बिचार

‘मेरो गधा बुद्धिमानी कि प्रधानमन्त्री ?’ 

केपी ओलीको अतिवादी राष्ट्रवादले सोतर पार्‍याे !

शनिबार, १६ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

‘मेरो गधा बुद्धिमानी कि प्रधानमन्त्री ?’ 

काठमाडाै‌ं । सहरमा ठूलाबडाहरुको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो । उसले आफ्नो मुलुकको प्रधानमन्त्रीलाई व्यंग्य हान्दै भन्यो ‘मित्रहरु म तपाईंहरु समक्ष भन्न चाहान्छु कि यो प्रधानमन्त्री भन्दा त मेरो गधा नै बुद्धिमान छ ।’ 


यो कुरा आगोसरी फैलिएर प्रधानमन्त्रीको कानमा पुग्यो । उनले सिपाही लगाएर घिसार्दै आफन्तीलाई बादशाह अघिल्तिर हाजिर गराए । प्रधानमन्त्रीले आफूलाई निन्दा गरेको दोषारोपण गरे र कडाभन्दा कडा सजायको माग गरे । रिसले चुर हुँदै आफन्तीलाई बादशाहले सोधे-‘तिमीले प्रधानमन्त्रीभन्दा मेरो गधा नै बुद्धिमान छ भनेर कसरी भन्यौ ? तिमीसँग के प्रमाण छ ?’ ‘मसँग प्रमाण छ’ आफन्तीले जवाफ दियो ‘एकचोटि म मेरो गधा चढेर पुलबाट जाँदै थिएँ ।

 

कुनै जनावरको खुट्टा त्यस पुलको यौटा प्वालमा परेर झिक्न कठिन भएको रहेछ । मेरो गधाको प्रयासबाट त्यसले बल्ल बल्ल आफ्नो खुट्टा प्वालबाट झिक्न सफल भयो । यसको केही दिनपछि म फेरि त्यही पुलबाट जानु पर्‍यो । त्यसबेला के भयो भने मेरो गधा त्यो प्वालमा खुट्टा पर्ला भनेर होशियार भयो । तर सरकारको प्रधानमन्त्री कस्तो छ नजर गरिबक्स्योस ।

 

जनताले विहानदेखि बेलुकासम्म ठग, बदमास, चोर भन्ने गर्छन् । त्यही पनि उसले जनता ठग्ने, लुट्ने र दुख दिने काम छोडेको छैन । सरकार के मेरो गधा यो प्रधानमन्त्रीभन्दा बुद्धिमान छैन र ?’ हा...हा..हा ठीक छ, ठीक छ । प्रधानमन्त्रीतिर हेरेर बादशाहले उर्दी जारी गरे– ‘आजदेखि तिमीले उसका गधाको अनुशरण गर्नू ।’ 

 

सत्ययुगमा रावणको कब्जाबाट नारीत्व बचाएर फर्किएकी सीता आफ्नै पति राजा भएको रामराज्यभित्र अग्निपरीक्षामा होमिनु परेको थियो । आलोचक भनिएको धोवी पात्र त एउटा निहुँ मात्र थियो– सत्ता र शक्तिको अहं कति विवेकशून्य हुन्छ भन्ने उदाहरणको तस्वीर त्यो बेलादेखि यो बेलासम्म आउँदा सक्कल बम्मोजिम नक्कल उस्तै छ ।

 

पोखरीमा माछाले हजारौं, लाखौं फूल पार्छ तर कसैलाई पत्तो हुन्न, यद्यपि कुखुराको पोथीले एउटा अण्डा पारेपछि बस्ती नै थर्काउँछ । प्रधानमन्त्री केपी ओलीप्रति अनास्था हैन तर माईक पाउनासाथ उहाँका हुँकार पनि कुखुरीको कोरकोराइ भन्दा कम छैन् । प्रधानमन्त्रीले शूत्रवद्ध बोल्नुपर्छ ।

 

