कला साहित्य

साहित्य आज

स्मृति : इलेभन किस्साज्स् अफ ग्रेड वान

 निर्भीकजंग रायमाझी

शनिबार, २६ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

स्मृति : इलेभन किस्साज्स् अफ ग्रेड वान

 

तपाईंले कति पढ्नुभएको छ ? कसैले यो प्रश्न सोध्दा यस्तो उत्तर जरूर आउनसक्छ–  एक कक्षा पनि पढेको छैन । विद्यार्थीलाई गाली गर्दा पनि  भन्ने गरिन्छ, ‘कस्तो रै‘छ यो त एक अक्षर  पनि पढ्दैन ।’ यस्तो बेला अरू मानिसको मनमा के आउँछ म जान्दिनँ तर मलाई भने आफ्नो एक कक्षाको जीवन याद आइहाल्छ। जब–जब यस्तो ‘एक कक्षा पनि पढेको छैन’ वा ‘एक अक्षर पनि पढ्दैन’ भन्ने कुरा सुन्छु, म अनायास कक्षा एकको जीवनतिर फर्कन पुग्छु ।

 

त्यतिबेला म छ पुरा भएर सात वर्षमात्र लागेको थिएँ । उसो त त्यसभन्दा एकवर्ष अगाडि नै पाँचवर्ष पुरा भएपछि म घर छाडेरपढ्नको लागि सहर बसेको थिएँ । ठूलो दिदी र दाइसँग बसेर बनेपामा पढ्थेँ। बिदाको बेलामा मात्र म घर जान्थेँ र बुबाआमासँग भेट्थेँ । तोकेरै भन्ने हो भने त्यो साल २०६२  थियो। म  बनेपास्थित एक नाम चलेकै बोर्डिङ स्कूलमा पढ्थेँ।

 

कक्षा एकभरीमा बिताएका अनेकौँ क्षण र सम्झनाहरू मसँग मौजुद छन्। तीमध्ये यी एघार वटा यादगार क्षणहरूको स्मरण भइरहन्छ– 

 


१. भाषण मेरो रुची
सायद त्यो माघ महिनातिरको कुरा हुनुपर्छ, म कक्षामा नै थिएँ । अचानक कक्षा दशकी एकजना दिदी मलाई लिन आउनुभयो । म उहाँसँगसँगै विद्यालयको छतमा गएँ । त्यहाँ कक्षा नौ र दशका केही विद्यार्थी तथा प्रिन्सिपल थिए । एकछिन त म डराएँ पनि । किन मलाई यतिका दाइदिदी भएको ठाउँमा ल्याइयो भनेर ।  

 

‘स्कूलमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको, तिमी राम्रो बोल्न सक्छौ भनेर बोलाएको’, मलाई प्रन्सिपल सरले भन्नुभयो । मावि स्तरीय प्रतियोगितामा मलाई किन बोलाइयो भनेर मेरो मनमा चिसो पस्यो ।यसैबीचसरले भन्नुभयो– ‘ तिमीलाई भाग लिएर प्रतिस्पर्धागर्न बोलाएको होइन । तिमीले त्यहाँ विशेष प्रस्तुति अन्तर्गत त्यो विषयमा बोलेर देखाइदिनुपर्यो भनेर बोलाको ।’
वक्तृत्वको शीर्षक थियो– द्वन्द्वका असरहरू वा शान्ति यस्तैयस्तै । 

 

शीर्षक सुनेर म आँत्तिइनँ ।कारण यो थियो कि मेरो कोठामा भइरहने राजनीतिक छलफलले म यतिका कुरा जान्ने मइसकेको थिएँ । र म धाराप्रवाह रूपमा माओवादी द्वन्द्व, शान्ति, विकास आदिबारे बोल्न सक्ने भइसकेको थिएँ ।
मैले घर गएर आइ।ए।को किताबमा यी विषय खोजेँ । किताब मेरो दिदीको थियो । नेपाली भाषामा धेरै बाहिरी किताब पढिसकेको हुनाले मैले त्यति

 

