अन्तरवार्ता

भिडियो

कभर स्टोरी

राजा बिहान एक्लै ‘वाक’मा जान्थे, राति एक्लै ‘ड्राइभ’ गर्थे (भिडियोसहित)

शुक्रबार, २५ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

राजा बिहान एक्लै ‘वाक’मा  जान्थे, राति एक्लै ‘ड्राइभ’ गर्थे (भिडियोसहित)

काठमाडौं । चिनियाँबहादुर बस्न्यात नेपाली सेनाका पूर्वसहायक रथि हुनुहुन्छ । उहाँ नेपाली सेनाको पहिलो प्यारासुट पल्टनको कमाण्डर  पनि हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा नेपाली सेनाले पहिलो प्यारा जम्पर पाएको थियो । घटना २२ सालको हो । जुन बेला उहाँ र उहाँको टोलीले इजरायलमा यस्तो तालिम लिएको थियो । त्यो परिवेस, नेपाली सेनाको विगत र वर्तमानबारे बस्न्यातसँग नेपालआजले गरेको कुराकानीको सार निम्नानुसार छः 

तत्कालीन शाही नेपाली सेनामा प्यारासुट पल्टन थिएन । २०२२ सालमा प्यारासुट पल्टनमा जानेहरुको नाम मागियो । म त्यो बेला लप्टन थिएँ । विभिन्न दर्जाका अरु सैनिकले पनि आवेदन दिए । तर १५ जना छानिए । यो स्वेच्छिक थियो, करकाप थिएन । तालिम लिन हामीले इजरायल जानु पर्ने थियो । त्यो समूहको कमाण्डर मलाई भनियो । इजरायलमा प्यारासुट तालिम गरेर फर्किनु पर्ने थियो । 

 

हामीलाई त्यो काम गोप्य राख्नु भन्ने सर्कुलर थियो । यतिसम्म भनियो कि आफ्नो युनिफर्मसमेत नलिई इजरायल जान भनियो । अनि १५ जना गइयो । टोलीमा चार जना लप्टन, चार जना जम्दार र ७ जना हवल्दारहरु थिए । 


इजरायलमा सम्बन्धित अफिसरहरु हामीलाई लिन आए । त्यो बेला युद्ध कलाकै एक विशेष फौज हो यो । परेको बेलामा यस्तो तालिम लिने सैनिकहरुको पनि महत्व हुन्छ । नेपाल फर्केर आएपछि नेपालमा पनि प्यारासुट तालिम स्कुल खोल्ने योजना त्यो थियो । त्यही सिलसिलामा विभिन्न खाले तालिम पनि गरियो ।

 

नेपाली सेनामा विभिन्न किसिमका तालिमहरु हुन्छन् । दर्जाअनुसार तालिम फरक हुन्छ । प्यारासुट त १२ सय फिटमाथिबाट हाम्फाल्ने तालिम हो । त्यो सुरुमा त डरलाग्दै हुन्छ । 

...

२२ सालतिरको कुरा गर्दा त्यो बेला मानिसहरुमा सरलता धेरै थियो । आफ्नो काममा व्यस्त हुन्थे । नेपालीहरुको सोझोपन देखेर सबै छक्क पर्थे । जनसंख्या पनि कम थियो । अहिलेको समय फरक आयो । विकृति बढ्यो । जनसंख्या पनि बढ्यो । काठमाडौंको पर्यावरण पनि अहिले त धेरै बिग्रियो । २२ सालतिर फाटफुट मोटरसाइकल चल्थे । सार्वजनिक बस थिएन । मेरो बुबाले दिएको मोटरसाइकल मसँग पनि थियो । मैले चलाएको मोटरसाइलकको आवाजले सबैले चिनिसक्थे । तर हामी धनाढ्य चाहिँ होइन । मध्यम वर्गीय थियौं भन्दा हुन्छ । 

 

काठमाडौंका पुराना बासिन्दा हामी हौं भन्दा फरक पर्दैन । काठमाडौंका नदीमा हामी पौडी खेल्न जान्थ्यौं । फोहोर भन्ने थाहा थिएन । यति धेरै फोहोर भएको देख्दा दुःख लाग्छ । 

 

हामीमा चेतना कम भयो । किताबी ज्ञान त बढ्यो । व्यक्तिगत स्वार्थमा मात्रै ध्यान जान थालेको छ । सहयोगको भावना छैन । 

...

खेतिपाती गर्ने र सरकारी सेवामा पनि मानिसहरुको आकर्षण थियो । निजी क्षेत्रले खासै रोजगारी सिर्जना गर्दैन थियो । त्यो भएकोले मानिसहरुले सरकारी जागिरमा आकर्षण थियो । सुविधा, सामाजिक सुरक्षा, इज्जत पनि भएकोले पनि मानिसहरुलाई सरकारी जागिरमा ध्यान बढी जान्थ्यो । कोही प्रहरी, कोही  सेनामा जान रुचाउँथे । अहिले पनि यो आकर्षण घटेको छ जस्तो लाग्दैन । तर अब कुन क्षेत्रमा रोजगारी गर्ने भन्ने धेरै खाले विकल्पहरु छन् । 

...

राजालाई देउता मान्ने युग थियो । सरकारको डर पनि थियो । राजनीतिक दलहरुको धारणा फरक थियो । जनताले भने सरकारमाथि विश्वास गर्थे । अपराध नियन्त्रणमा थियो । राजा एक्लै बिहान ‘वाक’मा हिँड्थे । राति एक्लै ‘ड्राइभ’ गर्थे । 

...

अहिलेको मानिसमा बढी स्वार्थ हावी भयो । आफ्नो स्वार्थ पूरा भए देश नभए पनि हुने भइसक्यो । यो भन्दा घोर अनर्थ के होला ?