मन, मुटु, मस्तिष्क सन्तुलित बनाउनुपर्छ । आशा जगाउनुपर्छ । शास्त्रले भन्छ– चारै प्रहर जागा रहनुपर्छ । देश चलाउने मुखियाका पदभन्दा प्रोफाइल नभएका मानिसबाट जनताको इच्छा अपेक्षा बढ्दो छ । सामाजिक सञ्जालमा महत्व पाएका विषय राजनीति धर्म, मर्मलाई सोतर पार्ने खालका छन् । 

 

यस्तो अवस्थामा राजनीतिकर्मीलाई राजनीति र ओहोदाको वजन बढाउन सत्कर्मको जरुरी छ । निजीक्षेत्र जस्तो सुक्सुकाउँदो सरकारी अस्पताल किन बनेन ? तीनवटा कोठामा निजी बैंकले दिएको सुविधा सरकारी बैंकले बंगला हुँदा पनि किन दिन सक्दैन ? ठूला व्यापारीले उत्पादन गर्ने विस्कुट, चकलेट, चाउचाउ, मदिरा देशव्यापी हुन चौबीस घण्टा काफी छ । तर सरकारी संयन्त्रले दिने मलखाद, चामल, नून बरु कुहिन्छ, कुपोषणले मानिस मरेको समाचार आइपुग्दा समेत मुखमा सितो पुग्दैन ।

 

एउटा गरि.बले ज्यान जोखिममा राखेर भेला पारेको एकमुठी यार्सागुम्बा, ठूलो ओखती, चिराइतो, जुम्ला, हुम्लाको स्याउले गन्तव्य पुग्ने क्रममा देशका सबै कानुन आकर्षित हुन्छन् । भरसक उसलाई काठमाडौं झर्दा त्यो ‘अवैध’ माल बस्तुसहित पुलिस पत्रकार सम्मेलन गर्न हतारोमा पुगिसक्छ ।

 

ठूलाबडा विदेश जाँदा देख्नुहुन्छ– त्यहाँ व्यक्तिलाई बाघ पाल्ने अनुमति दिएको हुन्छ । सर्प पालिन्छ । यहाँ परिवर्तनका नाटक भए तर आफ्नो बारीमा हुर्काएको सालको बोट काट्दा ज्यान मारेको भन्दा ठूलो सजाय हुन्छ । मानिस अरबपति त भए तर उसले निजी विमान किनेर चढ्ने अधिकार आजका मितिसम्म कानुनले बन्देज लगाएको छ ।

 

जनतामारा यति कानुन छन, जसको नामेठ गर्ने हिम्मत कसैमा छैन । सरकारी संयन्त्रको नेतृत्वमा भएका विकासप्रति कसैको भरोसा छैन । जब इन्जिनीयरको कार्य, सम्पादन र मूल्यांकन उसको कर्मसँग जोडेर हुँदैन भने यस्ता त्रुटी संस्कृति बन्ने नियति कसैले छेक्न सक्दैन । उपभोक्ताले किनेको माटाको सानो घैंटो पानी चुहुने भयो भने व्यापारीले नाकाका चालमा साट्छ । सरकारी कुर्सीमा बसेर गर्ने गल्तीका भागिदारको अवस्था के छ ? 

 

दुई वर्षअघि अख्तियारको कारबाहीमा परेर तारिख धाउने कर्मचारी दुई वर्षपछि अख्तियारको अब्बल अनुसन्धानकर्ता भएर थिति बसाउन निस्कन्छ । भन्सार, राजस्व, अध्यागमन, नापी, मालपोत यस्ता सुन्दर उपवन हुन, नोकरी गर्नेहरुलाई दशैंमा आशिर्वाद दिँदा समेत यी ठाउँमा ‘सरुवा भएस’ भन्न बेर लाग्दैन ।

 

राजनीति गर्नेहरुको काम खोसेर अरुले आफ्नो बनाएका छन् । कोही केपी ओली सतिसाल भनेर उफ्रिका छन् । कसैले त्यही सतिसाललाई ढोडको लौरो देखेका छन् । सतिसाल र ढोडको भेद खुट्याउने मापन केही छैन । अतिवादको हावाले सबैलाई सोतर बनाएको छ । त्यसैले राजनीतिलाई आफ्नो स्वामित्वमा ल्याउनुस् ।