कुरा सजिलै याद गरेँ । 
विद्यालयमा धुमधामले वक्तृत्वकला सम्पन्न भयो । 
मैले पनि विशेष प्रस्तुतिमा करिब सात–आठ  मिनेट त्यस शीर्षकमा बोलेँ । अन्त्यमा कक्षा दशकै एकजना दिदी विजयी हुनुभयो । तर धेरै प्रतियोगी दाइदिदीहरू  माइककमा सबैको  अगाडि बोल्न डराइरहेका थिए ।

 

अन्तिममा कार्यक्रममा बोल्दै प्रध्यानाध्यापकले भने, ‘आजको यो प्रतियोगितामा कसैले राम्रो गरेको छ भने त्यो निर्भीक भाइले नै गरेको छ ।’सबैको अनुहार रातो भयो। उनले  यो पनि भने ‘कि यति राम्रो प्रस्तुति दिएकोले प्रथम हुनेले पाएकै पुरस्कार भाइलाई पनि हामी दिन्छौँ ।’
सायद अरु धेरै जना रिसाइरहेका थिए यसबेला । तर म खुसीले रुन मात्र सकिरहेको थिइनँ ।

 


२.‘इच्छा’ कविता पढेको दिन
मीनपचासको बिदा सुरू भयो । म बिदा सेलीब्रेट गर्न गाउँ गएँ । गाउँमा पनि घरमा बसिरहनु पर्नाले बोर नै हुन्थ्यो । 
यस्तैमा एकदिन  दिदीले भन्नुभयो,‘भाइ पनि हाम्रो स्कूल  घुम्न जान्छ ।’ बुबाले पनि हुन्छ भन्नुभयो । किनभने बुबाले पढाउने स्कूल र मेरा दुई दिदीहरूको स्कूल एउटै थियो। त्यो गाविसभरीकै पहिलो मावि स्कूल पनि थियो । 

 

अन्ततस् दुई घण्टा हिँडेपछि म बुबाको स्कूल पुगेँ । मलाई सबैजनाले रमाइला रमाइला प्रश्न सोध्दै माया दर्शाउन खोजे । म कहिले कक्षा आठतिर त कहिले दशमा गएर दिदीहरूसँगै बसेँ । 

 

यस्तैमा दिउँसो कक्षा नौमा कक्षा खालि भएको समय थियो । म त्यहीँ थिएँ ।  कक्षाका  विद्यार्थीहरू ले मतिर हेर्दै भन्न थाले, ‘भाइ तिमीलाई केके गर्न आउँछ रु’ मैलै तुरून्त भनेँ,‘हलोको चित्र बनाउन आउँछ, गीत गाउन आउँछ ।’ उनीहरूले फेरि सोधे ‘अरू केके गर्न आउँछ त रु’ मैले अनायास भन्न पुगेछु,‘मलाई यही  कक्षा नौको नेपाली किताबमा रहेको बालकृष्ण समको इच्छा कविता नहेरी भन्न आउँछ ।’ उनीहरुले आश्चार्य मान्दै भने ‘ल सुनाऊ त ।’

 

 मैले पनि जोशका साथ कविता सुनाउन थालेँ । त्यसैबखत एकजना सर पनि त्यहाँ ढोकामा आइपुगेर मेरो कविता सुन्न लाग्नुभएको रहेछ। मैले जम्मा सोह्र लाइन इच्छा कविताको बाह्रवटा लाइन नहेरी भन्न सकेँ । 
यसपछि कक्षामा भएका सबैजनाले मेरा निम्ति तालि बजाए । म मुस्कुराइरहेँ।
यसको ठीक दश वर्षपछि एकदिन  म फेरी बुबाको स्कूलमा गएँ । त्यहाँ यो पालि फेरी एकजना सरले मतिर हेर्दै सबैको अगाडी भन्नुभयो,‘सानोमा हामीलाई  कविता सुनाउने फुच्चे केटो यति अच्छा भइसकेछ बा ।’
एकदशकपछि म त्यसरी नै मुस्कुराएँ।   


