कभर स्टोरी

मेनुका भन्छिन् , 'ब्लड लागेको पेन्टी धुन लगाएको आरोप गलत'

बलात्कारमा परिन् तर अहिले यस्तो भयो 

शनिबार, १९ जेठ २०७५ गते प्रकाशित
- नेपाल आज (PH)

मेनुका भन्छिन् , 'ब्लड लागेको पेन्टी धुन लगाएको आरोप गलत'

रक्षा नेपालको आश्रयमा बस्दै आएकी बलात्कार पीडित पुजा बोहोराले रक्षा नेपालकै विरुद्ध पत्रकार सम्मेलन गरेर विभिन्न आरोप लगाइन् । उनका गम्भीर आरोपबारे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले पनि प्रतिवाद गरेकी छन् । पुजाले लगाएका एक एक आरोप हामीले मेनुकालाई सोधेका छौं । सार्वजनिक भएको विषय र वास्तविकता के हो ? मेनुका थापाको भनाइको सार निम्नानुसार छ । 

 


‘२०६८ साल चैत १२ गते महिला आयोगबाट मलाई फोन आयो । एसएलसी दिन गएकी छात्रा बलात्कृत भइन् । उद्धार गरिदिनु पर्यो भन्नु भयो । बलात्कारपछि मानसिक सन्तुलन गुमाएर पाटन अस्पतालमा राखेको भन्ने मैले थाहा पाएँ । त्यो बच्चालाई रक्षा नेपालले उद्धार गर्नु पर्यो भन्नुभयो । म त्यो बच्चालाई हेर्न अस्पताल पुगे । पुजालाई राखिएको कोठाअगाडि एक जना बरखी बार्नुभएको एक बुबा हुनुहुन्थ्यो । म पुगेपछि उहाँले तपाई मेनुका थापा हो ? भनेर सोध्नु भयो । मैले हो भनेँ । 


ती बुबाले मसँग हात जोडेर मेरो छोरीलाई तपाईले मात्रै बचाउन सक्नु हुन्छ बचाइदिनुस भनेर आग्रह गर्नुभयो । उहाँले मलाई न्याय चाहिँदैन, छोरी बाँचे हुन्छ भन्दै थचक्कै भुईँमा बसेर रुनु भएको मलाई झल्झली याद छ ।


पुजालाई एमर्जेन्सी वार्डमा चार हातखुट्टा नै बाँधेरे सुताइएको थियो । मैले नर्सलाई सोधेको किन यसरी बाँधेको ? उनले भनिन्, ‘इन्जेक्सन दिएर दुई घन्टा सुताउँदा मात्रै उनी नियन्त्रणमा हुन्छिन् । नत्र अरुलाई कुट्ने पिट्ने गर्छिन् ।’


पटक पटक इन्जेक्सन दिएर पाटन अस्पतालले पुजालाई अपांग बनाउन लाग्यो भन्ने बाबुको चिन्ता रहेछ । पाटनबाट रक्षा नेपालले छोरीलाई लगिदिओस भन्ने चाहना उहाँको थियो । 


जब म आमाको गर्भमा थिएँ, त्यहि बेला मेरो बुबाको निधन भएको थियो । पुजाको बुबा मेरै बुबाको उमेरको हुनुहुन्थ्यो । उहाँले मेरो अगाडि हात जोडेर गर्नुभएको करुण पुकारले मन छोएको थियो । अनि मैले भने कि ‘तपाई चिन्ता नलिनू । अब जसरी भए पनि पुजालाई हामी  बचाउँछौं ।’


त्यसपछि म फर्किएँ । फर्केर आउँदा मलाई ती बुबाले हात जोडेर गरेको अनुनयले मन पोलिरह्यो । एउटा बुढो बाबुले आफ्नो छोरीको प्राण रक्षाका लागि गरेको आग्रह मानसपटलमा घुमिरह्यो । 