गाडी चलाउने चालक, ठेक्कापट्टा गर्ने ठेक्का, विद्यार्थीलाई पुस्तक, कर्मचारीलाई जनताको काम, पत्रकारलाई लेख्न, डाक्टरलाई बिरामीको उत्थानमा सीमित गरिदिनुस् । यिनीहरुको स्वधर्म यसैभित्र छ । यसका लागि सबै खाले ट्रेड युनियन, विद्यार्थी संगठन माटोमा मिलाइदिनुस् ।

 

फेसबुकले  लाखौं पानीफोके सेलिब्रेटी जन्मिए । ती सबैलाई काम दिनुस् । अमूर्त र अनुत्पादक क्षेत्रमा दिइएका अरबौंका अनुदान हटाएर चामल बीस रुपियाँ र बोइलर कुखुराको मासु पचास रुपियाँ किलोमा उपलब्ध गराइदिनुस् । क माने कलम हैन, क माने कर्म भनेर अन्तरचक्षु घोकेका दिन विकास घोटाइरहन पर्दैन । दिनमा दुईछाक मासुभात खाएर निस्किएको त्यो जनशक्ति अमेरिका पठाउनुहुन्छ कि अर्घाखाँची त्यसपछि गर्नुस गलफत्ती ।

 

अरुले तथास्तु गरेर देश समृद्ध भएको उदाहरण छैन । अर्काकाे देशमा कुदेको चुचे रेलको कथा भनेर यहाँ त्यो रेल गुड्दैन । सपना देख्नुअघि यहाँका चुहेका घर टाल्न उत्प्रेरक भइदिनुस् । घरघरमा तीनपुस्ताको अघोषित लडाईंलाई साम्य पार्ने उपाय खोजिदिनुस् । हजुरबा पुस्ता घरलौरी अनाथ बनेको छ, तिनको मुहारमा हाँसो ल्याउन गाउँ गाउँमा सामाजिक क्लब बनाइदिनुस् ।

 

शिक्षा र स्वास्थ्य यति सरल र सहज होस् कि रातमाटे स्कुलमा पढ्नेहरुको बहुमत डाक्टरको दीक्षान्त समारोहमा देखियोस् । विदेशमा सीप, ज्ञान हासिल गरेका विज्ञलाई आकर्षक मान, सम्मान दिएर स्वदेशमा तान्नुस् । उम्दा प्रतिभालाई एक्काइसौं शताब्दीको विकास अवलोकन गर्न देश विदेश पठाउनुस् । भिजन पेपरका आधारमा मानिसलाई अवसर दिनुस् ।

 

कम्युनिष्ट, कांग्रेस हैन सबल, सक्षम जनशक्ति जन्माउनुस् । माक्र्सवाद, लेनिनवाद, माओवादजस्ता घिउ नलाग्ने दर्शन घोकाएर अब एक्काइसौं शताब्दीमा खोलेफाँडो जुटाउने कल्पनासम्म पनि असभ्य कर्मभित्र पर्छ । कसैको मादल भ्वाङ पर्दैमा संसारबाट मादलको घिन्ताङ त किमार्थ हराउँदैन । माओवादीले भएजति सबै फेर्न खोजेकै हुन ।

 

आखिरमा उनीहरु आफू चाहिँ फेरिनु पर्‍यो । दलदले भूमि सिंगापुरलाई हिराको डल्लोमा रुपान्तरण गर्ने लिक्वान कुनै सरकारी कागजमा दस्तखत गर्नु अघि यौटा प्रश्न गर्थे– ‘यो निर्णयले सिंगापुरलाई हित गर्छ कि अहित ?’ कर्मचारीले उपलब्धिको बेलिविस्तार लगाउँथे । त्यसपछि उनी आँखा चिम्लेर सही धस्काउँथे । देश बनाउनेले आफ्नो कर्मले जवाफ दिनुपर्छ । ट्याउँ ट्याउँ त पिँजडाको सुँगाले पनि बोल्छ ।
 
