समाचार

अर्थ

शेयर

सेयर बजारका लगानीकर्ता आन्दोलनमा 

सोमबार, २१ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

सेयर बजारका लगानीकर्ता आन्दोलनमा 

काठमाडौं । आन्तरिक राजस्व विभागले बोनस र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पुँजीगत लाभकर असुल्नु भन्दै धितोपत्र बोर्ड, नेप्से तथा सिडिएसीलाई दिएको निर्देशन विरुद्ध सेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

 

लगानीकर्ता संघहरुले उक्त निर्णय अव्यवहारीक भएको बताएको छ । सरकारको यो निर्णयले पुँजीबजारलाई नै नकारात्मक असर पार्ने भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । 

 

सरकारले पहिलो पटक यस्तो निर्णय गरेको हो । सरकारको निर्णय विरुद्ध उनिहरुले सोमबार (आज) सेयर कारोबार गर्न छाडेर नेप्से घेराउँ समेत गरेका छन् । 

 

आन्तरिक राजस्व विभागले जारी गरेको पत्रले लगानीकर्ताको भावनामा गम्भीर असर पारेको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताएका छन् । सरकारको यस खालको निर्णयले पुँजी बजारलाई निरुत्साहन गर्ने उनले बताए । 

 

सरकारको निर्णय विरुद्ध लगानीकर्ता संघहरुले सामुहिक रुपमा प्रेस बिज्ञप्ती समेत जारी गर्दै सरकारको निर्णय करको सर्वमान्य सिद्धान्त विपरित रहेको बताएका छन् । उनीहरुले तत्काल उक्त निर्णय फिर्ता लिन आग्रह पनि गरेका छन् । 

 

अब लगानीकर्ताको खरिद मूल्यमा हकप्रद र बोनस शेयरको मूल्यलाई जोडी औसत मूल्य कायम गरी सो रकममा ७ दशमलव ५ प्रतिशत अन्तिम कर निर्धारण गर्न सरकारसँग संघले माग गरेको छ ।

 

यस अघि अर्थमन्त्रालयले आधार मूल्य तय गरिदिएको थियो । त्यही अनुसार पुँजीगत लाभकर गणना हुँदै आएको थियो । तर, अब भने बोनस र हकप्रदलाई एक सय रुपैयाँ मानेर गणना गर्न निर्देशन दिएको संघले बताएको छ ।


बजारीकरणको सिद्धान्त अनुसार सरकारको निर्णय सुहाउँदो नभएको उक्त बिज्ञप्तीमा भनिएको छ ‘यो निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गर्छाै ।’ सरकारले अहिले घाटामा पनि लाभकर तिर्नुपर्ने गरि नयाँ व्यवस्था गरेको प्रति पनि लगानीकर्ताहरु असन्तुष्ट रहेका छन् ।