कभर स्टोरी

स्ट्रेट फरवार्ड

भिडियो

अहिलेका नेपाली सेनालाई पुर्खाको इतिहास थाहा छैन :प्रेमसिंह बस्न्यात (भिडियाे)

बुधबार, २३ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

अहिलेका नेपाली सेनालाई पुर्खाको इतिहास थाहा छैन :प्रेमसिंह बस्न्यात (भिडियाे)

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि प्रेमसिंह बस्न्यातले सैन्य इतिहासमा विद्यावारिधि गरेका छन् । नेपालको इतिहास र गोर्खाली सेनाबारे उनीसँग धेरै ज्ञानका सामग्री छन् । मूलतः  पृथ्वीनारायण शाहदेखिको नेपालको इतिहासबारे उनले अघिल्लो शृंखलामा पनि नेपाल आजसँग कुराकानी गरेका थिए । उनले कुराकानीको दोस्रो शृंखलामा एकीकरण पछिका कुराहरू गर्दै उनले दिएको भिडियो अन्तर्वार्ताका क्रममा व्यक्त गरेका विचारको सार  ः 

 

हामीले यो भन्दाअगाडिको शृंखलामा नै कुुरा गर्यौं । नेपालको एकीकरण गर्ने सबै श्रेय पृथ्वीनारायण शाहलाई मात्र दिइएको छ । त्यसभन्दा अघिदेखि नै एकीकरणका प्रयासहरू थालिएका हुन् । जमिन कब्जा गर्नु उनीहरूको उद्देश्य थियो । द्रव्य शाहको पालामा पनि राज्य सीमा विस्तारका कामहरू भएका थिए । 

 

पुराना इतिहासकारहरूले नेपाल एकीकरण गर्नुभन्दा अघि काठमाडौं उपत्यका मात्र नेपाल थियो भनेर दाबी गर्छन् । तर, त्यो गलत हो । नेपाल निकै ठूलो भूगोलमा थियो । पछि टुक्रँदै टुक्रँदै गएर खुम्चिएपछि काठमाडौं नेपालको राजधानी भएको हो । द्रव्य शाह पहिले लिगलिग कोडका मात्र राजा थिए । पछि तल्लो कोडमा हमला गरेर जिते । चौतर्फी रूपमा जितेपछि त्यो राज्यको नाम गोरखनाथको नामबाट गोरखा राखिदिए । द्रव्य शाहपछि उनका नाति राम शाहले कुकुरघाटसम्म जिते । त्यसपछि अन्य पुस्ताले कहिले काठमाडांैमा सैनिक राखे त कहिले हमला गरे । पृथ्वीनारायण शाहको बुवाले पनि नुवाकोटमा हमला गरेका हुन् । तर, असफल भए । पछि गएर २ सय ९८ वर्षपछि मात्र अहिलेको नेपाल रहन गयो । यस अर्थ अन्धोक्त भएर एकीकरणको श्रेय पृथ्वीनारायण शाहलाई मात्र दिन मिल्दैन । 


पृथ्वीनारायण शाहको मृत्युपछि र कोतपर्व भन्दाअघिको समयमा राजाहरू छिट्टै मर्ने  र ४/५ वर्षका बालकहरू राजा बन्ने गर्दथे । त्यस्तो अवस्थामा कति रानीहरूले पनि राजकाज गर्ने गर्थिन् कि त भाइभारद्वारहरूले पनि शासन चलाउने गर्थे । गीर्वाणयुद्धको पालमा भीमसेन थापा शक्तिमा थिए । त्यतिबेला सतलज भन्ने ठाउँसम्म बहादुर शाह पुगेका थिए । बडाकाजी अमरसिंह थापा, भक्ति थापालगायतका टोलीहरू थिए । त्यतिबेला काँगडासम्मको जमिन कब्जा गरे । त्यतिबेला लडेको ठाउँमा जितेपछि दुश्मनको अवशेष भन्ने कुरा नै रहन हुन्न थियो । सबै सिध्याउनुनै पर्दथ्यो ।
काँगडामा अमरसिंह थापाले किल्ला बनाएर ४ वर्षसम्म घेरेर राखेका थिए ।

 

