अन्तरवार्ता

प्रवास

भिडियो

अर्थ

कर्पोरेट

नेपालबाट अर्गानिक तरकारी मात्रै युएई पठाउने हो भने पनि नेपाली किसान मालामाल हुन्छन् (भिडियोसहित)

शुक्रबार, १५ असार २०७५ गते प्रकाशित
- नेपाल आज

नेपालबाट अर्गानिक तरकारी मात्रै युएई पठाउने हो भने पनि नेपाली किसान मालामाल हुन्छन् (भिडियोसहित)

काठमाडौं । डा. आसिफ अलि सिद्दिकी दुबईलाई आधार बनाएर नेपालसहित विश्वका धेरै मुलुकमा लगानी गर्ने नेपाली उद्यमी हुन् । डा. सिद्दिकी दुबईका नेपाली व्यापारी, व्यवसायीहरूको संगठन नेपाली बिजनेस काउन्सिलका अध्यक्षसमेत हुन् । हालै नेपालमा युएईले के कस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर बुझ्न सो देशको प्रतिनिधिमण्डल नेपाल आएको थियो । प्रतिनिधि मण्डलमा डा. सिद्दिकी पनि सहभागी थिए । दुई मुलुकका सचिवस्तरीय छलफलमा विभिन्न विषयहरू उठे । सोही सेरोफेरोमा रहेर डा. सिद्दिकीसँग गरिएको कुराकानीको मुख्य मुख्य अंश निम्नानुसार छन् : 



नेपालमा लगानीको सवालमा भएको नेपाल र युएईका सरकारी अधिकारीहरूबीचको वार्तामा तपाईं बस्नु भयो, सो वार्ताबाट तपार्इं कति आशावादी हुनुहुन्छ ? 
 

लगानीका लागि नेपाल उपयुक्त मुलुक हो । र, उपयुक्त समय पनि यही हो । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आकर्षित गर्न नेपालसँग सबै विषयहरू छन् । युएई र नेपाल आउजाउ गर्न चारदेखि पाँच घन्टा लाग्छ । पर्यटन विकासको दृष्टिले होस् वा आर्थिक विकासको दृष्टिले यो दूरी बढी होइन । तर, आजको दिनमा विकासका लागि चाहिने भौतिक पूर्वाधार निर्माण हुन सकेका छैनन्  । हामी धेरै कुरामा पछाडि छौं ।  अर्थात् विकास गर्न धेरै बाँकी छ । यसैलाई अवसर भन्ने गरिन्छ ।  यो अवसर हामीले उपयोग गर्न सक्छौं र गर्नु पर्छ । 

 

युएईका हामी व्यवसायीहरूले पनि सोचेको कुरा यो हो कि आजको दिनमा नेपालसँग सबैकुरा छ । कृषि, पर्यटन, भौतिक पूर्वाधार विकास जुनसुकै क्षेत्रमा पनि विकास गर्न जरुरी छ । नेपालको विकासमा हामी पनि एक अंश हुन चाहन्छौं । र, हामी युएईमा भएका नेपाली व्यवसायीहरूले के महसुस गर्‍यौं भने नेपाल र युएईबीच हुन सक्ने व्यापारमा केही सहजीकरण गर्नु आफ्नो दायित्व हो । यसकारण हामी अहिले नेपालमा छौं । 

 

नेपाल र दुईबीच संवाद पनि भयो । त्यो अत्यन्त सकारात्मक रह्यो । हामी नेपाल र युएईबीचको सम्बन्ध दीर्घकालसम्म सुमधुर हुनेछ । पछिल्ला दुई वर्षको कुुरा गर्ने हो भने त नेपाल र युएईबीचको सम्बन्ध अत्यन्त सुमधुर भएको हामीले ठानेका छौं किनभने दुबईमा दूतावास खुल्नाले दुई मुलुकबीचको राजनीतिक सम्बन्ध पनि बलियो भएको आभाष हुन्छ । राजनीतिक सम्बन्ध अब व्यापारिक सम्बन्धमा पनि परिणत हुँदैछ । यो सम्बन्ध बलियो होस् भन्नका लागि नेपाली बिजनेस काउन्सिलले सहजीकरण गरिरहनेछ । 

एनबिसी अध्यक्ष डा. आसिफ अलि शिद्धिकीलाई मायाको चिनो प्रदान गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे । तस्बिरः नेपालआज

नेपाली पक्षले ढुक्क भएर लगानी गर्न यएईलाई आग्रह गर्‍यो होला । कस्ता विषयहरू भए छलफलका क्रममा ? 
 

