कभर स्टोरी

कला साहित्य

साहित्य आज

पुस्तक समिक्षाः नथियाको नरक यात्रामा प्रेम

मुनाराज शेर्मा

शनिबार, १९ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

पुस्तक समिक्षाः नथियाको नरक यात्रामा प्रेम

नरकमा प्रेम
मालती बादीलाई निख्खुर बाहुन मणि पोखरेलले प्रेम गर्छ । वादी मालतीले मणिको प्रेम स्वीकार्दिन ।  उसलाई माथिल्लो जातिले गर्ने प्रेममा विश्वास छैन । मणि गाउँ र कुलबाट अयोग्य घोषित भएपछि मालतीसँगै वादी गाउँमा बस्छ । मालतीको ग्राहक खोज्छ । ग्राहक सिद्धिए पछि मालतीको स्याहार गर्छ । प्रेमको अजीव व्याख्या र सम्बन्धको  अजीब प्रस्तुति छ यो प्रेममा । प्रेमको राज छुट्टै र परिभाषाभन्दा बाहिर छ । भोगाइभन्दा पृथक छ । यो हृदयको भाषा हो । हृदयले स्वीकारेपछि तमाम कमजोरीहरू समाप्त हुन्छन् ।

 

यो मणिको वन साइडेड समर्पित प्रेम हो । मान्छे एकतर्फी प्रेमले पनि जिउँछ । समाज कुल वंश सिङ्गै विपक्षी हुँदा पनि प्रेमी प्रेमका लागि घृणामा पनि बाँच्छ नरकमा पनि बाँच्छ । हुन त मणि कायर लाचार छाँया हुन सक्छ पुरुष सत्ताको आँखाले हेर्दा । मालतीको अस्विकृति सामन्ती समाज र पुरुष सत्ताको बिरुद्धको मौन बिद्रोह हो ।

 


क्रान्तिको कमजोर सकसक, जयनेपाल र युक्फुङ सर

‘मलाई हाम्रो जीवनसँग खेल्न्या त्यही समाजसँग बदला लिनुछ अब ।’
समाज परिवर्तनको लागि राजनीति अनिवार्य छ । युकफुङ लिम्बु ,शिक्षक पेसाले ,झापा क्रान्तिसँग सम्बन्धित एक क्रान्तिकारी जो नजिकको विद्यालयमा पढाउँछ । जयनेपाललाई अक्षर चिनाउँछ । वादीको इतिहास भन्छ । वादीहरूको जीवनको दलदलबाट उकास्ने संकेत गर्छ । वादीहरूको मुक्ति त गर्न सक्दैन तर जयनेपाल मार्फत सामलीमा अक्षर देखि वादी इतिहास, दर्शन समेतको चेतनाको बिजारोपण गराउँछ । जय नेपालमा मानसिक रुपमा यो चेतनाको उथलपुथल ल्याउनु शक्तिशाली संकेत हो तर लेखकले प्रयोग गर्न सकेन । स्कूलै नगएकी सामली बचपन देखि नै विद्रोही बन्नु दार्श्निक जस्तो भाषिक क्षमता राख्नु,निडर बन्नु,एकपछि अर्को हण्डर सहन गर्न क्षमता राख्नु युकफुङ र जयनेपालको हात छ । तर सामलीलाई भाग्यवादको घेराबन्दीमा पारेर वदिनी भएरै जिवन जिउँन बाध्य बनाइयो ।

 

हुन सक्छ सामलीले व्यक्तिगत र आफ्नो परिवारको लागि  खोजेको मुक्ति सह्रानीय छ । तर वादी समुदायको मुक्ति सम्भव देखिएन । त्यस मानेमा लेखकको कल्पनाशिलताको प्रयोग ज्यादा नभएको देखियो । लेखकले स्वैरकल्पना लेख्ने कि यर्थाथ लेख्ने कुरामा यर्थाथको पल्ला भारी भएपछि त्यै लेखियो । स्वैरमा मुक्ति देखाए पनि समग्रमा मुक्ति त थिएन । त्यसकारण यर्थाथ  लेखियो ।आखिरी  जयनेपाल हवल्दारको अवैध सन्तान हो जो परिवर्तनका लागि झापा क्रान्तिमा होमिन्छ तर फर्कदैन । लेखकले सिमान्तकृत वर्गको मुक्तिको लागि राजनैतिक चेतना जरूरी हुन्छ भन्ने संकेत सम्म गरेका छन् । वादीका लागि राजनैतिक क्रान्ति तुरुन्त सम्भव छैन भन्ने लेखकीय चेतना हो की भन्ने लाग्छ । देशमा १२ बर्षसम्म चलेको जनक्रान्तिले वादीलाई छोएन कि ? एउटा जटिल प्रश्न छ । यो राज्यमा चलेका अहिलेसम्मको क्रान्तिले वादीलाई  छाँयामा किन राख्यो ? त्यो कतै खुलेन । 