३. फाइट पर्दा भागेको
बनेपा ससाना गल्लीहरू र चोक भएको सहर हो। यहाँ जात्रा तथा मेलाहरूमा झगडा मारपिट हुनु सामान्य कुरा हो । यस्तोमा त्यहाँका सानासाना केटाकेटीहरू पनि झगडा गर्न तम्सिहाल्नु कुन नौलौ कुरा थिएन । त्यसबेला मेरा धेरै साथी थिएनन्। अझ भनौं स्कूलभन्दा बाहिरका त मेरा कोही पनि साथी थिएनन्।

 

यस्तैमा एकदिन टिफिन टाइममा कक्षा एक र दुईको बीचमा  ग्याङ फाइट पर्यो।  मेरो कक्षाका नेवार साथीहरू पनि ग्याङ बनाएर जुध्न तम्सिएँ । र एउटाको राउण्ड किकसँगै झगडा सुरू भइहाल्यो । म पनि एउटा भुसतिघ्रेलाई टाउकै टाउकोमा हान्न थालेँ । यतिकैमा त्यसले मलाई तेक्वान्दोको किक हानेर पाँच हात पर पुर्यायो । म बबुरोले त केका तेक्वान्दो खेलेको हुनु र लात्ति हान्नु ।एकै लात्तिले म रणासन्न भएर पछारिएको म अन्नत भागेर स्कूल भित्र पुगेँ। तर त्यो दिन शुक्रबार परेकाले टीफिनछि डान्स प्रोगाम रै‘छ । जसमा हामीलाई बिदा दिइयो । यसपछि म सरासर कोठातिर भागेँ र पर्सिपल्ट  स्कूल नै गइनँ । 

 


४.मास्टरसँगै लफडा र वार्षिक परीक्षा
चैत्र महिनाको पहिलो साता । म साथीहरूसँग रमाएर लुकामारी  खेलिरहेको थिएँ । 
यतिकैमा पत्तो नपाइकन कक्षा दशभित्र पस्न पुगेछु ।  कक्षा दशको त एसएलसीको कारणले बिदा भइसकेको थियो । यसकारण कक्षा  ह्वाङह्वाङ्ति थियो । म कक्षाको अन्तिमतिरको बेन्चमुनि लुक्न पुगेँ । केही मिनेट लुकेपछि पनि साथीहरूले  नदेखेपछि म निस्किन भनी ढोकातिर आएँ । तर ढोकामा कसैले चुकुल लगाइदिसकेको रहेछ ।

 

 म करिब एक घण्टा थुनिन पुगेँ । सायद रुवाबासी चल्यो र पियन दाइ आएर खोलिदिए । म कोठामा पुगेँ र रोएँ सायद । यसपछि मेरा अभिभावक यो कुराको कम्प्लेन गर्न जाने भए । तर देशमा आन्दोलन पनि चर्कन लागेको र दिनहुँ हुने कर्फ्युले गर्दा बनेपामा बस्न गाह्रो भैसकेको थियो। 
यसकारण मलाई फेरी त्यो स्कूल नपठाउने निर्णय गरियो र  दुईतीन दिनपछि म गाउँतिर लागेँ ।


५. ‘फोल्ड योर आर्मस्’ नबुझेको दिन

म पढ्ने निजि स्कूलमा पढाउने अधिकांश शिक्षक शिक्षिकाहरु पनि कलिलै उमेरका हुन्थे। अर्थात् उनीहरू प्राय तीसनकटेका नै थिए ।
यस्तैमा एक जना शिक्षिका थिइन् जो हामीलाई साइन्स पढाउने गर्थिन्। उनको भने हामीभन्दा अलिकति मात्र सानी छोरी  थिइन्। उनी प्रायस् आफ्नी छोरीलाई पनि स्कूलमा लिएर आउँथिन् ।

 

उनै ज्योति मिस जसको स्वर पनि निकै तिखर थियो। उनी रिसाइन् भने त त्यो फ्लोर नै गुञ्जायमान भइहाल्थ्यो। यस्तैमा उनी पढाउँदा  प्रायस्‘फोल्ड योर आर्मस्’ भनेर भनिरहनिथिन्।  यसपछि सबै विद्यार्थी हात बाँधेर ज्ञानी भएको जनाउ दिँदै यथास्थानमा बस्थे। म भने अकमक्कमा पर्थेँ। किनकि मैलै लामो समयसम्म ‘फोल्ड योर आर्मस्’ भनेको नै बुझीनँ। 

