्तानलाई मैले आज तिमीहरूको पुस्ता संरक्षणका लागि यस्तो निर्णय गरेर आएँ भनेर स्याबासी खाएको कुनै क्षण छ ? माक्र्सवाद, लेनिनवाद, माओवादभन्दा शक्तिशाली वाद भनेको चुलोवाद हो । चुलोवादको अर्थशास्त्र कति प्रतिशत नेताले बुझेका छन् ? जनताको घरमा धुवाँको मुस्लो नदेखेसम्म भात नखाने मल्लकालीन राजाको इतिहास कुन समाजवाद र साम्यवादभन्दा कम धारिलो छ ? दम्भबाट सबै झरे हुन्छ । त्यही दम्भ पाल्दा नरम जिब्रोकै अघिल्तिरबाट दाँतले बिदा लिने हो । सच्चा नेता बन्नु छ भने पहिले देशलाई देशजस्तो बनाउनुस् । संघीयताको गाईजात्राबाट जतिसक्दो छिटो मुलुकलाई मुक्त गराउनुस् ।

 

अन्तरआत्माको आवाज नदबाउनुस् । भौतिकवादको खोल ओढेर आफूलाई झुटको पुलिन्दा नबनाएको जाति हुन्छ । नरेन्द्र मोदीलाई लिएर जानकी मन्दिर, मुक्तिनाथ, पशुपतिनाथ जाने ओली, दाहाल जयशम्भु भन्दै नारिएर त्यहाँ जान के ले छेक्छ ? सच्चाई भनेको के हो भने धर्मको जमिनमा राजनीतिको घर बन्ने हो । धर्म अनुशासन हो । अब स्टिलको गिलासमा जाँड भरेर कार्यकर्ता झुक्याउने दिन गए ।     


 संसारका मानिसले बुझ्ने समान भाषा हो– हाँसो । हाम्रो भूधरातल र सामाजिक सन्तुलन यस्तो अवस्थाको छ कि औंलामा गनिने मानिसले थोरै लोभ त्यागिदिने हो भने सवैथोक आफैं मिलेर जान्छ । यहाँ पार्टी जित्ने, देश हार्ने प्रतिस्पर्धाले घर ग¥यो । नेताको मलद्वारलाई हरिद्वार मान्ने दास जन्माउने होडबाजीमा नेताहरू लागे । सत्ता बाहिर हुँदा पशुपति स्वयम्भूका बाँदरको समेत ट्रेड युनियन बनाउन खोज्ने नेतृत्व सत्तामा पुगेपछि तिनीहरूकै चक्रव्यूहबाट निस्कन नसक्ने अवस्था आयो ।

 

यसैको परिणाम नायकत्व जागिर भएको छ । सहरी नुनको प्रभावले माओवादीजस्तो कि गर, मरको हुकुमी दर्शनमा हुर्किएका असली कार्यकर्ताहरू विभिन्न आवरणमा अलप भएका छन् । बरु अवसरवादी चैते वर्णशंकर सन्तानको आवादीमा माओवादी जमिन सिँचित छ । माओवादका प्रणेता माओत्सेतुङले जनताबाट सियो पनि लिनु हुँदैन भनेर सिकाए तर उनैका अनुयायी हाम्रा माओवादीहरूले देशको ढुकुटीमा संगठित आक्रमणलाई संस्थागत तुल्याए । 


जति सत्य बुझ्यो उति जीवन सरल हुन्छ । विश्वमा शान्ति र विकास बलले नभई समझदारीले आएको छ । रूखपछि बनेको भन्दैमा पीर्कामा रिस पोख्ने दुस्साहस किमार्थ गर्नुहुन्न । राजनीतिमा त झन् यो आत्मघाती सिद्ध हुन्छ । कम्बोडियामा कम्युनिस्टहरूको यस्तो दबदबा थियो, जहाँ चश्मा लाएका मानिसलाई बुद्धिजीवी ठानेर मारियो ।

 

हिटलरको सन्कीपनले ५ करोड मानिस चेम्बरमा स्वाहा भए । यसको ठीकविपरीत अमेरिकी राष्ट्रपति अब्राहम लिंकन जातीय दासता उन्मूलन गरेबापत प्रसिद्ध भए । नेपाल एउटा विश्वको त्यस्तो नमुना देश हो, जहाँ पुलिसले अपराधी समात्दा, पत्रकारले कुनै एउटा राम्रो समाचार लेख्दा, न्यायाधीशले राम्रो फैसला गर्दा, कुनै नेताले विकासवादी भाषण ठोक्दा, कर्मचारीले तोकेको काम गर्दा त्यो हिट समाचार बन्छ । यसको अर्थ के हो भने हरेक मानिसहरू आफ्नो स्वःधर्मभन्दा अलग पेसामा पारंगत छन् ।

 

सफल राजनेता आपूm साधारण जीवन बाँचेर जनतालाई असाधारण जीवनशैलीमा पुर्‍याउन अहोरात्र खट्छन् । तर हामी कहाँ राजनीति कहिल्यै अवकाश लिन नपर्ने जागिर भएको छ । एउटा माकुराले आत्महत्या गरेछ ।  मर्नुअघि उसले लेखेको सुसाइड नोटमा लेखिएको थियो– ‘जाल बुन्नमा मैले नेपालका नेताहरूको मुकाबिला गर्न सकिनँ ।’ संविधानलाई विश्वको उत्कृष्ट भन्ने तिनै नेताका लागि त्यो दस्तावेज भिरको चिन्डो भएको छ ।

[email protected]