भोलिपल्ट फेरि गएँ । डा.मोहनलाल श्रेष्ठसँग कुरा गरेँ । उहाँले पुजालाई अरु ३–४ महिना डिस्चार्ज गर्न नमिल्ने बताउनुभयो । मेरो संस्थाको साथीहरुसँग पनि सल्लाह गरेँ । उहाँहरुले मानसिक रोगीलाई अहिलेसम्म हेरेको छैन भन्नुभयो । एक जना मानसिक रोगीका कारण अरुलाई समस्या हुन सक्थ्यो । त्यही भएर अरु साथीहरुले नल्याऔं भन्नुभयो । तर मैले पुजाको बुवालाई वचन दिइसकेको थिएँ । म धर्मसंकटमा परेँ । 


बुबालाई दिएको भूल्न सकिनँ । यदि मेरो बुबा पनि बाँचेको भए मेरो ज्यानका लागि पनि यस्तै गर्नुहुन्थ्यो होला भन्ने लाग्यो । अनि मैले काउन्सिलर करुणा कुँवरसँग कुराकानी गरेँ । उहाँले अस्पतालमा जति राखे पनि ठीक हुँदैन । औषधि, काउन्सिलिङ र राम्रो व्यवहारले छ महिनामा ठीक पार्न सकिन्छ भन्ने कुरा उहाँले गर्नुभयो । 


करुणा म्याडमको विश्वासका आधारमा मैले पनि अस्पतालबाट पुजालाई ल्याउने अठोट गरेँ । अस्पतालले डिस्चार्ज गर्न मानिरहेको थिएन । यो बच्चाको ज्यान गयो भने तपाईले जेल जानुपर्र्छ पनि भनियो । मैले एउटा बच्चालाई बचाउँदै गर्दा मैले जेल जानुपर्छ भने ‘ओके’ भनेँ । 


पुजाको बुबाले मप्रति गरेको विश्वासलाई मैले हार्न सकिनँ । मैले पुजालाई ल्याएँ । यहाँ ल्याएपछि उनलाई थेग्न गाह्रो भयो । अस्पतालले इन्जेक्सन दिएर सुताउँथ्यो ।  इन्जेक्सन दिनका लागि हाम्रा मान्छे थिएन । औषधिकै भरमा नियन्त्रण गर्नुपथ्र्यो । औषधिले त नियन्त्रणमा ल्याउन एकदम गाह्रो थियो । उफ्रिने कराउने कुटपिट गर्ने गर्थिन् । चार जनालाई पछारेर भाग्न खोज्ने गरी बल आउँथ्यो उनमा । 


६८ साल चैतमा उनको सामूहिक बलात्कार भएको रहेछ । अस्पतालमा ल्याएको दुई तीन हप्तापछि हाम्रोमा ल्याएका हौं । १४ वर्षको उमेरमा एसएलसी दिँदै गरेको बेला उनीमाथि सामूहिक बलात्कार गरिएको थियो । जो पुरुषलाई देख्दा पनि उहाँले ‘तैं होस बलात्कारी’ भनेर झम्टिने गर्नु हुन्थ्यो । अपराधीहरु पक्राउ परिसकेका थिएनन् । 

 

उनलाई यहाँ ल्याएपछि भाषाको समस्या पनि भयो । पुजाले बोल्ने सायद डोटेली भाषा हामी बुझ्दैन थियौं । त्यही बेला दार्चुलाको एक नर्स रश्मी राई बहिनी आउनुभयो । उहाँले पुजाले बोलेको बुझ्नु हुन्थ्यो । त्यो बेला धम्की पनि आयो ।

 
यो केस नहेर्न मलाई धम्की पनि आयो । पुजालाई ल्याएपछि उनको विषय अरु गहिरो हुँदै गयो । जटिल बन्दै गयो । 


रश्मी राईको पनि हामीले सहयोग लिन थाल्यौं । पुजाले भनेको कुराहरु नेपालीमा रुपान्तरण रश्मीले गरिदिनुहुन्थ्यो । खान मन लागेका कुरा, अरुलाई गाली गरेका कुराहरु हामीलाई बुझाउनु हुन्थ्यो । बिहान एक नर्स, बेलुका अर्को नर्स खटाएका थियौं । औषधि चलिरहेको थियो । 


अहिलेसम्म हरेको मध्ये सबैभन्दा गाह्रो केस पनि यहि नै थियो । किनभने मानसिक रुपमा विक्षिप्त भएकाले पुजाको केस जटिल थियो । 