 

म त त्यसलाई ‘कोल्टे नबसऽऽ’ भनेको सुन्थेँ।  जतिपटक ज्योती मिसले फोल्ड योर आर्मस भन्थिन् म उति पटक म कोल्टे बसेँ कि भनेर तर्सिरहन्थेँ।  कक्षाको प्रथम विद्यार्थी भएपनि मैले  त्यति कुरा कयौँ महिनासम्म बुझ्न सकिनँ। यसको कारण थियो, कि मैलै अङ्ग्रेजी भाषामा राम्रो अंक ल्याए पनि त्यसको व्यवहारिक अभ्यास थिएन।

 


६.गोपालसिंह मुस्याजूको गाई 
स्कूल नजिकै  राप्रपाका  जिल्ला  नेता गोपालसिंह मुस्याजूको घर थियो । घर अगाडि उनको गाई बाँध्ने ठाउँ पनि थियो ।  
त्यहाँ गाउँघरको जस्तै देखिने एउटा गाई बाँधिएको थियो । गाईसँगै महिनादिनजस्तोको बाछो पनि थियो । मलाई बाछो अत्यन्त मनपर्ने । घरमा हुँदाम बाछोसँगै घण्टौँ बसिरहन्थेँ । घरको कालीगाईले त  मलाई उसको सिङ छोएपनि केही गर्दैनथ्यो र मलाई मेरो आमाले जतिकै माया गर्थ्यो । किनकि उसले कहिल्यै मलाई दुस्ख दिएको थिएन ।
यही सम्झेर म गोपालसिंहकोबाछोलाई सुम्सुम्याउन पुगेछु । बाछोको गालामा गाला जोड्न थालेपछि भने मलाई माउ गाईले स्वाँ स्वाँ गर्दै हान्न तम्सियो । यो देखेर गोपालसिंह बुढा पनि चाल मार्दै मकहाँ आएर नेवारीमा हकार्न थाले । 
‘म्यामपाखा तैंले कहिल्यै गाई देखेको छैनस्’ भन्दै उसले मलाई लघार्यो । गोपालसिंहको गालीले त मलाई कुनै असर गरेन तर म मेरो प्यारो काली गाई सम्झेर निकैबेर भावुक भएँ । जसले मलाई प्रेमपूर्वक निधारमा चाट्थ्यो र म उसँग घण्टौं सँगै बस्थेँ ।

 


७. बीस रुपैँया र कोक
मलाई आफन्तहरूले भेट्दा प्रायस्ले दुई रुपैँया दिने गर्दथे। त्यसमध्ये कोहीकोहीले पाँच रुपैंया पनि दिइहाल्थे। तर खाजा वा चाउचाउ किन्दा भने उनीहरुको दश रुपैयाँ सकिन्थ्यो नै । त्यसभन्दा मोटो रकम मैले पाएको थिइनँ। 
एकदिनको कुरा हो म कक्षामा बसिरहेको थिएँ।  विद्यालयको पाले दाइ आएर मलाई बोलाए। उनले बताए कि मलाई भेट्न कोही मानिस आइरहेका छन्। 

 

मलाई एकमनले त डर पनि लाग्यो। को भेट्न आउँछ यो विरानो सहरमा मलाई रु न यहाँ कोही मेरा आफन्तहरू छन् न प्रियजनहरू नै । कि दिदी नै त आउनुभएन। यस्तै  जिज्ञासासँगै म विद्यालयको वेटिङ डेक्समा पुगेँ ।

 

त्यहाँ पुगेपछि मैलै जसलाई देखेँ, उसको उपस्थितिकै कारण मेरो मुहारमा एकाएक खुसी छायो। मलाई भेट्न भनेर हाम्रो ठूलोदाजु र नवविवाहित भाउजू आउनुभएको रहेछ।  ठूलोदाजु अर्थात् हाम्रो जेठो ठूलोबुबाको जेठो छोरा। दाजुको बिहे भर्खरैमात्र भएको थियो जसमा म चाहेर पनि जान सकेको थिइनँ। 