 


सामलीको चिरहरण,पुरुष अधिनायकवाद

छोरी जन्मेकोमा खुशी हुने वादीहरु जो छोरीबाट धन्दा गराएर जीवन यापन गर्ने सुख भोग गर्ने उत्कट अभिलाषाका लागि खुशीको ग्राफ वृद्धि गर्छन् ।
वादी जातिको छोरीको मासिक धर्म सुरु भएपछि कुमारी वदिनीलाई परिवारद्वारा नै अक्सनमा राखिन्छ । जसले धेरै दाम कबोल गर्छ टेन्डर उसको हातमा पर्छ । कतिसम्म घृणित हुन्छ कि एउटै पुरुषले आमाको नथिया तोडेपछि जन्मेको आफ्नै छोरीको समेत आफैले नथिया तोड्छ । गुमानसिंह ठेकेदार यसको उदाहरण हो । रैतवीले गुमानसिंलाई खुकुरी प्रहार गरी लिङ्ग छेदन गरी र आफू पनि मरी । यो एकल विद्रोह नृसंष पुरुष सत्ता विरुद्धको आँधी हो । लेखकले यो आवेगलाई ठीक ठाउँमा प्रयोग गरेका छन् ।आमा वेश्या भए पनि आमा नै हो । वेश्यावृत्ति र बाबु आमा छोरीको हाड र मानवीय नाता फरक हुन्छ भन्ने चेतना हो ।सामली धन्दा नगर्ने मानसिकतामा अडिग हुन्छे । त्यसकारण नथिया तोडाउने अक्सनको ऊ सख्त बिरोधी हो ।

 


जाँड परिवार मेला नयाँ कपडा र सहेलीको आडमा सामलीको कुमारीत्व साहु बेखामानले हालसम्मकै अधिक बोलमा अक्सन गरेर बलात्कार गर्छ । होसमा आएपछि पर्खाल नाघेर भाग्छे । सामली हरेक घटना प्रतिरियाक्टेड छे । सामलीमा शुरूमा असिम बिद्रोह छ । सामलीको चिरहरण प्रतिनीधि चिरहरण हो जहाँ पुरुष गिद्ध रुप अवतरण गर्छ । जसको मुद्धा साँस्कृतिक परम्परित पुरुष अधिनायकवादको नरकको मुहान हो । जो पीडाको अत्यचारको चरम चित्कारको अपेक्षा स्वीकार्य छ । यो पीडालाई हदैसम्म गहिराईमा लगेर चित्रण गर्न लेखक सफल देखिन्छ । लेखकले यातना विकृति विसङ्गतिको उदाङ्गो चित्र प्रस्तुत गरेका छन् ।

 


फ्रायडिय मनोचिन्तक सामली 
सामली असिमित सुन्दर छ । सामलीको सुन्दरता पुरुषको पुरुषत्व पगाल्ने भट्टी हो । विद्यार्थीदेखि हजाम, प्रहरी, डन,पत्रकार, कवि , प्रशासक प्राध्यापक अन्वेषक सम्मको यौनको भोक समन गर्ने महानदी हो, जहाँ कतै नडराउने शेरे डनले आफूभित्रको भयको पहिरो झार्छ । वर्षौंको दबिएको पीडा र क्रन्दनको पहरा भत्काउँछ, क्वाँ–क्वाँ रुन्छ । जिल्लाको कानुन,प्रशासन थरर बनाउँने शेरेको अदृश्य कमजोरीहरू पानीको भुल्का इौं उम्रिन्छ र पखालिन्छ । फ्रेस हुन्छ । नयाँ जीवन प्राप्त गर्छ ।विद्यार्थी पुनर्ताजगी प्राप्त गर्छ र अध्ययनमा फर्कन्छ । कवि मनोरोगबाट आफूलाई मर्मत गर्छ । श्रीमतीबाट पिडित प्रेमी पीडा उपचार गर्छ । रेञ्जर आफ्नो  असिमित यौनको तिर्खा सामलीको यौवनको झर्नामा तृप्त हुन्छ । यौन मानसिक तनाव,यातना समन गर्ने भट्टी हो,जो सामली चलाउँछे चाहेर वा नचाहेर। ऊ यौन मनोचिकित्सक हो ।

