मुख्य समाचार

प्रदेश २

प्रदेश २ का सांसदलार्इ प्रधानमन्त्रीकाे अाश्वासनः डुबान र कटानको समस्या छिट्टै समाधान हुन्छ

शनिबार, २३ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

प्रदेश २ का सांसदलार्इ प्रधानमन्त्रीकाे अाश्वासनः  डुबान र कटानको समस्या छिट्टै समाधान हुन्छ

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

 

प्रधानमन्त्री ओलीले मानव सूचकांकमा समेत पछि परेको प्रदेश नम्बर २ को विकास निर्माणको कामलाई गति दिने आश्वासन दिए । शनिबार दिउँसो बालुवाटारमा प्रदेश २ का नेकपा सांसदहरुसँग सामूहिक भेट गरी तराईमा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताएका हुन् । 

 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले चुरे क्षेत्रको संरक्षणका लागि उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको सांसद प्रभु साहले जानकारी दिए । नेकपा सांसदहरुले प्रधानमन्त्री ओलीलाई प्रदेश २ को शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गराएका थिए ।

 


 शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको सांसद सरिताकुमारी गिरिले पनि जानकारी दिइन् ।प्रधानमन्त्री ओलीले नागरिकको समस्या बुझ्नका लागि प्रदेश स्तरीय पार्टीका सांसदहरूको भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

 

यस अघि उनले प्रदेश नम्बर १ का सांसदहरुसँग भेटगरी त्यहाँको समस्याबारे जानकारी लिएका थिए ।