कला साहित्य

साहित्य आज

विमला तुम्खेवाका ३ कविता

शनिबार, २३ असार २०७५ गते प्रकाशित
- नेपाल आज

विमला तुम्खेवाका ३ कविता

सपना र बगरहरू 

काठमान्डुको कुनै बेनाम कोठा 
साधारण खाट
मसँग सपनाको मृत्युमा सरिक हुने 
यही खाट छ 

 

आज
जीवनको एकदिन 
आफ्नै सपनाहरूको मृत्युमा सरिक भएँ

 

यो दिन पनि
पिपलबोट, हनुमानढोका 
र पशुपतिको मृत्यु बगरहररूमा टोलाउनुमा बित्नेछ 
संवेदना सकिएको मन चिसो पर्खाल 
तिमी नहुनुको पीडा र अनागरिक मान्छे बाँच्नु 

म,
मान्छे भएर जन्मनुको 
सत्यतासँग मात्र पनि किन आन्दोलित हुन्छु ?

 

तिमीले मेरो निम्ति विताएका पागल दिनहरू
पराकाष्ठामा पुगेर पुनः तिमीलाई सम्झनु 
मलाई थाहा छ, 
 फेरि पनि सपनाको मृत्यु हुनेछ ।

 

के थाहा, 
 अपरिचित हावाको एक स्पर्श पनि
 सुखको अन्तिम सत्य हुन सक्छ ।

 

कफिसपमा बसेर मैले सारा विसङ्गतिहरूलाई 
बिर्सने प्रयास कहाँ नगरेको हो र ?
तर एउटा पराकाष्ठामा पुगेर 
सधैं जीवन पेन्डुलम छ 

 

यसरी मबाट बाँच्नुको नियतिसँगै 
सधैं सधैं रहर मर्ने गर्छ 
सधैं सधैं  विचार मर्ने गर्छ 
आज 
म जीवनको एकदिन पशुपतिको मृत बगरहरूमा
 सपनाहरूको मृत्युमा सरिक छु ।


 


समुन्द्र र उदास परी 

रित्तता भोग्नु पनि साह्रै ठुलो सत्यता रहेछ 
हुन्न थियो होला, यस्तरी काँडा भएर फुलहरूलाई चुम्न 
हुन्न थियो होला, भोग्न आकाशहरूलाई समय अन्तरालसँगसँगै ।


मसँग सर्वाङ्ग नाङ्गिएर जीवन भाग्न खोजेको धेरै भयो 
कोठामा मौनाता छाएको धेरै भयो 
तिमी भन्न सक्छौं यो सडकमा 
पाप्रा–पाप्रा भएर उप्किएको डोबहरूले 
कतिपटक सुर्यको रापिलो तापेर शीतलाई पर्खिए होलान् ?

 

हामीबीच प्रेम आधिप्रेम भएर उभिएको छ 
राग अनुराग भएर टप्किएको छ 
दुर कतै टाढाबाट आफैँतिर आउँदै 
कुनै रहस्यमयी आकृति जस्तो
तिम्रो ओठमा अधुरो प्रेमकथा कोरिएको छ 
लाग्छ, टेबलमाथी गिलासमा सजाइएको गुलाफको फूल 
बोटबाट छुट्टीनको पीडामा त्यस्तै तड्पिएको छ ।

 

सुन !
विजय, पराजय, प्रेम ,घृणा
यो त मान्छेको बस्तीको नमिठो खेल हो 
फर्क शीतको अनुहारसँग जीवनको कुनै सम्बन्ध हुदैँन
बन्धन र स्वार्थहरूलाई तोडेर हामी
 समुन्द्र यात्रा गरौँ घाम अस्ताउनु अघि ।

 

 


संंस्मरण

त्यो दिन उस्तै उदास थियो 
आत्मारतिमा रमाएर हामी किन रम्न सकेनौ ?
जीवन साँच्चै अस्पष्ट छ त ?

 

हरेक दिन
 तिम्रो यादमा कोरिएका यी कविताहरू 
उस्तै प्रेममय छन्

 

त्यसदिन
 जसरी तिम्रो मौनता समयका बन्धनहरूलाई तोडेर
संस्कारका सबै सिमानाहरूलाई तोडेर
 मसम्म आउन आतुर थिए 
लाग्छ पाईतलाहरू पहाड चुम्न खोज्छन्
पहाड नदि बग्न खोज्छ

 

सुन, दुःखका भेलहरू बगाएर 
नदि कहिले थाकेको देखेको छौं ?

 

यो उदिग्न र उजाड–उजाड समयको 
एक पलपनि भारी भारी लाग्छ 
फूलसँगै सधैं किन काँडा बाँचेको होला ?
मसँग अहिले जीवन नबाँच्नुको पीडा छ 
यस्तरी मान्छेको नाममा मुर्दा बाँचेको बेला
साँच्चै भन्नु हो भने जीवनप्रति कुनै मोह छैन ।

 

त्यो समय भुवा भन्दा कोमल कोमल 
मेरो मन–मस्तिष्कभित्र यतै कतै द्ददयमा छ
 तर आकार छैन 
मलाई अझै याद छ 
उस्तै उदास थियो त्यो दिन 
जीवन साँच्चै अस्पष्ट छ त ???

   (नदि,छाल र तरङ्गहरूबाट)