बिचार

देश

वाह ! हाम्रो बुद्धिलाई सलाम !

शुक्रबार, २२ असार २०७५ गते प्रकाशित
- प्रताव ओली

वाह ! हाम्रो बुद्धिलाई सलाम !

अनुहारमा झुटो खुसीको आवरण देखाउने नेपाली समाज नैतिकता नभएको स्खलित समाज हो । भन्दा र सोच्दा पश्चिमेली संस्कारभन्दा हामी माथि भए जस्तो आभास दिलाउने यो समाजमा भयंकर भ्रम र थोरै सत्यता भेटिन्छ । 


चरम डिप्रेसनको सिकार र अनुदारी समाजमा एक स्वच्छ मानिस जुनकुनै हालतमा विरामी बन्छ । सामाजिक रुपमा दिनप्रति दिन निरिह बनिरहेको यो समाजमा सकारात्मक पाटो अगाल्ने कमै भेटिएलान् । 


भनिन्छ नेपालीहरु दयालु छन्, मायालु छन्, परोपकारी छन्, लोभी छैनन् । तर वास्तविकता यो होईन । यहाँ बिना स्वार्थले कोही कसैको परोपकार गर्दैनन् । बिना स्वार्थ कोही खान दिदैनन् । सबै सामन्ती शैलीमा राज गर्न चाहन्छन् । 


हामी साँच्चीकै भन्ने हो भने यतिसम्म कुण्ठित, खराब र अनुदारी छौ की बुबाले पनि छोरोले मलाई पालोस् भन्ने उद्येश्यले जन्म दिन्छ, उसको लालनपालन पनि त्यहि उद्येश्यले मात्र गरिन्छ । 


देशको राज्य सत्ता प्रणाली र शासकहरु कुर्सीकै दाउमा राजनीति गर्छन् । काम गर्नेभन्दा आदर्शवाणी छाँट्ने नेपाली मानसिकता एक कदम अघि बढेको भए नेपाल एक बलियो अर्थ प्रणाली भएको देश बन्थ्यो । दुवैतिर संसारका बलिया देश हुँदा नेपाल यस्तै कमजोर मानसिकताले आफू–आफू लडेर लक्ष्य हासिल गर्न सकेन ।


आज हामी नेपाली जनता आफुलाई भेडा भनेको देखि सहन्नौं तर भेडा भन्दा कमजोर हैसियतका छौं । भेडासँग मैले तुलना गर्दा कतिले मै माथि प्रश्न नउठाउलान् भन्न सकिन्नँ । भेडाको बथानमा मूली(मुख्य) भेडाले हाम्फालेको देखेर अरु साना पौडिन नजान्ने भेडा हाम्फालेझैं हामी पनि त्यही अनुसरण त गरिहेका त छैनौं एकचोटी सोच्नुस् त ?


वर्तमान परिपेक्ष्यको कुरा गरिरहँदा साविकका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकृत भएर बनेकाे नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सत्ता सञ्चालन गरिहेको छ । 


सरकार गठन भएको लामो समय बितिसक्यो तर जनताले अपेक्षा गरे वमोजिम जनमुखी काम गर्न यो सरकारले सकेको छैन । जनताकाे अमनचयनमा मुख्यगरी सडकको दुराअवस्था, डुबान समस्या, खानेपानी समस्या र भूकम्पपछिको पुनःनिर्माण बाधक बनिरहेका छन् । सरकारले तत्काल प्रतिफल दिन नसकेकाे र फितलो बजेट ल्याएको चौतर्फि विरोध भईरहेकै छ । 


सरकारकाे मुख ताक्नु र विरोधमात्र गर्नुभन्दा आफै अग्रसर बनौं


हामी विरोध गर्ने शैली र कामप्रतिको चाँसो दिन सक्दनौं भने समृद्व नेपालको परिकल्पना व्यर्थ हो । हाम्रो गाउँसमाज सडकमा खाल्डाखुल्डी भए समस्या कस्लाई ? सरकार कि हामीलाई ? हो जनतालाई सुख सुविधा दिनु सरकारको दायित्व तथा कर्तव्य हो तर सरकारले पुर्‍याउन सकेन भन्दै दिनभर त्यही रोडमा रोपाईँ गरी सरकारको विरोध गरेर हामीलाई कति फाईदा हुन्छ ? त्यही समय हामी आफैंले रोडमा गिट्टी, बालुवा हाल्न लगाएको भए के हुनेथियो । 