 

सामलीको सौदर्य र यौनको अघि हजार वर्षदेखि अडिएको जातको पर्खाल पनि धुलो हुन्छ । राज्यको सत्ताले ठडिएको प्रशासकहरूको हैकम पनि नुहिन्छ र नरम बन्छ । कानुन पनि धारा उपधाराहरूबाट मुक्त हुन्छ ।अरुबेला अछुत वदिनी यौनमा छुत र हार्दिक हुन्छ । सामलीको रूपको ज्योतिले समाजको अनुशासन मर्यादा पनि मुलायम बन्छ । तर जात सधैं फलामे जन्जिर बन्छ मुक्तिको लागि । मानव समाजको यो मजाकको नाङ्गो चित्रले मान्छेलाई गिज्याइरहेको छ । सबै मनोरोगीहरू स्वस्थ्य भएर फर्कन्छन् । सबै अररोहरू मुलायम हुन्छन् । सबै स्वस्थहरू प्रेमको रोगी भएर फर्कन्छन् । संसारको घृणित नरक भन्नेहरू स्वर्गिक आनन्दमा लिन हुन्छन्। सामली एक कुशल मनोचिकित्सक लाग्छे । यस्तो छ रूप र यौन बरमुडा ट्रेङ्गल हो, जहाँ पुरूस्त्वसँगै उसको अहम शक्ति अनुशासन मर्यादा डुबेर प्रेमील बन्छ नरम र शान्त हुन्छ ।

 


सामन्तवाद पूँजीवाद भित्रकी सामली

वादी समाज मुलतः सामन्त वर्गकै अवशेष हो । राज्यको राजनैतिक संरचना  परिवर्तन भए पछि वादीहरू भूमिका र स्रोतबाट विमुख भए । सुरुमा वादीहरू संगीतकार गायक र नृत्यकार थिए ।  हस्तकलाका कालिगढ कुशल मछुवार थिए ।राज्यको वर्गीय अवशेषका रुपमा वादीहरू मनोरञ्जन प्रदायकबाट यौनकर्मीमा रूपान्तरित भए । उनीहरुको कलाले भन्दा धन्दाले बाँच्नुपर्ने बाध्यता राज्यका सामन्त र शासकहरूले निमार्ण गरेको अधिनस्थ वर्ण व्यवस्थाले र्गयो । जस्लाई भाग्यवादसँग जोडियो । निच कर्मसँग जोडियो ।

 

कृषि कार्य उद्योग व्यापार शिल्प सबैबाट यतिसम्म कि पानीबाट पनि  बञ्चित गरियो । घेराबन्दीमा पारियो ।सामन्तवादी राज्यसत्ताले उनीहरूको सिप र कौशल वृद्धि होस् कहिल्यै सोचेन । सोच्दा भोग्न दमन गर्न नपाउँने र कमजोर भरिएकाहरू आफूसमान हैसियत राख्ने हुने मनोरोगी भयले जानाजान गरेनन् । यो सामन्त वर्गको सबैभन्दा घृणित जिवित साक्षी हो । जसलाई सामन्त वर्गको जरा उखेल्छु भन्ने माओवादले समेत देखेन ।सामली त्यही सामन्तवादको गुलाफ हो जसलाई सबैले सुँघ्ने र टिप्ने गर्छ मात्र होइन चुँड्छ नै । अझ किचिमिचि पार्छ नै ।

 


पुँजीवादमा सामली

पूँजीवादमा आफ्नो उत्पादन बजारमा बेच्न प्रतिस्पर्धामा उत्रनु पर्छ । वस्तु वा उत्पादन सीप कौशल र चमकले मात्र बिक्छ । परम्पराले मात्र व्यापार टिक्दैन । अरुभन्दा फरक क्षमताले मात्र बजारमा एकाधिकार हुन सक्छ । तर एकाधिकार हुँदैमा व्यापारमा शान्ति हुँदैन । व्यापारमा उन्नतिको साथमा ईर्ष्या प्रतिष्पर्धा जोखिम पनि सँगै आउँछ । त्यो सम्पूर्ण सीप कौशलका साथ प्रतिस्पर्धालाई सामलीले प्रयोग र सामना गरेकी छे । आफू धन्दाको बिरोधी हुँदा हुँदै परिस्थिति बस धन्दामा आउँछे क्ष् घरि आमाको औषधीका लागि घरि छोरीको दूधको लागि ।

