समाचार

प्रदेश ३

काठमाडौंका ३६ वटा जिल्ला कार्यालय खारेजीमा

शुक्रबार, ११ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

काठमाडौंका ३६ वटा जिल्ला कार्यालय खारेजीमा

काठमाडौं । काठमाडौंका ३६ वटा जिल्ला कार्यालय खारेजीमा परेका छन् । काठमाडौ‌ं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संविधानअनुसार ती कार्यालयबाट हुने काम स्थानीय तहले गर्ने भएपछि खारेजीमा परेका हुन् ।

 

उनका अनुसार जिल्ला प्रशासन, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रण कार्यालय, सरकारी वकिलको कार्यालय, नापी तथा मालपोत, जिल्ला निर्वाचनबाहेकका कार्यालय खारेज भएका छन् ।

 

मुलुक संघीयतामा गइसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १ गतेदेखि संविधान अनुसार ती कार्यालयबाट भइरहेको काम स्थानीय तहले गर्ने भएकोले खारेज गरिएको हो ।

 

शिक्षा, जनस्वास्थ्य, कृषि, वन, भूमि लगायतका ३६ वटा कार्यालय खारेजमा परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले अहिले खारेजमा परेका कार्यालयको भौतिक संरचना र कर्मचारीको व्यवस्थापन असोज मसान्तसम्म गरिने जान्कारी दिएका छन् ।

 

खारेज भएका कार्यालयका भौतिक संरचना र कर्मचारी स्थानीय तहमा जाने पनि उनले बताए ।