 

दाजुले मलाई भाउजूसँग परिचय गराइदिनुभयो र मेरो पढाइको बारे सोध्नुभयो। करिब दश मिनेट उहाँले मसँग कुराकानी गर्नुभयो । यसपछि दाइले मलाई बीस रुपैयाँ दिनुभयो र बिदा हुनुभयो। ममा खुसिको सीमा नै रहेन।  

 

मैले त्यतिको रकम पाएको कुरा केटाहरूलाई थाहा भइहाल्यो। उनीहरूले मलाई यतिकै छाड्नेवाला थिएनन्। जब चार बजे स्कूल छुट्टि भयो केटाहरूले मलाई होटलमा लगे। उनीहरूले त्यहाँ एउटा कोक मगाए। मलाघ सम्झना भएअनुसार कोकको त्यतिबेला पन्ध्र रूपैयाँ पर्थ्यो।  बाँकी पाँच रूपैयाँको पनि उनीहरूले केक मगाए। हामी तीनजना मिलेर एउटा कोक र दुईवटा केक खायौं।

 


८. गोपाल ब.रायमाझीको हत्या र डर
म त्यस दिन ज्वरो आएर गर्दा बिरामी भएको थिएँ। दिनभरी कोठामा नै आराम गरेर बसेको थिएँ।
दिउँसोको तीन जति बजेको थियो। मलाई औषधि खुवाउन भनेर दिदीले उठाउनुभयो। मैले कालो चियासँग  थिनआरारोट बिस्कुट खाएँ। मलाई अझै याद छ कि मलाई ज्वरो आएपनि म उक्त विस्कुट र चिया एकैठाउँमा राखेर चम्चाले चिनी थपेर खान खोजिरहेको थिएँ।

 

त्यस दिन हाम्रो कोठामा गोपाल बहादुर रायमाझी आउनुभयो। जहिले पनि कुनै न कुनै पत्रिका हातमा बोकेर हिँड्ने उहाँ मेरो ठूलोबुबा पर्नुहुन्थ्यो । ज्वरो आएको हुनाले उहाँले मलाई आराम गर भन्नुभयो र चिया खाएर हाम्रो कोठाबाट निस्कनुभयो ।

 

यसको तीन दिनपछि गोपाल ठूलोबुबाको हत्या भएको खबर आयो । सुराकी गरेको आरोपमा माओवादीहरूले बीच सडकमा ग्रिनेट हानेर मारेको रे । यो खबर सुनेर म झस्किएँ । दुई दिनअगाडि आँखैसामु भएको व्यक्ति कसरी मर्न सक्छ र कसले मापर्यो भनेर । सुनेअनुसार उहाँको टाउकोमा ग्रिनेट पड्केकोले गिदी दश हात वरपर छरिएको थियो रे ।
हत्या र आतंकको खबरले मेरो कोमल मन बेजोडसँग खलबलियो । 

 


९.वेडिङ एण्ड कुल्फी बरफ 
फागुन महिनामा ठूलो दिदीको  बिहे हुने भयो। मलाई माया गर्ने र मेरो पढाइकै लागि भनेर  मलाई गाउँबाट सहरसम्म ल्याउनेदिदी अब मबाट टाढा हुने कुराले म दु:खी भएँ। तर बिहेको तामझामको कारणले म खुसी नै थिएँ।

 

त्यो बिहेको दिन थियो।  धेरै आफन्तहरू बिहेमा सरिक थिएर मलाई सबैजनाले बोलाउने र माया गर्ने गर्थे। यसैक्रममा के खान्छस् भनेर सोध्ने पनि गर्थे। म कूल्फी बरफ किनिदिनू भन्थे। उनीहरू मलाई कोहीले दुई रुपियाँको त कोहीले  पाँच रुपियाँको चिसो कूल्पी किनिदिए। 
दिनभरमा मैले पन्ध्रवटा बरफ खाएछु। मलाई त बिहेको माहौलले भन्दा पनि यसरी धीत मर्ने गरी  कुल्पी दान पाएकोमा खुसी लाग्यो। किनकी अरु दिनमा मैले दुईवटा भन्दा बढी कुल्पी खाएकै थिइनँ।