 

लेखकले ट्रयापमा पारेर सामलीलाई धन्दामा फर्काउँछ ।अरू वदिनीहरू सामलीको अगाडि निरिह लाग्छन् । सामलीको रूप ब्राण्ड हो । त्यसमा कला पनि छ क्ष् आँसु पिएर पनि ग्राहकसँग बोल्ने हाँस्ने काममा कला भर्ने कार्यले सामलीको धन्दा उच्च कोटीको लाग्छ । वादीहरूमा सामली व्यापारिक रूपले र शक्तिको सम्पर्कले माथिल्लो वर्गकी हुन्। वादीमा पनि वर्ग छ । वस्तु हुँदैमा बजारले सजिलै स्वीकार्दैन । वस्तुले बजार जित्न प्रतिष्पर्धामा खरो उत्रनु पर्छ ।मोल उच्च सामान ब्राण्डेड बनाउँनु पर्छ ।

 


यौन प्रेम र देहव्यापार 

प्रेम सबै भन्दा शक्तिशाली भावनात्मक सम्बन्ध हो । यो सृष्टिकै सुन्दर मखमली सम्बन्ध हो जसले पत्थरलाई पनि नरमसँग जोडेर राख्छ । देहको व्यापारमा आनन्द होला तर प्रेम हुँदैन । तरयौन बिना पनि प्रेम गर्न सकिन्छ । जसरी मुहम्मदले सामलीलाई र्गयो ।तर प्रेमलाई टिकाइराख्न यौन जरूरत पर्छ । उसले समलीको भोकलाई समन गर्न सकेन र पुरुषत्व माथि प्रश्न गरी । यौन ब्राण्डेड रेसमी प्रेमील बन्धनको गाँठो हो जसले प्रेमलाई  नरमसँग बाँधेर राख्छ क्ष् देह व्यापारीहरू प्रेमको भोको हुन्छन् तर प्रेमीसंँग त्यति सजिलै विश्वस्त हुँदैनन् । उनीहरुलाई पूर्व जानकारी छ प्रेमको दुष्परिणाम । त्यसैले प्रेमको सक्कली रुपको खोजीमा हजारौं प्रेमलाई त्याग्छन् ।

 

तथापि उनीहरू त्यो दलदलबाट उम्कन मुक्तिको मार्गको खोजीमा सदा रहन्छन् प्रेमको बाटोबाट। अप्ठयारो जीवनको भिरमा खसी रहँदा सामलीले नाई मुहम्मदलाई प्रेमकै हाँगा मानेर समाएकी हुन्। त्यहाँ यौनको कुनै उपस्थिति थिएन । लेखकले वादीमुक्तिको मार्ग सीप, क्रान्तिको अनुकरण र स्थान बर्हिगमन मध्ये प्रेमलाई प्रमुखता मानिन्। पेसा र स्थानको परिवर्तन, सीप ग्रहण वा क्रान्ति किन चाहेन लेखकले ? सायद झिनो प्रयास गरेको हो तर कथाको डोरी यति मजबुत भयो त्यो एकोहोरो तानियो । अन्तमा प्रेम पनि प्रेमका लागि त्यागीन् र स्थान र पेशा नै त्यागिन् क्ष्यो चाहि मुक्तिको मार्ग भनिएको हो ।

 


प्रेम , विवाह र नारीवाद

अन्त्यमा मात्र समालीले दिवाकरसँगको प्रेमिल जीवनमा यौनमा चरमसुख प्रात गरेपछि प्रेमलाई बचाइराख्न स्थान त्याग गर्छिन् । लेखक त्यसो भन्छ । उनमा विवाहको अस्विकृति छ, प्रेम बचाउँनलाई । शुरुमा जो जवानीमा, प्रेममा, यौन आवश्यक छ भन्छ लेखक र पुरुषत्वमाथि संका गर्छ । रेञ्जरको गर्भिणी भएर बिचल्ली हुँदा निरिह मोहम्वद हजाम आश्रयको चौतारी लाग्यो वीर पुरूष लाग्यो । विवाहीत हुनै पर्ने अनिवार्य लाग्यो । त्यै लेखक ढल्कदो उमेरमा यौन आवश्यक छैन । पुरुष पनि आवश्यक छैन । मात्र सम्झनामा पुरुषको मिठो प्रेम भए हुन्छ । महिला आफै बाँच्न सक्छ ।

