व्यापार अर्थ बैंकिङ मुख्य समाचार समाज प्रदेश ३

विदेशी बीमाङ्कीको भरमा नेपाली बीमा उद्योग

विदेशी बीमाङ्कीको भरमा नेपाली बीमा उद्योग

काठमाडौं । नेपालमा बीमा व्यवसाय शुरू भएको ७० वर्ष बितिसक्दा पनि अझै बीमाङ्की जनशक्तिको उत्पादन हुन सकेको छैन । बीमाबजारमा बीमाङ्कीको भूमिका अनिवार्य र अति महत्त्वपूर्ण हुन्छ । व्यावसायिक सम्भावना हुदाँहुँदै पनि बीमाङ्की जनशक्ति उत्पादन हुन नसक्नु दुःखद पक्ष भएको बीमा विज्ञ भोजराज शर्माले बताए ।

 

बीमाङ्कीले प्रिमियम निर्धारण, वित्तीय विवरणको परीक्षण र जोखीम मूल्याङ्कन गरेर बीमालेख विकास गर्ने काम गर्छ । नेपालीमा सञ्चालित जीवन बीमा कम्पनीले भारतलगायत विदेशी बीमाङ्कीमार्फत यस्तो सेवा लिर्दै आएका छन् । त्यसबाट वर्षेनि लाखौं रकम विदेशिने गरेको छ । बीमा समितिले यस्ता विषयलाई दृष्टिगत गर्दै बीमाङ्की जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने बीमाविज्ञ रवीन्द्र घिमिरेको भनाइ छ ।

 

हालसम्म समितिले बीमाङ्की जनशक्ति उत्पादनका लागि प्रभावकारी कार्यक्रम ल्याएको पाइँदैन । यद्यपि, समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले अबका दिनमा बीमाङ्की जनशक्ति उत्पादनमा समितिबाट आवश्यक सहयोग हुने बताउँछन् । बीमाङ्की जनशक्ति उत्पादन गर्न समिति सकारात्मक रहेको बताउँदै उनले यस विषयमा छलफल भइरहेको बताए ।

 

समितिले केही वर्षअगाडि बीमाङ्की विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने विषय उठाएको थियो । तर, अध्ययनपश्चात् विद्यार्थीले नेपालमा नै आएर सेवासुविधा प्रदान गर्ने ग्यारेण्टी नभएपछि उक्त प्रस्तावलाई निर्णायक तहमा पुर्‍याइएन ।

 

यद्यपि, बीमाविज्ञ रवीन्द्र घिमिरेले बीमाङ्की अध्ययन गर्ने विद्यार्थीलाई समितिले छात्रावृत्तिको व्यवस्था गर्नुपर्ने बताए । साथै, बीमाङ्की अध्यापन गराउने कलेजलाई पनि समितिले आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

 

उनले भने, ‘समितिले अध्ययनपश्चात् नेपालमा नै निश्चित समय काम गर्नुपर्ने मापदण्ड तोकेर विद्यार्थीलाई छात्रावृत्ति दिनुपर्छ । विदेशीने डरमा बीमाङ्की उत्पादमा समितिले ध्यान नदिए बीमाबजारले दक्ष जनशक्ति पाउन सक्दैन ।

 

अन्तरराष्ट्रिय बजारमा बीमाङ्की सबैभन्दा बढी पारिश्रमिक प्राप्त हुने पेशाका रूपमा स्थापित छ । यसकारण विदेश पढ्न गएका विद्यार्थी स्वदेश फर्कनै नखोज्ने समितिको भनाइ छ । समितिका अनुसार हाल नेपालमा बीमाङ्की जनशक्तिको अवस्था शून्य रहेको छ । यद्यपि, केही नेपाली विद्यार्थीले बीमाङ्की विज्ञान उत्तीर्ण गरेको अनौपचारिक जानकारी आएको समितिले बताएको छ ।

 

बीमा ऐन, २०४९ अनुसार जीवन बीमा कम्पनीहरूले अनिवार्य रूपमा बीमाङ्की जनशक्तिमार्फत बीमाङ्की मूल्याङ्कन गराउनुपर्ने हुन्छ । ऐनको दफा २६ अनुसार जीवन बीमा कम्पनीले प्रत्येक ३ वर्षमा एकपटक आफ्नो आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन बीमाङ्कीद्वारा गराउनु पर्नेछ ।

 

यस्तै, प्रस्तावित नयाँ बीमा ऐनमा निर्जीवन बीमा कम्पनीले पनि अनिवार्य रूपमा बीमाङ्की मूल्याङ्कन गराउनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले नेपालमा बीमाङ्कीको थप अवसर र व्यावसायिक सम्भावनाको वृद्धि हुने स्पष्ट छ ।

 

विज्ञ भोजराज शर्माले नेपालमा बीमाङ्कीको आवश्यकता उच्च भएको बताए । बीमाक्षेत्रलाई समृद्धिको आधार बनाउन बीमाङ्कीको महत्वपूर्ण भूमिका हुने भएकाले यसको उत्पादनमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘बीमा बजारमा अत्याधुनिक प्रविधिको विकास भइसकेको छ, अब बीमाङ्की उत्पादन गर्नु हो ।’ बीमाङ्कीका लागि नेपालमा आवश्यक मात्रामा बजारको विकास भइसकेको उनको भनाइ छ ।

बीमा उद्योग
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।