युएईबाट नेपालमा सोझै लगानी आउनु धेरै राम्रो कुरा हो । नेपाली पक्षले केही कानुनहरू लगानी मैत्री हुने गरी सुधार गर्ने केही नयाँ कानुन ल्याउने जानकारी दिएको छ । यसबीच केही धेरै राम्रा राम्रा कुुराहरू पनि भएका छन् । जस्तो कि सतप्रतिशत स्वामित्व ग्रहणको कुरा र त्यस्तै दोहोरो करको विषयमा पनि राम्रै भएको छ ।  

 

यसकारण अवसरहरू धेरै राम्रा छन् । सरकारी र निजी क्षेत्र दुवै पक्षले दीर्घकालीन व्यापारिक सम्बन्ध निर्माणका लागि उत्साह देखाएका छन् । लगानीका लागि केही क्षेत्रको पहिचान हुनुपर्छ । नामै लिनु पर्दा कृषिमा सम्भावना छ । त्यसमा पनि कफी, चिया, अर्गानिक कृषि उपजहरू नेपालले युएईलाई निर्यात गर्न सक्छ । युएईले खाद्य सुरक्षामा नेपालसँग सहकार्य गर्न सक्छ । सबैजसो खाद्यवस्तुहरू युएईले खरिद गर्छ । यस्तोमा किन नेपालले युएईलाई कृषि उपज नबेच्ने ? नेपाल युएईबाट नजिक पनि छ । 

 

दोस्रो भनेको ड्राइपोर्ट हो । आयात निर्यातको बन्दोबस्त गर्न यस्तो पूर्वाधार चाहिन्छ । यसका लागि लगानी आवश्यक छ । यसमा हामी पनि इच्छुक छौं । हामी कम्पनीहरूको समूहमा  छौं । यसकारण हामीले स्वास्थ्य क्षेत्र, कृषिमा पनि लगानी हुने सम्भावना छ । 


प्रवासी नेपालीहरूले कुन क्षेत्रमा लगानी गर्न इच्छा देखाएका छन् तपाईंको बुझाइमा ? 
 

मेरो धारणा सुन्न चाहनुहुन्छ भने म नेपालमा सेवा क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ । त्यसमा पनि पर्यटन, आइटीजस्ता क्षेत्र ठीक हुन्छ । वस्तु उत्पादन गरिसकेपछि त्यसलाई ओसारपसार गर्न कठिन हुन्छ, किनभने हाम्रो देश भूपरिवेष्ठित छ । कृषिमा पनि सम्भावना राम्रो छ । आजको दिनमा अर्गानिक वस्तु पाउन धेरै गाह्रो छ । जताततै रासायनिक मल, विषादी मिसिएका वस्तु पाइन्छन् ।

 

नेपालमा त्यस्ता धेरै जमिन छन् जहाँ रासायनिक मल प्रयोग छैन । यसकारण नेपालले अर्गानिक कृषि उपज उत्पादन गर्ने र ती वस्तुहरूलाई आफ्नो ब्रान्ड बनाउनु पर्छ । हिमालय प्रोडक्टका रूपमा नेपाली कृषि उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने हो भने प्रशस्त सम्भावना छ । किनभने हिमालय भन्नुको अर्थ नै हुन्छ कि ठूलो । जब हामी हिमालय प्रोडक्ट भनेर कृषि उपज बेच्न थाल्छौं, मानिसहरूको अपेक्षा पनि उच्च हुन्छ । र त्यो बेला वस्तुको ब्रान्ड आवश्यक हुन्छ । ‘हिमालय प्रोडक्ट’ भन्नासाथ विश्वमा हाम्रा वस्तु बिक्छन् । तर, ती अर्गानिक हुन जरुरी छ । 

 

नेपालले उत्पादन गर्ने अर्गानिक कृषि उपजको बजार भनेको नेपालको तीन करोड जनसंख्या मात्रै होइन । भारतको सवा सय करोड जनसंख्या पनि बजार हो । त्यसमाथि भारतले नेपालका कृषिजन्य उत्पादनमा कुनै प्रकारको कर लिँदैन । चीनले पनि सयभन्दा बढी प्रकारका उत्पादनमा कर लिँदैन । यसकारण नेपाल भनेको बस्नका लागि, उत्पादनका लागि, आफ्ना सामान ठूला बजारमा बिक्रीका लागि उपयुक्त भूमि हो । 

 


यति धेरै सम्भावनाको कुरा गर्नुभयो, यसका लागि नेपाल आफैँले लगानी गर्न सक्ला कि अरू कुनै उपाय छन् ? 
 

