कला साहित्य

साहित्य आज

छविरमण सिलवालका ३ कविता

शनिबार, २६ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

जूठो थाल 
बाले खाना खाईसके पछि 
त्यो थालमा 
आमाले खाना पस्केर 
कपाकप खानुहुन्थ्यो 
म सोध्थेँ
आमा !
त्यो जूठो थालमा किन खानुहुन्छ ? 

 

फिस्स हाँसेर टारीदिनु हुन्थ्यो आमाले 
निरक्षर मेरी आमालाई 
हजूरआमाले जे गर्नुभयो 
त्यसैको निरन्तरतामात्र थाह थियो
र त आमाको लागि त्यो जूठो थाल 
त्यतिनै प्यारो थियो । 

 

मैले बालाई सोधें 
बा, तपाईको जूठो थालमा 
किन आमाले भात खानुहुन्छ ? 
बा अलिक रसिक हुनुहुन्थ्यो, र भन्नुभयो,
‘जूठो थालमा खाए पछि माया वढ्छ नि त !’
बालसुलभ मेरो दिमागमा पनि कति कुरा आएका होलान ? 
मैले फेरी फ्याट्ट बालाई सोधिहाँले,
बा आमालाई मात्र तपाईको माया लाग्ने हो कि ? 
तपाईलाई पनि आमाको माया लाग्छ ? 
बाले पनि फ्याट्ट जवाफ दिनुभयो,
‘मलाई तेरी आमाको माया नलागेको भए 
तिमीहरू हुन्थौ र ?’

 

मैले कुरो बुझिन र, 
बुझ्ने कोशिष पनि गरिन 
बरू अर्को प्रश्न सोधें बालाई 
अनि बा ! त्यसो भए 
तपाईले किन आमाको जूठो थालमा 
खाना नखाएको त ? 
बाले रिसाएको भावमा 
झर्किदै भन्नुभयो 
‘ हरे ! कस्तो कुरा गर्छ यो !
आईमाईको जूठो पनि 
लोग्ने मान्छेले खान्छन् ?’

 

म निशब्दः भएँ
चुपचाप बाको 
अनुहार हेरिरहें 

 

अहिले 
हामीले बा–आमाको त्यो परम्परा 
तोडेका छौँ । 
र, त हामी 
दोहोरो प्रेम झांगियोस भन्नाको खÞातिर 
एउटै थालमा सँगै 
खाना खाने बानी बसालेका छौँ ! 

 


एउटा युगपुरुष खोजिरहेको छु

सुकिलो भएर
महङ्गा अत्तर छर्कदै
मेरै छातीमा नाली बहाउँदै हिँड्दा पनि 
मैले चुपचाप सहेँ । 

 

आफू रित्तिएरै पनि तिम्रा प्यास मेटाउँने 
आफ्नो कर्तव्य सम्झेँ 
र, तिम्रा हरेक आवस्यकता पूरा गर्दै गएँ 
तिमीले मलाई मेरो कर्तव्यको बदला मेरो कमजोरी ठान्यौ ।

 

के मैले तिम्रा प्यास मेटाउनु
मेरो गल्ति थियो,
तिमी नै भन न  
के बिगार गरेको थिए र मैले ?
तिम्रा सबै दुषित विकार बोकेर 
आफूलाई दुषित बनाएर हिँड्नु पर्ने
मैले आफूलाई अरुको निम्ति सर्मपण गरेको 
एउटा नाजायज फाइदा तिमीले लुटिरहेका छौ
र त आज म पवित्र भएर पनि 
अपवित्र बनेको छु 

 

अनि,
सबैलाई दुर्गन्धित पार्दै बहन वाध्य छु 
यो तिम्रै कारणले हो 
कोही छ तिमी मध्ये मेरो यो दोषलाई मुक्ति दिने ?

 

तिमीले बिर्सियौ कि क्या हो 
आदिम सभ्यता देखिको तिम्रो र मेरो सम्वन्ध
म नहुँदो हुँ त तिम्रो अस्तित्वको भर कहाँ हुन्छ र ?
बुझेर पनि बुझ पचाउने 
तिम्रो लाचार क्षमताको प्रर्दशन अरू कतै गरे हुन्न ?
भो,यहाँ तिम्रो कुनै आवस्यकता छैन 
तिमी विना पनि म मेरो अस्तित्व जिवित राख्न सक्छु 

 

तर त्यस भन्दा अघि नै 
कोही युग पुरुष मेरो सामिप्यमा आईसकेको छ
सक्छौ भनै उसको हातमा हात मिलाउ
साथमा साथ मिलाउ

 

त्यसपछि 
तिम्रा हजारौं गल्तिलाई म एकै पटक पखाली दिन्छु 
तिमी शुद्ध बनेर आफ्ना सन्ततीलाई 
आफ्नो मुहार देखाउँन सक्छौ 
नभूल हे मूर्ख मानव
तिम्रो अन्तिम चिताको खरानी पखाल्न म नै उपस्थित हुनेछु । 

 


बुग्गाको देश 

मेरो देशको नाम
मेरो देशको सिमाना
क्रमशःधुमिल देख्न 
थालेको छु म 

 

आजकाल, 
मेरो देशको गौरव 
मेरो देशको संस्कृति
मेरो देशको भाषा
खुट्टा काटिएर लर्खराएको देख्छु,

 

खै विद्धान बौलाएकाहुन् कि 
बुग्गा भएका हुन् ?
छुट्याउन कठिन भइरहेछ 
च्वाट्ट खुट्टा काटिनुको पीडा 
संसारको सुन्दरताबाट बन्चित हुनु हो 
खै ! कसले सुन्ने हो मेरो देशको पीडा 

 

खाडीको तापले सेकिएर 
बितेका बैंसका फूलहरुको भरपाई 
कसले भर्ला र खै !
वस्ति उजाडिएर खाडी पस्नुको वाध्यता
कसले बुुझिदिने हो ?


वृद्ध बाआमाको काख उजाडेर बन्दवाकसमा भित्रनु 
कसलाई रहर होला र ?
फूलझैं फक्रिएकी प्रियको अंगालोमा
एकभारी खुशी ल्याउन खाडी पुगेका बैंसहरु
कहिल्यै नर्फकिए पछि 
ती अंगालो भरीको खुशीफिर्ता दिने कोही छ ?

 

यहाँ मेरो देशमा सबै थोक छ 
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र
तर कसलाई आए यी तन्त्रहरू 
जनतालाई या बुग्गाहरूलाई 
यो कस्तो दोधार 

 

अनन्त दुःखका पहाडहरू बोकेर थलिएका
जुम्ला, हुम्ला, कालीकोटका ती वस्तीहरुमा
कहिले फूल्छ यो तन्त्र ?

 

आयातित संस्कृतिको मुल्यमान्यतामा
रमाएका शासकहरू 
दुःखका पहाड बोक्नेहरू माझ
कहिले पुग्लान ?
घुमिल हुन लागेको मेरो देशको सिमानाको 
रखवाला को बन्ला ?


यहाँ सबै टाठाबाठा र मै हुँ  भन्नेहरू मात्रै भेटिन्छन् 
तर, यहाँ म 
सबैलाई बुग्गाहरू मात्र देखिरहेको छु । 
देश बुग्गाहरुले कब्जा गरिरहेका छन् ।