देश

राजनीति

नेवि संघभित्र झनै चर्कियो विवाद

बुधबार, २७ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

नेवि संघभित्र झनै चर्कियो विवाद

काठमाडौं । माउ पार्टी नेपाली कांग्रेस आन्तरिक कलहका कारण सत्तारूढबाट प्रतिपक्षमा पुगेर पनि चेत नखुलेको उक्त पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन विवाद साम्य हुनुको साटो झन् बल्झिएको छ ।  


संघका अध्यक्ष नैनसिंह महरसँग विमति राख्ने महामन्त्री कुन्दन काफ्लेसहितका असन्तुष्ट समूहका नेताहरूले बुधबार एकलौटी रूपमा १२ औं महाधिवेशनको मिति घोषणा गरेका छन् । 

 

आगामी साउन २३ देखि २५ गतेसम्म  काठमाडौंमा महाधिवेशन गर्ने तय भएको राजधानीमा आयोजित पत्रकार सममेलनमा जानकारी दिइएको छ । 
असन्तुष्ट समूहको बसेको केन्द्रीय समिति बैठकले  यसअघि अध्यक्ष महरले गरेका मनोनयनसमेत खारेज गरेको बताइएको छ ।  विधानबमोजिम रिक्त २२  जना केन्द्रीय केन्द्रीय समितिको बहुमतबाट पदाधिकारी तथा सदस्यहरूको मनोनयन गरिने निर्णय पनि बैठकले गरेको केन्द्रीय सदस्य सुशील भट्टले बताए । 

 

उनका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि नेवि संघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ । 
केही दिन यता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीको कुरालाई लिएर सुलह हुन लागेको चर्चा सेलाउन नपाउँदै विद्यार्थी क्षेत्रमा भने देउवा र पौडेल समूहबीच कटाक्ष देखिएको छ । नेवि संघमा कृष्ण सिटौला समूहको पनि प्रभाव देखिन्छ ।