समाचार

प्रवास

रोजगार

प्रदेश २

सिरहाका एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा

शनिबार, १६ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

सिरहाका एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा

लहान । सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् । जिल्लामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति/सूचना तथा परामर्श केन्द्रले आज सिरहामा आयोजना गरेको पत्रकार सम्मेलनमा विगत सात वर्षको अवधिमा यहाँबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएको जनाएको छ ।

 

आव ०६७/०६८ देखि हालसम्म जिल्लाबाट एक लाख आठ हजार सात सय १९ युवा वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये एक लाख आठ हजार पाँच सय १६ पुरुष र दुई सय तीनजना महिला रहेको सामी परियोजनाका जिल्ला संयोजक कविरकुमार चौधरीले जानकारी दिए ।

 

उनका अनुसार आव ०६७-०६८ देखि ०७४-०७५ को वैशाखसम्ममा यो जिल्लाबाट वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी ४० हजार ३८७ जना कतार, ३० हजार ६५८ जना साउदी र २५ हजार ५ सय ६८ जना मलेसिया रहेका छन् ।

 

सामी परियोजनाअन्तर्गत सञ्चालित सूचना परामर्श केन्द्रबाट तीन वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि जिल्लाबाट ६५ जनाले निःशुल्क सीप सिकेर तथा १२ हजार ५६९ जनाले निःशुल्क सूचना तथा परामर्श लिएर वैदेशिक रोजगारमा गएको संयोजक चौधरीले जानकारी दिए ।

 

दुई करोड ५६ लाख क्षतिपूर्ति 

वैदेशिक रोजगारको क्रममा मृत्यु भएका ३३ को शव जिल्लासम्म ल्याउन सकिएको र तीमध्ये चालू आर्थिक वर्षमा २१ जनाको परिवारलाई दुई करोड ५६ लाख १० हजार १९३ क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए । सिरहाबाट वैदेशिक रोजगारीमा जानेमध्ये करीब पाँच प्रतिशत मात्र दक्ष भएर जाने गरेका छन् ।