प्रवासमा रहेका नेपाली, नेपालकै निजी क्षेत्र, विदेशी लगानीकर्ताले यस क्षेत्रमा लगानी गर्न सक्छन् । जहाँसम्म युएईको कुरा छ, नेपालबाट दैनिक चार पाँच उडान  युएईमा हुन्छ । ती सबैमा नेपाली कामदार हुन्छन् । कार्गो भन्ने खास हुँदैन । यदि हामीले ती एअरलाइन्सहरूसँग राम्रो कुरा गर्ने हो भने उनीहरूले निश्चित रकम लिएर नेपाली उत्पादन युएई पुर्‍याइदिन्छन् ।

 

हरेक दिन नेपालले ताजा तरकारी मात्रै युएई पठाउने हो भने फाइदै फाइदा छ । तर, यसका लागि अन्तर्राष्ट्रिय मापदण्डका उत्पादन भने हुनुपर्छ । जस्तो कि प्याकेजिङ, गुणस्तरको प्रमाणपत्र, आपूर्तिको सुनिश्चितता आदि हुनुपर्छ । सरकारले पनि यसमा केही त गर्नै पर्छ । जस्तो कि तरकारी उत्पादन त भयो, ल्याउने सडक राम्रो भएन भने समयमा आइपुग्दैन । काठमाडौं उपत्यकामा त खाली जमिन धेरै छैन । अन्य पहाडी क्षेत्रमा उत्पादन भएका वस्तु चाँडै विमानस्थलसम्म पुग्नु पर्छ । यी सबै कुराहरू असाध्यै राम्रोसँग प्रबन्ध गरिनु पर्छ । अन्तर्राष्ट्रिय बजारमा नियमित र आवश्यक परिमाणमा वस्तु आपूर्ति गर्न सकिएन भने अर्थ हुँदैन । 

 

 युएए र नेपालका प्रतिनिधि मण्डल, फोटो सेसनका क्रममा । तस्बिरः नेपाल आज । 

नेपालमा जलविद्युत्को सम्भावना पनि आैंल्याइन्छ, यहाँलाई के लाग्छ, नेपालले विद्युत् निर्यात गर्न सक्ला ? 
 

जलस्रोतलाई ‘ह्वाइट पेट्रोलियम’ पनि भन्ने गरिन्छ । जलस्रोत नेपालको धेरै ठूलो सम्पत्ति पनि हो । नेपालको जलस्रोतले नेपालको पूरै अर्थतन्त्रलाई परिवर्तन गरिदिने सामथ्र्य राख्छ । पानी र उमेर उस्तै उस्तै हो । यदि युवा उमेरमै सोचेको गर्नु भएन भने बुढेसकालमा गर्न सकिँदैन । त्यसैगरी पानीलाई पनि बग्दा बग्दै उपयोग गर्नु पर्छ । बगेर गइसकेपछि अर्थ हुँदैन । जलविद्युत्को विकासका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिनु पर्छ । राजनीतिक स्थिरता हुनुपर्छ । दुर्भाग्यले दुई दशक नेपालमा अस्थिरता भयो । अहिले भाग्य भनौं, राजनीतिक स्थायित्वको महसुस गरिएको छ । अबको सरकारले यो क्षेत्रमा केही राम्रा कामहरू गर्न सक्छ भन्ने लाग्छ । जहाँसम्म युएईले नेपालको जलविद्युत्मा लगानी गर्न सक्ला कि नसक्ला भन्ने प्रश्न छ, त्यसमा म के भन्न चाहन्छु भने युएई नवीकरणीय ऊर्जाका लागि विश्वभरमा धेरै लगानी गर्ने मध्येको देश हो ।

 

नेपालमा भएको छलफलका क्रममा युएईका सरकारी अधिकारीहरूले भन्नु भएको छ कि ‘नेपालमा कुन योजनामा लगानी गर्दा के कति लाभ हुन्छ, त्यो जानकारी होस् ।’ विद्युत् उत्पादन हुने हो भने बजारको समस्या छैन । नेपाल, भारत, बंगलादेश र तिब्बतमा पनि निर्यात गर्न सकिने सम्भावना छ । तर, अब आक्रामक भएर अगाडि बढ्नु पर्छ । सुस्त चालले आर्थिक प्रगति गर्न सकिँदैन । पानीको राम्रो उपयोग गर्न सरकार अब सशक्त भएर अगाडि बढ्नु पर्छ । जलस्रोत विकासको साधन हुनुपर्छ, बाढीका रूपमा विनाशक बन्नु हुँदैन । 

 

अझै भन्नुपर्दा हिमालयको पानी नै पनि हामी बेच्न सक्छौं । हिमालयको प्राकृतिक पानीमा विभिन्न मिनरल पाइन्छ । त्यस्तो विशेषता भएको पानी दुनियाँमा कतै पाइँदैन् । 


नेपाली बिजनेस काउन्सिलले नेपालमा लगानी गर्नेबारे केही योजना बनाएको छ ? 
 