 

विवाह जरुरी होइन भन्छ । यो समयमा सामलीले दिवाकरको असल प्रेम नामन्जुर गरेबाट नारी स्वतन्त्रता र एकलै उभिने दृढताको वकालत छ । मसानबाट दुलहीले घर छोडेको पुरुष सत्ताको बिरोधको श्रृङ्खला,सामलीले पनि प्रेमका लागि त्यै प्रेमी त्याग गरेको बिबाह मन्जुर नगरेको र प्रेमीलाई दुःखाएर बदला लिएको घटनाले सामलीपुरुषजस्तै पिडक तर स्वतन्त्र पंक्षी बनेकी छे । तर यो पहिलो विवाहबाट नभएर दुईवटा विवाह असफल भएपछि विवाहले सामली वा नारीलाई यातना दुःख, पीडा, बोझ, अतृप्ति बाहेक केहि नदिएपछि पुरुष त्याग्ने निर्णयमा पुगेकी छे सामली र उसको पुरुष दिवाकरको दुखेको चित्त हेर्न मन पराउँछे सामली क्ष् पुरूषसत्तामा पुरुषले अर्की महिला विवाह गरेर घरमै अर्को महिला भोग्दा पहिलो महिलाको दुखेको मनको तुलनामा सामलीले र वदिनीहरूलेर आफ्नै पुरुष र दाजुभाई, बाबुको निर्देशनमा खोजिएको ग्राहकसँग उनीहरूकै अघि दोस्रो पुरुषसँग कैयौं खेप भोगिएर व्युत्पति भएको चित्कार वा रसास्वादनको ध्वनीजे भए पनि पुरुषको अहम विरुद्धको पृथ्वी भत्काउँने , उधार्ने खालको दृश्य छ । यो पोयटिक रियालिजमको परिणत सामलीमा उत्पन्न भएको चुनौति हो आवेग वा आदत हो, लेखक भन्छ, यो पुरुष विरुद्ध भन्दा ज्यादा पुरुषत्वको आग्रह छ साहासहिन र पुरुषत्वविहिन पुरूष नालायक हुन् तिनीहरूको काम छैन ।

 


राजनीति र वादी मुक्ति

वादी समाज र जाति र पीडा सामन्तवादको अवशेष हो । मुक्ति राजनैतिक हस्तक्षेपबाट मात्र सम्भव भए पनि सत्ता र त्यसका अवयवहरू वादी जातिको मुक्ति चाहदैन । सित्तैमा सजिलै यौन प्राप्त भैरहने मुहान सामन्तवादी सत्ताले मात्र नभै माओवादी र प्रजातान्त्रिक लोकतान्त्रिक सत्ता पनि मुक्ति दिन तयार भएन । यो दुनियाकै घिनलाग्दो घृणित कार्य साशकहरूले भोग्न पाउँने हुँदा सिंहदरवारको गेटसम्म पुग्दा पनि समूल मुक्ति भन्न सक्दैन सरकार । राणा , राजा ,प्रहरी , रेञ्जर, पत्रकार , कवि , मुखिया ,साहु , सिडियो, मन्त्री सामन्य नागरिक कथित उपल्लो जात सबै सबै सरकारको अवयवहरूको रुपमा सित्तैमा वादी भोग्छन् ।

 

कहिले छापा मारेर नाङ्गै भागदौड गरेको विभत्स तमासा हेर्छन् । सामलीलाई संरक्षण गर्छन् , मनपरी भोग्छन् क्ष् मुक्तिको स्वाङ्ग गर्छन् । यो राणासाही राजसंस्था सामन्तवाद नोकरसाह पूँजीवाद आदिको त कुरुप अनुहार नै भयो नै,तर प्रगतिशिल राजनीतिको समेत सबैभन्दा कुरूप अङ्ग बनेको छ । जसलाई न व्यवस्थित गर्न सक्छ राज्यले न समूल मुक्ति वा नष्ट गर्न सक्छ ।
मुक्ति र स्वतन्त्रताको वकालत छ । लेखकले भयावह उदाङ्गो चित्र प्रस्तुत गरेको छ । लेखकले मुक्तिका लागि कुनै स्वैरकल्पनाले  कुनै वादी पुरुषलाई सीप सिकाएन विदेश पठाएन जय नेपाललाई क्रान्तिमा पठाए बाहेक ।