दिन बिराएर करुणा कुँवर आउनु हुन्थ्यो । काउन्सिलिङ गर्नु हुन्थ्यो । सुधार पनि हुँदै गयो । सामान्य अवस्थामा फर्काउन ९ महिना लाग्यो । छ महिना त हामीलाई पाँच छ जना धेरै गाह्रो भयो । छतबाट हाम्फाल्न खोज्ने, तोडफोड गर्ने गर्नु हुन्थ्यो । होसमा नहुँदा भएका घटना थिए ती । 


करुणा कुँवर, कपिलदेव उपाध्यायजस्ता मान्छे हामीसँग भएका कारण हामीले उहाँलाई ठीक पार्यौं । 


पुजाको होस आएपछि जिल्ला अदालत बैतडी गएर बयान दिन सक्नुभयो । रश्मी राईले सहयोग गर्नुभयो । बयान दिएर आएपछि पुजालाई फेरि एसएलसी दिन उत्पे्ररित गर्यौं । 


एसएलसीमा दुईटा विषयको परीक्षा दिएपछि त्यस्तो घटना भएको थियो । त्यो बेला स्वयंसेवा गर्न अमेरिकाबाट लेस्ली ब्राउन भन्ने साथी आउनुभएको थियो । लेस्लीले पुजाको पढाई खर्च सहयोग गर्नुभयो । 


१० कक्षामा प्रथम श्रेणीमा पास पनि हुनुभयो । बीचमा कम्प्युटर, ल्यांग्वेज कक्षा पनि तालिम लिन लगायौं । उद्घोषण तालिममा पनि भर्ना गरिदियौं । त्यस्तै तालिमहरुले नै उहाँमा निखार आएको छ । उहाँले कुनै तालिम लिन नपाएको भन्नु भएको छ । तर रजनी थापाले गर्नुभएको सहयोगले पुजाले विभिन्न तालिम लिनुभएको हो । 


मनोविद् करुणा कुँवरले पुजालाई सधै नै काउन्सिलिङ आवश्यक छ भन्नुभएको छ । पुजा बोहोरा अहिले पनि पूर्ण स्वस्थ हुनुभएको छैन । 


छतबाट हाम्फाल्नबाट रोक्ने, रातभर नसुत्दा संगीत सुनाएर सुताइदिने जस्ता अनेक काम गरियो । मैले भन्दा पनि यहाँका दिदीहरुले गर्नुभयो । तर दिदीहरुविरुद्ध विभिन्न आरोप लगाउनुभयो । त्यसले अलि नराम्रो लागेको छ । 


एकैछिनमा खुसी हुने, एकैछिनमा दुःखी हुने जस्तो व्यवहार गर्नु हुन्थ्यो । बच्चा जस्तो व्यवहार पनि देखउने गर्नुहुन्थ्यो । कपडा लगाउन नमान्ने, बाथरुमा पानीमा भिजिरहन मन पराउने गर्नुहुन्थ्यो । हामी बाहिर हुँदा चुकुल लगाएर ढोका पनि खोल्नु हुन्न थियो । ढोका फुटाएर पनि निकालेका छौं । 


उहाँ आफैंले हिम्मत नबढाएको भए उहाँ रिकभर हुन सक्नु हुँदैन थियो । विक्षिप्त भएपछि पनि ठीक भएर एसएलसीमा त्यति राम्रो गर्नु धेरै राम्रो कुरा हो । 


प्लस टु चाहिँ लैनचौरको आदर्श माविमा पढ्नु भएको हो । त्यो स्कुलमा आग्रह गरेर निःशुल्क पढाइदिन आग्रह गरेँ । स्कुलले मान्यो । ११ र १२ मा निःशुल्क भयो । कापी, कलम र पोसाक हामीले दिन्थ्यौं । 
पुजा बोहोराको इच्छा इञ्जिनियर बन्ने थियो । तर त्यो घटनापछि उहाँले कानुन पढ्ने चाहना राख्नु भयो । 


जसरी पनि कानुन पढ्ने भनेपछि हामीसँग सम्पर्कमा रहनु भएका अधिवक्ता स्वागत नेपालले पढ्नु भएको क्याम्पसमा कुरा गर्यौं । त्यहाँको कलेजको म्याडमले रक्षा नेपालले लेटर लेखेर दिए त निःशुल्क हुन्थ्यो भन्ने कुरा गर्नुभयो । 


