समाचार

अर्थ

कर्पोरेट

दुई दर्जन बढी विदेशी पाइलट लिँदै निगम

बुधबार, २७ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

दुई दर्जन बढी विदेशी पाइलट लिँदै निगम

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न विदेशी पाइलट करारमा नियुक्त गर्ने घोषणा गरेको छ । सकेसम्म स्वदेशी पाइलट लिने नीति भए पनि केही वर्षसम्म विदेशी पाइलट लिएर उडान सञ्चालन गर्ने निगमको योजना छ।

 

हाल निगममा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ गरी ८८ जना पाइलट कार्यरत छन् । ती पाइलटले २ सय ७४ सिट क्षमतायुक्त एकथान ‘ए३३०–२००’, १ सय ९० सिटे ‘बि७५७–२००’, १ सय ५८ सिटे दुईथान ‘ए३२–२००’, ५८ सिटे दुईथान ‘मोडर्न आर्क–६०’ (एमए–६०), १९ सिटे दुईथान ‘डिएचसी६ ट्विनअटर’ र १७ सिट क्षमतायुक्त चारथान ‘वाई१२–ई’ सिरिजका गरी १२ थान जहाज छन् । आगामी तीन साताभित्र २ सय ७४ सिटे दोस्रो ए३३०–२०० आउँदै छ ।

 

‘हालका लागि ती १३ थान जहाजलाई अधिकतम उडानमा प्रयोग गर्न स्वदेशी पाइलटबाट मात्र सम्भव छैन, त्यही भएर केही वर्षसम्म विदेशी पाइलट करारमा भर्ना गर्ने योजना छ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसमा लाग्ने खर्चबारे हामीले हिसाब निकालेका छौं।’

 

उनका अनुसार चिनियाँ जहाज वाई१२–ई र क्यानेडियन जहाज ट्विनअटर उडाउन विदेशी क्याप्टेन करारमा नियुक्त गर्दा मासिक अन्दाजी करसहित १२ लाख लाख रुपैयाँ लाग्ने छ भने ठूलो (वाइड बडी) आकारको जहाज ए३३०–२०० मा क्याप्टेन लिँदा मासिक १८ लाख र यसैको कोपाइलट लिँदा महिनाको १२ लाख रुपैयाँ लाग्ने छ।

 

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै पाइलट अभाव भइरहेका बेला जहाज थप्दै सेवा विस्तार गर्ने हो भने केही वर्षका लागि विदेशी पाइलटको भरपर्नुको विकल्प छैन,’ कंसाकारले भने, ‘त्यसकारण यही नीतिअनुसार सकेसम्म नेपाली पाइलटलाई स्थायी तथा करारमा नियुक्त गर्दै जाने र अपुग पाइलट भने विदेशीलाई करारमा नियुक्त गरेर पूर्ति गरिने छ।’

 

निगमसँग हाल १२ जहाज उडाउन ८८ पाइलट भए पनि ती पर्याप्त नरहेको कंसाकारको भनाइ छ । तीन सातापछि आउने अर्को वाइड बडी जहाज थपिएपछि १३ जहाज उडाउन १ सय १६ जना पाइलट चाहिने उनले बताए । अपुग २८ पाइलट सकेसम्म स्वदेशी र नभएमात्र विदेशी करारमा लिने योजना उनले सुनाए। अाजकाे नागरक दैनिकमा याे समाचार छापिएकाे छ ।