कला साहित्य

साहित्य आज

शिखर भटृका ३ कविता

शनिबार, १९ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

शिखर भटृका ३ कविता

तराजु
हाम्रो सम्बन्ध
एक तराजु थियो 
हामीलाई
हाम्रो सम्बन्धमा सन्तुलन कायम राख्नु थियो ।

 

तराजुको एक भागमा
तिमीले अलिकति माया थपिदियौ
मैले अलि बढी थपिदिएँ !
तिमिले घृणा थपिदियौ
मैले अलिक बढी थपिदिएँ ।

 

क्रमैसंग बढ्दै गए असमझदारीहरु
थपिदै गए गुनासाहरु
लालच,क्रोध,अविश्वास गए थपिदै !
खात लाग्दै गए रिसहरूको !
चुहिदै गए आँसुहरु !

 

हामी हार्न चाहेनौँ
जितको अभिलाषाले सम्बन्ध सन्तुलित रहेनन्
हल्लिइरह्यो तराजुको काँटा दुइतर्फ !
त्यो असन्तुलित तराजुको काँटा
सायद हाम्रो भविष्यको संकेत हुनसक्छ ।


 

समयचक्र 
आमाको हातमा केही चकलेट देखेर
खुसीले सिमा काट्ने हाम्रो बचपन 
आज पनि
उफ्रिरहेछ आँगनको कुनै कुनातिर !

 

आज पनि 
त्यो पिपलको छाँया उस्तै शितल छ 
जहाँ हाम्रो पैताला उड्ने गर्थे आकाशतिर चुङ्गी भेट्नलाई

 

आज पनि 
त्यो सडक किनारको चउरमा 
मयुर उसैगरी नाचिरहेको छ 
जहाँ हामी घन्टौं सम्म बसेर खेल्थ्यौं अन्ताक्षरी

 

पिपलको छाँयाको केही हिस्सा 
मैले तिमीलाई उपहार दिएको थिएँ 
आज तिमीलाई त्यहाँ खोजें,तिमि भेटिएनौ !

 

त्यो सडक किनारको चउरमा पनि पर्खिएँ तिमीलाई 
तर तिमी त्यहाँ पनि भेटिएनौ !

 

तिम्रो आमा एक्लै देखिईन् तिम्रो आगनमा !

 

मनमा डरले डेरा जमाएको छ 
तिमीण् कहीँपनि देखिएनौ !

 

कतै तिमी ठुली त भइनौ ??



चाहना

चाहँदा–चाहँदै पनि 
हाम्रो सम्बन्ध उचाइमा पुग्न सकेन !

 

म हाम्रो सम्बन्धलाई 
फलाम र चुम्बक झैँ बनाउन चाहन्थेँ 
म फलाम नै रहिरहेँ तिमी खिया बनेर आइदियौ ! 

 

मैले नचाहेको होइन
 हाम्रो सम्बन्धलाई ढुंगा र माटोजस्तो बनाउन 
म ढुंगा बनेँ तर तिमी घन बनेर टुक्र्याइरह्यौ 

 

मैले हाम्रो सम्बन्धलाई 
माछा र पानीको जस्तो बनाउन खोजेँ
हिउँ र हिमालको जस्तो बनाउन खोजेँ 
तिमी हरबखत खडेरी बनिरह्यौ !

 

मन थियो
दियोमा बलिरहेको बत्ती र तेल बनोस् हाम्रो सम्बन्ध,
कि प्रेममा उज्यालो बाँड्दा–बाँड्दै आफ्नै अस्तित्व मेटियोस् बरु ! 

 

हाम्रो सम्बन्ध त बर्षात र छाता झैँ भैदियो,
म गगनबाट तिमीलाइ चुम्न हाम्फाल्थेँ 
तिमी छाता खोलेर चुम्नबाट बञ्चित गरिदिन्थ्यौ,
म तिम्रो पैतालालाइ छोएर नै बिलाइजान्थेँ !

 

म त हाम्रो सम्बन्धलाई
ताल्चा र साँचो जस्तो सुरक्षीत बनाउन चाहन्थेँ 
तुलसी र मठको जस्तो पवित्र देख्न चाहन्थेँ !

 

चाहँदा–चाहँदै पनि 
हाम्रो सम्बन्ध सुरक्षित हुन सकेन
पवित्र बन्न सकेन ! 

 

म तिम्रो एक स्पर्शको लागि आत्तिरहेँ !

 

यसपटक 
तिम्रो स्पर्श पाउन
 म पत्कर भएर तिमी हिड्ने बाटोमा बसिरहेँ 
यो पटक तिमी बतास बनेर आइदियौ !