अन्तरवार्ता

भिडियो

कभर स्टोरी

डा. केवी रोकाया भन्छन्, ‘हिन्दु धर्मसहितको राजसंस्थाको पुनर्स्थापना अपरिहार्य’

मङ्गलबार, १९ असार २०७५ गते प्रकाशित
- नेपाल आज

डा. केवी रोकाया भन्छन्, ‘हिन्दु धर्मसहितको राजसंस्थाको   पुनर्स्थापना अपरिहार्य’

काठमाडौं । इसाई धर्मका प्रमुख अभियन्ता तथा मानवअधिकारकर्मी डा. के.वी. रोकायाले राष्ट्र जोगाउन र नेपाललाई छिन्नभिन्न हुनबाट बचाउन हिन्दू धर्मसहितको राजसंस्थाको पुन:र्स्थापना अपरिहार्य भएको बताएका छन् । 


नेपाल आजसँग सामयिक विषयमा वार्तालाप गर्दै डा. रोकायाले अहिलेको धर्मनिरपेक्षता भन्ने नै गलत भएकाले नेपाल र नेपालीको अस्तित्व जोगाउन एवं सम्पूर्ण नेपालीलाई एकसूत्रमा बाँधेर राख्न हिन्दू धर्मसहितको राजसंस्थाको आवश्यकता परेको हो भन्ने विश्लेषण गरे ।


उनले भने, ‘एकातिर नेपाल राष्ट्रको पहिचान हिन्दू धर्म नै हो भने राजसंस्था अर्को पहिचान हो ।’ 




‘समाज र राष्ट्रका लागि हिन्दू धर्मसहितको राजसंस्था चाहिन्छ । यो सबैले बुझेको कुरा हो । त्यसकारण म भन्छु, राजा ल्याऔँ, देश बचाऔँ ।’


इसाई धर्मका खरो, दरो एक कठोर अभियन्ताले हिन्दू धर्मसहितको राजसंस्था चाहिन्छ भनेर प्रचार वा विचार प्रवाह गर्नु आफैँमा विरोधाभास भएन र भन्ने प्रश्नमा डा. रोकाया भन्छन्, ‘नेपालका बहुसंख्यक क्रिश्चियनले एउटा कुरा कहिल्यै बुझ्न सकेनन् त्यो हो, उहाँहरूको राष्ट्रप्रतिको बुझाइ ।

 

किनभने उहाँहरू खाली एउटा स्कुल चलाउने, अनाथालय चलाउने, चर्च चलाउने र अर्को भन्ने हो भने एउटा एनजिओ चलाएर बाइबल धर्मको प्रचारप्रचार गर्ने योभन्दा माथि उहाँहरूले सोचेर काम गर्न सकेन र उहाँहरूले सबभन्दा पहिले राष्ट्र हो भनेर सोच्नै सकेन भन्ने मेरो बुझाइ हो । त्यसकारण मेरो इसाई दाजुभाइ तथा दिदीबहिनीहरूले नै सबभन्दा बढी विरोध गर्ने गरेका छन् । म क्रिश्चियन कम्युनिटीभित्रै एक्लिएको (आइसुलेट) छु ।’

 

उनले नेपालका क्रिश्चियन कम्युनिटीमा केही विकृति र विसंगति भएको र त्यसविरुद्ध सुधारका लागि संघर्षरत रहेको बताउँदै डा. रोकायाले भने, ‘द्वन्द्व कालताका केही क्रिश्चियनहरूले नेपालको छवि नै बिग्रने गरी झूटो र गलत रिपोर्ट पठाएर सहयोग ल्याउने गरेका थिए । यसको प्रमाण स्वरूप म युरोप र अमेरिकाको भ्रमणमा जाँदा प्रशस्त उदाहरणहरू भेट्टाएको थिएँ ।’   

 

डा. रोकायाले धर्मले नै मानिसहरूलाई दया, प्रेम र सहअस्तित्व एवं सहिष्णुता सिकाउने हुनाले हिन्दू राष्ट्र राजसंस्थाभित्रै सबै धर्म हुर्कन सक्ने बताए ।


उनले नेपालका क्याथोलिक एवं पोटेस्टेन्ट इसाई धर्मावलम्बीहरू नेपाल राष्ट्रप्रति जिम्मेवार भई दिन विशेष आग्रह गरे । 
डा. रोकायाले आफू कसरी क्रिश्चिन बन्न पुगेको भन्ने रोचक प्रसंग सुनाउँदै भने, ‘म पहिले ईश्वरमा विश्वास गर्दैन थिएँ । एक दिन मेरो जीवनमा अचानक परिवर्तन आयो ।

 

त्यो भनेको ईश्वरप्रति पुनः आकर्षित हुनु अर्थात् कोलकातामा एक कार्यक्रममा भाग लिने सिलसिलामा ममा अपत्यारिलो परिवर्तन आयो र मैले ईश्वरी सत्तालाई स्वीकारेर क्राइस्टलाई ईश्वर मानेर क्रिश्चियन धर्मलाई आत्मसात् गरेको हुँ ।’

 


डा. रोकायाले अन्य धर्म दर्शनमा भन्दा क्रिश्चियन धर्ममा मुक्तिको मार्ग सहज भएको तर्क गर्दै भने, ‘अन्य धर्ममा भन्दा क्रिश्चियन धर्ममा पैसाका हिसाबले पनि र प्रार्थनालगायत सहज र सरल विधि हुनाले यसमा मुक्ति मार्ग सुगम भएको हो । किनभने प्रभु क्राइस्ट भन्नुहुन्छ, तिमी सबै त्यागेर ममा आऊ, म तिमीलाई पापबाट मुक्त गराई स्वर्ग दिलाउने छु ।’