खेल

विश्वकप सेमिफाइनलः फ्रान्सलार्इ पहिलाे अग्रता

मङ्गलबार, २६ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

विश्वकप सेमिफाइनलः फ्रान्सलार्इ पहिलाे अग्रता

काठमाडौं ।  रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप २०१८ को सेमिफाइनलकाे पहिलाे खेलमा फ्रान्सले बेल्जियमविरूद्ध १–० काे अग्रता लिन सफल भएकाे छ ।

 

खेलकाे ५१ अाैँ मिनेटमा सामुएल उम्टिटिले हेडर गाेल गर्दै फ्रान्सलार्इ सुरूवाति अग्रता दिलाएका हुन् । खेलकाे पहिलाे हाफ भने गाेलरहित बराबरीमा सकिएकाे थियाे । दुवै टाेलिले केही उत्कृष्ट माैका पाएपनि गाेलकिपरले गाेल भने हुन दिएनन् । 

 

विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई सून्यका विरुद्ध दुई गोलले र बेल्जियमले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

 

विश्वकप फुटबलमा बेल्जियमले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । तर अहिले सर्वाधिक अपेक्षा गरिएको गोल्डेन जेनेरेसन भएकाले बेल्जियमलाई यसपटक उपाधिको बलियो दाबेदार टिमका रुपमा हेरिएको छ । पछिल्ला २४ खेलसम्म अपराजित रहेको बेल्जियमका लागि अब विश्वकप उपाधि दुइ जित टाढा छ ।

 

यस्तै फ्रान्सले विश्वकपको समूह चरणबाट सेमिफाइनलसम्म पुग्दा एकैनासको प्रदर्शन गर्न सकेको छैन । तर नकआउट चरणमा प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनासँग उत्कृष्ट प्रर्दशन गरे पनि उरुग्वेविरुद्धको खेलमा फ्रान्सको सोही लय देखिएन । दुई यरोपियन टिमले एक–अर्काविरुद्ध धेरै पटक प्रतिस्पर्धा गरेका छन् । ७३ पटक भिड्दा फ्रान्सले २४ पटक जित निकालेको छ । बेल्जियमले ३० पटक फ्रान्सलाइ हराएको छ । यी दुईबीच १९ खेल बराबरीमा टुङ्गिएका छन् । विश्वकपमा भने यी दुईले ६ पटक प्रतिस्पर्धा गरेका छन् । 

 

पछिल्लो समय १९८६ यता दुई टिमले विश्वकपमा प्रतिस्पर्धा गरेका छैनन् । त्यसबेला फ्रान्सले बेल्जियमलाई ४–२ ले पराजित गरेको थियो । यी दुई टिमबीच पछिल्लो पटक २०१५ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो ।