कला साहित्य

साहित्य आज

संगीत मगरका ३ कविता

शनिबार, १६ असार २०७५ गते प्रकाशित
- नेपाल आज

संगीत मगरका ३ कविता

यात्रा तिम्रो र मेरो

तिमीलाई म छु
मलाई तिमी छौ
भन्ने कुराबाट बेखबर–बेखबर !

 

जिएपछि एक्लै
जिन्दगीका केही पल

 

तिमी मलाई भेटियौ
या तिमीलाई म भेटिएँ
भेट भयो यद्यपि

 

भेट भइरह्यो– भेट भइरह्यो
जस्तो कि–  हिँड्ने बाटो एउटै छ
जस्तो कि– हामी सँधै उही चक्रपथमा छौँ

 

जिन्दगीको रत्नपार्कमा
हिँडिरहनु–हिँडिरहनु
नसमाएरै एकअर्काको हात
अलि पर पुगेर अर्कोलाई पर्खनु
फेरि संगै हिँड्नु
भीडमा छुट्टिएर प...र पुग्नु
हेरेर एकअर्कालाई
मुस्कुराउनु !

 

गुलमोहर खसेका कुमारी गल्लीहरूमा
टेक्दै–टेक्दै हिँड्नु
एक झुप्पो खुसीहरू बोकेर

 

ठन्डी महिनाका सिन्दुरे साँझहरूमा
एक टेबल– हामी दुई
दुई कुर्सी– दुई कप कफी
घण्टौँ पनि मिनेटझैँ लाग्नु
यस्तै–यस्तै

 

बिना कुनै साइनो
बिना कुनै हक
जिन्दगीका केही
अनौपचारिक स्वर्णिम पलहरूपछि

 

बिना कुनै कारण
बाटोहरू फरक भैदियो
जस्तो बिनाकारण भेटियौँ

 

तिमी जाँदै गर्दा
एक अङ्गालो आशाहरू दिन चाहेर पनि
म मूर्ति बनी उभिरहेँ

 

तिमीले घण्टाघर निकालेर
फ्रेममा सजाई मेरो नाडीमा बाँधिदियौ र भन्यौ–

 

म जहाँ हुनेछु
मेरो समय तिमीसँगै हुनेछ ।

 


यस्तो एउटा जिन्दगी

बिना कुनै योजना
हिँड्नु कतै– एक्लै
भेटिनु कोही– अजनवी
बिना कुनै परिचय
आत्मीय लाग्नु

केही पल साथै हिँड्नु
सँगै थकाइ मेट्नु– समानान्तर बसाइमा
कुराहरू मीठो हुनु
सामुन्नेको– चिया भन्दा ।

 

आएपछि आफ्नो
जिन्दगीको स्टेशनमा
उत्रिएर जानु– हितैषी भएर
छुट्दाछुट्दै
आँखाहरूमा
एक मृगतष्णा सजाउनु
कतै फेरि भेटिइने छ कि ?

 

यद्यपि
सत्य थाहा छ
जो,छोडेर टाढा जान्छन्
फर्केर फेरि आउँदै आउँदैनन् जिन्दगीमा
किनभने समयसँगै जिन्दगीको पनि
रफ्तार तेज हुन्छ ।

 


ऐलानी प्रेम

महानगरपालिका प...र कुनामा
बिहान जन्माउनको लागि
बेथाले ग्रसित रातमै
मेलै बसाएथेँ घर
नदीमा बगी आएको ढुङ्गाहरू जम्मा गरेर ।

 

पसिनाको तपतपले कोरेँ केही जमिनको सीमा
रोपेँ सञ्जीवनी सम्झेर– केही थान हरियाली
–केही थान खुसीयाली
–केही थान अभिलाषा
र वनकै काँडाले बेरिदिएँ वरिपरि

कौसीबाट चिहाउँदै घाम–जून

 

उधेँली–उभेँली
हिँडिरह्यो समयको घोडा चढेर 

 

जब 
–सञ्जीवनी 
–खुसी
–अभिलाषाहरू
फुलेर, फलेर परिपक्व भयो

 

तब थाहा भयो
जहाँ
सबैसबै फुलाइरहेको थिएँ, फलाइरहेको थिएँ
कि त्यो जमिन पनि मेरो नाममा थिएन ।