हरेक कुरामा सरकारकै मुख ताक्नु हाम्रो कमजोरी होईन र ? हाम्रो नजिक रहेका सडक सुधारेर बरु सरकारलाई लज्जास्पद बनाऔं न । ३ करोड नेपाली जनतामा डेढ करोड त सक्रिय हुन सकौंला नि ? थोपा–थोपा मिले सागर बन्छ । डेढ करोड जनताले हात चलाए देश दुई दिनमा बदलिन्छ, हामीले चाह्यौं भने । तर चाहेको देखिएन । 


सामाजिक सञ्जालमा दुनियाँको खोइरो खन्दै २४ घण्टा बिताउन खप्पिस हामी नेपाली विदेशी भुलाउने सञ्जाल कसरी बनाउने कल्पनासम्म गर्दैनौं । युट्युबमा भल्गर कुरा हेर्न पाकिस्तानीभन्दा पछाडि नेपाली नै छाै । समाजमा नारीले आधा शरिर ढाकेर हिँड्यौ भने कुरा काट्छौं । उसको बदनाम नै गरिदिन्छौ तर रातकी रानी त्यही घृणित नारीलाई बनाउँछौ । यो भन्दा ठूलो पाप के होला र ?

 
अहिले माहौलकै कुरा गरौं भने विश्वकपकै कुरा पनि जोडौं । सारा नेता, कार्यकता, कलाकार, युवावर्ग सबै मेरो यो टिम, उसको यो टिम भन्दै झगडा समेत गर्ने, सडकमा बाइक र्‍याली निकाल्ने जस्ता विवेकहिन काम गर्न अग्रसर छौं । तर आज दुःखको कुरा आफ्नै देशमा खेलको विकास हुनुपर्छ है भन्ने पाठ कोही, कसैले सिकेनन् । अरुकै देशको प्रगतिमा रम्ने यो कतिसम्मको बटारिएको बुद्धि होला हाम्रो । तीनै र्‍याली निकाल्ने युवा मिचिएका सिमामा हाजिर हाे‍उन न बरु । 


सकेसम्म मिठो खाना खोज्ने तर मिठो खानका लागि मेहिनत नगर्ने हाम्रो प्रवृत्तिले कहिलेसम्म पार पाउन सक्ला ? विश्वयुद्घमा ध्वस्त भएको जापानले गरेको प्रगतिबाट नेपालले कहिले पाठ सिक्ने ? सानो पुल, नहर, चौतारा निर्माण गर्दा पनि सरकारी र एनजिओ, आईएनजिओको रकमको मुख ताक्ने हाम्रो प्रवृत्तिले कसरी देशमा विकास सम्भव होला ।

 
नेपालीहरु अरुकै कुरा काट्न, उत्पादिन सामान र देशको सुखमा रम्नमा समय व्यतित गरिरहेका छौं । राज्यसंयन्त्र तथा साधनस्रोतको चरम दुरुपयोग भइरहँदा पनि आमनागरिक निरीह र मुकदर्शक छौं। राजनीतिक दल शक्ति, दलाल तथा नाफा मूलक संस्थामा परिणत भइसक्दा पनि हामी तिनै अनुहारलाई चुपचाप नेता मानिरहेका छौं ।

 

सत्ता र प्रतिपक्षमा बस्नेबीच भिन्नता छैन। व्यापारी र नेतामा भिन्नता छैन । कतिपय अवस्थामा आपराधिक झुन्ड र राजनीतिक दलबीच भिन्नता छुट्टाउन अप्ठ्यारो पर्छ ।


गाली कसलाई गर्ने? दोष कसलाई दिने? हामीलाई यो नैतिक प्रश्नको जवाफ दिन गाह्रो छ । अरुलाई फाइदा पुग्छ कि भनेर आफूले पनि कुकुरले जस्तो दुःख पाएर खुम्चेर बस्ने नेपाली समाजको मानसिकता हो । नेपाली मानसिकता भनेको विकासविरोधी पनि हो । यो मानसिकता नेपालमा जहाँ गए पनि देख्न सकिन्छ ।

 

उदाहरणका लागि काठमाडौँका भित्री सडकलाई हेर्दा हुन्छ। जहाँ ठूला घर अनि महँगा गाडी चल्छन, त्यहीं साँघुरा, हिलाम्मे अनि बिग्रेका गल्ली हुन्छन् । यो नेपाली समाजको मनोरोग नै हो । नगरपालिकाले कन्टेनर किनिदिएन भन्ने आफुले आफ्नै आँगनमा फोहोर गर्ने ? वाह ! हाम्रो बुद्धिलाई सलाम ।


नेपालमा दशकौंदेखि सुरु गरिएका ठूला विकास आयोजना र कार्यक्रम असफल हुनुमा हाम्रो विकासविरोधी मानसिकता प्रमुख छ । यही मानसिकतालाई उपयोग गर्दै विकास अनि सम्पन्नताको विरोधाभाषपूर्ण चर्को नारा दिँदै राष्ट्रिय अनि क्षेत्रीय रूपमा च्याउसरी दल उम्रेका छन् ।

