कला साहित्य

साहित्य आज

मैले बुझ्न नसकेको तिम्रो मन

शुक्रबार, २५ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

मैले बुझ्न नसकेको तिम्रो मन

-बर्षा न्यौपाने 

खै कहाँबाट सुरु गरौं गन्तव्यविहीन जिन्दगीका कथा । जब तिमी मेरो सम्पर्कमा आयौ, तब मेरो ओइलिएको जिन्दगी फेरि पालुवा पलाउन लागेको मात्रै के थियो.....तिमी नै मेरो  बाँच्ने एक मात्रै आधार भयौ । 


कति रमाइला थिए, ती दिनहरू, अनि ती पलहरू । कहिले काहिँ सँगैछौ जस्तो लाग्छ । तर, होसमा आएपछि आफूलाई एक्लो पाउँछु । अपसोच त यति मात्र लाग्छ, न त तिमीले मेरो छट्पटाइको महशुस गर्न सकेका छौ, न त एयरपोर्टमा बिदाइको अन्तिम घडीमा तिमीलाई देख्न पाएँ । दुःख र सुख के हो ?, बिछोड भएपछि मात्र थाहा हुँदो रहेछ । 


आज भोलि यो जिन्दगी पनि फिक्का फिक्का लाग्छ, अनि आँसु पनि पानी सरी बग्दो रहेछ । जति नै सम्हाल्न खोजे पनि सकिरहेकी छैन मैले तिम्रो याद भुलाउन । आधा चाहना त दिलमा नै चिहान बनेका छन् । अझै पनि आधा चाहना निभ्न लागेको दियो झैँ धिपधिप भइरहेका छन् ।


हाम्रो सम्बन्धको सुरुआत भएको त त्यति धेरै भएको थिएन तर मेरो लागि भने  ६ वर्षसम्म पछि लाग्नेहरूको कुनै वास्ता नै लागेन, लाग्यो केवल तिम्रो मात्रै । जिन्दगीमा पहिलो पटक तिमीलाई भेटेको थिएँ खुसीको त कुनै सीमा नै थिएन अनि मनमा अनेक खालका सपना । दोस्रो भेटको लागि आतुर थिए  म जुन कुरा म आफैँलाई थाहा थिएन । 


सायद म धेरै तनाव भएर होला भेट्ने बित्तिकै अंगालो हालेर यति धेरै रुन मन थियो कि .. अहिले सम्झिँदा पनि मेरो आँसु थामिएको छैन तर म विवश थिए अरूको अगाडि रुन सकिन. जुन ठाउँमा जानको लागि मैले प्रस्ताव गरेँ तिमी मञ्जुर भयौ तर किन हो सँधै खुसी हुने रमाउने ठाँउमा पुग्दा पनि खुल्न सकिरहेकी थिइँन् ।


धरै जोडीहरू आ–आफ्नै दुनियाँमा व्यस्त थिए । तर हामी खै कता–कता हरायाै मलाई डाँको छोडेर रुन मन लाग्यो ।..तर सकिनँ ... हुन त तिम्रो लागि त्यो कुनै ठूलो थिएन होला । तर मेरो लागि त्यै दिन नै अभिशाप बनिरहेको छ । तिम्रो लागि भनेर आफ्ना जन्म दिने आमा बाबाको कुरा सुनिनँ । अनि उहाँहरूलाई भन्दा तिमीलाई नै बढी विश्वास गरँे, के त्यो नै मेरो गल्ती थियो ? मैले कुनै जात धर्म अनि रूपरङ हेरेर माया गरेको थिइँन् । थिएँ त केबल एउटा सुन्दर मन ।