तर हामी हम्मेसी  लेटर दिँदैनौं । त्यो लेटर बाहिर एक्स्पोज हुँदा भोलिका दिनमा पीडितलाई अरु समस्या हुन्छ । पीडितको गोपनियतामा हामी एकदम सिरियस हुन्छौं । हाम्रो बच्चाको गोपनियता भंग होला भनेर त्यहाँको अनिता म्याडमलाई पैसा तिरेर पढाउन थाल्यौं । महँगो कलेज रहेछ । तर हामीले तिर्यौं । 


७२ सालमा भैचालो गएपछि बसिआएको घर कमजोर भयो । बस्न मिलेन । त्यो बीच हामीले आफैंले जमिन किन्यौं । त्यो ठाउँबाट पुजालाई यहि बसेर दुईटा बस परिवर्तन गरेर जानु पर्ने भयो । एक वर्ष त बस्नु भयो । तर उहाँले होस्टल राखिदिनु पर्यो भन्नुभयो । 


मैले होस्टलमा किन खर्च गर्नु भनेँ । यहाकै दिदीहरुको कोठामा सेयर गरेर बस । उहाँहरुले खाना खुवाइहाल्नु हुन्छ । तिमीले पढ्ने मात्रै हो भनेँ । उहाँको गाउँमा बहिनीको बिहेको कुरा चलेको रहेछ । मैले बहिनीलाई पनि यतै लिएर आउ । एउटा कोठामा बस । बहिनीलाई पनि पढाउने व्यवस्था मिलाउँला भनेँ । 


दिदीहरुसँग रुम सेयर गरेर बस्न त मान्नु भएन । बहिनी पनि ल्याउन मान्नु भएन । बहिनीसँग मिल्न सक्दिन भन्नुभयो । अनि सुरक्षित भरपर्दो एक होस्टलमा राख्यौं । तर केही महिनापछि होस्टलको सञ्चालकले राख्न नसक्ने बताउनु भयो । किन भनेर सोध्दा पुजाले एक्कासि रिसाउने, अरुले फकाउनु पर्ने, जस्तो भयो भन्नुभयो । पुजाकै कारण होस्टलमा तीन जनाले छाडेको बताउनु भयो । पुजालाई कसैले पछ्याएको जस्तो महसुस हुने गरेको पनि बताउनुभयो । डिप्रेसन जस्तो पनि देखियो भन्नुभयो । 


उनीभएसम्म होस्टल सेफ नहुने भन्नुभयो । अनि मैले ठीकै छ । जाउ भनिदिनु भने । मैले फोन गरेर पुजालाई अर्को होस्टल खोज्ने भनेको थिएँ । अर्को सञ्चालकसँग कुरा गरिरहेको थिएँ । मैले पुजालाई यहीँ आउनु भनेँ । यहाँ नै सामान राखेर ठूलो बुबाकोमा गएँ भन्नुभयो । 

 

उहाँले विभिन्न समयमा यहाँबाट पैसा लैजानु भएको छ । सबै हिसाब  हामीसँग छ । उहाँले लगाएको आरोप सही होइन भन्ने मसँग भएका प्रमाणहरुले बोल्छन् । ल्यांग्वेज पढाउन पनि खर्च गरेको हो । खाजा खाने पैसा पनि दिएकै हो । महिनामा तीन हजार खर्च दिन्थ्यौं उहाँलाई । 


उहाँलाई जानेर झुठा खबर केही पनि बाहिर ल्याएको छैन । विशिष्ट श्रेणीमा पास नभएकोलाई मैले विशिष्ट श्रेणी बनाएर प्रचार गरेँ भन्नुभएको छ । उहाँले ल्याउनु भएको ६६ प्रतिशत हो । यो कुन श्रेणी हो मलाइ थाहा भएन । उहाँलाई समस्या नै हुने गरी झुटा खबर ल्याएको होइन । यति धेरै तनावमा भएको मान्छेले यति ल्याएको प्रतिशत मेरो लागि त विशिष्ट होइन महाविशिष्ट हो ।