 


नथियाको समाजशास्त्र

भाग्यवादको ओछ्यानमा सुताएर भूमिहिन बनाई अन्न उत्पादनबाट बिमूख गराई अत्यन्त आश्रित र लाछी बनाएको छ राज्यले वादीलाई सदियौँ देखि निरन्तर। खेताला, ज्याला, मजदुरी समेत बन्देज गरी सयौं बर्ष देखि अतिरिक्त आयबाट नाकाबन्दीमा छ वादी समाज क्ष् यति सम्मकी रखेल बनाउन हुने, सेक्सको भोग गर्न मिल्ने , उनीहरूले मारेको माछा खान मिल्ने , उनीहरूको काठको हस्तकला,सुल्फा राख्न मिल्ने तर खेतबारीमा काम गर्दा अलच्छिन लाग्ने अन्न नफल्ने जस्ता अन्ध परम्पराले जकडेर घेराबन्दीमा छन् उनीहरू । यहाँको महान् सभ्यताले पानी समेत अचल बनाएर दलितभन्दा पनि तल्लो श्रेणीमा विभाजित गरेर सभ्यताको रछ्यानमा बन्दी बनाएको छ वादी जातिलाई ।वादी पुरुषलाई आफ्नै आमा,छोरी, चेली र श्रीमतीको ग्राहक खोज्ने बिचौलिया बनाएर मानसिक रूपमा विचलित प्रताडित घृणित र दुर्बल बनाएको छ । महान् धर्म हिन्दूको पुजारीलाई सामली चल्छ तर त्यो पुजारी बस्ने मन्दिरमा सामली र वदिनी प्रवेश निशेध छ । देसको नागरिकको नुर गिर्नु देस उठ्नु हुँदै होइन ।

 

नथिया तोड्नुलाई दुर्लभ र मुल्यवान बनाएर वादी जातिलाई घेराबन्दीमा पारी राज्यले सदियौं बलत्कार र्गयो । देसको कानुन यतिखेर निरिह बन्छ । आर्थिक सामरिक सामजिक न्यायिक नैतिक रूपमा निशस्त्र बनाई हैसियत विहिनको बन्दीमा रुपान्तरण गरी राज्यले वादीलाई भोग्यो । धन्दा गर्न नसक्ने भएपछि साहु मुखियाको दयामा बाँच्नुपर्ने निरिह परजिवी बनायो । उसको संगीत गायन नृत्य हस्तकला र मत्स्य व्यवसायलाई अल्झाउने माध्यम मात्र बनायो कुशल र ओस्ताद र व्यवसायी बनाउँन चाहेन र चाँहदैनथ्यो ।वास्तवमा नेपाल भित्रको एउटा छुट्टै राज्य हो वादि गाउँ जहाँ कानुन निस्क्रिय हुन्छ । कानुन र सभ्यताका रक्षकहरू नै त्यहाँ कानुन जलाइरहेका हुन्छन् । कानुनको धज्जी उडाईरहेका छन् ।
मानवताको चिता बालिरहेका हुन्छन् । घेराबन्दीमा राखेर वा एम्बुसमा पारेर नथिया तोड्ने यौन भोग्या बनाउँने र उठ्नै नदिने प्रपञ्च राज्यसत्ताले र्गयो ।

 


वादीको गीता
उमावादीले एक्कासी भनिन् ’यो वादीको गीता हो’ । पूर्वीय मानव सभ्यतालाई यो भन्दा शक्तिशाली चड्कन के हुन सक्छ । गीता महान् भन्ने । सर्वोत्कृष्ट जीवन दर्शन भन्ने क्ष् गीता छोएर राज्य चलाउँने । गीता साक्षी राखेर फेरि छुवाछुत चलाउँने । छुवाछुत विरुद्धको कानुन पनि बनाउँने । तब वादीको प्योङयाङ भट्टीबाट उमाबादीले सत्ताका रक्षक र भक्षक माथि मिसाइल प्रहार गरिन् ।