समय कति बलवान हुँदो रहेछ है, कहिलेकाहिँ पहाड बनेर आफै उभिँदो रहेछ । अचेल अनेक प्रश्नहरूको बीचमा घेरिएकी छु, आखिर म तिम्रो को हुँ ? प्रेमिका या त साथी । प्रेमिका भए तिम्रो लायक किन हुन सकिनँ न त ? के समय बिताउनको लागि मात्रै मसँग यति नजिक भएको थियौ ? अनि मसँग टाढिनु पर्ने कारण के थियो ? किन केही नभनी एक्कासि टाढा भयौ ? कमसेकम कारण भनेको भए पनि म आज यस्तो अवस्थामा पुग्थिन होला ।

                                                                          
तिमीलाई त समय मात्रै बिताउनु रहेछ तर मलाई पूरै जीवन । आखिर किन यस्तो नाटक गर्‍यौ सानु ? तिमीले केबल उत्तर पनि नदिएरै टाढा गयौ, आफ्नै घरमा कसैको सामु बह पोख्ने सामर्थ थिएन् । थियो त केबल तिम्रो सामु । जब तिमी टाढा हुन लागेको शंका लाग्यो त्यसपछि कति दिन कति रात रोएरै बिते । अरूले थाहा पाउँछन् कि भनेर ढोका थुनेर रुन्थेँ । 


कुनै दिन तिम्रोसामु पनि रोएको थिएँ, साँच्चै मन दुखेर रोएको थिएँ तर तिमीले त धरै नाटक नगर पो भन्यौ, त्यसको साक्षी त आँसुले भिजेका सिरानी अनि मेरा सुक्कसुक्क रुवाइको आवाज सुनेका भित्ता काफी छन् । कस्तो सम्बन्धको रूप दियौ तिमीले, न त तिम्रो श्रीमतीको अधिकार, न त प्रेमिका । अब हाम्रो सुनौलो विगतलाई कागजको पाना सरी जलाई दिने मात्र हो ।


 प्रेममा कसैलाई माया मात्र होइन जीवन नै दिन सकियोस् जस्तो मलाई लाग्थ्यो, तर त्यो कल्पनामै सीमित भयो ।.. किन मलाई तिमीले प्रेमको नाटकमा आँसुको ऋण बोकाएर गयौ, मैले के गल्ती गरेकी थिएँ र ? तिमी आफैँ भन अब त्यो ऋणको भार कसरी तिरौं ? कसरी तिरौं ? म चाहेर पनि सक्दिनँ । 


किनकि तिमी त मैले माया गरेको मान्छे हौ, त्यसैले तिम्रो आँखामा आँसु पनि देख्न सक्दिनँ । तिमीलाई भुल्न पनि सक्दिनँ, र माया नगर्न पनि सक्दिनँ । तर एउटा कुरा याद गर सानु तिमीले बोलेको झुटको माफी जीवनभर दिन सक्दिनँ । फेरि अर्को कुरा म हिजो पनि एक्लै थिएँ र अब पनि एक्लै जिउँछु । लाइफमा पहिलो पटक तिमीलाई दिलमा सजाएको थिएँ तर तिमीले त धुजाधुजा पारेर गयौ सानु ।


शून्य शून्य लाग्छ जीवनका पानाहरू । निरासैनिरासाको संसारमा हराए जस्तो लाग्छ, अचेल हरेक पल, हरेक दिनरातहरू । रंगीन सपना देख्न छोडेको त धेरै नै हुन लाग्यो । अब ती सपनामा बाँच्न पनि गाह्रो भइसक्यो । मन छैन र पनि अगाडि बढ्न खोज्दैछु । गल्ली गल्ली यो बैसालु शरीर ढुक्ने फिरौतेहरूको मुख कसरी बन्द गरुँ ? कुनै उपाय छैन मसँग ।


 हिजै जस्तो लाग्छ हात समाउँदै बजार बजार डुलेको, मायाले बेस्सरी अंगालोमा कसेको, पाखा पखेरा नै सुगन्धित हुने गरी चुम्बनको वर्षा गराएको त कहाँ बिर्सिएको छु र । तर  बीचैमा चटक्क माया मारी तिमीले मलाई एक्लै छोडी गयौ, त्यो पनि सात समुद्र तरेर । मैले आफूलाई भन्दा धेरै माया गरेको मान्छे  । 


