अन्तरवार्ता

डा. केसी र गंगामायाबारे कांग्रेसले बोल्दा पवित्र बागमतीमा ढल मिसाए जस्तो हुन्छ (भिडियोसहित)

सिके राउतभन्दा खराब प्रदेश २ का महान्यायाधिवक्ता दीपेन्द्र झा हुन् 

मङ्गलबार, २६ असार २०७५ गते प्रकाशित
- नेपाल आज

डा. केसी र गंगामायाबारे कांग्रेसले बोल्दा पवित्र बागमतीमा ढल मिसाए जस्तो हुन्छ (भिडियोसहित)

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि डा. प्रेमसिंह बस्न्यातले गंगामाया अधिकारीको प्राण रक्षा र डा. गोविन्द केसीको मागबारे बोल्ने अधिकार कांग्रेसलाई नभएको बताएका छन् । 


नेपाल आजको नियमित भिडियो स्तम्भ ‘स्ट्रेट फरवार्ड’ मा डा. बस्न्यातले भने, ‘बागमतीको पवित्रतामा ढल मिसाउँदा जे हुन्छ, कांग्रेसले गंगामाया र केसीबारे बोल्दा पनि त्यही हुन्छ ।’ 

 

कांग्रेसकै सरकार हुँदा गंगामायाका पति नन्दप्रसाद अधिकारीले अनशनका क्रममा प्राण त्यागेका थिए, डा. केसीको पटकपटकको अनशनमा पनि कांग्रेसकै सरकार थियो । यो अवस्थाका कारण पनि यी दुईबारे बोल्ने अधिकार कांग्रेसलाई नभएको बस्न्यातको तर्क छ । 

 

बिपी कोइरालाको पथ छाडेर गिरिजाप्रसादको पथ समातेपछि कांग्रेस समाप्तितर्फ गएको बस्न्यातको भनाइ छ । उनले भने, ‘पहिले पहिले राजा मर्दा बाहुनलाई काट्टो खुवाएर डाँडा कटाइन्थ्यो, अहिले देउवाले कांग्रेसलाई डाँडा कटाए ।’ 

 

प्रदेश नम्बर २ मा राष्ट्रहितविपरीतका चलखेल हुन थालेकोतर्फ डा. बस्न्यातले संकेत गरेका छन् । उनले सो प्रदेशका महान्यायधिवक्ता दीपेन्द्र झाप्रति लक्षित गर्दै भने, ‘सिके राउतलाई सहयोग गर्ने, विदेशीको इशारामा नाच्ने, डिएफआइडीको पैसा खाने, मुख्यमन्त्रीलाई नचाहिँदा एजेन्डामा उचाल्ने काम गरेका छन् । उनका बारेमा विदेशी कार्यालयमा भएका कुराकानी सुनेको छु, उनले नै लालबाबु राउतलाई अमेरिका लैजान खोजेका थिए ।’ 

 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, अरू मन्त्री वा नेताबाट राष्ट्रलाई कुनै खतरा नरहेको तर झाको कनेक्सन डरलाग्दा व्यक्तिहरूसँग भएकाले होसियार हुन बस्न्यातले प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री उपेन्द्र यादव, नेपाल प्रहरी र नेपाली सेनाको ध्यानाकर्षण गराएका छन् । झाले विदेशी हँसाउन, आयआर्जन गर्न, अनर्गल विषयमा पुस्तक लेखेर राष्ट्रघात गरिरहेको डा. बस्न्यातको भनाइ छ । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा पनि बस्न्यातले टिप्पणी गरेका छन् । उनले भने, ‘गगन थापासँग दोहोरी खेल्ने, कुनै सुरक्षा थ्रेटबिना नै माइतीघरमा जनतालाई भेला हुन पनि नदिने, काम केही नगर्ने, बोल्न पनि नछाड्ने प्रवृत्ति रोक्नु पर्छ । प्रधानमन्त्री जस्तो व्यक्ति स-साना कुराको प्रतिवाद गर्दै अगाडि बढ्ने होइन ।’