पुरानो कपडा लगाउन दिएको भन्ने कुरा छ । स्कुलको पोसाक फरक हुन्छ । यहाँ नयाँ पनि पाउनु हुन्छ । दसँै, तिहारमा पनि पाउनु हुन्छ । हामीलाई विभिन्न मानिसले सहयोग गर्छन् । कसैले लत्ता कपडा, दाल, चामल पनि दिन्छन् । 


उहाँले  जडौरी कपडा लगाउने हो र म ? भन्ने गर्नु हुन्थ्यो । रजनी थापा जस्ता मोडलहरुले एउटै कपडा पटक पटक लगाउँदैनन्  । दुई चार पटक लगाएपछि यहाँ दिनुहुन्छ । यहाँका अरु छोरीहरुले त्यो कपडा लगाउँछन् । तर पुजा बोहोराले लगाउनु हुन्न थियो । 


स्कुल कलेज पढ्दा भ्रमण खर्च दिनु भएन भन्ने पनि आरोप छ । चिसापानी जाने भएपछि हामीले ५ हजार दिएका हौं । 


राती अबेरसम्म भाडा माझ्न लगाएको कुरा के हो भने हामी सबैलाई काम लगाउँछौं । आफूले खाएको थाल माझ्नु पर्छ । ८ वर्ष भन्दामाथिको बच्चाले सबैले पखाल्नु पर्छ । भाँडा माझ्नका लागि चाहिँ बेग्लै मान्छे राखेका छौं । पुजा बोहोराले आफ्नो थाल माझ्नु भएको सही हो । भाँडा माझ्न लगाएको होइन । 


मैले कसैलाई दुव्र्यवहार गरेको छैन । मेरो लागि सबै बराबर हुन् । उहाँलाई विभेद गरेको जस्तो लागेको छ । मैले ल्यापटप, मोबोइलसमेत उहाँहरुलाई दिएको छु । जन्मदिनमा सुन दिएँ काभ्रेकी पुजालाई, उहाँलाई पनि दिएँ । 


मैले पुजाको फेसबुक मोबाइल चलाएको भन्ने कुरा सरासर गलत कुरा हो । फेसबुक इन्टरनेट चलाउन हामी दिन्छौं । मैले उहाँको चलाएको कुरा निराधार हो । त्यो फेसबुकमा कहाँ बाट कहिले कहिले स्टाट्स राखेको हो थाहा हुन्छ । पुजा बोहोराको फेसबुक खोलेर हेरे थाहा हुन्छ । 


पढाईमा ध्यान नदिने अवस्था देख्दा मैले अलिअलि गाली गरेँ होला तर कुटेको छैन । सबैभन्दा बढी माया गरेको मान्छे उहाँ नै हो । नाकमा रगत आउने गरी कुटेको कुरा पनि होइन । नाक फुटाइदिएको भए मेडिकलमा गएर उपचार गरेको भए प्रमाण पनि हुन्थ्यो । 


२०१२ मा कोरियामा गएर मेडल ल्याउनु भयो । मैले मेडल सुरक्षित राखेको हो । लुकाएको होइन । चाहिएको बेला लैजान सक्नु हुन्छ । 


काभ्रेकी पुजा कार्की र मेरो महिनावारी भएको कपडा पुजा बोहोराले धोएको आरोप लगाउनु भएछ । उहाँ ८ महिनासम्म होसमा नहुँदा उहाँको अन्डरगार्मेन्ट यहाँका दिदीबहिनीले धोएका छन् । उहाँले हाम्रो होइन, हामीले उहाँको धोएका छौं । दिसा, पिसाब गराउने, नुहाइदिने गथ्र्यौैैं  । 


हामीले त प्याड र पेन्टी नै फाल्ने गथ्र्यो । पछि छोरीहरुले पेन्टी चाहिँ नफालौं भनेपछि फाल्न छाड्यौं । 


मैले कति सम्पत्ति कमाए भन्ने कुरा छानबिन नै गर्नुपर्छ । रक्षा नेपालको सम्पत्ति मेरो हुन्थ्यो भने म करोडपति नै हो । जति पनि संस्थाहरुले जे जे जोड्छन् त्यो राज्यको सम्पत्ति हो । म त सञ्चालन गर्ने वा अपरेटर मात्रै हो । रक्षा नेपालले जोडेको सम्पत्ति हामीले निजी स्वार्थले प्रयोग गर्न पाउँदैनौं । 


