स्तम्भहरू

इतिहास र अनुभुति

मन्तव्यको अन्त्यमा ‘धन्यवाद’ भन्दा पुलिसले थानामा बोलायो (भिडियोसहित)

शनिबार, १२ साउन २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

मन्तव्यको अन्त्यमा ‘धन्यवाद’ भन्दा पुलिसले थानामा बोलायो (भिडियोसहित)

काठमाडाै‌‌‍ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग यसपटक उनको नियमित भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’मा उनकै जीवन र संघर्षबारे कुराकानी गरेका छौं । उनको बाल्यकालदेखि कलेज जीवन, जागिर र देशको राजनीतिलाई जोड्ने प्रयत्न गरेका छौं । प्रस्तुत छ डा. केसीबाट व्यक्त भएका धारणाको सारः 

 

‘ताप्लेजुङको गाउँमा म २०१३ सालमा जन्मेको हुँ । मेरो परिवार मध्यम वर्गीय हो । त्यो बेला प्राथमिक तहको मात्रै विद्यालय थियो । हिउँदमा कक्षा जान्थ्यौं । बर्खामा गाईवस्तु हेर्न जान्थ्यौं । २०२५ सालमा मैले कक्षा पाँच पास गरेँ । त्यसपछि म हाइस्कुलका लागि फुकलिङ गएँ । त्यहीबाट ३० सालमा एसएलसी गरेँ । 

 

गाउँघरको जीवन अरुको जस्तो हुन्छ, मेरो पनि त्यस्तै भयो । घाँसदाउरा, गाइवस्तु, खेतीपाती पनि गरेँ । त्यस्तै गरेर बाल्यकाल बित्यो । 


तीन दिन पैदल हिँडेर धरान आइपुगे । त्यहाँको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएँ । ३० सालमा प्रमाणपत्र तहमा भर्ना भएँ । मूल विषय इतिहास बनाएर ३५ सालमा स्नातक सकेँ । त्यसपछि मेरो आर्थिक अवस्थाले धान्छ कि धान्दैन भन्ने लागिरहेको थियो । मणि राई भन्ने साथीले काठमाडौं पढ्न जाऔं भने । म स्नातकमा प्रथम भएको थिएँ । मैले पढ्न जान्न भनेँ । तर उसले कलेजकै प्रथम विद्यार्थीले अरु नपढ्ने भन्ने हुन्छ ? भन्यो । 


अनेक बहानाबाजी गरेँ । उसले फेरि भन्यो, काठमाडौं गएको छौं ? मैले भनेँ, ‘छैन ।’

 

अनि उसले फेरि मलाई भन्यो कि बिए पास गरेको मान्छे राजधानी नै गएको छैन भनेर गाउँमा गएर कसरी भन्छौं ? एक पटक हेर्नका लागि मात्रै भए पनि काठमाडौं जाम भन्यो । म पनि काठमाडौं आएँ । 

 

लहलहैमा ३५ सालमा स्नातकोत्तरमा भर्ना भएँ । तर पढ्ने चाहना थिएन । त्यो बेला स्नातकोत्तरका विद्यार्थीले एक वर्ष ग्रामिण क्षेत्रको अध्ययन गर्नु पथ्र्यो । त्यसका लागि गाउँ गाउँ जानु पथ्र्यो । म पनि त्यसैका लागि गाउँ जान थालेँ । ३६ सालमा विद्यार्थी आन्दोलनका कारण सरकारले जनमत संग्रहको घोषणा गर्यो । विद्यार्थीले राजनीति गर्लान् भनेर पञ्चायतले हामीलाई फर्कायो । अर्थात ६ महिनामै म फर्किएँ । जबकी गाउँ जाने कोर्स १ वर्षको हुने गर्दथ्यो । 

 

अनि काठमाडौं आए । गाउँ जाने कार्यक्रमबाट अलिकति पैसा गोजीमा परेको थियो । त्यही पैसाले स्नातकोत्तर सके । त्यो बेला कीर्तिपुरमा मात्रै स्नातकोत्तर हुने गर्दथ्यो । 

 

४८ सालमा थालेको पिएचडी ५२ सालमा सकेको हुँ । मैले इतिहास पढेँ । तर जानेर यो विषय पढेको होइन । स्कुलमा भूगोल पढेको थिएँ ।  धरानमा आइएमा भर्ना हुने बेलामा एक साथीले भन्यो कि अर्थशास्त्र पढ्ने भए गणित पनि पढ्नु पर्छ । मलाई गणित आउँदैन थियो । म डराएँ । उसले पोलिटिकल साइन्स पढ्ने भए ब्याक दिन पाइँदैन भन्यो । पास गर्ने हो भने इतिहास पढ्नु पर्छ भन्यो । मैले पनि लौ त भनेर इतिहास रोजेँ । 