हो, हामीले यसबारे सोचेका छौं । हामीले हाम्रो देशमा लगानी गर्न सक्दा देशले विकास गर्छ । देशको छवि विश्वभर राम्रो हुँदा हामी विदेशमा बस्नेहरूप्रतिको दृष्टिकोण पनि बदलिन्छ । नेपाली बिजनेस काउन्सिलमा राम्रा मानिसहरू हुनुहुन्छ । उहाँहरू सबैले जसरी भए पनि नेपालमा लगानी गर्नुपर्छ भन्नु भएको छ । नेपालका लगानी गर्ने सवालमा हाम्रो एउटै मत छ । हामी स्वास्थ्य क्षेत्रमा, कृषिमा वा कतै लगानी गर्न अत्यन्तै उत्सुक छौं, किनकी यो हाम्रो देश हो । 

नेपालमा लगानीको सम्भावना बारे छलफल गर्न आएको यएइको प्रतिनिधि मण्डलका साथ डा. शिद्धिकी । तस्बिरः नेपालआज । 

तपार्इंको ग्रुपको लगानी विश्वका धेरै देशमा छ । अन्यत्रको अनुभव पनि छ । अन्यत्र लगानी गर्न कति सजिलो छ, नेपालमा के कारणले गाह्रो छ ? 
 

हामीले भारत, अमेरिका, अस्ट्रेलिया, युएईलगायत मुलुकमा लगानी गरेका छौं । हाम्रो बुझाइमा यो संसार छिटो छिटो  बदलिरहेको छ । धेरै कुराहरू डिजिटिलाइज्ड भएको छ । हरेक कुराहरू पारदर्शी भइरहेका छन् । सबैजसो कामहरूका लागि कागजपत्र चाहिँदैन । सजिलो र छिटो काम गर्ने विधि बनेको छ । नेपालमा पहिलो झन्झट भनेको डिजिटिलाइज्डका लागि गर्न धेरै नै काम बाँकी छ । सबै सरकारी निकायहरू अनलाइनमा जानै पर्छ । विदेशमा धेरैजसो काम अनलाइनबाटै हुन्छन् । नेपालमा सरकारी कार्यालय धाउनै पर्छ । यो थिति बदलिनु पर्छ । किनभने डिजिटिलाइजेसनले समय बचत गर्छ । पारदर्शिता हुन्छ । खर्च पनि कम हुन्छ ।   


नेपालमा ३५ देखि ४० प्रतिशत बजेट पुँजीगत खर्चका लागि विनियोजन हुन्छ । त्यसमध्ये ५० प्रतिशत पनि खर्च हुँदैन । खर्च भएकाको अवस्था हेर्ने हो भने गुणस्तरीय निर्माण हुँदैन । यस्तो अवस्थामा नेपालले कस्तो क्षेत्रमा बजेटले प्राथमिकता तोक्नु पर्ला ? 

 

यति धेरै रकम फ्रिज हुनु भनेको दुर्भाग्यको कुरा हो । हामीले जे जसरी हुन्छ, बजेटको उपयोग गर्नु पर्छ  । भएको बजेटमा कुन क्षेत्रमा बढी लगानी गर्ने भन्दा पनि सबैतिर गर्नु पर्छ । कृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य जस्ता सबै क्षेत्रमा लगानी गर्नु पर्छ । सामानान्तर रूपले सबैतिर लगानी गर्ने हो  । योसँगै राम्रा जनशक्ति उत्पादनका लागि लगानी गर्नु पर्छ । 


कामका लागि विदेशिने नेपाली युवालाई के सुझाव छ ? 
 

हो, आजका दिनमा नेपालमा रोजगारी पाउन गाह्रो छ । जसका कारण युवाहरू विदेसिन्छन् । युवाहरूमा दक्षता कम हुन्छ भन्ने कुरा जुन छ, यसका फरक पाटा पनि छन् । जस्तो कि नेपालबाट युवाहरू कुनै दक्षता नलिई विदेसिन्छन्, तर, विदेशमा केही सिकेर अवश्य फर्किन्छन् । त्यो सीपलाई उपयोग गर्न त सकिन्छ । उनीहरूले जे सिक्छन्, त्यो अन्तर्राष्ट्रिय स्तरको हुन्छ । अदक्ष कामदार विदेशमा पुगेर कम्तीमा अर्धदक्ष जनशक्ति त बन्छन नै । यो अवस्थाबाट पनि फाइदा उठाउँदा के फरक पर्ला र ?