समाचार

अपराध सुरक्षा

प्रदेश ७

युवतीको बलात्कारपछि हत्या गरेकाे आशंकामा दुई जना पक्राउ

आइतबार, १७ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

युवतीको बलात्कारपछि हत्या गरेकाे आशंकामा दुई जना पक्राउ

धनगढी । कैलालीको गौरीगगा नगरपालिकामा मृत भेटिएकी एक युवतीको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

 

तीन दिनदेखि हराइरहेकी २१ वर्षीया माया बिक शुक्रवार वडा नम्बर ११ कै चपथली सामुदायिक वनको जंगलमा दुवै हात पछाडि बाधेको अवस्थामा मृत भेटिएकी थिइन्।

 

दुई हात पछाडि बाधिएको र अर्धनग्न अवस्थामा युवतीको शव फेला पारेपछि प्रहरीले युवतीको बलत्कारपछि हत्या भएको आशंकामा अनुसन्धान थालेको जनाएको छ । ‘मृत भेटिएकी युवतीको बलत्कारपछि हत्या भएको हुन सक्ने आशका छ।’

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘उक्त घटनाको अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ८ सदस्यीय छानविन समिति गठन गरेका छौ। त्यसपछि सत्यतथ्य थाहा हुन्छ।’

 

घिमिरेले भने, ‘बलात्कारमा संलग्न भएको आशंकामा सोधपुछका लागि गौरीगंगाका उमेश चौधरी र गणेश वडवाललाई नियन्त्रणमा लिएका छौ। अन्यलाई पनि सोधपुछ गर्ने क्रम जारी छ।’

 

घटनाको अनुसन्धानका लागि गठन गरिएको समितिका सयोजक प्रहरी नायव उपरिक्षक हरि वलीले अनुसन्धान कार्यलाई तीव्र बनाइने बताए। उनले भने, ‘युवती मृत भेटिएपछि नै अनुसन्धान गरिरहेका छौ। अब घटनास्थलमै गएर केही दिनभित्रै सत्यतथ्य सार्वजिनक गर्छौ।’

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक घिमिरे आफै आइतवार घटनास्थलमा गएका थिए । सो क्रममा युवतीका आफन्तले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।