 

वास्तवमा नथिया वादि जातिको आँसुको कथा हो । जो पिप रगत विर्य क्रन्दन यातना  दमनबाट  मुक्त हुन सामलीले खेलेको मौन बिद्रोह केही हदसम्म लायक छ । यसले उनीहरूको असिमदुःखमा रमाउँने समाजको कालो हृदयको शदियौं लामो पापको नदी छ त्यही डार्क समयबाट उम्कन अथक प्रयास समलीले गरेकी छिन् । परिवारको मुक्ति र आफ्नो मुक्ति रोजेकी छिन् । अरू त्यही पिपको पोखरीमा डुबिरहेका छन् । यो संकेत हो मुक्तिको । समूल मुक्ति छैन वादीको गीतामा, साँघुरो छ मुक्ति । मुक्तिका लागि धन्दा त्याग गर , पेशा बदल , स्थान त्याग, चेतनाले उठ घुमाउरो सन्देश छ।

 

 


पोयटिक रियालिजम
लेखकले यो कथा पोयटिक रियालिजममा लेखेको कन्फेसन दिएको हुँदा सेक्सुयल टर्चर वा हयारेसमेन्टबाट पात्रमा विकृत मनोग्रन्थीको निर्माण भई बिस्तारै बिद्रोही बन्ने बदलावको भावना राख्ने  निडर साहसी भएर पर पीडकलाई त्यस्तै प्रकारको पीडाले पीडा नै दिने, फूलले अचेटेर दुःखाउने , मार्ने ,भावना निर्माण भएको सामलीमा पाइन्छ । अनिच्छा पूर्वक गरिएको यौनले, यौनकै पीडा दिएर बदला राख्ने भावना जम्मिन्छ । रत्नमानको पीडाको  बदला छोरालाई महिनौं प्रेममा अल्झाएर पारिवारिक यातना दिन्छे । रेञ्जरलाई चुनौति दिन हजामसँग  बिवाह गरी । रेञ्जरको पछिल्लो प्रेमलाई लत्याई र रेञ्जर दुःखेको हेरेर आनन्दित भई ।

 

आफ्नै पुरुषको अघि लछारपछार गरी बलात्कार गर्दा नवाज पढिरहने र स्वास्नीको भावना नबुझ्ने कायर लाछी, निम्जो, नामर्द मुहम्मद नाईलाई पीडा दिन उसैको अगाडि ग्राहकसँग क्रिडा गरी त्यो नथियाखोल्ने काम समलीको एकल निर्णयको घोषणाले भएको थियो । जुन मुहम्मदको कायरताले बढी काम गरेको थियो । असाध्य पवित्र प्रेम गर्छु, वंशजात छोडेर विवाह गर्छु भन्ने दिवाकरसँग यौन र प्रेममा चरम सुख अर्गाजम प्राप्ति पछि त्यागिदिन्छे र दिवाकरको भाँचिएको मनको सम्झनामा काल्पनिक सुःख गर्छे । सामलीको च्यालेञ्ज पुरुष मनोविज्ञान विरूद्ध छ । सामली भित्रको बदलावको आँधी भित्र पुरुष मनोविज्ञानको मृत्युको ताँती छ । रोमन साम्राज्यमा राजा महाराजाहरू मात्र होइन रानी महारानीहरु पनि पटाङ्गिनीमा उच्च स्थानमा बिराजमान भएर हत्या, बलात्कार हेरेर पीडाबाट आनन्द लुट्थे त्यस्तै बदलाको चरम सिहांसनमा सामली बिराजमान छे, एउटा हवार्रह्वारी बल्दै गरेको धोकाको आगोसँग फूलीरहेकी छे सामली । अ एभर स्ट्रेङ्गस्ट फिमेल क्यारेक्टर सामलीको सृजना ।

 


 नथिया उठान ,भाषिक शिल्प र अन्त्य

नथिया एउटा महिला श्रृङ्गारको साधन गहना विम्बात्मक छ जसमा उपन्यास केन्द्रित छ ।नथिया चिरहरणको मिथक हो उपन्यासमा । धन्दा गर्ने नगर्ने वादी समाजको आधिकारिक मुखपत्र । कुनै ग्राहकले प्रेम स्वरुप दिने प्रेमको विम्ब । महिलाहरूले संसारभरी पहिरिने गहनाको प्रतिक जो लिङ्ग निर्धारक  विभेदक पनि हो । हेप्न चिन्न खरिद गर्न सजिलो आर्थिक औद्योगिक विम्ब । नथिया नेपाल र दक्षिण एसियाभरी महिलाहरूले लगाउँछन् जसबाट योगहनाको सांस्कृतिक पुरातात्विक मुल्य बोध र जेनेटिक सम्बन्धको इतिहास उत्खनन् हुन्छ ।