आकास खसेर या धर्ती उल्टिएर मानव सभ्यता नै सखाप हुनुलाई मात्र बर्बाद नठान्ने हो भने माया पात्रोले भविष्यवाणी आंशिक असत्य छैन् । आफ्नै सन्तानमाथि बलात्कार गर्नु , बाउआमा मिलेर आफूले हुर्काएको रगतको डल्लोमा आगो लगाउनु , घरमा चोरी गराएरै त्यही चोरसँग महिला टाप कस्नु , कुदिरहेको बसमा किशोरीमाथि मिलेर बलात्कार गर्नु , सन्तानको लालनपालन गर्न नसकेर बच्चासहित डोरीमा टाँगिनु, पुलबाट हाम्फाल्नु यिनै प्रतिनिधि घटना हुन, जसले हाम्रो सामाजिक मनोदशाको प्रतिनिधित्व गर्दछन् ।

 

अपराधी तर्सने यसखाले घटना परिघटनाको शूत्रपात कहाँबाट हुन थाल्यो ? विश्वका क्रुर तानासाह मानिने इदिअमिन, बोकासादेखि विन लादेन र सद्धाम हुसेनहरु पनि माथिबाट तल हेरेर भन्दा हुन– ‘थुईक्क अपराधी हो, अपराधको पनि हद हुन्छ नि !’

महिलाको विषयमा महिला, मधेशीको विषयमा मधेशी, जनजातिको सरोकारमा जनजाति, थारुको विषय उठनासाथ थारु मात्र उफ्रिने भएपछि यो समाजमा अपराधीको परिचय संकटमा परेको छ । कतै न कतैको फेरो समाउने चलनले अन्याय विरुद्ध खबरदारी गर्ने स्वयम्भूका दुई आँखा निस्सार र निशब्द बनेका छन् ।

 

कार्पेटमाथिको नभएर कार्पेट मुनिका फोहोर निकालेर निहुँ खोज्ने प्रवृत्ति हावी हुँदा समाधानभित्र समस्या निकाल्ने दीर्घरोगीहरुको खेतीपाती मौलाएको छ । समस्या आफैँमा कहिल्यै समस्या हुँदैन । जब समस्यालाई समस्याको आँखाले हेरिन्छ तब समस्या सधैँ गुजुल्टो बनेर उपस्थित हुन्छ ।

 

मनोविज्ञहरुका अनुसार मानिस तीनखाले बुद्धिका हुन्छन् । जसलाई केरापाते, कम्बल र जुत्ता बुद्धि नामाकरण गरिएको छ । जसरी केराको पात चाहेजति च्यात्न खोज्दा अरु बढी च्यातिन्छ, त्यसरी नै केरापाते बुद्धि भएकाहरु थोरै सिकाइमा धेरै बुझ्छन् । कम्बल बुद्धि भएकाहरु सियो छिराउन्जेल प्वाल देखिने र निकाल्ने वित्तिक्कै जस्ताको तस्तै भएजस्तै कुरा गरुन्जेल सम्झन्छन, छोडेपछि जस्ताको तस्तै । जुत्ता बुद्धि भएकाहरु जुत्ता सिलाउँदा जुत्तामा जत्रो प्वाल पारिन्छ, नफाटुन्जेल उत्रै भएजस्तै तिनीहरु पनि जति सिकाएको छ, त्यतिमै सीमित रहन्छन् ।

 

सम्भवत नेपालको राजनीतिमा अहिले कम्बल बुद्धिकाहरुको प्रभुत्व छ । हेक्का रहोस् पुलिस, सेना र कर्मचारीतन्त्रले लगाइदिएको दुइदिने कर्मकाण्डी नक्कली प्वाँखले दुई पाइला पनि उड्न सकिन्न । मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री मध्ये यति भाग्यमानी प्रधानमन्त्री थिए ।

 

 जसले सेनाको मानार्थ जर्नेल पदवी मात्र होइन, सैनिक पोसाकमै हिंड्ने अवसर पाए । तर खै उनको परिचय सैनिक अफिसरका रुपमा कहिल्यै बनेन् । बरु ६ महिना लर्कोमा सर्को खरदार जागिर खाएका उनका पिताजी जिन्दगीभर खरदार कृष्णप्रसाद कहलाए । पदमा को कति बस्यो भन्दा पनि पदमाथि कसले कति न्याय गर्योे भन्ने चाहिँ महत्वपूर्ण हो । 