 

यसको परिणाम त भोग्नु नै थियो। बिहेको पर्सीपल्टबाट मलाई लगातार तीन दिन खोकी लाग्यो। र खोकीलाई पनि मैले सेलिब्रेट नै गरेँ।

 


१०.उपन्यास लेख्न सुरिने म
जीवनमा ठूलो कुरा र आँट गरिहाल्ने  स्वभाव जन्मेदेखि नै थियो क्यार ममा। हाहह...
त्यसवर्ष मैले रमेश विकलको बहुचर्चित उपन्यास ‘अविरल बग्दछ इन्द्रवती’ पढेको थिएँ ।म धाराप्रवाह गतिमा नेपाली पढ्न सक्ने भइसकेको कारण बिस्तार बिस्तार उपन्यास पढ्नु नौलो कुरा थिएन। 

 

नीलो गाता भएको विकलको नावेल पढेर ममा तीव्र जोश बढेको थियो। जोश यतिसम्म कि सर्वहारा वर्गको लागि जवान भएर क्रान्ति गर्छु भन्नेसम्म लाग्न थालिसकेको थियो।चैतमा स्कूल बिदा भयो। म गाउँ गएँ। देशमा द्वन्द्व झनझन् चर्किरहेको थियो।  गाउँमा आनन्दले हाँसीखेली बस्दा एकदिन मलाई पनि उपन्यास लेख्ने रहर जागेर आयो। 

 

हो मैले तुरून्त बुबाको स्कूलको परिक्षार्थीहरूलाई बाँढ्ने खाली पानाहरू बटुलेँ र त्यसलाई स्टिज गरेँ। अनि तीव्र जोशका साथ उपन्यास लेख्न  थालेँ । उजन्यासको नाम दिएँ– अविरल बग्दछ माम्तिखोलो।हो मैले देखेको पौडी खेलेको र  नदीको यथार्थ बुझेको एकमात्र खोलो थियो माम्तिखोलो। सानो तर अविरल प्रवाह भइरहने माम्तखोलोको किनारमा  मेरो घर थियो।

 

यसरी जे मैले देखेँ र अनुभूत गरेँ त्यही टपक्क टिपेर सात पेज लामो उपन्यास लेखेँ। त्यसभन्दा पछि लेख्न नसकेर  हो कि दशकौं  पछि पनि  मैलै आजसम्म उपन्यास लेख्ने आँट गरेको छैन।

 


११.सैनिक बन्ने रहर र युद्ध

हामीलाई घुमाउन भनी भक्तपुर दरबार स्क्वायर र काठमाडौं लगियो । त्यसबेला त्यहाँ राजा महाराजाहरूले  प्रयोग गर्ने अनेकौं समाग्री देखेँ । विभिन्न युद्धमा प्रयोग भएको हतियार तथा चित्रहरू देखेँ । अनि  संग्रहालयको सुरक्षा गर्न भनी बसेका सैनिकहरू पनि देखेँ । यी कुराहरूले मलाई विशेष आकर्षित गर्यो ।


गाउँ जाने बेलामा सडकमा गस्ती गरिरहेका सैनिकहरू पनि देखेकाले मलाई उनीहरूले लगाउने सफा कपडा र हिँड्ने शैलीले विशेष आकर्षित गर्यो । यसले गर्दा ममा सैनिक बन्ने तीव्र इच्छा पलायो बलभद्र कुँवरले जस्तै विदेशीसँग युद्ध गर्न मन लाग्यो । 
किनकिन मलाई आफ्नै देशभित्र युद्ध गरेर नेपाली र नेपाली लड्नु मन परेकै थिएन । मलाई त सेना भएर देशको सुरक्षा गर्न मात्र मन थियो, युद्ध होइन ।