जसको साथ र यादमा पल पल मरेर बाँच्ने गरेको छु । तिमी त जिन्दगीबाट टाढा गयौ भने त्यो कपाल मसारर्ने हातको के दोष । आएर एक पटक फेरि ती हात मेरो टाउकोमा राख सानु फेरि, अनि मलाई खुसी बनाइदेऊ । हिजोका तीनै रमाइलो गरेका दिनहरू सम्झाउनका लागि भए पनि एक पटक फेरि आइदेऊ ।


आज जिन्दगीले नयाँ दोसाँधमा ल्याएको छ, यो शरीरलाई आज प्रेमरूपी काँढाले चसक्क चसक्क घोचेका छन्, अब तिम्रो मायालाई मारेर नौलो गोरेटोमा यात्रा बढाउन सकेको छैन  । अब अति भयो हेर, म थाकी सके तिम्रो यादमा अनि आफूलाई समेत थेग्न नसक्ने भएँ । 


समयले डाँडो काटेको पनि पत्तै भएन । २४ वर्ष भै सकेछु, घरमा हरेक दिन मेरो बिहे हुने कुरा हुन्छ । मेरो बिहे गर्ने समय आयो रे । अब तिम्रो लागि भनेर समर्पण गरेको यो शरीर तिम्रो भनी जोगाई राख्न नसक्ने भइसकेँ, हरेक दिन घरमा थरीथरीका केटाहरू मलाई हेर्न र विवाहको प्रस्ताव लिएर आइराखेका हुन्छन् । 


यो समाजले विवाहबिना कुनै पनि नारीलाई कसैको सम्झनामा बाँच्न दिँदो रहेनछ । अब यो जीवन कसैलाई सुम्पिन पनि सक्दिनँ । मेरो व्यथा बुझेको को नै छ र । तिम्रो इच्छा पूरा हुने भएको छ अब । जैले पनि पाटनमा भेट्न आउछु भन्थेउ । अब तिमी आउँदासम्म कुन हस्पिटलको शय्यामा हुन्छु त थाहा छैन तर तिम्रो कारणले गर्दा डिप्रेसनको औषधि खान थालेको छु ।   


आज मन थाम्न सकेकी छैन, भतभति पोलिरहेको छ, भावनाका छालहरूलाई रोक्न पनि नसकिँदो रहेछ । हरेक दिन आँसुले सिरानी भिज्ने गरेको छ । मनको व्यथा कसैसँग पोखु भने पनि समाजको डर लाग्छ । 


अब तिम्रो सम्झनाको अंगालोमा बस्ने दिन नचाहेर पनि गए जस्तो छ । तिमीले छोडेर गएको त ३ महिना बितिसकेछ तर तिम्रो सम्झनाले त झन् झन् पिरोलेको छ । एक पटक तिम्रो अंगालोमा धोको फेरेर रुन मन थियो त्यो पनि पूरा भएन । तिमीले त एयरपोर्टभित्र छिरेर मात्रै फोन गरेउ त्यो पछि त मेरो मनको बाँध सम्हाल्नै सकेन यति रोए कि तिमीले अनुभव पनि गर्नै सक्दैन । 


तिम्रो र मेरो मायाको अन्त्य त मेरो समाप्तिसँगै होला । तिमी मबाट जति नै टाढा गए पनि तिम्रा यादहरू झन् नजिक बनेर सताइरहेका छन् । त्यही यादहरूले कतिबेला आँखाबाट पानी निस्कन्छ थाहा नै नहुने अवस्थामा पुगेको छु । अरू इच्छा चाहनाहरू त मन भित्र नै चिहान बनाइसके अब एउटा मात्रै धोको छ, तिम्रो सिन्दूरले रंगिएर मर्ने । के त्यो पूरा होला ?