 

राजनीतिक नेतृत्वले ढुक्क भए हुन्छ– समस्या राउटे, चेपाङ, कुसुण्डा बस्तीमा छैन । समस्या त समस्यालाई सधैं समस्या देखेर हात हाल्न हिम्मत नगर्ने सोचमा छ । समस्या अन्नको रासमा पुगेर पनि भोककै गीत गाइरहने राजनीतिक नेतृत्वमा छ । सिंहदरबार पस्दा संसार सम्याउने हाँक लिएर पस्ने नेताहरु निस्कँदा चोर बिरालो जस्तो दूध चोरेको नदेख्ने, पिटाइ खाएको देख्ने जस्तो भएर निस्कन्छन् ।

 

नेपालमा कस्तो सुन्दर राजनीति चल्छ भने गरिबीको राग अलापेर राजनीति गर्नेहरु आफू समृद्ध बन्छन तर गरिबको उन्नयन कहिल्यै हुँदैन । हामी गरिब या गरिबी कसको उन्मूलन गर्दैछौं, त्यसको स्पष्ट राजनीतिक जवाफ कसैसँग छैन । गरिबीको अन्त्य गर्न गरिबलाई बाख्रो त दिन्छौं, तर जाँडको सितनका लागि बाख्रो नै सिध्याउने त्यो गरिबको गरिबी कसरी अन्त्य होला त्यसको अर्थशास्त्रीय जवाफ कसैसँग छैन् । चुलोले नचिनेको राजनीति र खोटो मोहोर एउटै रहेछ भन्ने तथ्य बारम्बार प्रमाणित हुँदै आएको छ । हाम्रा लगानीहरु नुन, सुन र लसुनमा भन्दा भनसुनमा केन्द्रित बन्दै गए ।

 

सफल राजनीतिज्ञले आफू दुख काटेर जनता समृद्ध बनाउँछ । तर भएको औकातबाट जनतालाई झार्ने विचित्रको उल्टो प्रहसन दिनरात चलिरहेको छ । यो देशमा भिमसेनलाई पसिना आएको खबरले हप्तौं महत्व पाउँछ तर खाडीको तातो भुंग्रोमा जीवन बिसाएकाहरु खबरविहीन बन्छन् । तिनीहरुकै खरानीभित्र रेमिट्यान्स खोजेर हामी देशको भविष्यमाथि बहस गरिरहेका छौं ।

 

एकपल्ट दैनिकीको पात्रो पल्टाउनुस् त । धारामा पानी छैन, बाटो छैन, गाडी चढ्नुस चालकको ठाउँ सहायकले ओगटेको छ । अन्तरीक्षयात्रीहरुले मंगलग्रहमा पानी पत्ता लाएको समाचार सुन्ने नेपालीहरु मेलम्चीको मिथकमा अझैँ मुख मिठ्याउँदैछन् । विकासको स्वरुप कस्तो छ भने १० लाख सवारीधनीका लागि काठमाडौंमा ६ लेनका सडक बन्छन् तर ३० लाख बटुवाका लागि केही नसोचे फरक पदैन ।

 

ठूलाबडाले त्यही सुँगुर बँदेल भनेर खाँदा उसको इज्जत बढ्छ, गरिबले सुँगुर खाए पानीबाट काढिन्छ । युवायुवती मिलेर बसे सभ्य भाषाको लिभिङ टुगेदर रे ! त्यही सम्बन्धमा हिसाब किताब नमिले सडकदेखि सदनसम्म बलात्कार नामको महाभारत ।

 

स्वेच्छाले रेष्टुराँमा पसेका एकजोडी युवायुवतीलाई पक्रिएर पत्रकार सम्मेलन गर्दा सिंगो प्रहरी बाघ मारेको फुइँ लगाउँछ तर विदेशी भूमिमा तिनै महिलाले शरीर बन्धक बनाएर पठाएको पैसा इज्जतिलो रेमिट्यान्स ठहर्छ । सत्य एकातिर छ तर समस्याको जरोमा हैन, पातमा चाकाचुली खेल्नु हाम्रा लागि मनोरन्जन हुँदै गएको छ ।

[email protected]