 

नथिया शुरूमा एक अबोध पाठकले शुरु गर्दा त केही असर नगर्ला तर नथिया अन्तरङ्ग बुझिसकेको पाठकले पढ्दा निकै बेर जबरजस्ती यात्रामा समाहित हुनुपर्छ आफूलाई । आजकल लेखकहरूमा फिल्मको गहिरो प्रभाव छ । कारण पश्चिमी फिल्महरु बढी आख्यानबाटै निर्मित छ्न् । कति लेखकलाई नाटकीयता प्रदान गर्ने घुमाउँरोसँग कथालाई भन्ने जटिल बनाउँने ध्येय नै राखेर आख्यान लेखिन्छ वा यो स्टोरी फिल्मका लागि पर्फेक्ट भै जावोस् भन्ने  सम्म हुन सक्छ । नथियाको शुरु र अन्त्यको ट्विष्ट, फिल्म प्रभावित देखिन्छ । कवि सरस्वति प्रतिक्षा नथियाबाट आख्यानकार भएकी हुन् । उनको गद्य भाषिक शिल्प,स्तम्भ र निबन्धहरुमा पढिएको हो । उपन्यासमा उनको काव्यिक भाषा र शिल्प छ। भाषालाई उनेर टची लाइनको पञ्च मार्न सिपालु लाग्छ । नेपाली महिलाहरूको कमजोरी भारतीय सिरियल हो । उनले भारतीय साहित्यको प्रभाव वा सिरियलको, हिन्दी र उर्दुभाषिक प्रभाव ज्यादा छ । आख्यान सँगै वादीको ईतिहास भन्नु पर्ने बाध्यता लेखकलाई छ । हिन्दु पुरातन परम्परामा गणिका, देवकन्या, देउकी आदि अघोषित वदिनीहरूको इतिहासले पुस्तक कतिलाई अनिच्छा जगाउँने कारक हुन सक्ला तर यो साहासपूर्वक भनिएको तथ्यले नथियामा शक्तिको श्रोत थपिएको छ । साँच्चै भन्नु पर्दा पुरुष मनोविज्ञानलाई भत्काएर बाँचेको वादीको कथा तेजीलो ओजस्वी छ । धेरै हदसम्म
न्याय गरिएको छ ।

 

 

एउटा नोस्टाल्जिक घटना, कुनै वर्षा ऋतुको मध्यान्ह, हामी प्यारामाउन्ड सिलिगुरीमा बिरामी हेरेर नामुद रेडलाइट एरिया, खालपाडा,घुम्ने योजना बन्यो जो बर्षाैं पुरानो इच्छा थियो । जब गल्लिमा छिर्यौं नगरबधुहरु ढोकासम्म आएर ग्राहक मोटिभेट गरिरहेका थिए । साथीहरु इत्रिरहेका थिए । तर कोही रोकिएनौं । मलाई एउटा स्यामस्वेत सुन्दरीले नजदिकै आएर कटाक्ष गरी, ग्राहक हुन आग्रह गरी, म निकै मोहित भएको थिएँ उसको कलात्मक सम्बोधन र साहससँग जुन जीवनकै प्रत्यक्ष प्रथम अनुभव थियो। त्यो प्रेमिल आग्रह लिएर चुपचाप नजर जुधाएर फर्कें । वर्षौंसम्म ’नरकको यात्रामा प्रेम’ शिर्षकमा कविता लेख्ने औडाहा चलिरह्यो । आखिर मान्छे किन नरक ठानिएको काम गरिरहेका छन्? के कारण होला ? आदि इत्यादि प्रश्नहरूले गिरफ्तार गरिरहथ्यो । लेख्न कहिल्यै सकिन तर नथियामा सामली भेटेपछि त्यै सम्झनाले डुबाइरह्यो ,लाग्यो सरस्वतीले त्यो  मेरो कविता पनि लेखिन् ।