बैंकले रक्षा नेपालका लागि ऋण दिन मानेन । त्यो बेला टेन्सन पनि भयो । कसरी ऋण लिने त ? व्यक्तिको नाममा भए ऋण लिन मिल्ने रहेछ । बोर्डका मान्छे कसैले पनि ऋण बोक्न चाहेन । अनि सबैले मेरै नाममा राख्न भन्नुभयो । अनि सम्पत्ति संस्थाको हुने तर नाम चाहिँ मेरो हुने भनेर राखेको हो । अहिले पनि साढे तीन करोड तिर्न बाँकी छ । यो सम्पत्ति संस्थाको हो । 


महिनामा चार लाख ५० हजार तिर्नुपर्छ । व्यक्तिगत रुपमा मैले टाउको दुखाउनु पर्छ । खाद्यान्नका लागि नेपालीहरुले नै सहयोग गर्छन् । साढे पाँच रोपनी जमिन र घरका लागि धेरै लगानी भयो । 


एडवार्ड स्माट भन्ने एक जना बुवा हुनुहुन्छ । नेपाल आउँदा यहाँ आएर एक करोड दिनु भयो । अनि हामीले यो सम्पत्ति जोडेको हो । घरजग्गा ६ करोडभन्दा बढीको हो । धितो त बोर्डका साथीहरुले राख्नु भएको छ । 


सम्पत्ति संस्थाको सम्पत्ति भनेर लेखापरीक्षण भइसकेको छ । यो जमिन, घर मैले फिर्ता गर्नै पर्छ संस्थालाई । मैले नैतिक हिसाबले, कानुनी हिसाबले पनि फिर्ता गर्नुपर्छ । मेरो नाममा भए पनि यो मेरो होइन भन्ने सबै कागजले बोल्छ । यसकारण मैले चाहेर पनि यो आफूले राख्न पाउँदिनँ । 


पुजा बोहोरालाई मैले भन्नु पर्ने खासै केही छैन । तर अहिले किन यस्तो गर्नुभयो अनौठो लागेको छ । कसैले प्रयोग गरेको हो कि जस्तो लागेको छ । थप पढाई र मुद्दा बाँकी छ । अहिलेको कुराले मलाई समस्या हुँदैन । अरुले फेरि पीडा दिने हो कि ? भन्ने चिन्ता छ । 


उहाँलाई खानेबस्ने कसले दिन्छ ? भन्ने प्रश्न पनि छ । अहिले उहाँ मसँग त आउनु हुन्न होला । २३ वर्षको पुजाको जीवन कसरी जोगाउने भन्ने पीर छ । उहाँ कानुन व्यवसायी हुन सक्ने सम्भावना उच्च छ । 
यतिबेला पुजाको संरक्षण हुनु निकै आवश्यक छ । जसरी हुन्छ उनको संरक्षण गरिदिए म ढुक्क हुने थिएँ । 


आइतबारबाट छोरी मेरो सम्पर्कमा छैन । त्यसदिन विहान ११ बजे ‘म कलेजबाट घर फर्कदैँ छु’ भनेर म्यासेज पठाउनुभयो । ‘आमा म सावित्री दिदीको ल फर्ममा छु। हिजो सावित्री दिदीको बाट कलेज गएको थिएँ । आज अफिस बिदा छ कता जाउँ’ भनेर भन्नुभएको थियो  । हाम्रो शनिबार कार्यक्रम भएपछि आइतबार अफिस बिदा हुन्छ । उहाँ आइतबार कलेज जानुभयो । मुद्दा हेरिरहेको वकिललाई भेट्न कलेजबाट स्वागत नेपालमा जानुभएछ ।

 

त्यसपछि घर आउँदै छु भनेर म्यासेज गर्नुभयो । यसरी आउँदा आउँदै उहाँ कसरी प्रहरीको मा पुग्नुभयो । कसरी मिडियाबाट एकैचोटी यस्तो कुरा बाहिर आयो ? यसमा कोही न कोही मान्छेले षड्यन्त्र गरिरहेको छ । यो कुरा मिडियाले नै खोज्दामात्र थाहा हुन्छ । 


