समाचार

खेल

केही घन्टापछि क्रोएसिया र इंग्ल्यान्ड भिड्दै

बुधबार, २७ असार २०७५ गते प्रकाशित
- नेपाल आज

केही घन्टापछि क्रोएसिया र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । रुसमा जारी विश्वकप फुटबल–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेल अबको केही घन्टापछि क्रोएसिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । 

 

दुवै देशका टोली फाइनलमा प्रवेश गर्न आज राती नेपाली समयानुसार ११ः४५ बजे लुझनिकी रंगशालाको मैदानमा आफ्नो प्रतिभा देखाउन उत्रने छन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इंग्ल्यान्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो । 

 

क्वार्टरफाइनलमा क्रोएसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको थियो भने इंग्ल्यान्डले स्विडेनलाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । 

 

सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसियाले त्यतिबेला नै सेमिफाइनलमा पुग्न सफल भएको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ । 

 

सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इंग्ल्यान्ड सन् १९६६ को विश्वकप विजेता हो । इंग्ल्यान्डले तेस्रो पटक सेमिफाइनल खेल्दैछ । 

 

विश्वकप फुटबलमा क्रोएसिया र इंग्ल्यान्ड पहिलो पटक भिड्न लागेका हुन् । यसअघि सन् २००४ मा भएको युरो कपमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलको अन्तरले पराजित गरेको थियो । यी दुई टोलीले अहिलेसम्म सातवटा खेल खेलेका छन् । इंग्ल्यान्ड चारमा तथा क्रोएसियाले दुई खेलमा विजयी भएको छ । फुटबल पण्डितहरूका अनुसार यसपटक इंग्ल्यान्डले आफ्नो खेलको स्तर सुधारेका कारण सेमिफाइनलसम्म पुगेको हो भने क्रोएसिया पहिलो पटक आश्चर्यजनक रूपमा अग्रपंक्तिमा देखिएको छ ।  

 

मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० गोलको अन्तरले पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको छ ।