भीमसेन थापा शक्तिमा हुँदा उनले अर्को नेपाली सेना फौज उनको भाइ नैनसिंह थापाको नेतृत्वमा पठाए । अमरसिंह थापाले दुश्मनहरूलाई आत्मसमर्पण गराउन चाहन्थे । त्यो केही समयपछि सम्भव पनि थियो । तर, पछाडि गएका अर्का टोलीले युद्ध लडेरै छाड्ने भए । नैनसिंह थापाको नेतृत्वमा पछिल्लो फौजले युद्ध लड्यो । त्यसबेला नेपाली सेनाको ११ सय फौज मरे । तर, अमरसिंह थापाको पहिलेको फौजले सहयोग गरेन । नेपालको इतिहासमा यो सबैभन्दा दुःखदायी घटना पनि हो । उनीहरूले सहयोग नगर्ने कारण चाहिँ पारिवारिक थियो । उनीहरूको जुंगाको लडाइँले गर्दा बाँकी फौजपनि भाग्नुपर्ने अवस्था आयो । त्यसपछि नेपाली सेना भागेर सतलजमा आएर बसे । त्यसपछि पश्चिमतिर हाम्रो फौज अगाडि बढ्न सकेन । 

 

काजीहरूको जुंगाको लडाइँले गर्दा हामीले धेरै घटनाहरू बेहोरेका छौँ  । नेपाल अँग्रेज युद्धमा हामीले धेरै कुराहरू गुमाउँछाँै । हामी पश्चिममा महाकाली र पूर्वमा मेची नदी र दक्षिणमा पनि हामी खुम्चिनुप¥यो । अझ महाकाली र कालीको बीचमा पनि मधेस हाम्रो थिएन । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हाम्रो थिएन । पहाड मात्र थियो । विसं १९१४ सालमा भारतमा बृटिशविरुद्ध ठूलो विद्रोह भयो । त्यसबेला नेपाली फौजको पनि आवश्यकता प¥यो । नेपालबाट करिब २० हजार सेना लिएर जंगबहादुर आफैँ गए । जंगबहादुर आफैँ युद्ध लड्ने बहादुर योद्धा पनि थिए । उनलाई इन्डियन सरकारले युद्ध लडेबापत ठूलो धनराशिको अफर पनि गरेको थिए । तर, उनले गुमेका आफ्ना जमिनहरू मागे । तर, भारतले सबै दिन मानेन । त्यसस्वरूप १९१६ सालमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालले फिर्ता पायो ।  नेपालमा धेरै इतिहास निष्पक्ष ढंगबाट लेखिएको छैन । भीमसेन थापालाई नायक मात्र बनाउन खोजिएको छ । प्रशासनिक काममा अब्बल देखेपनि उनले कहिल्यै लडाइँ लडेनन् । उनको कारण नेपाल सानो भूभागमा खुम्चिनुपरेको होे । 


तर, उनको नाति अर्थात् भाइको छोरीको छोरा हुन् जंगबहादुर । भीमसेन थापा र उनमा तुलना गर्नुपर्दा जंगबहादुरले भीमसेनको तुलनामा धेरै काम गरेका छन् । तर, निष्पक्ष ढंगबाट इतिहास नलेख्नाले भीमसेन थापाका कमजोरीहरूलाई लुकाइयो । त्यतिबेला पैसा दिएरै आफ्नो इतिहास लेख्न लगाइयो । लामो इतिहास बोकेको नेपाली सेनाको अहिलेको अवस्था हेर्ने हो भने निकै दरिद्र छ । पहिले जस्तो वीर सेना छैनन् यहाँ । मैले पनि लामो समय सेनामा काम गरेँ । अहिलेका नेपाली सेनाले आफ्नो इतिहास बिर्सिएका छन् । आफ्नो इतिहासबारे अहिलेको सेनालाई केही थाहा छैन । अहिले ‘सिपाही’ नामको एउटा पत्रिका निस्कन्छ । तर, त्यो पत्रिकामा सैनिक इतिहासबारे लेखिँदैन । अनावश्यक कुराहरू मात्र हुन्छन् । राजा महेन्द्रको पालादेखि कथा, कविता र इतिहास लेखिँदै आएको पत्रिका हो । त्यसमा तिनै कुराहरू लेखिनुपर्छ । 

 

नेपाली सेनालाई मेरो सुझाव छ । सेनाको आर्थिक, राजनीतिक विभिन्न पक्षको उत्खनन गर्नका लागि वर्षमा एउटा पिएचडी गर्न ५ लाखको छात्रवृत्ति दिने गरौँ  । वास्तवमा नेपाली सेनाको बारेमा जनतालाई थाह छैन । त्यसको लागि किताबहरू लेखेर निःशुल्क बाँडिनुपर्छ । इतिहास लेख्ने, सालिक बनाउने, संग्रहालय बनाउने काममा नेपाली सेना फर्किनु पर्छ । जबसम्म आफ्नो पुर्खाको बारेमा थाह छैन तबसम्म जग नभएको घरमा बसेको मूल्य हुँदैन । त्यसैले नेपाली सेनाको वास्तविक सकारात्मक पक्षबारे नेपाली जनताले थाह पाउनु जरुरी छ ।