 

२०३७ सालमा स्नातकोत्तरको शोधपत्र लेख्नु पथ्र्यो । त्यो थेसिस १०० अंकको हुने गथ्र्योे । त्यो थेसिस नसकि उपप्रशिक्षकको रुपमा ३७ सालमा नियुक्ति पाएँ । 

 

स्थायी हुनका लागि प्रतिस्पर्धा हुनुपथ्र्यो । अस्थायीका लागि गाह्रो हुँदैन थियो । त्रिविमा सेवा आयोगले परीक्षा लिन्छ । 

 

२०३७ साल तिर नै म भोजपुर गएँ जागिर खान । ६–७ महिनामै मलाई निकालिदियो । म बाम पार्टीमा थिएँ । 

 

त्यो बेला राजाको शासन थियो । सिडियोदेखि, प्रहरीदेखि डराउनु पथ्र्यो । कडा आतंकको शासन थियो । त्यो व्यवस्थाका हिमायती मण्डलेहरु थिए । उनीहरु अहिलेका वाइसिएल जस्ता थिए । उनीहरुबाट पनि बचेर हिँड्नु पथ्र्यो ।

...

२०४४ सालमा क्याम्पस प्रमुख भएर म डोटी गएँ । क्याम्पस प्रमुखको पहिलो हाजिरीपछि एक कार्यक्रममा म अतिथी भएर गएँ । कार्यक्रममा मेरो बोल्ने पालो आयो । बोलिसकेपछि मैले धन्यवाद भनेँ । 

धन्यवाद भनेका कारण मलाई त्यहाँको इन्स्पेक्टरले बोलायो । थानामा गएँ । त्यहाँ इन्स्पेक्टरले धन्यवाद किन भनेको ? भनेर मलाई सोधे  । 

 

मैले भनेँ कि, ‘बोलिसकेपछि थ्यांक्यु भन्ने अन्तर्राष्ट्रिय चलन हो । त्यसैलाई नेपालीमा धन्यवाद भनेँ । यसो नभनेर के भन्नु पर्ने हो ?’


उसले भन्यो, ‘कांग्रेसले जय नेपाल, कम्युनिष्टले धन्यवाद भन्छन् । अब तपाई हामी भनेका व्यवस्थाका मान्छे हौं । हामीले जय देश जय नरेश भन्नु पर्छ ।’ 

म छक्क परेँ । त्यस्तो त मैले सुनेकै थिएन । मेरो बारेमा अनेक कुरा भएछन् । अनेक रिपोर्टीङ भए । अनि मैले १ वर्ष भन्दा कम समयमा फर्किनु पर्यो । 
...
२०३५ सालमा कीर्तिपुरमा होस्टलमा बसेर पढ्न थालेँ । भीम रावल पनि आएका रहेछन् । हामी दुईले क्यारिम खेल्यौं । तर खासै परिचय थिएन । मेरो एकजना ताप्लेजुङका भरत श्रेष्ठ राजनीतिक संगठनसँग आबद्ध हुनुहुँदो रहेछ । एक दिन पर्चा ल्याएर दिनु भयो । कीर्तिपुरमा छर्नु पर्ने जिम्मा दिनु भयो ।

एक साथी लिएर पर्चा बाँढ्न गयौं । त्यसरी राजनीतिमा म नजिक जस्तो भएँ । 

 

पछि जनमत संग्रह भएपछि राजनीतिक दलहरु प्रतिबन्ध जस्ता भए । 

...

४६ सालतिर आइपुग्दा विश्वभर एक अर्कै प्रकारको तरंग पैदा भयो । शोभियत संघ विघटन भयो । बर्लिन पर्खाल ढल्यो । वामकांग एकताले गर्दा नै ४६ सालको आन्दोलन भयो । भारतमा पनि वाम मोर्चा र कांग मोर्चाबीच एकता भएको थियो । त्यो बेला दलहरुलाई भारतीयहरुको पनि समर्थन थियो । नाकाबन्दी लगायो । त्यो बला नेपालका राजनीतिक दलले नाकाबन्दी स्वागत गरे । 

...

भारतले जहिले पनि नेपालमा अस्थिरता उत्पन्न गर्नेहरुलाई समर्थन गर्छ । त्यो बेला  वामपन्थी र कांग्रेसलाई गर्‍यो । पछि माओावादीलाई सेल्टर दियो । भारत जहिले पनि आन्दोलनमा एउटा पक्षलाई साथ दियो । तर परिवर्तनको पहिलो कारक आन्तरिक नै हुन्छ ।’