अर्थ

समाचार

राष्ट्रिय गौरवका आयोजना : लगानी बढ्दो, प्रगति शून्य

शुक्रबार, २५ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

राष्ट्रिय गौरवका आयोजना : लगानी बढ्दो, प्रगति शून्य

काठमाडौं । नेपालमा रहेका राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षेनी लगानी बढ्दै जाँदा पनि प्रगति शून्य देखिएको छ । यसले गर्दा सरकार वा लगानकिर्तामाथि वार्षिक आर्थिक भार थपिर्दै जाने गरेको छ । वर्षेनी सरकारको प्राथमिकतामा रहने त्यस्ता आयोजनाहरूको प्रगति कमजोर रहँदा आर्थिक भार चुलिँदै गएको अर्थबिद्हरुले बताएका छन् ।  अहिले नेपालमा रहेका २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये अधिकाशं आयोजनाको प्रगति सुस्त गतिमा अघि बढिरहेको सरकारी एक प्रतिवेदनले नै उल्लेख गरेको छ । 

 

चालू आर्थिक वर्ष २०७४÷७५ को दोस्रो चौमासिकसम्ममा त्यस्ता आयोजनामध्ये पश्चिम सेती जलविद्युत् आयोजना र दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढको भौतिक प्रगति शून्य रहेको अर्थ मन्त्रालयले जनाएको छ । ७ सय ५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ शुरू गरिएको पश्चिम सेती जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन अझै आउन सकेको छैन । सरकारले स्वदेशी लगानीमै निर्माण गर्ने बजेटमार्फत घोषणा गरे पनि स्पष्ट खाका अघि सार्न नसक्नुले यो आयोजना थप अन्योलमा पर्ने देखिन्छ ।

 

निर्माणाधीन दोस्रो अन्तरराष्ट्रिय विमानस्थल मोडालिटी र मुआब्जा समस्याले गर्दा अघि बढ्न सकेको छैन । २०७१/७२ मा शुरू भई २०७८/७९ मा सम्पन्न हुनुपर्ने यो आयोजना अन्योलमा पर्नुले समयमै निर्माण सकिनेमा अझै आशङ्का छ । सरकारले उक्त आयोजनाका निम्ति चालू आवमा  १५० करोड रकम विनियोजित गरेको थियो ।

 

बर्दियाको ३६ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ पु¥याउने लक्ष्य राखेर आव २०४४÷४५ मा शुरू भएको बबई सिँचाइ आयोजना तीन दशक सकिन लाग्दा समेत अझै सम्पन्न भएको छैन । २०७८÷७९ मा सम्पन्न हुने संशोधित लक्ष्य राखिएको सो आयोजनाको कुल लागत वृद्धि भई १२ अर्ब ६९ करोड पुगेको छ । आव २०६९/७० मा काम थालिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको कामको गति पनि सुस्त रहेको छ । चालू आव २०७४/७५ मा सो आयोजनाको कुल लागत १० अर्ब १७ करोड ४२ लाख छ । तर यो आयोजनाको काम पनि अघि बढ्न नसक्दा लागत बढ्ने निश्चित छ ।

 

बाँकेको करीब ४३ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेर आव २०६२÷६३ मा शुरू गरिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य २०७१/७२ मा सकिइसक्नु पर्ने भए पनि अझै सकिएको छैन । यो आयोजनाको म्याद थप गरी अहिले आव २०७६/७७ पु¥याइएको छ ।

 

आयोजनाको शुरूको लागत  १२ अर्ब ८० करोड भएकोमा हाल संशोधन गरी २६ अर्ब २ करोड पुर्‍याइएको मन्त्रालयले बताएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोषका निम्ति तयार पारिएको गुरुयोजना, लुम्बिनी क्षेत्र विकास कोषको गुरुयोजना अहिलेसम्म पूरा भएका छैनन् । उत्तर दक्षिण कर्णाली लोकमार्गको अवस्था पनि उस्तै छ ।