पुजाको भविष्य बिगार्न वा मलाई जेल हाल्न कसैले यस्तो गरेको हुनुपर्छ । हामी आमा छोरीलाई जुधाउन खोज्दैमा हाम्रो सम्बन्ध टुट्दैन । हाम्रो भावनात्मक सम्बन्ध छ । बरु चलखेल गर्ने मान्छे को हो छिट्टै पत्ता लागेको हेर्न चाहन्छु ।

 

छोरीलाई सहजै स्कुल जाने र आउने वातावरण भएको हेनै चाहन्छु । कसले यो चलखेल गर्यो भनेर हामीले अनुमान पनि गरेका छौँ । छोरीलाई बाटोबाट कसले कसरी लग्यो भन्ने कुरा विभिन्न माध्यमद्वारा हामीले थाहा पाइसक्यौँ ।

 

प्रदीप घिमिरे भन्ने २९ वर्षजतिका एकजना युवकले लगेको भन्ने कुरा थाहा पाएपछि मलाई शंका त्यस मानिसदेखि शंका लागेको हो ।  प्रदीप घिमिरेले पनि एउटा संस्था खोलेको छ । त्यस संस्थाले पनि रक्षा नेपालले गरेजस्तै काम गर्छ । संस्थालाई हाइलाइटमा ल्याउन र हाम्रो बदमान गर्न उसैले यो चलखेल गरेको हुनुपर्छ । अहिले सम्मको जानकारी पाएसम्म पुजा बोहरा उसैको डेरामा हुनुहुन्छ । यसरी संस्थामा राख्नुको सटृा डेरामा राख्नुको उसको स्वार्थ के हो ?

यसरी डेरामा लगेर राख्न पाइन्छ ? 


वास्तवमा प्रदीप बोहरालाई म राम्ररी चिन्दछु । उसलाई केही वर्षअघि मैले सहयोग पनि गरेको हुँ । उसको बहिनीलाई मैले मेरोमा राखेको पनि हुँ । पछि के भयो म बाट किन टाढा भयो त्यो थाहा छैन । 


पुजालाई अब निकै खतरा हुनसक्ने डर छ । यसभन्दा अघि पुजा बोहोरा भन्ने को हो कसैलाई थाहा थिएन । बलात्कारमा परेको पात्र भन्ने मात्र थाहा थियो । तर उहाँको अनुहार कसैले चिन्दैन्थे । अब त सर्वत्र रुपमा उहाँका अनुहार देखिसकेको छ । एक त उहाँ पीडित महिला हुन् । अपराधीहरू बाहिर छन् । अपराधीका सहयोगीहरूबाट पनि जोखिम छ । साथै उहाँको प्रतिद्वन्द्वीबाट पनि जोखिम नै छ । त्यस्तै परिवारलाई जिम्मा नलागाई छापामार शैलीमा आफ्नो डेरामा राख्नेबाट अर्को जोखिम छ । चौतफी रुपबाट खतरा छ । 


म पुजाको भविष्य बर्बाद हुन दिन्न । म सधैँभरी उसको पक्षमा छु । उसलाई माध्यम बनाएर कोही मसँग नखेलोस् । यदि मसँग खेल्नु छ त सीधै मसँग आएर मुकाबिला गरोस् । कसैको भविष्य बिगार्ने काम नगरोस् ।


यहाँ पुजा बोहोरालाई बर्बाद गर्ने एउटा गिरोह नै लागेको छ । आज पुजाको अनुहार सर्वाङ्ग देखिने गरी पत्रिका मिडियामा फोटो आउँदा किन कसैले केही बोलेको छैन । अब १ महिनापछि पुजाको फाइनल परीक्षा आउँदैछ । यस्तो अवस्थामा परीक्षा कसरी दिने ? पुजाले सोचेको छैन कि उहाँको करियर पछि धकेल्लिँदै छ भनेर । 


उहाँलाई फेरि आउनको लागि म अनुरोध गर्दछु । उहाँको मेडलहरू सबै सुरक्षित साथ दराजमा सजाएर राखेको छु । यो लिनका लागि पनि आउनु भन्न चाहन्छु । उहाँले जे भनेपनि अझै म उहाँको संरक्षण गर्न चाहन्छु ।