 

यस्ता दल अनि विकासविरोधी मानसिकतालाई शक्तिको रूपमा प्रयोग गर्ने नेताको प्रमुख काम विकास, उद्यमशीलता अनि आर्थिक क्रियाकलापमा अवरोध पुर्‍याउनु हो । यो मानसिकता नेपालका सबै राजनीतिक दल र नेतामा व्याप्त छ, अनि हामी आमनागरिक यस मानसिकतालाई मलजल र समर्थन गर्दै बसिरहेका छौं ।


नेपाल उल्टो बाटोमा हिँडिरहेको छ । वर्तमानमा राष्ट्रिय महत्व पाइरहेका मुद्दा हाम्रो पुस्ताका लागि उज्यालो बाटोमा लानेखालका छैनन् । जातीय र क्षेत्रीय मुद्दाले समग्र समाजलाई कमजोर मात्र बनाउने हो । सिर्जनशीलता तथा उद्यमको मध्यमबाट १-२ जनालाई रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्न नसक्ने भुइँफुट्टाहरू आज विकास र अग्रगमनको चर्को नारा लगाउँदै हिँड्छन् ।

 

जसको जीविकोपार्जन दाताको निगाहमा आश्रित छ, उनै सबैभन्दा ठूलो स्वरमा स्वाभिमान अनि आत्मनिर्भरताको कुरा गर्दै हिँड्छन् । बोलेर, लेखेर अनि आन्दोलन गरेर नेपाली समाजको वर्गीय रूपान्तरणको सपना देख्नेले आज देशलाई अँध्यारो खाडलतिर धकेल्दै छन् ।


युवावर्गका लागि आर्थिक अवसर अत्यन्त सीमित छन् । व्यापार–व्यवसायको वातावरण खस्कँदो छ । सामाजिक असुरक्षा र डर सबैमा व्याप्त छ। कानुनी रूपमा हामी सबै नागरिक अझैसम्म पनि समान छैनौं । शक्ति र पहँुच हुनेको मुठीमा कानुन छ । राज्य र आमनागरिकबीचको दुरी दिन–प्रतिदिन बढिरहेको छ ।

 

आमनेपाली निराशा र बेथितिको चक्रब्युहमा नराम्रोसँग फसिसकेका छौं। लाखौं युवा यो चक्रव्युहबाट मुक्तिको सपना देख्दै हरेक वर्ष विद्यार्थी, कामदार वा अवैधानिक रूपमा बिदेसिन बाध्य छन् । हरेक बाबुआमा आफ्ना सन्तति सकेसम्म छिटो बिदेसिउन् भन्ने कामना गर्छन्।

 

आजभोलि नेपाल बन्छ, नेपालमा बसेर केही गर्न सकिन्छ भन्ने मानिस भेट्न निकै गाह्रो पर्छ। हरेक दिन हामी नेपालीले हारिरहेका छौं । सीमित नेता, व्यापारी तथा माफिया मुनाफाका लागि झन्डै ३ करोड नेपालीले बन्दीजस्तो जीवन बिताइरहेका छौं ।   

 

नेपाली समाज आर्दश र नैतिकताको सबैभन्दा ठूलो संकटमा फसेको छ । भर्खरै नक्कली डाक्टर प्रकरणले युवा पुस्ता लाजले शिर झुकाउन बाध्य छौं । मेडिकल शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा त यस्तो नक्कली काम हुन्छ भने नैतिकता र आदर्शको अपेक्षा अब कुन क्षेत्रबाट गर्ने ? विदेश गएर भए पनि दुःखसुख, आत्मसम्मानपूर्ण जीवन बाँच्नसक्ने अवसर पाएका युवाले नेपालमा के हेरेर बस्ने ?

 

जुन देशका नागरिक र समाजले अपराधीकरणलाई सामान्य हिसाबमा स्वीकार गर्छन्, त्यस्तो देशमा कस्तो परिवर्तनको आशा गर्ने ? गुनासो कसलाई गर्ने अनि कसको नेतृत्वमा नेपाली समाजको रूपान्तरणको अपेक्षा गर्ने? नैतिकता अनि आदर्श नेतृत्वबिना कुनै समाज अगाडि बढ्न सक्दैन ।

 

त्यसैले नैतिकता र आदर्शको संकटमा फस्दै गइरहेको नेपालमा हामीले समाजको नयाँ आदर्श स्थापित गर्न सकेनौं भने आगामी दिन अझै निराशाजनक र दुःखदायी बन्नेछन् । (टिप्पणी)