समाचार

अपराध सुरक्षा

समाज

प्रदेश ७

जबर्जस्ती करणीपछि हत्या आरोपमा ५ जना पक्राउ

शुक्रबार, २२ असार २०७५ गते प्रकाशित
- नेपाल आज

जबर्जस्ती करणीपछि हत्या आरोपमा ५ जना पक्राउ

कैलाली । जबर्जस्ती करणीपछि हत्या अभियोगमा प्रहरीले कैलालीमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटी रहेका छन् ।

 

उनीहरुमध्ये गणेश बडुवाल र मनोज बोगटी मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । मृतक विक असार ५ गतेदेखि गौरीगंगा नगरपालिकाकी सामाजिक परिचालक थिइन् । हत्या आरोपित बडुवाल र सुरज चौधरीसमेत सोही पदमा कार्यरत थिए ।

 

गएको असार १२ गतेदेखि हराएकी कैलाली गौरीगंगा नगरपालिका ११ कि २१ वर्षकी माया विक असार १५ गते मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव चपरथली सामुदायिक वनभित्र जबर्जस्ती करणीपछि हत्या भएको अवस्थामा भेटिएको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।

 

उनको हात पछाडि लगेर सुरुवालले बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असार १२ गते काम सकेर फर्कने क्रममा जंगलको बीचमा पुगेपछि बडुवाल र चौधरीले मायालाई जबर्जस्ती गर्दै जंगल भित्र लगेका थिए ।

 

त्यहाँ पहिले नै पुगेका बोगटीद्वय र खातीले पालैपालो बलात्कार गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । मायाको मृत्यु भएपछि लास त्यही छोडेर भागेका थिए । आफन्तले माया हराएको भन्दै असार १४ गते प्रहरीलाई निबेदन दिएका थिए ।