समाचार

प्रदेश ४

प्रदेश ४ को नाम राखियाे 'गण्डकी' प्रदेशः आदिवासी समुदायले गरे अान्दाेलनकाे घाेषणा

शुक्रबार, २२ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

प्रदेश ४ को नाम राखियाे 'गण्डकी' प्रदेशः आदिवासी समुदायले गरे अान्दाेलनकाे घाेषणा

कास्की । प्रदेश ४ को नाम गण्डकी प्रदेश प्रस्ताव भएको छ । प्रदेश ४ को बिहिबारको संसद बैठकमा नेपाल कम्युनिस्ट पार्टीको सांसद मायानाथ अधिकारीले प्रदेशको नामको बारेमा छलफल गर्न प्रस्ताव पेश गरेका थिए । 


यस प्रदेशमा रहेका ५९ जना सांसदमध्ये ५४ जना गण्डकी नामको पक्षमा रहे । संसदमा प्रतिनिधित्व गर्ने नयाँशक्ति बाहेक सबै दलका सांसदहरुले गण्डकी नामको पक्षमा मतदान गरे भने नयाँ शक्तिका हरिशरण  आचार्य र धनमाया लामाले विपक्षमा मतदान गरेका छन्

नयाँ शक्तिले यस प्रदेशको नाम तमुवान–मगरात वा गण्डकी–तमुवान राख्नुपर्ने माग गर्दै आएको छ । यस प्रदेशको राजधानी पोखरा रहने यसअघि नै निर्णय भैसकेको छ ।

 

प्रदेशको राजधानी नामांकन बारेको समितिले बुझाएको प्रतिवेदनमा यस प्रदेशको नाम गण्डकी, तमुवान–मगराँत, गोरखा र धौलागिरि राख्न सकिने प्रतिवेदन पेश गरेको थियो । यस प्रतिवेदन असार १० गते संसदमा टेवुल भएको थियो । 

 

यसैबीच प्रदेश नम्बर ४ को नाम सर्वसम्मत गण्डकी राख्न सफल भएको उपलक्ष्यमा विजयोत्सव मनाउन र दीप प्रज्ज्वलन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आहृवान गरेको छ ।

 

नेकपा प्रदेश नम्बर ४ का स्थानीय पार्टी कमिटीहरूको एकता कार्यदल प्रमुख किरण गुरुङले केही समयअघि विज्ञप्ति निकालेर आफ्ना पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन तथा जनसमुदायलाई यस्तो आहृवान गरे । 

 

तर पोखरामा रहेका गुरुङ, मगर लगायतका आदिवासी समुदायले यसको विरोध गरेका छन् । उनीहरुले यस प्रदेशको नाम तमुवान–मगरात राख्ने माग गरेका छन् । त्यसको लागि तमुवान–मगरात संघर्ष समिति नै घोषणा गरी आन्दोलन शुरु गरेका छन् । 


प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले गण्डकी प्रदेशको लागि पहल गरेको आरोपमा उनलाई सामाजिक बहिष्कार गर्ने घोषणा समेत गरेका छन् ।