मुख्य समाचार

समाज

हनुमन्तेको ताण्डव : कहाँ चुक्यो सरकार ? कसले गर्यो‍ बदमाशी ?

बिहिबार, २८ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

हनुमन्तेको ताण्डव : कहाँ चुक्यो सरकार ? कसले गर्यो‍ बदमाशी ?

भक्तपुर । पद्विरुद्धको पूर्वतयारीमा चुक्दा बिहीबार भक्तपुरमा हनुमन्ते खोलाले ताण्डव मच्चाएको देखिएको छ । बुधबार रातिदेखिको अविरल वर्षापछि भक्तपुरमा आएको बाढी पहिरोमा परी तीनजनाको ज्यान गएको छ । त्यस्तै पचासभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

 

भक्तपुरमा प्राकृतिक विपद्ले कहर मच्चाएपछि बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमै पनि विपद्विरुद्धको पूर्वतयारीमा चुक्दा बिहीबारको क्षति व्यहोर्नुपरेको कुरा उठेको थियो ।

 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आकस्मिक रुपमा बोलाएको बैठकमा सहभागी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, सुरक्षा निकाय, स्थानीय तह तथा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुले हनुमन्ते खोलमा बर्सेनि बाढी आउँदा पनि विपद्विरुद्ध पूर्वतयारी गर्नुपर्नेमा केही हुन नसक्दा सधैं क्षति भोग्नुपरेकोमा आक्रोश पोखेका थिए ।

 

राजनीतिक दलका जिल्ला तहका नेताहरुले हनुमन्ते खोलाले प्रत्येक वर्ष खोला किनारका बस्ती डुबाउँदै आउँदा पनि स्थानीय तहले विपद् व्यवस्थापनको लागि आवश्यक खोज तथा उद्धारका सामग्रीको जोहो नगरेको गुनासो गरेका थिए ।

 

त्यस्तै खोला अतिक्रमण बढेर साँघुरिँदै आएको, खोलाको सतह वर्सेनि बढ्दै आएको र खोला किनारमा अनियन्त्रित बस्ती विस्तार हुँदा पनि स्थानीय तहले रोक्न नसक्दा हनुमन्ते खोलाको बाढीले सधैं प्रताडित हुनुपरेको उनीहरुको भनाइ थियो । स्थानीय तहले विपद्विरुद्ध पूर्वतयारी नगर्दा बिहीबार बाढीले डुबान परेका सर्वसाधारणलाई उद्धार गर्न नै समस्या भएको उनीहरुको गुनासो थियो ।

 

‘गएको तीनचार वर्षदेखि डुबानमा परेकालाई उद्धार गर्न डुंगासँगै अन्य उद्धारका उपकरणको व्यवस्था गर्नुपर्ने तथा खोला मिचेर बनाइएका संरचना भत्काएर खोला निर्वाध बग्ने व्यवस्था गर्न स्थानीय तहको ध्यानाकर्षण गरिँदा पनि सुनुवाइ भएन’, नेकपा माओवादी केन्द्र भक्तपुरका संयोजक डीपी ढकालले भने ।

 

भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवालले वर्सेनि डुबान पर्ने क्षेत्रको पहिचान भएर पनि त्यसलाई डुबानमुक्त बनाउने काम नहुनु दुर्भाग्य भएको बताए । डुबानमा पर्ने तथा पहिरो जाने ठाउँमा घर बनाउन नक्सापास गर्ने जस्ता कार्यमा स्थानीय तह चुकेको उनको भनाइ थियो ।

 

त्यस्तै भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले अहिले भएको क्षतिबाट पाठ सिकेर दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्ने सुझाव दिए ।उनले विपद् प्रभावित नगरपालिकाहरुबीच समन्वय र सहकार्य गरी प्रभावितलाई राहतलगायतको व्यवस्था गर्नुपर्ने बताए ।